चिनीको साटो प्रयोग गरिने पदार्थ जसले 'क्यान्सर निम्त्याउन सक्छ'

धेरैजसो ‘सुगर-फ्री’ भनिएका खाद्य वा पेय पदार्थलाई गुलियो बनाउन चिनीको साटो प्रयोग गरिने एस्पर्टेम नामक तत्त्वबाट “क्यान्सर हुन सक्ने” सम्भावनाबारे विवरणहरू सार्वजनिक भएका छन्। तर उक्त पदार्थ सेवन गर्न सुरक्षित मानिएको मात्राबारे विद्यमान व्यवस्थामा कुनै परिवर्तन भएको छैन।

यस्तो अवस्थामा नेपालका नियामक निकायहरू उक्त पदार्थको प्रयोगमा सावधान हुनुपर्ने विज्ञहरूले औँल्याएका छन्।

क्यान्सरको अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय निकाय आईएआरसी, विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र खाद्य तथा कृषि सङ्गठन (एफएओ) अन्तर्गतको एउटा संयुक्त समितिले यसबारे अध्ययन गरेको थियो। जोइन्ट एक्स्पर्ट कमिटी अन फुड एडिटिभ्स (जेईसीएफए) द्वारा मानिसको स्वास्थ्यमा ‘एस्पर्टेम’ नामक गुलियो बनाउने पदार्थका प्रभावबारे गरिएको मूल्याङ्कन गत साता सार्वजनिक भएको हो।

मानिसहरूमा‌ के कारणले क्यान्सर हुन्छ भन्ने प्रमाणहरू सीमित छन् र तिनै प्रमाणमा आधारित मूल्याङ्कनपछि एस्पर्टेमलाई आईसीआरसी वर्गीकरणको समूह 'टूबी'मा राखिएको छ। अर्थात् उक्त पदार्थलाई "क्यान्सर गराउन सक्ने सम्भावित वस्तु" मानिएको छ।

यद्यपि "आईएआरसी वर्गीकरणले हामीलाई एस्पर्टेमबाट जोखिमको वास्तविक स्तरको बारेमा केही पनि नबताउने” ओपन यूनिभर्सिटीमा तथ्याङ्कशास्त्रका प्राध्यापक केभिन मक्कन्वेले बीबीसीसँग बताएका छन्।

जेईसीएफएले भने मानिसको शरीरको तौलअनुरूप प्रतिकिलो ४० मिलिग्रामसम्मको एस्पर्टेम सेवनलाई स्वीकार्य मानेको छ।

“कुनै समय खानामा एस्पर्टेम सुरक्षित हो भनियो, त्यसैले विशेषतः डाइअट वा सुगर-फ्री भनिने उत्पादनहरूमा चिनीको साटोमा हाल्न थालियो। अब फेरि अन्तर्राष्ट्रिय मूल्याङ्कनले यसले निम्त्याउन सक्ने जोखिमको पाटो देखायो भने हामी पनि उक्त पदार्थको प्रयोगको सन्दर्भमा सतर्क हुनुपर्छ,” खाद्य स्वच्छता तथा गुणस्तरविज्ञ जीवनप्रभा लामाले भनिन्।

उनी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी पूर्वमहानिर्देशक हुन्।

नेपालले खाद्य सुरक्षा सुनिश्चित गर्नका लागि डब्ल्यूएचओ र एफएओले संयुक्त रूपमा बनाएको कोडेक्स मापदण्ड कार्यान्वयन गर्छ।

अध्ययनहरूको निष्कर्षमाथि विमर्श र विज्ञहरूको सुझावका आधारमा कोडेक्स मापदण्ड संशोधन गरिने लामाले बताइन्।

“नेपालले पनि त्यसलाई अनुसरण गर्नुपर्ने हुन्छ। तर त्यसअघि नै स्थानीय उत्पादकहरूलाई यसबारे चेतावनी दिनुपर्ने हुनसक्छ,” उनले भनिन्।

के भन्छ सरकार?

खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार अन्तर्राष्ट्रिय मापदण्डका आधारमा नेपालमा बन्ने वा आयात हुने खाद्यान्न वा पेय उत्पादनको नियमन हुने गरेको छ।

“हामीले अन्तर्राष्ट्रिय मापदण्ड अपनाउने भएकाले एस्पर्टेमको प्रयोगबारे कोडेक्सको नयाँ निर्णयअनुरूप कामकारबाही अघि बढाउँछौँ,” उनले बीबीसीसँग भने।

यद्यपि अहिलेसम्म उक्त रसायनलाई खाद्य सामग्रीको रूपमा सूचीकृत गरिएकाले “तत्काल के गर्ने भन्नेबारे कुनै छलफल नभएको” उनले बताए।

अन्तर्राष्ट्रिय स्तरमा एस्पर्टेमले स्वास्थ्यमा गर्ने असरबारे चर्चा भएकाले यसको प्रयोग हुने स्वदेशी उत्पादन र आयात हुने खाद्यान्नको नियमन गरिन सक्ने प्रवक्ता महर्जन बताउँछन्।

उनले भने,”आयात हुने खाद्य उत्पादन त परीक्षण भएरै आउँछन्। विभागसँग आयात अनुमति लिँदा नै आयातकर्ताले के सामान कहाँबाट कोसँग कति ल्याउने भन्ने विवरणसहित ल्याब परीक्षण रिपोर्ट बुझाउनुपर्ने हुन्छ,“ उनले भने।

नेपालमै उत्पादन गरिरहेकाहरूको हकमा हाललाई एस्पर्टेम प्रयोगको मात्राबारे बुझ्ने र त्यसबारे आएको नयाँ जानकारी प्रवाह गर्न सकिने उनले जानकारी दिए।

“अन्तर्राष्ट्रिय स्तरमै यसको प्रयोगमा प्रतिबन्ध लगाइयो भने त नेपालमा पनि प्रयोग गर्न पाइँदै पाइँदैन।”

के हो एस्पर्टेम?

एस्पर्टेम कृत्रिम रूपमा बनाइएको गुलियो पदार्थ हो। यो चिनीभन्दा २०० गुना गुलियो हुन्छ र यसले मानवशरीरमा क्यालोरी नबढाई स्वाद दिन्छ।

सन् १९८० देखि खाद्य तथा पेय उत्पादनहरूमा यसको व्यापक प्रयोग हुँदै आएको डब्ल्यूएचओले जनाएको छ।

विशेषतः डाइअट पेयहरू, चूइङ गम, जेलाटिन, आइसक्रीम, दहीजस्ता दुग्ध उत्पादन, दन्तमञ्जन तथा खोकीको औषधि र चपाएर खाइने भिटामिनहरूमा यसको प्रयोग हुन्छ।

डाइअट कोक, कोक जिरो, सेभन अप फ्री र पेप्सी म्याक्सजस्ता लोकप्रिय पेयपदार्थमा एस्पर्टेम हालिएको हुन्छ।

त्यस्तै बजारमा उपलब्ध हुने र मधुमेहका बिरामीहरूले प्रयोग गर्ने "चिनीरहित" भनिने बिस्कुट र प्याकेटमा आउने जुसमा यसको प्रयोग हुने विज्ञहरू बताउँछन्।

रोचक कुरा त के हो भने यो पदार्थलाई खाद्यसुरक्षा निकायहरूले अनुमोदन गरेका छन्।

क्यान्सरको जोखिमबारे चर्चा

क्यान्सरलाई विश्वव्यापी रूपमा मृत्युको प्रमुख कारणहरूमध्ये एक मानिन्छ। प्रत्येक वर्ष छ जनामध्ये एक जनाको क्यान्सरका कारण मृत्यु हुने तथ्याङ्क छ।

“यो सङ्ख्या न्यूनीकरण गर्न र क्यान्सरका कारकहरूको पहिचान गरी सम्भावित विधिहरूको मूल्याङ्कन गर्न विज्ञानको क्षेत्रमा निरन्तर प्रयासहरू भइरहेका छन्,” डब्ल्यूएचओअन्तर्गत पोषण तथा खाद्यसुरक्षा विभागका निर्देशक डा फ्रान्सेस्को ब्रान्काले भने।

“सामान्यता खाद्य तथा पेय पदार्थमा प्रयोग गरिने मात्रा मात्रै प्रमुख सुरक्षा चुनौती होइन भन्ने सङ्केत एस्पर्टेमको मूल्याङ्कनले देखाएको छ। यसका सम्भावित प्रभावहरूबारे व्याख्या गरिएको छ जसमाथि विस्तृत अध्ययनहरूद्वारा अनुसन्धान गर्नु आवश्यक छ।”

अध्ययनमा संलग्न दुई निकायहरूले क्यान्सरको सम्भावित खतरा र एस्पर्टेम सेवनसँग सम्बन्धित अन्य स्वास्थ्य जोखिमहरूको स्वतन्त्र मूल्याङ्कन गरेका थिए।

उनीहरूको मूल्याङ्कनको निष्कर्ष समेटेर पूरक समीक्षाहरू पनि गरिएको थियो। एस्पर्टेमको मूल्याङ्कन आईएआरसीबाट पहिलो पटक र जेईसीएफएबाट तेस्रो पटक भएको हो।

उपभोक्ता भ्रममा पर्ने डर

यसअघि इन्टरन्याश्नल काउन्सिल अफ बेभरेजेज असोसिएशनकी कार्यकारी निर्देशक केट लोटम्यानले जनस्वास्थ्य अधिकारीहरूले सार्वजनिक भएका विवरणबारे “गहिरो चिन्ता” लिनुपर्ने र यसले “उपभोक्तालाई चिनीबिना वा कम चिनीको विकल्पको साटो अनावश्यक रूपमा बढी चिनी भएका उत्पादनहरू खपत गर्न दिग्भ्रमित पार्न सक्ने” चेतावनी दिएकी छन्।

यूकेस्थित फुड स्ट्यान्डर्ड एजेन्सीका सहप्रमुख वैज्ञानिक सल्लाहकार रिक मम्फर्डले “उक्त निकायले सम्बन्धित प्रतिवेदनको सूक्ष्म अध्ययन गर्ने” बताएका थिए।

यद्यपि गुलियो बनाउने उक्त कृत्रिम रसायनको सुरक्षाबारे “यसलाई विभिन्न वैज्ञानिक समूहहरूले मूल्याङ्कन गरेको र विद्यमान तोकिएको मात्रा स्वास्थ्यका लागि जोखिमरहित” भएको बताए।

उपभोक्ता कसरी सतर्क रहने

अहिले एस्पर्टेमबाट हुने दुष्प्रभावको स्तरबारे यकिन नभएकाले उपभोक्ताहरू स्वयं सजग रहनुपर्ने विज्ञ जीवनप्रभा लामाको सुझाव छ।

उनी भन्छिन्,"नेपालमा यस विषयमा वैज्ञानिक छलफल नभइसकेकाले उपभोक्ता आफैँ पनि सतर्क हुनुपर्छ। आफूले खाने खानाको बारेमा जानकारी लिनुपर्छ। लेबल हेरेर रसायनहरूको मात्रा यकिन गर्नुपर्छ।“

उनी विशेषगरी 'डाइअट' उत्पादन वा सुगर-फ्री भनिने बिस्कुट वा जुस खान छोड्नुलाई प्रभावकारी उपाय ठान्छिन्।

“त्यस्ता खानाहरूमा स्वादका लागि चिनीको साटो कृत्रिम रासायनिक पदार्थ हालिन्छ। त्यसले स्वस्थ मानिसलाई तत्काल असर नगर्ला तर मधुमेहका बिरामी, बालबालिका, दीर्घरोगी र गर्भवती महिलाका लागि निकै हानिकारक हुन्छ।"

पुराना अध्ययनको फरक निष्कर्ष

सन् २००० को दशकको आरम्भमा मुसामा परीक्षण गरेर गरिएको एक अध्ययनले यो पदार्थले मुसामा हुने क्यान्सरसँग सम्बन्ध देखाएको थियो। तर त्यस अध्ययनको निष्कर्षहरूको आलोचना गरिएको थियो र अन्य जनावरमाथि गरिएको अध्ययनहरूले क्यान्सरको जोखिम देखाएका थिएनन्।

गत वर्ष एक लाख ५,००० मानिसमा गरिएको एउटा अध्ययनले कृत्रिम गुलियो नखाने र धेरै मात्रामा सेवन गर्ने व्यक्तिहरूको तुलना गरेको थियो।

अध्ययनमा एस्पर्टेमसहित गुलियो स्वाद दिने पदार्थहरू क्यान्सरको उच्च जोखिमसँग सम्बन्धित भएको देखिएको थियो। तर अध्ययनमा समावेश गरिएका दुवै समूहबीच स्वास्थ्य र जीवनशैलीमा धेरै भिन्नताहरू थिए।

इन्टरन्याश्नल स्वीटनर्स असोसिएशनका फ्रान्सिस हन्ट–वुडले भने, "एस्पर्टेम इतिहासमै सबैभन्दा राम्ररी अनुसन्धान गरिएको पदार्थमध्ये एक हो र विश्वभरिका ९० भन्दा बढी खाद्य सुरक्षा निकायहरूले यसलाई सुरक्षित भएको घोषणा गरेका छन्।"

यद्यपि केही मानिसका लागि भने एस्पर्टेमको प्रयोग सुरक्षित मानिँदैन।

फिनाइल-कीटोन्युरिआ वा पीकेयू भनिने वंशाणुगत रोगजस्ता समस्या भएका मानिसका लागि यो घातक हुने ठानिन्छ। उक्त समस्या भएका मानिसले शरीरमा एस्पर्टेम टुक्रिएपछि बन्ने फिनाइल-एलनिन नामक तत्त्वलाई पचाउन वा निष्काशन गर्न सक्दैनन्।