समुद्र तात्दा एन्टार्क्टिकाको एउटा विशाल हिमनदी पूरै पग्लिने जोखिम, बाँकी विश्वमा कस्तो प्रभाव पर्ला

तस्बिर स्रोत, R.Robbins-USAP
- Author, जोनाथन एमस
- Role, बीबीसी विज्ञान संवाददाता
समुद्री तापक्रममा हुने परिवर्तनप्रति एन्टार्क्टिक ग्ल्यासिअर अर्थात् हिमनदीहरू सोचेभन्दा बढी संवेदनशील हुनसक्ने नयाँ अध्ययनले देखाएको छ।
ब्रिटिश एन्टार्क्टिक सर्भे र यूएस एन्टार्क्टिक कार्यक्रमले हिमनदी पग्लिने कुराको अध्ययन गर्न विशाल थ्वेइट्स ग्ल्यासिअरमुनि सेन्सर र पानीमुनि रोबट राखेका छन्।
ब्रिटेनको जत्रै आकार भएको थ्वेइट्स विश्वको सबैभन्दा छिटो परिवर्तन भइरहेका हिमनदीमध्ये एक हो।
जलवायु परिवर्तनका लागि यसको संवेदनशीलता वैज्ञानिकहरूका लागि ठूलो चिन्ताको विषय हो।
यदि उक्त हिमनदी पूर्ण रूपमा पग्लियो भने त्यसले विश्वव्यापी रूपमा समुद्रको स्तरलाई आधा मिटरले बढाउनेछ।

तस्बिर स्रोत, ICEFIN/ITGC/SCHMIDT
नयाँ अध्ययनका अनुसार सुस्त गतिमा पग्लिँदा पनि उक्त हिमनदी अन्ततोगत्वा विलुप्त हुने दिशातर्फ जान सक्छ।


‘सबैभन्दा ठूलो अध्ययन’
थ्वेइट्स ग्ल्यासिअरमा गरिएको संयुक्त सर्वेक्षण उक्त महादेशमा गरिएको सबैभन्दा ठूलो अध्ययनको एउटा अङ्ग हो।
सन् १९९० को दशकको उत्तरार्धदेखि उक्त हिमनदी आफ्नो "प्रारम्भिक रेखा" बाट १४ किलोमिटर खुम्चिएको देखिएको छ।
प्रारम्भिक रेखा त्यस्तो स्थान हो जहाँ जमिनबाट र समुद्रको पीँधमा बग्ने बरफ तैरिन्छ। त्यसले एउटा ठूलो समथर भाग बनाउँछ।
कतिपय स्थानमा त्यो रेखा अहिले वर्षमा एक किलोमिटरभन्दा बढीले खुम्चिएको छ।
समुद्रको पीँधको आकार जमिनतिर ढल्केको जस्तो भएकाले यो प्रक्रियाको गति बढ्ने सम्भावना छ।


यसरी गरियो अध्ययन

नयाँ अध्ययनका क्रममा ब्रिटिश एन्टार्क्टिक सर्भे (बीएएस) का वैज्ञानिकहरूले सेन्सरहरूलाई बरफमा पारिएका गहिरा प्वालमार्फत् तल रहेको पानीमा पुर्याएका थिए।
बरफको तहमा तातो पानी राख्दा उच्च तापक्रमअन्तर्गत अपेक्षाभन्दा कम पग्लिने क्रम देखियो।
तर उनीहरूले कम्प्युटर मोडलिङको सहयोगमा उक्त हिमनदी खुम्चिनुमा बरफ पग्लिने मात्रा सबैभन्दा महत्त्वपूर्ण कारक नभएको पत्ता लगाए। यसलाई उनीहरूले चिन्ताको विषय मानेका छन्।

"पग्लिने दर कम हुनु राम्रो कुरा हो तर कुन कुराले पग्लिने दर कसरी परिवर्तन हुन्छ भन्ने कुरा महत्त्वपूर्ण छ," बीएएसका समुद्रसम्बन्धी वैज्ञानिक डा. पिट डेभिसले भने।
"बरफको ढिक्कालाई सन्तुलनबाट बाहिर धकेल्न पग्लिने दर बढाउनुपर्छ। त्यसैले पग्लिने दर थोरै मात्र बढ्यो भने पनि त्यो द्रुत गतिमा सर्न सक्छ।"
अपेक्षितभन्दा कम पग्लिएको अवस्था हिमनदीको मुनिका भागहरूमा देखिएको हो। ती भागहरू समतल र अपेक्षाकृत समान थिए।
तर उक्त संयुक्त सर्वेक्षणको एक अङ्गको रूपमा रहेको यूएस एन्टार्क्टिक कार्यक्रमका लागि भूमिगत 'आइसफिन' रोबटले पठाएका तस्बिरहरूमा अवस्था निकै जटिल भएको देखिएको छ।
"हामी के देख्न सक्छौँ भने त्यहाँ हामीले अपेक्षा गरेको समतल बरफमा विभिन्न खालका सिँढीजस्ता चिराहरू देखिए। हामीले वास्तवमा त्यस्तो होला भन्ठानेका थिएनौँ, कोर्नेल विश्वविद्यालयकी अनुसन्धानकर्ता ब्रिटनी श्मिड्टले भनिन्।
पानीमुनि पठाइएको उक्त रोबटलाई उनले एउटा भिडिओ मोनिटर प्रयोग गरेर नियन्त्रण र मार्गनिर्देशन गरेकी थिइन्।



यसरी पठाइयो रोबट
थ्वेइट्समुनि ‘टोर्पीडो’ आकारको रोबट पठाउन बीएएसले तातो पानीले बरफमा प्वाल पार्ने विधिबाट ६०० मिटर तलसम्म प्वाल बनाएको थियो।
त्यसपछि आइसफिनलाई तल पठाइयो र अन्वेषण सुरु गरियो।
डा. श्मिड्टले नेतृत्व गरेको टोलीले रोबटलाई हिमनदीको प्रारम्भिक रेखासम्म लानेगरी पाँच पटक 'गोता' लगायो।

आइसफिनमा रहेका सेन्सरहरूले ती विशिष्ट स्थानमा फराकिलो महासागरबाट आउने तातो पानीको प्रवाहले थ्वेइट्सको तल्लो भाग भत्किँदै गएको सङ्केत गरेका छन्।
"सामान्यतया तातो पानी कमजोर ठाउँहरूमा पुग्दैछ र ती ठाउँलाई अझ कमजोर बनाउँदैछ," उनले भनिन्।
"यसले हामीलाई अब त्यो बरफका ढिस्काहरू कसरी र कहिलेसम्म भत्किन सक्छन् भन्ने पूर्वानुमान गर्न सहज बनाउँछ।”
डा. डेभिस थ्वेइट्सको अध्ययन गर्दा प्राप्त ज्ञान उक्त क्षेत्रका अन्य हिमनदीमा पनि लागु हुनसक्ने बताउँछन्।
नेचर जर्नलमा यसै साता उक्त अध्ययनबारे जानकारी दिने खालका दुईवटा शोधपत्र प्रकाशित भएका छन्।














