कुखुराको मासुको भाउ घट्दा अण्डाको किन घट्दैन?

    • Author, गनी अन्सारी
    • Role, बीबीसी न्यूज नेपाली

नेपाली बजारमा अहिले प्रतिगोटा अण्डाको मूल्य २० रुपैयाँ तिर्नुपरेको उपभोक्ताले गुनासो गरेका छन्।

काठमाण्डूको ठहिटीमा बस्ने मनोज साहले बिहीवार मध्यम आकारको एक क्रेट अण्डा ५०० रुपैयाँमा किने।

“खोई के कारणले अण्डा यति महँगो भएको मैले त बुझ्नै सकेको छैन,” उनले गुनासो गरे।

गत साढे तीन महिनाको अवधिमा प्रतिक्रेट अण्डाको मूल्यमा १९.४८ प्रतिशतसम्मले वृद्धि भएको पाइएको छ।

नेपाल लेयर्स कुखुरापालक सङ्घले असार २६ गतेबाट लागु हुने गरी तोकेको फार्म मूल्य सूचीअनुसार एक्सएल आकारको अण्डा प्रतिक्रेट रु.४६०, ठूलो आकारको रु.४५० र मध्यम आकारको रु.४२५ रहेको छ।

सङ्घले गत चैत २९ गतेबाट लागु हुने गरी दर कायम गरेअनुसार ती आकारको अण्डाको मूल्य प्रतिक्रेट क्रमशः रु.३८५, रु.३७० र रु.३४० थियो।

यसै वर्षको वैशाखमा प्रतिगोटा अण्डाको मूल्य १८ रुपैयाँ रहेकोमा अहिले साउनमा २० रुपैयाँ पुगेको छ।

जेठ ३१ गतेको मूल्य सूचीअनुसार प्रतिक्रेट क्रमशः रु.४१५, रु.४०५ र रु.३८५ थियो भने जेठ ९ गतेबाट प्रतिक्रेट क्रमशः रु.४००, रु.३८५ र रु.३५५ कायम गरिएको थियो।

मासुमा जसरी किन घट्दैन?

नेपालमा मुख्यतया मासु विक्री गर्ने उद्देश्यले ब्रोइलर कुखुरा पालिन्छ भने अण्डा उत्पादनका लागि लेयर कुखुरा पाल्ने गरिन्छ।

कुखुरापालक किसानहरूका अनुसार मासुको प्रयोजनका लागि ब्रोइलर कुखुरा ३७ दिनको भएपछि बेच्न सुरु गरेर ४५ दिनको हुञ्जेल बेचिसकिन्छ।

“त्यति दिनमा बेचिएन भने लागत बढ्नेदेखि मर्न थालेर किसानलाई घाटा हुने अवस्था सिर्जना हुन्छ,” नेपाल पोल्ट्री महासङ्घ कार्यसमिति सदस्य तेजनारायण पाण्डेले बीबीसी न्यूज नेपालीसँग भने।

उनका अनुसार पछिल्ला महिनामा अत्यधिक गर्मीका कारण धेरै कुखुरा मरेका कारण पनि अहिले अण्डाको भाउ बढेको हो।

“माग उत्तिकै तर उत्पादन कम भएपछि मूल्य बढ्नु बजारको सामान्य सिद्धान्त नै हो,” पाण्डेले थपे।

लेयर कुखुरा अण्डा दिने अवस्थामा पुग्न पाँच महिना हाराहारीको समय लाग्छ। त्यस बेलासम्म प्रतिफल नपाई लगानी गर्नुपर्ने हुन्छ।

“तुलनात्मक रूपमा लेयर कुखुरामा लगानी बढी हुन्छ। अर्कोतर्फ अण्डा उत्पादन हुनासाथ ब्रोइलर कुखुरालाई बेचिहाल्नुपर्ने अवस्था हुँदैन। त्यसले गर्दा पनि अण्डाको मूल्य मासुको जसरी घट्दैन,” पाण्डेले थपे।

यो पनि हेर्नुहोस्

कुखुरा व्यवसायीहरूका अनुसार केही हदसम्म भारतबाट कुखुराको मासु नेपाल भित्रिने गरे पनि अण्डाको हकमा त्यस्तो छैन।

“कोल्ड भ्यानमै राखेर त्यताबाट ब्रोइलरको मासु ल्याउने गरेको पाइन्छ। तर भारतमा सेतो अण्डा र नेपालमा खैरो अण्डा पाइने हुँदा अण्डा यता खासै आउँदैन,” अण्डाको मूल्य नघट्नुको अर्को कारणबारे नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीले बीबीसी न्यूज नेपालीसँग भने।

कुखुरा व्यवसायी तथा सरकारी अधिकारीहरूका अनुसार नेपाल अहिले कुखुराको मासुसँगै अण्डामा पनि आत्मनिर्भर छ।

औषधीय प्रयोजनका लागि मात्र अहिले नेपालमा अण्डा आयात हुने गरेको अधिकारीहरू बताउँछन्।

“पोल्ट्रीसम्बन्धी भ्याक्सिन बनाउनका निम्ति हामीकहाँ वार्षिक २० देखि २५ हजार गोटा अण्डा आयात हुने गरेको तथ्याङ्क पाइन्छ,” पशु सेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले बीबीसी न्यूज नेपालीसँग भने।

‘खासै नाफा छैन’

कुखुरापालक किसानहरूलाई अहिले पनि खासै नाफा नभएको नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिव बरालको दाबी छ।

“दुई वर्षअघि पशु सेवा विभागले गराएको अध्ययनले प्रतिअण्डा ११ रुपैयाँ ५३ पैसा पर्ने देखाएको थियो। अहिले त दानालगायत मूल्यका कारण लागत धेरै बढेको छ,” बरालले भने।

अहिले अण्डाको मूल्य धेरै भएको उपभोक्ताहरूले गुनासो गर्ने गरे पनि स्वाभाविक मूल्य नै भएको नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलको दाबी छ।

“किसानको लागत अहिले प्रतिअण्डा १७ रुपैयाँको हाराहारीमा पर्न जान्छ। उनीहरूले अझै लागत मूल्य पाउन सकेका छैनन्,” बीबीसी न्यूज नेपालीसँग उनले भने।

तर पशु सेवा विभागका प्रवक्ता ढकाल त्यसमा सहमत छैनन्।

“अहिले बढेर प्रतिगोटा लागत १२ रुपैयाँसम्म हुनुपर्छ। कुखुराले खाने दानाको बजार भाउ लगायतले पनि असर पार्ने भएकोले अलि फरक पनि पर्न सक्छ,” ढकालले भने।

कोभिड महामारीपछि लगानी घटेको लगायत कारणले अण्डाका लागि पालिने लेयर कुखुराको सङ्ख्या कम भएको उनी बताउँछन्।

तत्काल अण्डाको मूल्य थप नबढ्ने देखिए पनि अहिले कायम गरिएको मूल्य साउनपछि जारी रहने बरालको प्रक्षेपण छ।

यो पनि हेर्नुहोस्

दक्षिण एशियामा कति?

स्थानीय मुद्राअनुसार दक्षिण एशियाली मुलुकमध्ये अहिले अण्डा सबैभन्दा धेरै महँगो श्रीलङ्कामा रहेको देखिन्छ।

बीबीसी सिन्हालाका अनुसार प्रतिगोटा अण्डाको मूल्य त्यहाँको मुद्रामा ५० रहेको छ।

भारतमा प्रतिगोटा ५ देखि ७ भारु छ भने पाकिस्तानमा स्थानीय मुद्रामा प्रतिगोटा २५ देखि ३० रहेको बीबीसी उर्दूका संवाददाताले बताएका छन्।

बीबीसी बाङ्ग्लाका अनुसार त्यहाँ प्रतिगोटा अण्डाको मूल्य १२.५ टाका रहेको छ।

नेपालमा खपत कस्तो छ?

पशु सेवा विभागका प्रवक्ता डा. ढकालका अनुसार नेपालमा वार्षिक प्रतिव्यक्ति अण्डाको खपत ४८ वटा हुने गरेको देखिन्छ।

“कुनै बेला वार्षिक प्रतिव्यक्ति ५४ वटासम्म पनि पुगेको थियो। तर अहिले ४८-४९ वटा रहेको देखिन्छ,” बीबीसी न्यूज नेपालीसँग उनले भने।

नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष केसीका अनुसार हाल दैनिक २५ देखि ३० लाख गोटा अण्डा खपत भइरहेको हुनसक्ने अनुमान छ।

“पछिल्लो समय क्रयशक्ति कमजोर भएका कारण मानिसहरूले कम अण्डा खाने गरेको पनि हुन सक्छ,” उनले थपे।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।