'धावनमार्ग पुग्नुअघि नै खस्यो': विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्रीसहित पाँच जनाको मृत्यु

महाराष्ट्रको बारामतीमा दुर्घटनाग्रस्त विमानको भग्नावशेषनजिकै केही मानिसहरू

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, दुर्घटनामा परेको विमान १६ वर्ष पुरानो भएको बताइएको छ

भारतको महाराष्ट्रमा एउटा चार्टर्ड विमान दुर्घटनाग्रस्त हुँदा उक्त राज्यका उपमुख्यमन्त्री अजित पवारको मृत्यु भएको भारतको नागरिक उड्डयन नियामक निकाय डीजीसीएले पुष्टि गरेको छ।

अधिकारी र प्रत्यक्षदर्शीहरूका अनुसार मुम्बईबाट उडेको विमान बारामतीस्थित विमानस्थलमा अवतरण गर्ने प्रयास गर्दा बुधवार बिहान धावनमार्गनजिकै खसेको थियो। त्यसपछि विमानमा आगो लागेको देखिएको थियो।

विमानमा अजित पवारका एक सहयोगी र चालकदलका तीन सदस्य पनि थिए। उनीहरू सबै जनाको मृत्यु भएको डीजीसीएले बताएको छ। यसअघि मृतकमध्ये दुई जना पवारका सहयोगी भएको बताइएको थियो।

भारतीय सञ्चारमाध्यममा प्रकाशित विवरणहरूमा उक्त दुर्घटनामा ज्यान गुमाउने अरू सबै जनाको नाम र परिचय खुलाइएको छ। मृतकहरूमध्ये पवारका अङ्गरक्षक विदीप जाधव, विमानपरिचारिका पिङ्की माली अनि विमानचालकद्वय क्याप्टेन सुमित कपूर र क्याप्टेन शाम्भवी पाठक पनि भएको बताइएको छ।

प्रहरीका अनुसार सबै शवलाई स्थानीय अस्पतालमा लगिएको छ। त्यहाँ फरेन्सिक परीक्षण र मृतकहरूको सनाखत गर्ने काम हुने छ। पवारका भावविह्वल समर्थकहरू अस्पतालबाहिर भेला भएका छन्।

कसरी भयो दुर्घटना

महाराष्ट्रको बारामतीमा दुर्घटनाग्रस्त विमानको भग्नावशेषबाट धुवाँ निस्किएको देखिन्छ, वरिपरि सुरक्षाकर्मी र आपत्कालीन सेवा प्रदान गर्ने उद्धारकर्मीहरू उभिएका छन्

तस्बिर स्रोत, Reuters

डीजीसीएले दुर्घटनामा परेको विमान 'बम्बार्डिअर लिअरजेट ४५' भएको जनाएको छ। भारतमा भीआईपीहरूले विमान चार्टर गर्दा त्यस खालको सानो व्यावसायिक विमान रोज्ने गरेका छन्।

दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन। भारतको हवाई दुर्घटनाबारे अनुसन्धान गर्ने निकाय एएआईबीका अधिकारीहरूले दुर्घटनास्थलको निरीक्षण र उक्त घटनाबारे छानबिन गर्न लागेका छन्।

यसअघि डीजीसीएले दिएको प्रारम्भिक विवरण उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले अवतरण गर्नुअघि विमानमा गम्भीर प्राविधिक समस्या र अस्थिरता उत्पन्न भएको जनाएका थिए।

दुर्घटनास्थलमा खिचिएका भिडिओहरूमा धावनमार्गनजिकै विमानको भग्नावशेषबाट धुवाँको मुस्लो उडेको देखिन्छ।

आफ्नो नाम उल्लेख गर्न नचहाने एक प्रत्यक्षदर्शी महिलाले समाचारसंस्था एएनआईलाई आफूले उक्त विमान "धावनमार्ग पुग्नुअघि नै भुइँमा खसेको" देखेको बताइन्।

उनका अनुसार उद्धारकर्मीहरूले विमानमा लागेको निभाएका थिए र स्थानीय बासिन्दाहरूले विमानको भग्नावशेषमा एउटा जलेको शव देखेका थिए। प्रहरीले उक्त शवलाई छोप्न लगाएको उनले बताइन्।

को हुन् अजित पवार

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार

तस्बिर स्रोत, Getty Images

अजित पवार न्याश्नलिस्ट कङ्ग्रेस पार्टी (एनसीपी)का नेता थिए। उनी एनसीपीका संस्थापक नेता शरद पवारका भतिजा हुन्।

तर केही वर्षअघि मतभिन्नता उत्पन्न भएपछि अजित पवारले पार्टी विभाजन गरेका थिए। भारतको निर्वाचन आयोगले अजित पवार नेतृत्वको पार्टीलाई नै मान्यता दिएको थियो।

अजित पार्टीको पार्टीसँग मिलेर प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले महाराष्ट्रमा सरकार बनाएको छ।

आसन्न स्थानीय निर्वाचनको प्रचारको सिलसिलामा आयोजना गर्न लागिएका जनसभाहरूमा सहभागी हुन उनी मुम्बईबाट बारामती गएको बताइएको छ।

अजित पवारले कङ्ग्रेस पार्टीबाट राजनीति थालेका थिए। शरद पवारले सन् १९९९ मा कङ्ग्रेस पार्टी छोडेर एनसीपी गठन गर्दा उनी पनि उनको साथ थिए।

उनी महाराष्ट्रबाट लोकसभामा र विधानसभामा पटकपटक निर्वाचित भए। महाराष्ट्रमा विभिन्न सरकारमा उनी उपमुख्यमन्त्री बने।

नरेन्द्र मोदीले के भने

प्रधानमन्त्री नरेन्द्र मोदी र एनसीपी नेता अजित पवार

तस्बिर स्रोत, Narendra Modi/X

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणनवीस, भारतीय न्याश्नल कङ्ग्रेसका अध्यक्ष मल्लिकार्जुन खडगे र नेत्री प्रियङ्का गान्धी र पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीसहित कैयौँ नेताले अजित पवारको मृत्यु भएकोमा शोक व्यक्त गरेका छन्।

अजित पवारलाई "जनताका नेता" भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, "महाराष्ट्रका जनताको सेवामा अग्रपङ्क्तिमा रहने एक कर्मठ व्यक्तित्वका रूपमा उनले व्यापक सम्मान प्राप्त गरेका थिए। प्रशासनिक विषयमा उनको बुझाइ र गरिब तथा वञ्चित वर्गलाई सशक्त बनाउने उनको प्रयास पनि उल्लेखनीय थियो।"

"उनको असामयिक निधन निकै आश्चर्यजनक र दुःखद छ।"

विमानपरिचारिकाको परिवार स्तब्ध

अजित पवारसँग विमानपरिचारिका पिङ्की माली

दुर्घटनामा ज्यान गुमाउने विमानपरिचारिका पिङ्की मालीको परिवारका अनुसार उनी विगत पाँच वर्षदेखि निजी चार्टर्ड विमानमा काम गर्दै आएकी थिइन्।

मालीका पिता शिवकुमार मालीले आफूले पिङ्कीसँग मङ्गलवार कुरा गरेको र उनी अजित पवारलाई लिएर बारामती जान लागेको कुरा थाहा पाएको बीबीसी मराठीलाई बताए।

"उनले अजित पवारलाई बारामतीमा छोड्ने र त्यसपछि नान्देड जाने बताएकी थिइन्," उनले भने।

"आज बिहान अजित पवारको विमान दुर्घटनामा परेको समाचार सुन्दा हामी स्तब्ध भयौँ। टीभीमा पिङ्कीको नाम देखेपछि हामीले आफ्नी छोरीको पनि ज्यान गएको भेउ पायौँ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।