कोरोनाभाइरस: कोभिड-१९ देखा परेयता पहिलोपटक देशभित्र नयाँ सङ्क्रमण शून्यमा पुगेको चीनको भनाइ

कोरोनाभाइरस सुरुमा देखा परेको मुलुक चीनमा कोभिड-१९ को अभिलेख राख्न थालिएयता पहिलोपटक देशभित्र कुनै पनि नयाँ सङ्क्रमणका घटनाहरू देखा नपरेको चिनियाँ अधिकारीहरूले बताएका छन्।

तर बाहिरबाट चीन आएका व्यक्तिहरूमा बुधवार ३४ वटा नयाँ सङ्क्रमण देखा परेको थियो।

ज्यानुअरी यता चिनियाँ मूलभूमिमा ८१ हजारवटा भन्दा बढी कोरोनाभाइरसको सङ्क्रमण देखिएका छन्।

त्यसबाट ३ हजार २२५ जनाले ज्यान गुमाएका छन् भने ७० हजार भन्दा बढी निको भएका छन्।

अहिले पनि १० हजार भन्दा बढीमा सङक्रमण सक्रिय रहेको जनाइएको छ।

कठोर क्वारन्टीनको परिणाम

पछिल्ला दिनहरूमा चीनको प्रयास देशभित्र कोरोनाभाइरसलाई पुन: भित्रन नदिने रहदै आएको छ।

अधिकांश नयाँ घटना बाहिरबाट आएका आगन्तुकहरूले ल्याएका छन्।

सङ्क्रमण सबैभन्दा उच्च विन्दुमा पुग्दा चीनले कठोर क्वारन्टीन लागू गरेको थियो र भाइरस फैलनबाट रोक्न आवतजावत नियन्त्रणबारे कडा व्यवस्था लागु गरेको थियो।

यी कदमहरूको सफलताका कारण नयाँ सङ्क्रमितको सख्या घटेपनि चीनमा कोरोनाभाइरसको जोखिम नहटिसकेको विज्ञहरू बताउँछन्। त्यही भएर अधिकारीहरूले बाहिरबाट भित्रने मानिसहरूको कडा निगरानी गरिरहेका बताइएको छ।

यसैबीच बिहीवार दक्षिण कोरियामा १५२ वटा नयाँ घटनाहरू देखा परेका छन् तर ती मध्ये कति विदेशबाट भित्रिएका हुन् प्रष्ट भइसकेको छैन्।

सिङ्गापुरमा बुधवार ४७ वटा नयाँ सङ्क्रमण देखा परेका छन् जसमध्ये ३३ वटा आयातित थिए।

दक्षिण एसियाको अवस्था के छ?

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरसको सङ्क्रमणबारे बिहीवार साँझ देशवासीका नाममा सम्बोधन गर्ने समाजिक सञ्जाल ट्विटरमार्फत बताएका छन्।

भारतमा हालसम्म कम्तीमा १६९ वटा कोरोनाभाइरस सङ्क्रमणका घटना देखा परेका छन् र देशभर सयौँको सङ्ख्यामा मानिसहरूलाई 'सेल्फ आइसोलेशन' वा 'क्वारन्टीन' केन्द्रमा राखिएको छ।

देशभर विद्यालय र कलेजहरू बन्द गरिएका छन् र धेरै राज्यहरूले भिडभाडमा प्रतिबन्ध लगाएका छन्।

तर विज्ञहरूले कोरोनाभाइरस फैलन नदिन भारतले अझ धेरै कदम चाल्नुपर्ने बताइरहेका छन्। हालसम्म भारतमा कोरोनाभाइरसका कारण तीन जनाको मृत्यु भएको जोन्स हपकिन्स विश्वविद्यालयले तयार पारेको विश्वव्यापी तथ्याङ्क सङ्कलनमा उल्लेख छ।

पाकिस्तानमा कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या ३०७ पुगेको छ र त्यहाँ सङक्रमणबाट दुई जनाको ज्यान गइसकेको छ।

श्रीलंकामा ५१ वटा, अफगानिस्तानमा २२ वटा, बाङ्ग्लादेशमा १४ वटा, माल्दिभ्समा १३ वटा, भुटान र नेपालमा एक एक वटा सङक्रमण हालसम्म देखा परेको उक्त तथ्याङ्कभण्डारमा उल्लेख छ।