तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
फेसबुकबाट माया बसेपछि बिहेको कुरो छिन्न पाकिस्तान पुगिन् भारतीय युवती
- Author, मोहम्मद जुबैर खान
- Role, बीबीसी उर्दूका लागि
"अबको केही दिनमा अञ्जु र मेरो बिहेको औपचारिक रूपमा टुङ्गो लाग्ने छ। त्यसको १०-१२ दिनपछि उनी भारत फर्कने छिन्। उनी बिहे गर्न फेरि पाकिस्तान आउने छिन्। यो मेरो र अञ्जुको व्यक्तिगत जीवन हो र यसमा कसैले हस्तक्षेप नगरोस् भन्ने हामी चाहन्छौँ। हामी सञ्चारमाध्यमबाट पनि टाढा बस्न खोजिरहेका छौँ।"
यो भनाइ पाकिस्तानको खैबर पख्तूनख्वा राज्यको दीर बाला जिल्लाका २९ वर्षीय नसरुल्लाहको हो। केही वर्षअघि सामाजिक सञ्जालमार्फत् उनको भारतको उत्तर प्रदेशकी एक युवतीसँग चिनजान भएको थियो। उनीहरूको सम्बन्ध समयसँगै प्रेममा परिणत भयो।
उनीहरूको सम्बन्ध यति प्रगाढ बन्यो कि हालै अञ्जु नसरुल्लाहसँग बिहे गर्ने उद्देश्यले पाकिस्तान पुगिन्।
अहिले अञ्जु दीर बालास्थित नसरुल्लाहको घरमा बस्छिन्। उक्त जिल्लाका प्रहरी अधिकारी मोहम्मद मुश्ताकले बीबीसीसँग कुरा गर्दै अञ्जु त्यहाँ भएको पुष्टि गरेका छन्।
यो जोडीको कथा हालै सार्वजनिक पाकिस्तानकी महिला सीमा हैदर र नोएडाका सचिन मीणाको ‘प्रेमकथा’सँग मिल्दोजुल्दो छ। यद्यपि अञ्जु कानुनी रूपमा भिसा लिएर पाकिस्तान पुगेकी हुन्।
पाकिस्तानको भिसा प्राप्त गर्नका लागि उनले दुई वर्ष कुर्नुपरेको थियो।
पाकिस्तानी नागरिक सीमा हैदर केही साताअघि आफ्ना चार सन्तान लिएरै नेपालको बाटो हुँदै अवैध रूपमा भारत पुगेकी थिइन्। उनको सचिन मीणासँग पब्जी खेल्ने क्रममा चिनजान भएको थियो। पछि उनीहरू प्रेममा परे।
उनले बीबीसीलाई दिएको अन्तर्वार्तामा भनेकी थिइन्,"म उनलाई माया गर्छु र उनकै लागि आफ्नो देश छोडेर यहाँ आएकी हुँ।"
पाकिस्तान र भारतका नागरिकहरूबीच हुने प्रेम र विवाह नयाँ कुरा होइन। तर दुई देशबीचको सम्बन्ध तनावपूर्ण भएकाले भारत र पाकिस्तान दुवैले एकअर्काका नागरिकलाई हतपत भिसा दिँदैनन्।
अञ्जुका लागि पाकिस्तानको भिसा हात पार्नु सहज थिएन। अनि दीर बालासम्म पुग्नु अझ कठिन थियो। उक्त स्थान अफगानिस्तानको सीमासँग जोडिएको दुर्गम क्षेत्रमा पर्छ।
सामान्यतया भारत र पाकिस्तान दुवै देशले एकअर्काका नागरिकलाई भिसा दिए भने पनि निकै कम सहरसम्म जाने अनुमति दिन्छन्।
यस्तो परिस्थितिमा अञ्जु र नसरुल्लाहको कथा कसरी सुरु भयो र अञ्जुले पाकिस्तानको भिसा कसरी पाइन्? अनि उनी दीर बाला जिल्लासम्म कसरी पुगिन् त?
भिसा पाउनै दुई वर्ष
नसरुल्लाहले बीबीसीलाई बताएअनुसार अञ्जुसँग उनको सम्पर्क केही वर्षअघि फेसबुकमा भेट भएको थियो।
उत्तर प्रदेशकी अञ्जु एक निजी कम्पनीमा काम गर्छिन्।
बीबीसीले अञ्जुसँग कुरा गर्न अनुरोध गर्दा नसरुल्लाहले उनले तत्काल सञ्चारमाध्यमसँग कुरा गर्न नचाहेको बताएका थिए।
सोमवार एउटा भिडिओ सन्देशमार्फत् अञ्जुले आफू पाकिस्तानमा सुरक्षित रहेको बताएकी छन्।
"म यहाँ सुरक्षित छु र कुनै समस्या छैन। म जसरी आएकी थिएँ, जाने प्रक्रिया पनि त्यस्तै छ। म दुई-तीन दिनमै भारत फर्किन्छु।"
उनले यस विषयलाई लिएर आफ्नो परिवार र सन्तानलाई "दु:ख नदिन" पनि आग्रह गरेकी छन्।
"पहिले हामी साथी बन्यौँ। पछि हाम्रो मित्रता प्रेममा रूपान्तिरत भयो। त्यसपछि हामीले सँगै जीवन बिताउने निर्णय गर्यौँ।"
यो निर्णयमा उनीहरूलाई परिवारले समर्थन गरेको नसरुल्लाह बताउँछन्।
"दुवै मिलेर अञ्जु पाकिस्तान आउने र यहाँ मेरो परिवारसँग भेटेर बिहेको कुरा छिन्ने योजना बनाएका हौँ। केही समयपछि हामी बिहे गर्छौँ,” उनले भने।
तर अञ्जुको यो यात्रा सम्भव बनाउन त्यति थिएन। सीमा क्षेत्रको समस्याबाहेक दुई देशबीच वर्षौँदेखि चलिरहेको तनावपूर्ण सम्बन्ध पनि एउटा व्यवधान बनेको थियो।
नसरुल्लाहका अनुसार अञ्जुले निकै कठिनतापूर्वक पाकिस्तानको भिसा पाइन्।
उनी भन्छन्, "हाम्रो उद्देश्य सफा थियो। त्यसैले पनि हामी दुवैले हिम्मत हारेनौँ।”
कुनै बेला अञ्जुले दिल्लीस्थित पाकिस्तानी दूतावास धाइरहिन् भने नसरुल्लाह इस्लामाबादस्थित विदेश मन्त्रालय र अन्य कार्यालयहरू पुगिरहे।
"अञ्जुले त्यहाँका अधिकारीसमक्ष आग्रह गरिरहिन् र मैले यहाँका अधिकारीहरूलाई भिसा अञ्जुको अधिकार भएको तर्क गरिरहेँ। हामी भेट्न चाहन्छौँ र तपाईँहरूले त्यो मौका दिनुहोस् भनेर अनुरोध गरिरहेँ," नसरुल्लाहले भने।
अन्ततः दुवैको प्रयास सफल भयो। दुई वर्षपछि अञ्जुले पाकिस्तानको भिसा पाइन् र उनलाई दीर बाला जान अनुमति दिइयो।
नसरुल्लाहका अनुसार सबै कानुनी प्रक्रिया पुर्याएर अञ्जु पाकिस्तान प्रवेश गरिन् अनि दीर बाला पुगिन्।
"उनले र मैले हजारौँ रुपैयाँ खर्च गरेर भिसा लिएका छौँ। अब चाहिँ कुनै समस्या हुँदैन भन्ने आशा छ।"
'बिहे गरेपछि भविष्यको योजना'
नसरुल्लाहका अनुसार अञ्जु भारतमा आफू कार्यरत कम्पनीबाट छुट्टी लिएर पाकिस्तान पुगेकी हुन्। स्वदेश फर्किएर उनले आफ्नो कामलाई निरन्तरता दिने छिन्।
उनले भने, "अञ्जु यतिखेर मेरो घरमा बसेकी छन्। यहाँ उनी एकदम शान्ति र आरामपूर्ण अवस्थामा छिन्। तर यसबारे धेरै मानिस र सञ्चारमाध्यमको चासो पुगेको उनलाई मन परेको छैन।"
"यहाँ धेरै मानिस र सञ्चारकर्मी आउने गरेका छन्। मैले सबैलाई कुनै आवश्यक जानकारी भए म आफैँ सञ्चारमाध्यमलाई बताउँछु भनिसकेको छु। म हाम्रो सम्बन्धमा कुनै समस्या नआओस् भन्ने चाहन्छु।"
"हाम्रो सम्बन्धमा धर्मबारे सोचेका छैनौँ। अञ्जुले धर्म परिवर्तन गर्छिन् या गर्दिनन् भन्ने कुरा उनको निर्णयमा निर्भर हुन्छ। म उनको निर्णयको सम्मान गर्ने छु जसरी उनले मेरो निर्णयको सम्मान गर्छिन्," उनले भने।
उनीहरूको सम्बन्धलाई लिएर अञ्जुको परिवारलाई पनि कुनै समस्या नभएको नसरुल्लाहले बताए।
"त्यसैले म हाम्रो गोपनीयताको सम्मान होस् भन्ने चाहन्छु। हाम्रो सम्बन्ध तमासा नबनोस्," उनले भने।
'अञ्जु पाहुना हुन्'
खैबर पख्तूनख्वाहमा एउटी भारतीय महिलाको उपस्थितिले त्यस क्षेत्रका मानिसहरूलाई खुसी बनाएको छ। तर मौसम तथा वर्तमान परिस्थितिका कारण उनको स्वागतको तयारीमा अवरोध सिर्जना भयो।
नसरुल्लाहको स्थानीय क्षेत्रका राजनीतिक र सामाजिक व्यक्तित्व फरिदुल्लाहले बीबीसीलाई भने, "अञ्जु शुक्रवार बिहान धेरै पानी परिरहेको बेला आइपुगिन्।"
"यहाँ मानिसहरू उनलाई उत्सुकतापूर्वक पर्खिरहेका थिए। हामीले शनिवार भव्य स्वागत समारोह आयोजना गर्नेबारे सोचेका थियौँ तर दुर्भाग्यवश यहाँ एक जनाको मृत्यु भयो। अब केही समयपछि उक्त कार्यक्रम आयोजना गर्ने छौँ।"
फरिदुल्लाहले भने, "अञ्जु पख्तूनकी पाहुना हुन् र बुहारी पनि। उनी जहिलेसम्म चाहन्छिन् यहाँ बस्न सक्छिन्। उनले कुनै समस्या वा दुःख भोग्नुपर्दैन। हामी उनलाई कुनै समस्या नपरोस् र उनले सबै सुविधा पाउन् भन्ने सुनिश्चित गर्ने छौँ।"
"हाम्रो ठाउँमा खुसीको वातावरण छ। हाम्रा घरका महिलाहरू अञ्जुलाई भेटेर उपहार दिन गइरहेका छन्। उनीहरूले अञ्जुलाई उनले कुनै चिन्ता नलिन भनिरहेका छन्।"
दीर बाला जिल्लाका प्रहरी अधिकारी मोहम्मद मुश्ताकका अनुसार प्रहरीले अञ्जुको कागजपत्रको जाँच गरेको छ र त्यो आधिकारिक भएको पाइएको छ।
अञ्जुले एक महिनाको भिसा र जिल्लामा बस्ने अनुमति पाएको उनको भनाइ छ।
प्रहरीले आइतवार साँझ नसरुल्लाह र अञ्जुलाई स्थानीय थानामा बोलाएर औपचारिक सोधपुछ गरेको थियो।
"यस्तो औपचारिक सोधपुछ प्रत्येक विदेशी नागरिकसँग गरिन्छ। उनीहरूसँग कुरा गरेपछि फर्किने अनुमति पनि दिइन्छ," मोहम्मद मुश्ताकले भने।
"प्रहरी अञ्जुलाई सुरक्षा प्रदान गर्छ र उनको गोपनीयताको पनि ख्याल राख्छ,” उनले भने।
दुई सन्तानकी आमा
अञ्जु विवाहित हुन् र उनका दुई सन्तान छन्। उनका पति अरविन्दले बीबीसी हिन्दीका लागि सहयोगी पत्रकार मोहर सिंह मीणासँग भने, "अञ्जुले २१ जुलाईमा घरबाट जयपुर जाने बताएकी थिइन्। त्यसपछि पनि हाम्रो ह्वाट्सएपमा कुराकानी भइरहेको थियो। त्यसको दुई दिनपछि छोरा बिरामी भयो र मैले अञ्जुलाई उनको फर्कने योजनाबारे सोधेँ। त्यति बेला बल्ल उनले आफू पाकिस्तानमा भएको र चाँडै फर्कने बताएकी हुन्।“
"अञ्जुले कसैलाई पनि आफू पाकिस्तान जाने छनक दिएकी थिइनन्। उनले निकै पहिले पासपोर्ट बनाएको चाहिँ थाहा छ।“
अरविन्दका अनुसार उनी ४० वर्षका हुन् र अञ्जु ३५ वर्षजति भइन् । उनीहरू दुवै मूल रूपमा उत्तर प्रदेशका हुन् तर केही वर्षदेखि भिवाडीमा बस्दै आएका छन्।
"सन् २००७ मा हाम्रो बिहे भयो। अहिले दुई सन्तान छन्। ठूली छोरी १५ वर्षकी भइन् र एउटा सानो छोरा छ। दुवै स्कूल जान्छन्,“ उनले भने।
आफूले कक्षा १२ सम्म र अञ्जुले कक्षा १० सम्म पढेको अरविन्दले बताए। उनीहरू दुवै जना बस्दै आएको ठाउँका कम्पनीहरूमा काम गर्ने जनाइएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।