बर्ड फ्लू के हो, यो रोग सार्ने भाइरस कसरी गाईको दूधमा पुग्यो

संयुक्त राज्य अमेरिकामा बर्ड फ्लू फैलिएपछि यो रोग लगाउने भाइरसको अंशयुक्त दूध सेवन गर्नु हुन्छ कि हुँदैन भन्ने जिज्ञासा उत्पन्न भएको छ।

अमेरिकाका क्यान्सस, मिशिगन र टेक्सससहित विभिन्न राज्यमा बर्ड फ्लू गराउने एच५एन१ भाइरस फेला परेको छ।

मे १० मा अमेरिकाको फूड एन्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडीए) ले डेरी उद्योगबाट सङ्कलित पाश्चराइजेशन गरिएको दूधका ३०० वटा नमुनामा "फैलिने क्षमता भएका भाइरस" फेला परेको जनायो।

यो भाइरस सामान्यतया जनावरबाट मानिसमा सर्दैन। यद्यपि एप्रिल महिनामा टेक्ससको एउटा डेरी फार्ममा काम गर्ने एक व्यक्तिमा सङ्क्रमित गाईबाट बर्ड फ्लू सरेको पाइयो। उनलाई 'आइशोलेशन'मा राखेर एन्टिरेट्रोभाइरल औषधि दिइयो।

मानिसमा त्यसरी बर्ड फ्लू सर्नु दुर्लभ हो। अरू स्तनधारी जनावरबाट मानिसमा एच५एन१ सरेको यो नै सम्भवतः पहिलो घटना भएको अमेरिकाको सेन्टर्स फर डिजीज कन्ट्रोल (सीडीसी) ले जनाएको छ।

बर्ड फ्लू भाइरस कसरी एउटा प्रजातिबाट अर्कोमा सर्न सक्षम भयो भन्ने कुराको स्पष्ट उत्तर वैज्ञानिकहरूसँग छैन।

डेभिसस्थित यूनिभर्सिटी अफ क्यालिफोर्नियामा एनिमल साइअन्स प्राध्यापन गर्ने डा हुआइजुन झूका अनुसार उत्परिवर्तन (म्यूटेशन)बारे थप अनुसन्धान गरेर मात्र यो भाइरस जनावरको एउटा प्रजातिबाट अर्कोमा कसरी सर्छ भन्ने निर्क्योल गर्न सकिन्छ।

"त्यस प्रकारका उत्परिवर्तनले भाइरस एउटै प्रजातिमा वा भिन्नाभिन्नै प्रजातिमा सर्ने सम्भावना कि बढ्छ कि घट्छ," उनले बीबीसीसँग भने।

बर्ड फ्लू के हो र यो कसरी फैलिन्छ?

बर्ड फ्लू घरपालुवा र जङ्गली चराचुरुङ्गीमा देखिने सङ्क्रामक रोग हो। यो १०० वर्षदेखि फैलिँदै आएको ठानिन्छ।

चराचुरुङ्गीबाहेक फ्याउरा र जङ्गली कुकुर, सील र ओटमा पनि यो रोग लागेको पाइन्छ।

बर्ड फ्लूका अहिलेसम्म फेला परेका प्रकारमध्ये एच५एन१ भाइरस सबैभन्दा शक्तिशाली छ। यो प्रकारको भाइरस सन् १९९६ मा पहिलो पटक चीनमा फेला परेको थियो।

चराको बिस्टा र र्‍याल अथवा दूषित दानापानीबाट यो रोगले केही दिनभित्रै घरपालुवा पक्षीको पूरै बथानलाई आक्रान्त पार्न सक्छ।

चराबाट यो रोग सरेका अधिकांश बिरामी एशियामा पाइएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ। यद्यपि अफ्रिका, युरोप र अमेरिकी महादेशमा पनि त्यस्ता बिरामी फेला परेका छन्।

विगत २० वर्षमा ८८८ जनामा एच५एन१ एभिअन फ्लूको सङ्क्रमण भएको र तीमध्ये ४६३ जनाको मृत्यु भएको डब्ल्यूएचओले जनाएको छ। अर्थात् यो रोगका कारण हुने मृत्युको दर ५२ प्रतिशत छ।

सङ्क्रमित जनावरसँग मानिसको विभिन्न किसिमले सम्पर्क हुन्छ। तिनको स्याहारसुसार गर्दा, तिनलाई नष्ट पार्न खोज्दा वा वध गर्दा अथवा सङ्क्रमित जनावरको शरीरबाट उत्पन्न हुने तरल पदार्थको संसर्गमा आउँदा पनि यो भाइरस सर्न सक्छ।

यो भाइरसले श्वासनलीको माथिल्लो भागमा र आँखामा सङ्क्रमणजस्ता रुघाखोकी लाग्दा देखिने सामान्य लक्षणदेखि घातक बन्न सक्ने निमोनियाजस्ता गम्भीर समस्या पनि उत्पन्न गराउन सक्ने सीडीसीले जनाएको छ।

डब्ल्यूएचओका अनुसार बर्ड फ्लू भाइरसको प्रकार र सङ्क्रमण हुने मानिसको स्वास्थ्यस्थितिले यो रोग कति गम्भीर हुन्छ भन्ने निर्धारण गर्छ।

के सङ्क्रमित गाईको दूध सेवन गर्नु हुन्छ?

अमेरिकी अधिकारीहरू र एफडीएसहितका निकायले पाश्चराइज्ड दूधमा फेला परेको भाइरसको आनुवंशिक अवयवबाट मानिसलाई सङ्क्रमण हुन सक्ने प्रमाण नभएको बताएका छन्।

पाश्चराइजेशन ताप प्रयोग गरेर ब्याक्टेरिया र भाइरस मारी दूधलाई शुद्ध र सेवनयोग्य बनाउने विधि हो।

यो विधिले दूध नबिग्रिने समयमा वृद्धि पनि गर्छ।

एफडीएले काँचो र पाश्चराइजेशन नगरिएको दूधको सेवन नगर्न भनेको छ। त्यस्तो दूध सेवन गर्दा विभिन्न रोग सर्न सक्ने सम्भावना हुन्छ।

एच५एन१ भाइरस फैलिने क्रमलाई कसरी रोक्न सकिन्छ?

एफडीएका अनुसार डेरी उद्योगमा पालिएका बस्तुभाउ तथा मासु र दुग्धजन्य पदार्थमा निगरानी भइरहेको छ।

तर क्यानडासहितका छिमेकी देशले अमेरिकाबाट हुने बस्तुभाउ आयातमा कडाइ गर्न थालेका छन्। यसअघि कोलम्बियाले बर्ड फ्लू नियन्त्रणका लागि भन्दै त्यसो गरेको थियो।

विगत २० वर्षमा २३ देशमा एच५एन१ भाइरस फेला परेको डब्ल्यूएचओको तथ्याङ्क छ।

अमेरिकामा मानिसमा बर्ड फ्लू सरेको पुष्टि हुनुअघि भियतनाममा मार्च महिनामा एक व्यक्तिमा बर्ड फ्लू भएको डब्ल्यूएचओले जनाएको छ। भियतनाममा फेला परेका बिरामीको मृत्यु भएको थियो। उनमा अरू रोग र समस्या थिएन।

बर्ड फ्लूविरुद्ध अहिलेसम्म खोप बनेको छैन।

मानिसमा चराबाट सोझै बर्ड फ्लू हतपत सर्दैन। तर अहिले अमेरिकामा बर्ड फ्लू फैलिएपछि डब्ल्यूएचओले चिन्ता व्यक्त गरेको छ।

"मानिसमा हुने प्रत्येक सङ्क्रमण यो भाइरसको मानिसहरूमा स्थापित हुने प्रयास हो। अहिलेसम्म सम्भावना न्यून भए पनि यो भाइरस एकचोटि सफल भयो भने इन्फ्लूएन्जा महामारी सुरु हुन्छ," डब्ल्यूएचओको ग्लोबल इन्फ्लूएन्जा प्रोग्र्यामका प्रमुख डा वेन्चिङ झाङ भन्छन्।

यद्यपि कोभिड महामारीका बेला प्राप्त अनुभव र स्थापित रोकथामका उपायले यो भाइरसलाई फैलिन रोक्न सकिने विज्ञहरू ठान्छन्।

बर्ड फ्लू देखा परेको देशको भ्रमण गर्दा तातो पानी र साबुनले हात धुने र जीवित चराचुरुङ्गी नछुने गर्दा यो रोगबाट जोगिन सकिन्छ।

विज्ञहरूले अहिले अमेरिकामा बर्ड फ्लू फैलिएको भए पनि मानिसबाट मानिसमा बर्ड फ्लू सरेको पाइएको छैन। मानिसबाट मानिसमा भाइरस सरेको खण्डमा त्यसले महामारी निम्त्याउन सक्छ।

यद्यपि डा झू टेक्ससमा गाईबाट मानिसमा बर्ड फ्लू सरेकाले सम्भावित महामारीप्रति सतर्क रहनुपर्ने बताउँछन्।

"यो भाइरस बिरालोमा सर्‍यो। सङ्क्रमितमध्ये आधाभन्दा बढी बिराला सङ्क्रमण भएका जनावरको काँचो दूध सेवन गरेकाले मरे। भाइरसमा जुनसुकै बेला पनि उत्परिवर्तन हुन सक्छ। सङ्क्रमण हुने जीव, भाइरस र पर्यावरणबीच हुने अन्तरक्रियाका कारण त्यो उत्परिवर्तन कहाँ र कहिले हुन्छ भनेर ठोकुवा गर्न सकिँदैन," उनी भन्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।