तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बच्चा जन्मिएपछि वैवाहिक सम्बन्धमा पर्न सक्छ असर
- Author, अमान्डा रुगेरी
- Role, फीचर संवाददाता
हलीलाई पहिल्यै अनुमान थियो किन गर्भवती भएपछि उनको जीवनमा धेरै परिवर्तन आउने छ।
उनको पहिलो अल्ट्रासाउन्डले उनको गर्भमा जुम्ल्याहा बच्चा रहेको देखायो। अब उनलाई आफ्नो जीवन अझै धेरै परिवर्तन हुन्छ भन्ने लाग्यो।
तर आफू आमा हुँदै गर्दा आफ्ना पाँच वर्षदेखिका 'पार्ट्नर'सँगको सम्बन्धमा आउने परिवर्तनबारे चाहिँ उनले सोचेकै थिइनन्।
उनले बच्चा जन्माएको केही समयपछिनै उनीहरूबीच निकै चर्को वादविवाद सुरू भयो। उनीहरूबीच छुट्टिने सम्मका कुरा भए।
हाल क्यानडामा बस्ने हलीका अनुसार उनीहरूबीच विवाद चाहिँ कामको बाँडफाँटको विषयलाई लिएर सुरु हुन्थ्यो। उनका पार्ट्नरले सरसफाइ, लुगा धुने, पकाउनेदेखि घरका अधिकांश काम गर्थे। तर उनलाई बच्चाहरू हेर्नका लागि पनि सहयोग आवश्यक हुन्थ्यो।
“बच्चा जन्माउन मेरो आपत्कालीन शल्यक्रिया भएको थियो। मेरो शरीरलाई गाह्रो भइरहेको थियो। मैले दुई जना बच्चाहरूलाई २४सै घण्टा खुवाउनु पर्थ्यो, सुत्न पनि पाउँदिनथेँ। एउटा बच्चा रुन सुरु गर्यो भने उनी आफू आएर फकाउन खोज्दैनथे, ‘तिमीलाई खोज्यो’ भनेर पन्छिन्थे,” उनी भन्छिन्।
“मलाई उनीसँग साह्रै रिस उठ्थ्यो।”
धेरै जना आमाबाबुहरूको हलीको जस्तै अनुभव छ।
अध्ययनहरूले पनि बच्चा भएपछि जोडीहरूको सम्बन्धमा परिवर्तन आउने देखाएका छन्। बोर्न विश्वविद्यालयले सन् २०२१ मा गरेको अध्ययनले सम्बन्धप्रतिको सन्तुष्टि समयसँगै घटबढ हुने र सँगसँगै भएको पहिलो १० वर्षपछि जोडीहरू आमाबाबु भए वा नभए पनि सन्तुष्टि घट्ने देखाएको छ।
यही दृष्टिकोणबाट हेर्दा बच्चा नभएका जोडीहरूमा भन्दा भएका जोडीहरूमा सन्तुष्टिको मात्रा कम देखिन्छ।
अर्को कुरा जति धेरै बच्चाहरू भए जोडीहरूबीच सम्बन्धको सन्तुष्टि पनि त्यति नै कम देखिन्छ। सबैभन्दा कम खुसी हुनेमा शिशुका आमाहरू छन्। विवाह गरेर आमा भएका ३८ प्रतिशत मात्रै सन्तुष्ट छन् भने विवाह गरे पनि आमा नभएका ६२ प्रतिशत महिला सन्तुष्ट छन्।
सम्बन्धमा अभिभावकत्वले चुनौती थप्ने कुरा अनौठो होइन। बहुसङ्ख्यक जोडीहरूका लागि सञ्चार, सन्निकटता र सँगसँगै बिताउने समय जस्ता मनोवैज्ञानिकहरूले भन्ने गरेको “संरक्षित” सम्बन्धका तत्त्वहरू बच्चा भएपछि नराम्ररी प्रभावित हुन्छन्।
बच्चा जन्मिएपछि निद्रा नपुगेर होस् वा आर्थिक चिन्ता लगायतका तनावका कारण जोडीहरूको झगडा रोक्नु असम्भव जस्तै हुन्छ।
विश्वका धेरै ठाउँहरूमा कमै कुरा गरिने भएका कारण पनि पनि मातृत्वका क्रममा आउने उतारचढावले धेरै बाबुआमालाई झट्का दिन्छ।
विज्ञ र बच्चा हुर्काइसकेका जोडीहरूका अनुसार सामाजिक सञ्जालले यसबारेमा अझै धेरै भ्रममा राख्छ। किनभने सामाजिक सञ्जाल मुस्कुराइरहेका आमाबाबु र बच्चाको तस्बिरले भरिएका हुन्छन्। यसबारेमा साथीहरू र परिवारकै सदस्यहरू पनि खुलेर कुरा गर्न चाहँदैनन् किनभने उनीहरू यस्ता कुराले आफ्ना प्रियजनहरू आफ्नो जोडीप्रति नकारात्मक हुन्छन् कि भन्ने डर हुन्छ।
विज्ञहरूका अनुसार यसको नतिजा बाबुआमाहरू एक्लो महसुस गर्छन् र आफूलाई परेको अप्ठ्यारोबारे लज्जित महसुस गर्छन्। उनीहरूले अरूसँग सहयोग माग्न पनि अग्रसर नहुने भएका कारण सम्बन्ध थप चुनौतीपूर्ण र खराब हुनसक्छ।
बच्चा जन्मिएपछि सम्बन्धमा त्यसअघि खासै हेक्का नभएका विषयहरू पनि उठान हुन्छन् र त्यसलाई सुल्झाउन पनि त्यसअघि भन्दा कठिन हुन्छ।
तर क्यालिफोर्नियामा रहेर काम गर्ने परिवार थेरापिस्ट स्टेसी शेरलका अनुसार सम्बन्धमा आउने नयाँ द्वन्द्वको कारण आमाबाबु हुनु मात्रै चाहिँ होइन।
उनका अनुसार बच्चा हुनुअघि जोडीहरूबीच एक अर्काबीच कम कुराकानी हुने जस्ता सम्बन्धका कुराहरूमा धेरै ध्यान दिने समय रहन्छ। तर बच्चा भइसकेपछि सम्बन्धमा आउने समस्यामा धेरै समय उनीहरूले दिन सक्दैनन्।
“हामी बिस्तारै एक ठाउँमा आउनु पर्छ र समस्याहरूमा पनि ध्यान दिनु पर्छ,” शेरल भन्छिन्। उनका अनुसार उनीकहाँ सल्लाह लिन आउने धेरै जोडीहरूबीच बच्चा जन्मिइसकेपछि समस्या सुरु भएको पाइन्छ।
“तपाईँहरूको यौन जीवन राम्रो छैन? सम्भवतः बच्चा भइसकेपछि त्यो राम्रो हुनेवाला छैन,” उनी भन्छिन्।
यद्यपि उनका अनुसार बच्चा प्रमुख समस्या हुनुअघि एक अर्कालाई झर्को लाग्ने बानी व्यवहार पनि जोडीहरूले सहेर बसेका हुन्छन्।
यदि एक जनाको भिडिओ गेम खेल्ने बानी छ भने बच्चा हुनुअघि त्यसले सम्बन्धमा समस्या नल्याउन सक्छ। किनभने अर्को व्यक्तिले त्यो समय आफूलाई आनन्द लाग्ने काम गरेर बिताउन सक्छ।
तर बच्चा भएपछि पनि कसैले भिडिओ गेम खेल्न थाल्यो भने अर्कोले आफू एक्लैले बच्चा हेर्नुपरेको ठान्न सक्छ।
बच्चा हुनुअघिनै सम्बन्धमा खटपट भएका जोडीहरूमा मात्र नभएर नङ र मासुजस्तै सम्बन्ध भएको ठान्ने जोडीहरूमा पनि कहिलेकाहीँ बच्चा भएपछि समस्या सुरु हुन्छ।
“विश्वमै सबैभन्दा उत्कृष्ट सम्बन्ध छ भन्नु हुन्छ भने पनि,” शेरल भन्छिन्। “बच्चा हुर्काउने क्रममा चर्कन सक्ने विषयहरूमा पनि कुराकानी र बुझाइ हुनुपर्छ।”
बच्चा जन्माउनुअघि नै यस्तो विषयमा आफ्ना श्रीमान्सँग छलफल हुनुपर्थ्यो भन्ने ठान्ने मध्येकी एक न्यूयोर्कमा रहेर काम गर्ने पत्रकार तथा बच्चा भएपछि आफ्ना श्रीमान्लाई किन घृणा गर्नु हुन्न भन्ने पुस्तककी लेखिका ज्यान्सी डन पनि हुन्।
विवाह भएको १० वर्षपछि उनी गर्भवती भएकी थिइन्।
उनीहरूले सन्तान गर्भमा आइसकेपछि आफूहरूले गर्नुपर्ने भूमिकाबारे राम्रो गृहकार्य गरेका थिए। उनका श्रीमान्ले घरको आधा काम गर्न सुरु गरिसकेका थिए। त्यसकारण पनि उनले बच्चा हुर्काउने काम पनि बराबर बाँडिने ठानेकी थिइन्।
तर उनीहरूले बच्चा जन्मिसकेपछि उत्पन्न हुनसक्ने समस्याहरू भन्दा बच्चाको नाम के राख्ने भन्ने जस्ता विषयमा धेरै छलफल गरेको बताउँछन्।
डनका अनुसार उनले बच्चालाई जन्म दिइसकेपछि उनीहरूको सम्बन्धमा एक अर्काप्रतिको अपेक्षामाथि नसोचेको सुनामी आयो। उनले आफूले मात्रै बच्चाको अभिभावकत्व ग्रहण गर्नु परेको महसुस भयो जसले उनलाई रिस उठ्यो।
उनका श्रीमान्ले उनलाई जति धेरै बच्चाको हेरचाहको जिम्मेवारी थप्दै गए उनी थप त्यसमा आफूलाई सहज बनाउँदै जान थालिन् तर उनका श्रीमान्लाई पनि त्यो कामबाट छुटकारा चाहिँ दिइनन्।
उनका अनुसार उनलाई त्यस बेला यति धेरै रिस उठ्थ्यो कि अहिले सम्झँदा पनि लाज लाग्छ। उनी आफ्ना श्रीमान्लाई कराइरहन्थिन् तर उनी चाहिँ आफ्नो फोन चलाउन छोड्दैनथे जसले उनलाई थप आक्रोशित बनाउँथ्यो।
उनीसँग कुरा गर्ने प्रयासले थप निराश भएपछि उनले छुट्टिनेबारे सोच्न थालिन्।
लन्डनमा रहेर काम गर्ने एन्डी पनि आफ्ना दुई बच्चाको जन्मपछि उनी र उनकी श्रीमतीबीच एक अर्कासँग रिसाउने क्रम विकास भएको बताउँछन्। यद्यपि उनीहरूको सम्बन्ध धेरै मजबुत थियो।
उनीहरूको पहिलो बच्चा निकै संवेदनशील थियो र नबोक्दासम्म निदाउँदैन थियो। दोस्रो बच्चा भएपछि उनीहरूको हेरचाहको कामसँगै घरको काम थप खप्टियो।
धेरै जिम्मेवारीको तनाव र कामको बढ्दो धपेडीका कारण उनी आफ्नी श्रीमतीसँग रिसाइरहने गरेको एन्डी बताउँछन्।
सहज रूपमा टुङ्गिँदैन
बच्चा जन्मिएपछि आमाबाबुको व्यक्तिगतसँगै संयुक्त पहिचानमा पनि परिवर्तन आउँछ जसले उल्लेख्य चुनौतीहरू खडा गर्छ।
“अचानक म यसअघि वास्ता नगरेका कुराहरूबारे ध्यान दिन सुरु गर्छु र मेरा जोडीले चाहिँ ‘तिमी के भयौ किन अचानक मैले भिडिओ गेम खेलेको कुरामा ध्यान दिन थाल्यौ?’ भनेर सोच्छन्। खासमा हामी नयाँ मान्छे नै भइन्छ र जोडीले त्यो कुरा स्वीकार गर्नु पर्छ,” शेरल भन्छिन्।
हर्मोनमा हुने गडबडी गर्भावस्थासँगै सुरु हुन्छ। बच्चा नभएका जोडीहरूका लागि बच्चा जन्मनु अघिबाटै आफ्नो जोडीमा आएको परिवर्तन बुझ्न सहज हुँदैन। सँगसँगै मानसिक स्वास्थ्यका समस्याहरू पनि देखा पर्न सुरु हुन्छ। चार जनामध्ये एक जना आमा र दश जनामध्ये एक जना बुबालाई प्रसवपछि डिप्रेसन देखा पर्नसक्छ।
मिसिगनका म्याट बुबा बनेसँगै बच्चा हुर्काउने काम उनका लागि सोचेभन्दा कठिन भयो। उनकी श्रीमतीलाई बच्चा जन्माउनै कठिन भयो त्यसपछि बच्चामा एलर्जी र खानामा रुचिको समस्या भयो। उनी र उनकी श्रीमतीलाई सहयोग गर्ने कोही पनि उनीहरू नजिकै थिएनन्।
“पहिलो छ महिनामा परिवारको साथ नहुनु निकै कठिन थियो। मेरी श्रीमतीलाई फेरि एकदमै उच्च एन्जाइटी भयो…मेरो छोराको स्वास्थ्य समस्याका कारण पनि त्यो बढेको हुन सक्छ,” उनी भन्छन्।
उनले आफूलाई शान्त राख्न निकै प्रयास गरे तर अन्त्यमा उनी आफैँलाई पनि तनाव भयो।
“मेरो छोराको कुरामा म निकै शान्त रहन्थेँ,” उनी भन्छन्। तर उनीहरूको बच्चा सुतेको समयमा उनको एन्जाइटी प्रकट हुन्थ्यो र कुनै कुनै समय उनी आफ्नी श्रीमतीसँग “अधैर्य” हुन्थे।
छ वर्षदेखिको सम्बन्धमा उनीहरूबीच त्यसरी कहिल्यै झगडा भएको थिएन। बच्चा भएको केही समयपछि उनीहरूले एक अर्काबीच संवाद गर्ने राम्रो तरिका पहिल्याए र सम्बन्ध सुदृढ गरे।
अमेरिकाको भर्जिनियाकी एरिन आफूलाई सौखिन र धेरै कुरामा रुचि भएकी एक स्वतन्त्र र व्यस्त व्यक्ति ठान्छिन्। उनका लागि सबैभन्दा महत्त्वपूर्ण मध्येको एउटा तन्दुरुस्ती पनि हो। उनी गर्भवती छँदा पनि व्यक्तिगत प्रशिक्षक राखेर व्यायाम गरिन्। तर जब उनको छोरा जन्मियो उनका लागि यस्ता कुराको लागि समय र स्वतन्त्रता दुवै हराएर गयो।
बच्चा जन्माएको पाँच महिनापछि उनलाई प्रसव डिप्रेसन देखियो।
“मलाई केही कुरा पनि मन परिरहेको थिएन। मैले आफूले गुमाएको कुरा महसुस गरेर आफ्नो पुरानो जीवनको धेरै याद गरिरहेको थिएँ,” उनी भन्छिन्।
तर उनका अनुसार उनका श्रीमान्लाई भने त्यस्तो कुनै अफ्ठेरो परेन।
“मेरा श्रीमान् आफ्नो सबै कुरा छोड्न पनि तयार हुन्छन्। उनी आफ्नो छोराभन्दा टाढा हुनै नसक्ने बाबुमध्ये पर्छन्,” उनी भन्छिन्। उनका अनुसार उनी कहिले काहीँ यात्रामा जान चाहन्छिन् तर उनका श्रीमान् बच्चालाई आफन्तको भरमा छोडेर हिँड्न चाहँदैनन्।
सन्तान हुर्काउने तरिकालाई लिएर उनीहरूबीचको फरक बुझाइले कहिलेकाहीँ जोडीको आत्मीयतामै समस्या ल्याउँछ। अहिले तीन वर्ष पुगेका उनीहरूका छोरा आमाभन्दा बाबुसँग नजिक हुन चाहन्छन् जसले पनि आमाबाबुको सम्बन्धमा तीतोपना ल्याएको छ।
सन्तुष्टिबारे खुलेर कुरा गर्दैनन्
बच्चा भए पछि जोडीहरूबीचको सम्बन्धमा सन्तुष्टि कम हुने वा धेरै चुनौतीहरू खेप्ने गरेको भए पनि यसबारे कसैले पनि खुलेर कुरा गर्न चाहँदैन।
डन पनि आफ्नो वैवाहिक समस्याबारे साथीहरूसँग खुल्दैन थिइन्। “मलाई निकै लाज लाग्थ्यो र मलाई म बाहेक सबै जनाले भ भन्दा राम्रोसँग यो मामलाको व्यवस्थापन गरिरहेका छन् भन्ने लाग्थ्यो,” उनले भनिन्।
जब उनले आफ्नो किताब लेखन र त्यसका लागि अनुसन्धान सुरु गरिन् उनलाई आफू मात्रै एक्लो नभएको महसुस भयो। उनले कुरा गरेका करिब ९५ प्रतिशत जोडीहरूले आफूहरूबीचको सम्बन्धमा बच्चा भएपछि समस्या आएको तर आफूहरूको मात्रै समस्या ठानेर बसेको बताए।
“युवा आमाबाबुहरूका लागि सबैभन्दा प्रमुख विषय यसबारे बोल्नका लागि लाज देखियो,” डन भन्छिन्।
आमाहरूको एउटा समूहमा जुम्ल्याहा बच्चाकी आमा हलीले आफूले भोगेको समस्या सुनाउने निर्णय गरिन्। तर लगत्तै उनलाई आफ्नो निर्णयबारे पछुतो लाग्यो।
“मैले मेरा जोडीसँग म एकदमै निराश भएको सुनाएँ। मलाई मेरो शरीरमा रहेको उकुसमुकुस बाहिर निकाल्नुपर्छ भन्ने लागेको थियो,” उनी भन्छिन्।
“तर कसैले पनि केही बोलेन। म झन् विक्षिप्त जस्तै भएँ। हे ईश्वर म आफैँमा केही खराबी छ? भन्ने लाग्यो।”
जोहानेस गुटेनबर्ग विश्वविद्यालयकी सहप्राध्यापक समेत रहेकी मनोचिकित्सक यानिना ब्यूलर मानिसहरूमा रहेको यस्तो सोचका कारण सम्बन्ध थप चुनौतीपूर्ण र कठिन हुने बताउँछिन्।
“सम्बन्धमा सधैँ धेरै सन्तुष्टि हुनुपर्छ, जहिले पनि यौन सम्बन्ध हुनुपर्छ र सधैँ खुसी हुनुपर्छ भन्ने कुरा सत्य होइन,” उनी भन्छिन्।
उनका अनुसार आफ्नो भावना लुकाउँदा जोडीहरूले थप एक्लोपन महसुस गर्न सक्छन्। तर यस्ता विषयहरूमा अनलाइनहरूमा ऐक्यबद्धता जनाउनेहरू भेटिन सक्छन्।
हामीले हाम्रो परिवारका खुसीहरू सामाजिक सञ्जालमा राख्दा सम्बन्धमा खुसीका लागि सङ्घर्ष गरिरहेका कतिपय आमाबाबुहरूले एक्लो महसुस पनि गर्न सक्छन्। केहीले भने सामाजिक सञ्जालमा आफ्नो अप्ठ्यारो अनुभव साहसपूर्वक साटेर ढाडस पनि पाइरहेका हुन्छन्।
हलीका अनुसार अनलाइनमा यस्ता पोस्टहरू देखेपछि मात्रै उनलाई कम दुखी: महसुस भयो।
“मैले आफूले सोचेभन्दा धेरै व्यापक रहेछ भनेर महसुस गरेँ। मानिसहरूले यसबारे कुरा नगर्ने मात्रै रहेछ,” उनले भनिन्।
आफू एक्लै नभएको बुझेपछि उनले आफूलाई दोष दिन छोडिन् र आफ्ना श्रीमान्सँग पनि कुराकानी गर्न थप सहज महसुस गर्न थालिन्।
अत्यावश्यक कदम
कतिपय जोडीहरू भने यस्तो प्रकारको द्वन्द्वबाट बाहिर आउनै नसकेर मेहनतपूर्वक बनेको सम्बन्ध टुङयाउनेसम्मको निर्णयमा पुग्छन्। तर बच्चा जन्मिएपछि आफ्नो वैवाहिक सम्बन्ध प्रभावित भएको महसुस गर्ने सबै सम्पत्तिहरू स्थायी द्वन्द्व र सम्बन्ध विच्छेदकै हदमा चाहिँ पुग्दैनन्।
विज्ञहरूका अनुसार दुई जनाबीच सकारात्मक सम्बन्ध बनाउन प्रेरित गर्ने कुराहरूलाई जोगाउनु र हुर्काउनु नै हो। यसमध्ये प्रस्ट र खुला कुराकानी, एक अर्काले आफूलाई बुझिरहेको ठम्याइ र सँगसँगै समय बिताउनु र पूरा गर्न सकिने खालको अपेक्षा राख्नु पनि हुन्।
तेस्रो बच्चा जन्मिएपछि एक अर्काबीच झगडा बढिरहेको महसुस भएपछि हली र उनका जोडाले कपल थेरापी लिने निर्णय गरे। जसले सम्बन्धमा देखिएको खटपट कम गर्यो। उनका अनुसार सुरुमा उनका श्रीमान्ले अरूको सहायता लिने वा थेरापी लिने प्रस्ताव अस्वीकार गरेका थिए।
अन्ततः हलीले उनलाई सहमत गराइन्।
हलीका अनुसार सम्बन्धबारे आफ्नो दृष्टिकोणमा कति धेरै परिवर्तन आवश्यक रहेछ भन्ने कुरा उनले थेरापी पछि मात्रै बुझिन्।
“मैले (थेरापी गर्ने मान्छेलाई) इमानदारीपूर्वक भनेँ। मैले उनी मेरो आवश्यकता पर्ने अर्को व्यक्ति हो भनेँ,” हली भन्छिन्।
थेरापी गर्ने व्यक्तिले आफ्ना श्रीमान्लाई आफ्नो जोडीकै रूपमै हेर्न जोड दिए।
उनका अनुसार परामर्शपछि दुई जनाबीच एक अर्काप्रतिको बुझाइमा ठूलो परिवर्तन आयो। उनीहरूबीच अहिले पनि कहिलेकाहीँ झगडा नपर्ने होइन तर त्यसले चर्को रूप लिँदैन।
“हामी अहिले एक अर्कालाई रिस उठ्ने विषयमा छलफल नै गर्छौँ,” उनले भनिन्।
एन्डीको हकमा भने उनीहरूबीच राम्रोसँग कुराकानी भएपछि दुई जनाबीचको सम्बन्धमा सुधार आयो।
उनी एक अर्काबीच मन नपर्ने विषयमा कुराकानी हुनुपर्ने बताउँछन्।
तर यी सबै कुरा सबैको पहुँचमा नहुन पनि सक्छ। सबैसँग थेरापीको सुविधा लिन वा आफ्नो समय निकाल्नका लागि बच्चा हेरिदिने मान्छे राख्नका लागि खर्च नहुन सक्छ।
ब्यूलर जुनसुकै माध्यमबाट भए पनि सम्बन्धमा मिठास ल्याउने प्रयास गर्न ढिलो गर्न नहुने बताउँछिन्।
बच्चा जन्माएको १४ वर्षपछि मात्रै डन र उनका पति सम्बन्धमा आएको सङ्कटबाट बाहिर निस्किए। अहिले पनि उनीहरू सँगै छन्। उनका अनुसार थेरापी गर्ने परामर्शदाताले सम्बन्धमा अस्पष्टताका कारण द्वन्द्व आउने बताएका कारण पनि उनीहरूबीच समझ कायम गर्न सहज भएको छ।
परिवारको गोपनीयता कायम राख्नका लागि हली, एरिन, म्याट र एन्डी परिवर्तित नाम हो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।