भारत-पाकिस्तानले शान्ति वार्ता पुनः शुरु गर्ने

इस्लामावादमा भारतीय र पाकिस्तानी विदेशमन्त्रीहरुबीच शान्ति वार्ताबारे सहमति भएको हो।

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, इस्लामावादमा भारतीय र पाकिस्तानी विदेशमन्त्रीहरुबीच शान्ति वार्ताबारे सहमति भएको हो।

परमाणु शक्ति सम्पन्न भारत र पाकिस्तानले अवरुद्ध शान्ति वार्ता पुनः शुरु गर्न सहमति भएको घोषणा गरेका छन।

इस्लामावादमा एउटा क्षेत्रीय सम्मेलनका क्रममा शान्ति वार्ता शुरु गर्नेबारे सहमति भएको घोषणा गरिएको हो।

आफ्ना पाकिस्तानी समकक्षी सरताज अजिजसँगको भेटवार्तापछि भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पत्रकारहरुलाई भनिन्, “दुई मुलुकका विदेश सचिवहरुको बैठकले शान्ति र सुरक्षाबारे हुने वार्ताका एजेण्डाहरु तय गर्नेछ।”

दुई मुलुकद्वारा जारी संयुक्त वक्तव्यमा भनिएको छ, “दुवै पक्ष व्यापक द्वीपक्षीय संवादका लागि तयार भएका छन, दुवै देशका विदेश सचिवहरुले वार्ताको मिति र खाका तयार पार्नेछन, शान्ति सुरक्षा, जम्मु कश्मीर, अतिवादविरुद्धको लडाइ लगायतका मुद्दामा छलफल हुनेछ।”

विवाद

सन् १९४७ मा ब्रिटिश उपनिवेशबाट स्वतन्त्र भएयता कश्मीर मुद्दालाई लिएर दक्षिण एसियाली दुई प्रतिद्वन्द्वी मुलुकले दुई पटक युद्ध गरिसकेका छन।

दुवै मुलुकले पूर्णरुपमा दाबी गर्दै आएको कश्मीर ६० वर्षयता विवादको केन्द्रमा रहिआएको छ।

बीबीसीका शाहजेब जिलानीका अनुसार पाकिस्तानले सन् २००९ मा गरिएको मुम्बई आक्रमणमा संलग्न रहेका आरोपीहरुको मुद्दा छिट्टै टुंग्याउने प्रक्रियालाई तीव्र पार्ने भारतीय पक्षलाई आश्वासन दिएको बताइएको छ।

इस्लामावादस्थित बीबीसीका एम इलियास भन्छन, अविश्वासका कारण विगतमा वार्ता भङ्ग भएका दृष्टान्तहरु छन, भविष्यमा ठोस वार्ता गर्ने मार्गचित्र तयार पार्न सके र दुई मुलुकलाई टाढा राख्दै आएका विवादित विषयमा प्रगति हासिल गर्न सकेमात्र सफलताको मापन गर्न सकिनेछ।