चरम गर्मीले किन भारतमा थुप्रै मानिसको ज्यान लिइरहेको छ

तस्बिर स्रोत, Getty Images
- Author, सौतिक विश्वास
- Role, भारत संवाददाता
विज्ञान कथा लेखक किम स्टान्ली रोबिन्सनले सन् २०२० को आफ्नो चर्चित उपन्यास 'द मिनिस्ट्री फर द फ्युचर' को सुरुवात दशौँ लाखको ज्यान लिएको भारतको प्रचण्ड गर्मीबाट गर्छन्।
आकाश “परमाणु बम” जस्तै दन्किरहेको त्यसको तातोले गालामा झापड लगाएको जस्तो र आँखा चहराउने जस्तो महसुस गराउने गरेको भनेर बयान गरेका छन्।
घामका कारण छाला डढेको प्रसङ्ग उल्लेख गर्दै उनले पानी पनि हावा भन्दा खराब भएको र मानिसहरूले ‘पहिला भन्दा चाँडै ज्यान गुमाइरहेको’ अवस्थाको वर्णन गरेका छन्।
विश्वव्यापी तापमानबारेको रोबिन्सनको अप्रिय काल्पनिक कथाको वर्णन एक किसिमको भयावह अनुमान हुनसक्छ तर त्यसले गम्भिर चेतावनी पनि दिएको छ।
यसै हप्ताको सुरूमा मात्रै भारतमा १२ जना मानिसहरूले गर्मीका कारण ज्यान गुमाए भने सरकारको प्रायोजनमा खुला चौरमा नवी मुम्बईमा भइरहेको एउटा कार्यक्रममा भाग लिइरहेका दर्जनौँ अरूलाई अस्पतालमा भर्ना गर्नुपर्यो।
भारत तापक्रमको वृद्धिको असर खेपिरहेको र सो समस्याबाट जोखिममा रहेको देशमध्ये एक हो। दिन र रातिको समयमा उल्लेखनीय रूपमा त्यहाँ गर्मी बढीरहेको छ र सन् २०५० सम्म त्यो दुईदेखि चार गुणाले बढ्ने ठानिएको छ। तातो हावा चल्ने प्रवृति प्रत्येक वर्ष चाँडो सुरू भएर, लामो समयसम्म रहने र त्यो बारम्बर देखा पर्ने भनिएको छ।
तापक्रम वृद्धि
मौसम सम्बन्धी कार्यालयले औसतभन्दा बढी तापक्रम हुने र मे महिनाको अन्त्यसम्म तातो हावा चल्ने भविष्यवाणी गरेको छ।
सन् १९०१ देखि २०१८ सम्म भारतमा औसत तापक्रम ०.७ प्रतिशतले बढेको छ र यसका लागि जलवायु परिवर्तन पनि एउटा कारण हो।
प्रचण्ड गर्मीले सन् १९९२ देखि २०१५ सम्म २२ हजार भन्दा बढीको ज्यान लिएको आधिकारिक आँकडाहरूमा उल्लेख छ। विज्ञहरूले वास्तविक सङ्ख्या अझ बढी हुनसक्ने ठानेका छन्।
तर भारतले अझै पनि “तापको महत्त्व र त्यसले कसरी ज्यान लिन्छ भन्ने कुरा बुझ्न नसकेको” गुजरात मूख्यालय रहेको इन्डियन इन्स्टीच्युट अफ पब्लिक हेल्थका निर्देशक दिलिप माभालान्कर बताउँछन्। “हामीले राम्रोसँग मृत्युसम्बन्धी तथ्याङ्क एकत्रित बनाएर नराख्नु पनि यसको आंशिक कारण हो।”
सन् २०१० को मे महिनामा उनले अहमदावाद शहरमा विगत वर्षको तुलनामा ज्यान गुमाउने मानिसको सङ्ख्या ८०० ले बढी रहेको फेला पारेका थिए। त्यो देशमा कीर्तिमानी ढङ्गले तापक्रम वृद्धि भएको बेला थियो।
उनका अनुसार मानिसहरूले गर्मीका कारण ज्यान गुमाइरहेको प्रस्ट थियो। अनुसन्धानकर्ताहरूले मृतकको कूल सङ्ख्यालाई त्यो दिन शहरमा अभिलेखिकरण गरिएको उच्च तापक्रमसँग तुलना गरेका थिए।

तस्बिर स्रोत, Reuters
यही अनुसन्धानाको निष्कर्षका आधारमा प्राध्यापक माभालान्करले भारतकै सबैभन्दा पहिलो चरम तापक्रमसँग जुझ्ने कार्ययोजना अहमदाबाद शहरका लागि तयार परेका थिए।
सन् २०१३ बाट कार्यान्वयनमा आएको उक्त कार्ययोजनाले घरभित्रै बस्ने, बाहिर निस्कनुअघि धेरै पानी पिउने र विरामी महसुस भएको अवस्थामा अस्पतालको आपत्कालिन कक्षमा जाने साधारण खालका समाधानहरूको पैरवी गरेको थियो।
सन् २०१८ सम्म सबै कारणले ज्यान गुमाउने मानिसहरूको सङ्ख्या उक्त तातो र सुख्खा शहरमा एक तिहाईले घटेको थियो।
तर खराब समाचार के हो भने भारतको गर्मीसँग जुझ्ने कार्य योजनाले राम्रोसँग काम गरिरहेको देखिँदैन। नवी मुम्बईमा १० लाख मानिसहरूलाई खुल्ला आकाशमुनी जम्मा हुन दिइँदा भारतीय अधिकारीहरूले कुनै सुरक्षा योजना अवलम्बन गरेका थिए कि थिएनन भन्ने प्रष्ट छैन।
तर उक्त शहरका ३७ वटा योजनाका बारेमा सेन्टर फर पोलिसी रिसर्चका लागि आदित्य भालिआथन पिल्लाई र तमन्ना दलालले गरेको एउटा नयाँ अध्ययनले शहर, जिल्ला र राज्यको तहमा धेरै त्रुटी रहेको फेला परेको छ।


पहिलो, एउटा बाहेक अधिकांश योजना ‘स्थानीय परिस्थितिलाई ध्यान दिएर बनाइएको थिएन र तिनले जोखिमलाई एकदमै साधारण तरिकाले’ हेरेका थिए।
३७ मध्ये १० वटा योजनाले स्थानीय रूपमा परिभाषित ‘तापक्रम थ्रेसहोल्ड’ स्थापित गर्न खोजेको देखिएको भएपनि तिनले गर्मीको लहर घोषणा गर्दा आद्रताजस्ता कारणलाई ध्यान दिएको या नदिएको प्रस्ट छैन।
उक्त अनुसन्धानमा संलग्न आदित्य भालिआथन पिल्लाईले जलवायु सम्बन्धी भविष्यवाणीलाई समेत ध्यान दिएर गर्मीले निम्त्याउने प्रकोपहरूलाई परिभाषित गर्न आफूहरूले सुझाव दिएको बताए।
प्राध्यापक माभालान्करका अनुसार त्यस्तो गर्नका लागि एउटा उपाय भनेको गाउँ स्तरमा नै स्वचालित मौसम केन्द्रहरू स्थापना गर्नु हो।
दोस्रो, अनुसन्धानकर्ताहरूले लगभग सबै योजनाहरू जोखिमपूर्ण समूहहरूलाई पहिचान र लक्षित गर्ने’ मामिलामा कमजोर नै रहेको पाएका छन्। खुला क्षेत्रमा काम गर्ने खेती र निर्माणसम्बन्धी क्षेत्रका कामदार, गर्भवती महिला, ज्येष्ठ नागरिक र बच्चाहरूमा चर्को गर्मीको सबैभन्दा बढी जोखिम देखिएको पाइएको छ।
भारतमा तीन चौथाइ भन्दा बढी कामदारहरू गर्मी प्रत्यक्ष रूपमा नै झेल्नुपर्ने निर्माण र खानीसँग सम्बन्धित कामहरूमा आबद्ध छन्।
“हाम्रो पृथ्वी तातो भइरहँदा सुरक्षित र प्रभावकारी ढङ्गले बाहिर काम गर्ने कामदारहरूको सामर्थ्य कमजोर भइरहेको छ। कडा परिश्रम गरेपछि शरीरबाट निस्कने ठूलो परिमाणको तापलाई चर्को गर्मी र आद्रताका कारण सहजै शीतल बनाउन गाह्रो भइरहेको छ,” नर्थ क्यारोलाइनास्थित ड्युक विश्वविद्यालयमा मौसम सम्बन्धी अनुसन्धानकर्ता लुक पार्सन भन्छन्।
उनका अनुसार तातो हावा चल्दा दिनमा सुरक्षित र उत्पादनशील काम गर्ने समय कम हुन्छ।

पिल्लाईका अनुसार भारतका कुन क्षेत्रका मानिसहरूले काममा गर्मी खेप्नुपर्छ र उनीहरूले कुलर वा कार्यस्थल नजाने विकल्प रोज्न सक्छन् कि सक्दैनन भनेर पहिल्याउनु आवश्यक छ। “तपाईँमाझ यस्तो परिस्थिति पनि आउनसक्छ जसमा शहरको ३ प्रतिशत भूगोलमा जोखिममा रहेका ८० प्रतिशत जनसङ्ख्या बस्छन्।”
पिल्लाई र दलालको अध्ययनले गर्मीसँग जुझ्ने कार्य योजनाको कानुनी आधार कमजोर रहेको, जबाफदेहिता कम रहेको र ती पारदर्शी नरहेको पनि पाएको थियो।
चरम तापको समाधान सामान्य हुनसक्छ। जोखिम रहेका स्थान र गर्मी धेरै हुने क्षेत्रमा पर्याप्त रूखहरू रोप्ने र ताप कम गर्ने डिजाइनका भवनहरू निर्माण गर्ने उपाय अवलम्बन गर्न सकिन्छ।
कतिपय अवस्थामा वातानुकूलनको व्यवस्था नरहेको अस्पतालको चरम तापक्रम रहेको माथिल्लो तल्लाबाट बिरामीहरूलाई तल्लो तल्लामा ल्याउँदा त्यसले पनि सघाउ पुर्याउनसक्ने अहमदावादको अध्ययनले देखाएको छ।


गर्मीका कारण असुरक्षित अवस्थामा कामदारहरूलाई कामबाट रोक लगाउने वा आराम गर्न दिनाले पनि सहयोग पुग्नसक्ने पार्सन्स बताउँछन्।
सन् २००० देखि २००४ र सन् २०१७ देखि सन् २०२१ मा भारतमा चरम तापका कारण हुने मृत्यु ५५ प्रतिशतले बढेको 'द लान्सिट' नामक जर्नलमा हालै प्रकाशित अध्ययनमा उल्लेख छ।
गर्मीका कारण सन् २०२१ मा १६७ दशमलव २ अर्ब घण्टा सम्भावित काम गर्ने समयमा क्षति पुगेको र त्यसले देशको कुल गाह्रस्थ उत्पादनको ५ दशमलव ४ प्रतिशत हुने आम्दानीमा क्षति पुर्याएको जनाइएको छ।
तर अझै पनि भारतीयहरूले गर्मीलाई गम्भीरतापूर्वक लिइरहेका छैनन्।
विवरणहरूका अनुसार सरकारी कार्यक्रम आयोजना भएको नवी मुम्बईमा आइतबार ३८ सेल्सियस तापक्रम थियो।
तर उक्त कार्यक्रमका तस्बिरहरूमा हजारौँ मानिसहरू सिधै घाममुनी बसिरहेको र उनीहरू कुनै छाना वा ओतमुनि नरहेको देखिन्थ्यो। एकदमै थोरैले मात्रै छाता बोकेका थिए वा टाउको ढाक्ने गरी तौलिया बेरेका थिए।
पिल्लाइ भन्छन्, “म दिल्लीमा बस्छु जहाँ तापक्रम ५० डिग्रि सेल्सियससम्म पुग्न सक्छ र मैले त्यहाँ एकदमै थोरै मानिसहरूले छाता बोकिरहेको देख्छु।”








