आङ सान सू चीलाई रिहा गर्न छोराको आग्रह

- Author, सन्डर विन
- Role, बीबीसी बर्मीज
- Reporting from, लन्डन
- Author, मोई म्यिन्त
- Role, बीबीसी बर्मीज
- Reporting from, लन्डन
म्यान्मारकी सत्ताच्युत नेत्री आङ सान सू चीलाई कारावासबाट रिहा गर्न उनका कान्छा छोराले आग्रह गरेका छन्।
बीबीसी बर्मीजलाई लन्डनबाट दिएको हालसालैको एक अन्तर्वार्तामा किम एरिसले भनेका छन्, “म मेरी आमालाई कारागारमा सड्न दिन सक्दिनँ।” उनले सिङ्गो संसारलाई आफ्नी आमालाई सहयोग गर्न आग्रह गरे।
सन् २०२१ मा सैनिक नेतृत्वले सत्ता कब्जा गरेर उनको सरकारलाई अपदस्थ गरेपछि भएका विभिन्न चरणका अदालती कारबाहीपछि सू चीलाई ३३ वर्षको जेल सजाय तोकिएको छ।
त्यसपछि म्यान्मारको राजनीति गृहयुद्धमा फसेको छ र दशौँ हजार मानिसको ज्यान गइसकेको छ।
बेलायती नागरिक एरिसका अनुसार सेनाले उनलाई आफ्नी आमा एवं उनको स्वास्थ्य अवस्थाबारे कुनै जानकारी दिएको छैन। यस विषयमा बुझ्न आफूले म्यान्मारको दूतावास, ब्रिटेनको परराष्ट्र मन्त्रालय र अन्तर्राष्ट्रिय रेड क्रसलाई सम्पर्क गर्ने प्रयास गरे पनि कसैले सहयोग गर्न नसकेको उनले बताए।
“यसअघि म सञ्चार माध्यममा बोल्न वा धेरै संलग्न हुन चाहेको थिइनँ,” अन्तर्राष्ट्रिय सञ्चार माध्यममा पहिलो पटक अन्तर्वार्ता दिँदै एरिसले भने। सन् १९८९ देखि २०१० का बीच करिब १५ वर्ष आफ्नी आमालाई हिरासतमा राखिएका बेला उनी बाहिर बोलेका थिएनन्।
“म राजनीतिभन्दा बाहिरै बसेको भए पनि हुन्थ्यो। मेरी आमाले पनि मलाई कहिल्यै राजनीतिमा संलग्न गराउन चाहिनन्। तर अहिले उनलाई सजाय दिइएको छ र स्पष्टत: सेनाले उचित व्यवहार देखाएको छैन। त्यसैले म चाहेको कुरा बोल्न पाउँछु जस्तो मलाई लाग्छ।”
नोबेल शान्ति पुरस्कार विजेता सू ची संसारकै अग्रणी प्रजातान्त्रिक प्रतीक मानिन्थिन्। सन् २०१० मा उनी झन्डै १५ वर्ष लामो थुनाबाट मुक्त हुँदा म्यान्मार मात्र नभई सिङ्गो संसारले उत्सव मनायो। तर त्यसपछि संयुक्त राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय अदालतमा आफ्नो देशमाथि लागेको नरसंहारको आरोपको प्रतिरक्षा गरेकामा उनी आलोचित भइन्। साथै उनको सरकारका समयमा मुस्लिम रोहिन्ज्यामाथि क्रूर दमन गरेको आरोप पनि छ। हालैका वर्षहरूमा करिब १० लाख रोहिन्ज्याहरूले म्यान्मार छाडेर छिमेकी बाङ्लादेशलगायतका देशमा शरणार्थीका रूपमा आश्रय लिएका छन्।
एरिसले सेनाले सत्ता कब्जा गर्नुअघि उनकी आमाबारे भएको आलोचनाबारे बीबीसीले सोधेका प्रश्नहरूको उत्तर दिन मानेनन्। बरु उनले हाल आमाले पाएको दु:खमै केन्द्रित हुन चाहेको बताए।
मुक्तिपछिको कारावास

तस्बिर स्रोत, Getty Images
सत्ता कब्जापछि नजरबन्दमा रहेकी सू चीलाई गत वर्ष राजधानी नेप्यिटमा रहेको एक कारागारमा एक्लै बस्ने गरी सारियो। त्यसपछि उनका बारे खासै केही समाचार आएका छैनन्। उनी बिरामी परेको हल्ला चलेको थियो, तर सेनाले त्यसलाई अस्वीकार गर्यो।
एरिसले अन्तर्राष्ट्रिय समुदायलाई म्यान्मारको सङ्कट समाधान गर्नका लागि आग्रह गरेका छन्। विरोधीको दमनमा सेनाले घातक हतियारको प्रयोग मात्र नभई हवाई आक्रमण नै गर्न थालेपछि हताहत हुनेहरूको सङ्ख्या निरन्तर बढ्दो छ।
यस अवस्थामा अन्तर्राष्ट्रिय समुदायले “सेनालाई गरिने हतियार बिक्रीमाथि प्रतिबन्ध लगाउने र सेनाका विरुद्ध लड्न खोजिरहेकाहरूलाई सहयोग गर्ने समेतका केही काम गर्न” सुरु गर्नुपर्ने उनको भनाइ छ।
प्रतिबन्धहरू र अन्तर्राष्ट्रिय समुदायबाट एक्लिँदा पनि म्यान्मारले हतियार र तिनको निर्माणका लागि आवश्यक कच्चा पदार्थको आयात जारी राखेको छ।
अन्तर्राष्ट्रिय समुदायले आफ्नी आमाको रिहाइका लागि “अझ बलियोसँग पैरवी गर्न थाल्नुपर्ने” पनि एरिस बताउँछन्। “आफूबाहेक कसैको सहयोग नपाई यस्तो कठिन परिस्थिति सामना गरिरहेका बर्माका जनताका लागि समुचित सहायता” उपलब्ध गराउन उनले सिङ्गो संसारलाई आग्रह गरेका छन्।
अविराम आशा

तस्बिर स्रोत, Reuters
बिरामी आमाको हेरचाहका लागि सन् १९९८ मा ‘द लेडी’ भनेर चिनिने सू ची यूकेबाट म्यान्मार फर्किएदेखि नै एरिस र उनका दाजु आफ्नी आमाबाट प्रायःजसो छुट्टिएर बसिरहेको अवस्था थियो।
म्यान्मारको स्वतन्त्रताका नायक जेनरल आङ सानकी छोरी सू ची त्यसपछि सैनिक अधिनायकवादी शासन विरुद्धको प्रजातन्त्रवादी आन्दोलनको नेत्रीका रूपमा उदाइन्। उनले न्याश्नल लीग फर डिमोक्रसी (एनएलडी) नामक राजनीतिक दल स्थापना पनि गरिन्, तर सन् १९८९ देखि घरमै नजरबन्दमा परिन्।
सन् १९९१ मा उनले नोबेल पुरस्कार पाइन्, तर फर्कन नपाइने त्रासका कारण म्यान्मार छाडिनन्। उनका तर्फबाट त्यति बेला १४ वर्षका एरिसले पुरस्कार ग्रहण गरे। सन् १९९९ मा क्यान्सरका कारण आफ्ना श्रीमान्को निधन हुनुअघि सू ची उनलाई भेट्न पनि गइनन्।
सन् २०१० मा हिरासतबाट रिहा भएकी सू चीलाई एरिसले अन्तिम पटक भेटे। छुट्नुअघि उनले आमालाई याङ्गोनको बजारबाट किनिएको एक कुकुर पनि उपहार दिए।
“पिँजडामा राखिएका धेरै कुकुरहरूमध्ये ऊ मात्र वास्तमा जागा थियो… त्यसैले ऊ मसँग घर आयो,” एरिस सम्झन्छन्। “त्यसयता ऊ मेरी आमाको अति विश्वसनीय साथी बनेको छ।”


विगत २५ वर्षमा पहिलो पटक भएको म्यान्मारको निर्वाचनमा आफ्नो दल एनएलडीलाई अत्यधिक मत प्राप्त गर्न सफल बनाएपछि सू ची देशको ‘वास्तविक’ (‘डिफ्याक्टो’) शासक बनिन्।
आलोचित भए पनि उनी म्यान्मारका जनतामाझ अझै एकदमै लोकप्रिय छिन्।
आफ्नी आमा छिट्टै रिहा हुने कुरामा एरिस विश्वस्त छन्।
“सेनाले कहिल्यै पनि युद्ध जित्ने छैन, उसले खालि कति लम्ब्याउन सक्छ भन्ने कुरा हो,” उनी भन्छन्।
“उनीहरू जति छिटो मेरी आमा र प्रजातान्त्रिक तरिकाबाट निर्वाचित सरकारलाई सत्ता सुम्पन्छन्, त्यति नै छिटो उनीहरूको देशमा प्रगति सुरु हुन्छ।”




