टर्की-सिरिया भूकम्पः अमेरिकी वैज्ञानिक परियोजना 'हार्प'का कारण टर्कीमा भूकम्प गएको मिथ्या दाबी सामाजिक सञ्जालमा भाइरल

तस्बिर स्रोत, Reuters
- Author, पेट्रा जिभिच
- Role, बीबीसी वर्ल्ड सर्भिस
टर्की र सिरियामा फेब्रुअरी ६ मा विनाशकारी भूकम्प आएपछि ट्विटरमा उक्त विपत्तिबारे अनेकौँ चर्चा भएका छन् अनि तस्बिर र भिडिओहरू प्रेषित भएका छन्। म्याग्निट्यूड ७.८ को उक्त भूकम्प र त्यसपछि आएका शक्तिशाली परकम्पका कारण भवनहरू भत्किँदा दुई देशमा गरेर ४४,००० जनाभन्दा बढी मानिसको ज्यान गएको छ।
उक्त भूकम्प अमेरिकाका कारण उत्पन्न भएको दाबी गरिएका लाखौँ पोस्टहरू सामाजिक सञ्जालमा देखा परेका छन्। धेरै चर्चित अर्थात् सामाजिक सञ्जालको भाषामा 'भाइरल' भएका केही सामग्रीमा अमेरिकाको अलास्का राज्यस्थित एउटा वैज्ञानिक परियोजना 'हार्प'का कारण टर्कीमा भूकम्प उत्पन्न भएको भन्ने मिथ्या दाबी गरिएको छ।
'हार्प' अमेरिकी सेनाको आर्थिक सहयोगमा सुरु भएको हाई-फ्रिक्वन्सी एक्टिभ अरोरल रिसर्च प्रोग्र्याम (एचएएआरपी) को सङ्क्षिप्त रूप हो।
अमेरिकी सेनाले सन् १९९० मा उक्त कार्यक्रम सुरु गरेको हो। सन् २०१४ देखि यूनिभर्सिटी अफ अलास्का फेअरब्याङ्क्सले हार्प सञ्चालन गर्दै आएको छ।
हार्पमा प्रयोग हुने ट्रान्समिटरले पृथ्वीको वायुमण्डल र अन्तरिक्षको मिलन हुने क्षेत्र आयनमण्डलको अध्ययन गर्छ।
हार्पबारे मिथ्या सूचना
टर्कीमा केन्द्रबिन्दु भएर ठूलो भूकम्प गएपछि ट्विटरमा हार्पबारे लेख्ने नौला अकाउन्टहरूको सङ्ख्या ह्वात्तै बढ्यो।
बीबीसीले गरेको अनुसन्धानमा ट्विटरमा साढे पाँच लाख पटकभन्दा बढी हार्प उल्लेख गरिएको पाइयो।
एउटा पोस्टमा यस्तो लेखिएको छः "टर्कीमा जे भयो....उनीहरूले जीओ-इन्जिनियरिङ मौसम परिवर्तन हार्प प्रयोग गरे!"
अर्का एक जनाले चराहरूको भिडिओ हाल्दै भूकम्प जानुअघि तिनले "अनौठो व्यवहार देखाएको" टिप्पणी गरेका छन्। उनको प्रश्न छः के टर्कीमा हार्पबाट आक्रमण भएको हो?

तस्बिर स्रोत, Twitter
मानिसहरूले बादलको तस्बिर राख्दै भूकम्प जानुअघि टर्कीमा त्यस्ता बादलहरू देखा परेका र ती हार्पजनित भएको मिथ्या दाबी गरे।
"हार्प परियोजनास्थलमा भएको अनुसन्धानमूलक उपकरणले प्राकृतिक विपद्हरू उत्पन्न गराउने वा तिनलाई बढाउने काम गर्न सक्दैन," हार्पकी कार्यक्रम प्रबन्धक जेसिका म्याथ्यूजले बीबीसीलाई बताइन्।
यूनिभर्सिटी अफ मिशिगनमा जलवायु र अन्तरिक्ष विज्ञानका प्राध्यापक आरोन रिड्ली पनि म्याथ्यूजको भनाइसँग सहमत छन्।
"हार्पले मौसममा प्रभाव पार्न सक्छ भन्ने कुनै वैज्ञानिक प्रमाण छैन," उनले भने।
प्राकृतिक विपद् उत्पन्न गराएको आरोप हार्पमाथि लागेको यो पहिलो पटक भने हैन।
"हार्प परियोजना कुनै गोप्य उद्देश्यका लागि सञ्चालित भएको मान्यता राख्नेहरूमाझ वर्षौँदेखि चर्चाको विषय बनेको छ। वैज्ञानिक र विज्ञहरूले मिथ्या भएको स्पष्ट पारेका छन् तर पनि हार्प धेरै प्राकृतिक प्रकोपहरूको कारक भएको चर्चा सधैँ हुँदै आइरहेको छ," बीबीसी डिस्इन्फर्मेशन टीमका शायान सेर्दारीजादेले बताए।

तस्बिर स्रोत, Getty Images
के हो हार्प र यसले के गर्छ?
स्थापना गर्दा हार्पको उद्देश्य सैन्य र नागरिक सञ्चार तथा न्याभिगेशन प्रणालीमा आयनमण्डलले कस्तो प्रभाव पार्छ भनेर अनुसन्धान गर्नु थियो।
प्राकृतिक रूपमै उत्पन्न हुने उपद्रवले पृथ्वीबाट प्रसार गरिने रेडिओ सङ्केतमा अवरोध पुर्याउन सक्छन्। जीपीएस स्याटलाइट, वाईफाई प्रणाली, अन्तरिक्षयान र रेडिओ सञ्चारजस्ता आधुनिक प्रविधिमा त्यस्तो सङ्केत प्रयोग गरिन्छ।
"आयनमण्डलमा अशान्त प्रक्रियाहरू हुन्छन्...। तिनले रेडिओ तरङ्गहरूलाई सोसिदिन सक्छन् र सञ्चार गर्न सम्भव हुँदैन। आयनमण्डलमा रेडिओ सङ्केतहरू हराउँछन्," प्राध्यापक रिड्लीले भने।
त्यस्ता उपद्रवहरूको पूर्वानुमान गर्न सकिँदैन। त्यसैले हार्पमा कार्यरत वैज्ञानिकहरू आयनमण्डलका ससाना खण्डलाई तताउन उच्च आवृत्तिका तरङ्गहरू उत्पन्न गर्ने हाई-फ्रिक्वन्सी रेडिओ ट्रान्समिटर प्रयोग गर्छन्।
त्यसो गर्दा प्रकृतिमा स्वाभाविक रूपमा हुने जस्तै अवस्था बन्छ र वैज्ञानिकहरूले त्यसको अध्ययन गर्न सक्छन्।

तस्बिर स्रोत, Getty Images
जेसिका म्याथ्यूजका अनुसार तर त्यस्तो प्रक्रियाका कारण पृथ्वीमा मौसमी परिघटना हुँदैन।
"मौसमसँग सम्बन्ध भएका वायुमण्डलका दुईवटा तहले हार्पबाट पठाइने रेडिओ तरङ्गहरू सोस्दैनन्," उनले भनिन्।
कोर्नेल यूनिभर्सिटीमा पृथ्वी र अन्तरिक्ष विज्ञानका प्राध्यापक डेभिड हाइजल पनि हार्पले पृथ्वीको मौसममा प्रभाव नपार्ने मान्यतासँग सहमत छन्।
"यी कुराहरूको एकअर्कासँग कुनै सम्बन्ध छैन," उनले भने।

तस्बिर स्रोत, Getty Images
हार्पलाई पहिला पनि लागेको थियो दोष
"विनाशकारी घटना भएपछि सामाजिक सञ्जालमा आशङ्कायुक्त अवधारणाहरू ह्वात्तै बढ्छन्," शायान सेर्दारीजादेले भने।
सन् २०२२ मा बल्गेरियाको कार्लोभो सहरमा बाढी आउँदा सामाजिक सञ्जालमा हार्पका कारण ठूलो वर्षा भएको दाबी गरिएका पोस्टहरू देखा परेका थिए।

तस्बिर स्रोत, Reuters
हार्पकै कारण सन् २०२१ मा चीनमा विनाशकारी बाढी आएको र टर्कीमा ठूलो डढेलो फैलिएको दाबी गरिएको थियो।
गत वर्ष क्यारिबीअन र संयुक्त राज्य अमेरिकाको दक्षिणपूर्वी भागमा समुद्री आँधी इअन आउँदा पनि त्यसको दोष हार्पलाई लगाउँदै सामाजिक सञ्जालमा टिप्पणी गरिएको थियो।
टर्की र सिरियामा अहिले आएको विनाशकारी भूकम्पपछि हार्पबारे चर्चा फेरि चुलियो र यो सम्भवतः यहीँ टुङ्गिँदैन पनि।
तर पहिल्यै तथ्यहीन भनिसकिएको भाष्य फेरि प्रयोग गरेर शङ्काप्रधान अवधारणा पत्याउने व्यक्तिहरूले पुरानै कुरालाई प्रमाणका रूपमा प्रस्तुत गर्ने गरेको सेर्दारीजादेले बताए।

यो पनि हेर्नुहोस्












