नेपाली कांग्रेस 'फुटको डिलमा' पुग्दा रातभरिमै 'संवाद' हुने कतिपयको दाबी

    • Author, सञ्जय ढकाल
    • Role, बीबीसी न्यूज नेपाली

पार्टीको ठूलो जमातसहित विशेष महाधिवेशन पक्षधरहरू काठमाण्डूको भृकुटीमण्डपमा विभिन्न प्रस्तावहरूको छलफलमा जुट्न थालेपछि संस्थापन भनिएको पक्षले संवादको आह्वान गरेको छ।

विघटित प्रतिनिधिसभामा देशको सबैभन्दा ठूलो दल विभाजनको सङ्घारमा पुगेका टीकाटिप्पणीका माझ सोमवार सभापति शेरबहादुर देउवाले भृकुटीमण्डपमा निम्तो मान्न जान पुन: अस्वीकार गरे, बरु आफ्नै निवासमा आन्तरिक परामर्शलाई तीव्रता दिए।

सोमवार दिनभरि नेपाली कांग्रेसका नेताहरू छलफलमा व्यस्त देखिँदा साँझपख सभापतिले विशेष महाधिवेशन डाकेका दुई महामन्त्रीहरूसँग संवाद गर्न खोजेको उनीनिकट नेताहरूले बताएका छन्।

दुवै पक्षमा पार्टी एकता कायम राख्ने इच्छा रहेकाले सार्थक संवादको सम्भावना रहेको र त्यो सोमवार रातभरिमा पनि हुन सक्ने नेताहरूले बताएका छन्।

वार्ताको आह्वान

दिउँसो देउवा निवासमा भएको छलफलमा सहभागी कांग्रेस नेता मीनबहादुर विश्वकर्माले सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी एकता र वैधानिक प्रक्रियाका निम्ति "पार्टी सभापति, कार्यवाहक सभापतिलगायत पदाधिकारीहरूले सम्बन्धित जो विशेष महाधिवेशनको नाममा भएको कार्यक्रममा भेला भएकाहरूसँग संवाद गर्ने भन्ने निष्कर्ष छ" भने।

संवादका विषयमा विशेष महाधिवेशनका अगुवाहरू महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासमक्ष सन्देश गइसकेको तथा उनीहरू त्यसमा सकारात्मक रहेको पनि विश्वकर्माले बताए।

"दुवैतर्फ पार्टी एकता कायम गर्ने पक्षमा छन्। त्यसमा जेजस्ता प्रक्रिया अघि बढेका छन्, तिनलाई विधिसम्मत ढङ्गले टुङ्ग्याउने र टुङ्गिदै गर्दा नेपाली कांग्रेस पार्टी सिङ्गो रहने र सबै साथीहरूको मत मात्रै होइन, मन पनि एकता हुने गरी भावनात्मक रूपमा एक ठाउँमा बसेर छलफल गर्ने," उनले बताए।

उनले त्यस्तो संवाद सोमवारै हुने बताएका थिए।

साथै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमवार दिउँसो समस्त पार्टी पङ्क्तिका निम्ति एक अपील पनि जारी गरे।

"देशको विषम परिस्थितिका प्रति गम्भीर हुँदै पार्टीभित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरुरी छ। यस अवस्थामा पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न सम्बन्धित सबैमा हार्दिक अपील गर्दै पार्टीमा सम्पूर्ण एकताका साथ अगाडि बढ्न हार्दिक अनुरोध गर्दछु," खड्काले अपीलमा भनेका छन्।

यसैबीच पार्टीका मुख्यसचिवले मङ्गलवार ११ बजेका निम्ति केन्द्रीय कार्यसमितिको बैठक पनि डाकेका छन्।

विभिन्न पहलका माझ पूर्वमन्त्री तथा कांग्रेस सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले दुवै पक्षबीच मिलनबिन्दु खोज्ने काम भइरहेको बताए।

"हामीले बुझेको के हो भने विशेष महाधिवेशन पक्षधरहरू नेतृत्व परिवर्तन वा नेतृत्व चयनतर्फ नजाने अनि त्यहाँ भएका नीतिगत छलफलहरू, विधान परिमार्जनका कुराहरू, चुनावका रणनीति, आर्थिक सामाजिक कार्यक्रमहरू जस्ता विषयलाई पार्टीले पुँजीको रूपमा ग्रहण गर्ने भन्ने एउटा मिलनबिन्दु हुन सक्छ भनेर लागिरहेका छौँ," पाण्डेले बीबीसीसँग भने।

के भन्छन् विशेष महाधिवेशन पक्षधर?

सभापति देउवा तथा कार्यवाहक सभापति खड्कालाई संवाद गर्न भनिएकोबारे आफूहरूले सञ्चारमाध्यमबाट थाहा पाएको बताउने दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले त्यसलाई सकारात्मक नै मान्नुपर्ने भने।

"हामीले त चाहेका थियौँ केन्द्रीय कार्यसमितिले नै यसलाई अपनत्व लिइदेओस्। सभापति आउने आशमा थियौँ। भोलि समापन सत्रसम्म पनि त्यसो हुन सक्छ। तर अहिलेसम्म नेतृत्व टसको मस भएन," आचार्यले बीबीसीलाई बताए।

सोमवार अबेर साँझ कुरा गर्दै गर्दा उनले महामन्त्री थापा र शर्मा आन्तरिक गृहकार्यका निम्ति भृकुटीमण्डपबाट बाहिरिएको जानकारी दिए। उनले सोमवार रातभरिसम्ममा संवाद हुन सक्ने सम्भावना दर्शाए।

तर संवाद सार्थक नभए मङ्गलवार विशेष महाधिवेशनले पार्टी नेतृत्व फेरबदल गर्न सक्ने पनि आयोजकहरूले चेतावनी दिएका छन्।

साँझ आयोजित पत्रकार सम्मेलनमा बोल्दै आचार्यले पार्टीको वर्तमान नेतृत्वले मङ्गलवारको समापन समारोहमा आएर अपनत्व ग्रहण नगरे 'निर्वाचनको प्रक्रिया' अघि बढ्ने चेतावनी दिए।

"भोलि नीतिगत विषय पारित भएपछि हामी नेतृत्वको विषयमा जान्छौँ।"

बन्दसत्र जारी

दुई दिने भनेर डाकिएको नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका आयोजकहरूले भेला लम्बिएको बताइरहँदा बन्दसत्रमा कार्यविधि पारित भएको छ, जसले निर्वाचन समिति समेत गठन गर्न बाटो खोलेको छ।

उक्त महाधिवेशन अब मङ्गलवार पनि जारी रहने दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले बीबीसीलाई बताए।

सोमवार बिहानदेखि सुरु भएको बन्दसत्रमा महामन्त्री गगनकुमार थापाले समसामयिक राजनीतिक प्रस्ताव पेस गरे। त्यसमा उनले नीतिगत सङ्कल्प भन्दै 'आम कांग्रेसजनमा देखिएको उदासीनताको बादल हटाउँदै' अघि बढ्न १७ बुँदामा विभिन्न सङ्कल्प प्रस्ताव गरेका छन्।

ती सङ्कल्पमा संविधान संशोधनमा साझा धारणा निर्माण गर्नेदेखि लिएर दलीय तथा निर्वाचन प्रणाली सुधारजस्ता विषय परेका छन्।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनलाई सम्बोधन गर्दै कांग्रेसलाई पुनर्निर्माण र पुनर्पहिचानको खाँचो रहेको बताएका थिए।

विभिन्न नौ समूहले ती प्रस्तावहरूमा छलफल गरिरहेको बताइएको छ। ती समूहका नेताहरूले मङ्गलवारको बन्दसत्रको आरम्भमा आफ्ना निचोड सुनाउने बताइएको छ।

यहाँसम्म कसरी आइपुग्यो कांग्रेस?

भदौमा भएको जेन जी आन्दोलनपछि असोज मसान्तमा नेपाली कांग्रेसका कुल महाधिवेशन प्रतिनिधिहरूमध्ये ५४.५८ प्रतिशतले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरेका थिए।

आइतवारसम्म उक्त प्रतिशतभन्दा पनि धेरै ५७.३९ प्रतिशत प्रतिनिधि भृकुटीमण्डपमा आइपुगेको आयोजकहरूले दाबी गरेका थिए। सोमवार त्यसमा छ प्रतिशत सङ्ख्या अझै थपिएको आचार्यले बताएका छन्।

कांग्रेसको विधानअनुसार ४० प्रतिशत प्रतिनिधिहरूले मागेको खण्डमा विशेष महाधिवेशन हुन सक्छ भने त्यहाँ वैधानिक निर्णय गर्न ५१ प्रतिशतको आवश्यकता पर्छ।

पार्टीको विशेष महाधिवेशन माग गर्दै गत असोजमा हस्ताक्षर बुझाएका प्रतिनिधिहरूले पार्टीको नेतृत्व परिवर्तन, नीतिगत पुनरवलोकन, पछिल्लो राजनीतिक घटनाक्रमको गम्भीर समीक्षा र संरचनागत परिवर्तनका निम्ति विधान संशोधन गरी चार विषयलाई मुख्य 'अजेन्डा' बनाएका थिए।

देउवापक्षीय नेताहरूको बहुमत भएको पार्टीको केन्द्रीय कार्यसमितिले चाहिँ विशेषभन्दा नियमित महाधिवेशनमै जोड दियो र पुस मसान्तमा नियमित महाधिवेशन गर्ने भन्यो।

तर करिब दुई साताअगाडि केन्द्रीय कार्यसमितिको बैठकले आमचुनावको मुखमा नियमित महाधिवेशन गर्न नभ्याइने तर्क गर्दै वैशाखमा १५औँ महाधिवेशन गर्ने निर्णय गर्‍यो।

त्यसपछि नियमित महाधिवेशन नहुने हो भने विशेष महाधिवेशनको माग गरिएको विषय स्वत: क्रियाशील हुने भन्दै महामन्त्रीद्वय थापा र शर्माले भृकुटीमण्डपमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन डाकेका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।