म्यान्मार सैन्य कू: नेत्री आङ सान सू ची र उनलाई थुन्ने सेनाप्रमुखबारे नेपाली नेताको अनुभव

तस्बिर स्रोत, Reuters
म्यान्मारमा सत्ता हातमा लिएका सेनाप्रमुख हुन् मिन ओङ ह्लाइङ र सेनाद्वारा पक्राउ परेकी नेत्री हुन् आङ सान सू ची।
दुवै जनाले केही वर्षअघि नेपालको भ्रमण गरेका थिए र नेपाली नेता तथा अधिकारीहरूसँग भेटवार्ता पनि गरेका थिए।
छ वर्षअघि सू चीले वीपी चिन्तन प्रतिष्ठानको कार्यक्रममा सहभागी हुन काठमाण्डू आउँदा दशकौँअघि नेपाल आएको सम्झना सुनाएकी थिइन्।
सू ची नेपाल आउँदा नेपालका प्रधानमन्त्री सुशील कोइराला थिए। जानकारहरूका अनुसार उनले नै म्यान्मार गएका बेला सू चीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।
त्यस बेला प्रधानमन्त्री कोइराला र सू चीबीचको भेटवार्तामा नेता शशाङ्क कोइराला पनि सहभागी थिए।
दशकौँपछि नेपालमा सू ची
नेता शशाङ्क कोइरालाका अनुसार भेटमा निकै भावनात्मक कुराकानी भएको थियो। बीपी कोइराला हुँदाका पुरानादेखि भविष्यका कुराहरू भएका थिए।
प्रधानमन्त्रीले म्यान्मारलाई माथि उठाउन तपाईँमा जिम्मेवारी आउँछ भन्दा म आफ्नो देशलाई सही दिशा दिन सक्दो प्रयास गर्छु भनेर सू चीले जबाफ दिएको उनले सुनाए।
सू चीकी आमा सन् १९६० मा नेपाल समेत हेर्नेगरी दिल्लीमा राजदूत थिइन्। उनले त्यही बेला आमासँग नेपाल आएको सुनाएकी थिइन्।
कोइराला भन्छन्, "उस बेलाको काठमाण्डूको हरियाली सहरी विकासले मासिएको भन्दै दुःखी पनि सुनिनुभएको थियो।"

तस्बिर स्रोत, RSS
शशाङ्क कोइरालाका भनाइमा उनका बुवा बीपी कोइराला र सू चीका बुवा दुवै समाजवादी नेताको नाताले दुवैबीच घनिष्ठ सम्बन्ध थियो।
जनता-प्रजातन्त्रप्रति प्रगाढ आस्था
"बीपीले क्रान्ति गर्छु भनेर उहाँसँग हतियार सहयोग मागेको मलाई सम्झना छ, उहाँहरूको सम्बन्ध त्यति घनिष्ठ थियो," कोइराला भन्छन्।
उनले हतियार प्राप्त गरे वा नगरेको आफूलाई जानकारी नभएको बताए। तर नेपाली कांग्रेसकै कतिपय नेताहरूले विगतमा म्यान्मारबाट कांग्रेसले हतियार पाएको उल्लेख गरेका थिए।
आफ्नो देशमा लामो सैनिक शासन बेहोरेकी सू चीले काठमाण्डू आएका बेला नेपाली सेनाको भूमिकाको प्रशंसा गरेको विवरणहरू त्यतिबेला आएका थिए।
उनलाई गिरफ्तार गरेर फेरि सेनाले 'कू' गर्नुलाई कांग्रेस महामन्त्री कोइरालाले 'दुर्घटना' को सङ्ज्ञा दिए र त्यसले आफूहरूलाई स्तब्ध पारेको सुनाए।
सुशील कोइरालासँग सू चीले राखेको धारण स्मरण गर्दै उनी भन्छन्, "मलाई स्पष्ट सम्झना छ, उहाँले राष्ट्रको सम्पत्ति भनेको जनता हो भन्नु भएको थियो, प्रजातन्त्रमा उहाँको एकदमै विश्वास छ।"
सेना प्रमुखको नेपाल भ्रमण
सत्ता हत्याएका म्यान्मारका सेना प्रमुख मिन ओङ ह्लाइङ तीन वर्षअघि नेपाल भ्रमणमा आएका थिए।

तस्बिर स्रोत, NEPAL ARMY
उस बेला उनले नेपाली समकक्षीसहित नेपालका उच्च अधिकारीहरूसँग शिष्टाचार भेटघाट गरेका थिए।
म्यान्मारमा रोहिन्ज्या मुस्लिमहरूप्रति सेनाले गरेको व्यवहारको अन्तर्राष्ट्रिय रूपमा चर्को आलोचना भइरहेको बेला उक्त भ्रमणलाई लिएर पनि कतिपयले प्रश्न उठाएका थिए।
तत्कालीन रक्षामन्त्री भीमसेनदास प्रधानका अनुसार नेपाल रहेका रोहिन्ज्या शरणार्थीबारे पनि म्यान्मारका सेना प्रमुखले कुरा उठाएका थिए।
वर्षौँदेखि आन्तरिक द्वन्द्वमा फसेको म्यान्मारका सेनाप्रमुखको नेपाल भ्रमण यहाँको शान्तिप्रक्रिया र त्यसमा पनि खासगरी विद्रोही सैनिक तथा हतियारको व्यवस्थापनबारे बुझ्न केन्द्रित रहेको बताइएको थियो।
नेपालमा एउटा भने उता 'अर्कै गरे'
आफूसँगको भेटमा सेनाप्रमुखलाई नेपालमा राजतन्त्रको अन्त्यपछि लोकतान्त्रिक गणतन्त्रको नयाँ अभ्यास भइरहेको प्रसङ्ग आफूले झिकेको प्रधानले बताए।
"त्यो पूर्ण लोकतन्त्र हो, जनताको हातमा सार्वभौमसत्ता पहिलो पटक आयो भनेँ," प्रधान सम्झिन्छन्, "त्यसपछि उनले हामी पनि पूर्ण लोकतन्त्रप्रति प्रतिबद्ध छौँ भनेका थिए।"
तर सेना प्रमुखको रूपमा पाँच वर्ष थपिएपछि नेपाल आएका उनै सेना प्रमुखले म्यान्मारमा सत्ता हातमा लिएका छन्।

तस्बिर स्रोत, Nepal Army
राष्ट्रपति विद्यादेवी भण्डारीले पनि म्यान्मार पुगेका बेला नेत्री सू ची र सेनाप्रमुख ह्लाइङ दुवैसँग भेट गरेकी थिइन्।
कांग्रेस नेताहरूको निम्तामा नेपाल आएकी सू चीलाई दिइएको सम्मानलाई लिएर म्यान्मारको सैनिक पक्ष असन्तुष्ट बनेको विवरणहरू पनि त्यस बेला आएका थिए।
त्यसलाई सू चीप्रति सैनिक नेतृत्वको असहिष्णुताको रूपमा लिइएको थिए।
तर रोहिन्ज्याविरुद्ध नरसंहार गरेको भनी आरोप लागेको त्यही सेनाको बचाउ गरेको भन्दै सू चीले अन्तर्राष्ट्रिय रूपमा चर्को आलोचना खेप्नुपरेको थियो।

तस्बिर स्रोत, Reuters
को हुन् आङ सान सू ची?
आङ सान सू ची म्यान्मारका स्वतन्त्रता सेनानी आङ सानकी छोरी हुन्। उनी अहिले ७५ वर्षकी भइन्।
सन् १९४८ मा म्यान्मारले औपनिवेशिक ब्रिटिश शासनबाट मुक्ति पाउनु केही समयअघि जेनरल आङ सानको हत्या भएको थियो। त्यतिबेला सू ची दुई वर्षकी थिइन्।
सू चीलाई कुनै बेला मानव अधिकारकी प्रतिमूर्ति मानिन्थ्यो। उनले सैन्य शासनविरुद्ध धेरै लामो समय सङ्घर्ष गरेकी थिइन्।
सन् १९९१ मा नोबेल शान्ति पुरस्कार पाउँदा उनी घरमै नजरबन्द थिइन्। उनी सन् १९८९ देखि २०१० सम्म झन्डै १५ वर्ष सेनाको नियन्त्रणमा बस्न बाध्य थिइन्।
नोभेम्बर २०१५ मा उनको नेतृत्वमा न्याश्नल लीग फर डेमोक्रेसी (एनएलडी) ले निर्वाचनमा ठूलो बहुमत प्राप्त गर्यो। म्यान्मारमा २५ वर्षपछि स्वतन्त्र निर्वाचन भएको थियो।
विदेशी नागरिकसँग विवाह गरेर जन्मिएका सन्तान पनि विदेशी नागरिक नै भएकाले म्यान्मारको संविधानले उनलाई देशको राष्ट्रपति बन्न रोक्छ। तर सत्तारूढ दल र सरकारमा उनकै नेतृत्व भएको देखिन्थ्यो।
तर म्यान्मारको काउन्सलर पद ग्रहण परेपछि अल्पसङ्ख्यक रोहिन्ज्या मुस्लिमसँग गरिएको व्यवहारका कारण उनको चर्को आलोचना भयो।
सन् २०१७ मा सेनाले दमन गर्न थालेपछि हजारौँ रोहिन्ज्याहरू म्यान्मार छोडेर छिमेकी बाङ्ग्लादेशमा शरण लिन गएका थिए। सेनाको अत्याचार रोक्न उनले केही नगरेको भनेर सू चीको आलोचना भएको थियो।










