तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
खडेरीले सुकेको मकैको बालीलाई लिएर किसान चिन्तित, कस्तो असर पर्ला?
- Author, ईश्वर जोशी/विमला चौधरी
- Role, चितवन/नेपालगन्ज, बीबीसी न्युज नेपाली
लामो समयदेखि पानी नपर्दा मकैको बोट सुकेर बाली भित्र्याउनै नपाइने हो कि भन्ने चिन्तामा देशका विभिन्न ठाउँका किसानहरू छन्।
तापक्रम बढ्दै जाँदा जमिन सुक्खा देखिएको छ र मकैका हरिया बोट पहेँला बन्दै गएका छन्।
लामो समयदेखि पानी नपर्दा मकैको बोट बारीमा नै सुक्न थालेपछि किसानहरू चिन्तित बनेका हुन्।
नेपालका अधिकांश जिल्लाहरूमा खडेरीले मकैको बोटलाई असर गरेकाले नेपालको एउटा प्रमुख बाली रहेको मकैको उत्पादन यस वर्ष उल्लेख्य रूपमा घट्नसक्ने विज्ञहरूले बताएका छन्।
उत्पादन कमी हुने
चितवन जगतपुर धम्पुसेका किसान छविलाल न्यौपानेले करिब ८ बिगाहा जग्गामा मकै खेती गरेका छन्।
मकैको बोट सुक्दै गएको देखेर उनी यसपालि बाली भित्र्याउनै नसक्ने गहिरो चिन्तामा छन्।
लामो समय पानी नपर्दा चितवनलगायत तराई क्षेत्रका मकैका बोटहरू सुक्दै गएका छन्।
नेपालमा ३० प्रतिशत जमिनमा सिचाइ सुविधा रहेको छ भने ७० प्रतिशत जमिनमा आकाशे पानीको भरमा खेती हुने गरेको छ।
समयमा पानी नपरेकै कारण यो वर्ष मकै उत्पादनमा कमी आउने देखिएको राष्ट्रिय मकै बाली अनुसन्धान केन्द्र रामपुरले जनाएको छ।
मकै खेतीको लागि ३८ डिग्री सेल्सियस तापक्रम राम्रो मानिने तर तापक्रम वृद्धि हुँदा सुक्खा क्षेत्रका मकै बालीको उत्पादनमा ठुलो मात्रामा कमी आउने अनुसन्धान केन्द्रका कृषि वैज्ञानिक घनश्याम भण्डारीले बताए।
मकैको फुल फुल्ने अर्थात् चमरा आउने समयमा ३८ डिग्री सेल्सियस भन्दा बढी तापक्रम भएको खण्डमा मकैको भाले फुल तातोले पड्केर मर्ने हुँदा मकैको घोगा लागे पनि उत्पादन नहुने उनले बताए।
चितवनमा यस वर्ष ४० देखि ४१ डिग्री सेल्सियससम्म तापक्रम पुगेको छ।
"सिँचाइ भएको स्थानमा लगाइएको मकैमा केही प्रतिशत नोक्सान हुने देखिन्छ भने सुख्खा स्थानमा लगाएको मकैबाट ९० प्रतिशतसम्म उत्पादनमा कमी आउने देखिन्छ," उनले भने।
बीउ परिवर्तन गर्न किसानलाई सुझाव
नेपालमा तापक्रम वृद्धि हुँदै जाने क्रम रहेकोले किसानहरूले तापक्रम सहन सक्ने खालको जातको मकै लगाउनुपर्ने उनले बताए।
खडेरी र तापक्रम वृद्धिले मकै बालीमा क्षति हुन थालेपछि राष्ट्रिय मकै बाली अनुसन्धान केन्द्रले तापक्रम सहन सक्ने गरी तयार पारेको रामपुर हाइब्रिड १० र रामपुर हाइब्रिड १२ लगाउन किसानलाई आग्रह गरेको छ।
नेपालगन्जमा पनि खडेरीको असर
बाँके र बर्दियामा पछिल्लो खेपमा रोपेको बसन्ते मकैमा खडेरीले असर गरिरहेको कृषकहरू बताउँछन्।
मकैको घोगामा दाना लाग्ने समयमा आवश्यक पानी सिँचाइ गर्न नसक्दा उत्पादनमा कमी आउने भन्दै चिन्ता बढेको बाँकेको डुडुवा गाउँपालिका ६ का कृषक जयपाल मौर्यले बताए।
"पहिले रोपेको मकैमा १० देखि १२ दिनको अन्तरालमा सिँचाइ गर्दा पनि केही फरक पर्दैनथ्यो। आज भोलि पानी सिँचाई गरेको ३ दिनमै मकै बारी सुक्खा भइहाल्छ," उनले भने।
"गर्मीका कारण बिजुलीको भोल्टेज कम हुन्छ मोटरले पानी सिँचाइ गर्न मुस्किल छ। यस्तो अवस्थामा सोचे जस्तो मकै फल्दैन।"
पहिलो चरणमा रोपेको मकै अहिले भित्र्याउन चटारो रहेको र दोस्रो चरणमा रोपेको मकैमा सिँचाइ गर्न धौधौ भइरहेको उनले बताए।
पहिलो चरणमा रोपेको मकै धेरै गर्मीले गर्दा ९० दिनमा तयार हुनुपर्नेमा ८० दिनमै सुकेर भाँच्नु परेको मौर्यले बताए।
मकै भित्र्याउने चटारो
यस्तै बर्दियाको गेरुवा गाउँपालिकामा पनि कृषकहरूले मकै तयार हुने समय अगावै खडेरीले सुकेर मकै भाँच्न थालेको बताएका छन्।
गेरुवा ५ नौरङ्गा बर्दियाका ठाकुर थारुले गत वर्षको तुलनामा यस वर्ष मकै चाँडै भित्र्याएको बताए।
अहिले बर्दियाका सबै कृषकलाई मकै भाँचेर भित्र्याउन चटारो रहेको ठाकुरले बताए।
बाँकेमा यस वर्ष एक हजार हेक्टर क्षेत्रफलमा बसन्ते मकै खेती भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ।
खडेरीले गर्दा मकैको घोगामा राम्रोसँग दाना नलाग्दै सुकेकोले यस वर्ष बाँकेका १५ देखि २० प्रतिशत सम्म मकै उत्पादनमा ह्रास आउन सक्ने कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख एवं वाली विज्ञ सकिल अहमद खानले बताए।
प्रशस्त पानी सिँचाइको व्यवस्था भएको स्थानमा बसन्ते मकैबालीमा खडेरीले खासै असर नगरे पनि सामान्य मोटरले पानी सिँचाइ गरेर खेती गरेको स्थानमा ठूलो असर गरेको उनले बताए।
उनले भने, "खडेरीले बसन्ते मकै बालीमा मात्र नभएर बर्खे मकै र धानको ब्याडमा पनि असर गरिरहेको छ।"
बोरिङमार्फत् सिँचाइ गरेर बर्खे मकै र ब्याड छरेका कृषकहरूले खडेरीले सबै सुक्न थालेको बताएका छन्।
नेपालमा कति क्षेत्रमा हुन्छ मकै खेती?
नेपालमा ९ लाख ८० हजार हेक्टरमा मकै खेती हुने गरेको कृषि मन्त्रालयको तथ्याङ्क छ। नेपालका अधिकांश जिल्लाहरूमा खडेरीले मकैको बोटलाई असर गरेको बताइन्छ।
नेपालमा गत वर्ष २९ लाख ९७ हजार मेट्रिक टन मकै उत्पादन भएको थियो।
खडेरीले गर्दा गत वर्षको अनुपातमा यो वर्ष उत्पादनमा कमी आउने कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ।
खडेरीले बिगारेको मकैमा अब पानी परे पनि सुधार नहुने किसानहरूको अनुमान छ।
लामो समयदेखि खडेरीले गर्दा मकै बालीमा ठुलो नोक्सान भए पनि किसानहरू क्षतिपूर्तिको लागि कोही नआएको कृषि ज्ञान केन्द्र चितवनका निमित्त प्रमुख मीनबहादुर पुनले बताए।
बागमती प्रदेश सरकारले किसानको बालीमा रोग वा किरा लागे वा प्राकृतिक कारणले क्षति भएको खण्डमा क्षतिपूर्ति दिने व्यवस्था गरेको छ।
तर सरकारले प्रति हेक्टर ३० हजार क्षतिपूर्ति दिने व्यवस्था रहेको र उक्त क्षतिपूर्ति निकै न्यून रहेको किसानहरूले बताएका छन्।