बाङ्ग्लादेश दुर्घटना : विद्यालयमा लडाकु जहाज बज्रिएपछि जे भयो

दुर्घटनापछि खोजी तथा उद्धारकार्य हुँदै गर्दाको तस्बिर

तस्बिर स्रोत, JUBAIR BIN IQBAL/AFP/Getty Images

तस्बिरको क्याप्शन, बाङ्ग्लादेशमा सेनाको जहाज एउटा प्राथमिक विद्यालयको दुईतले भवनमा ठोक्किएको थियो
    • Author, सौतिक बिस्वास
    • Role, बीबीसी न्यूज, लन्डन

"आकाशमा एकैचोटि तीस चालीसवटा चट्याङ परेजस्तो आवाज आयो," अठार वर्षीय अह्नाफ बीन हसनले भने। उनी विद्यार्थी हुन् र दुर्घटनाको दुई दिनपछि त्यसबारे बताइरहँदा समेत उनको स्वर काँपिरहेको थियो।

"मैले आजसम्म कहिल्यै आकाशबाट त्यस्तो आवाज आएको सुनेको थिइनँ। निमेषभरमै लडाकु जहाज मेरो टाउको माथिबाट गयो र विद्यालयको भवनमा बज्रिन पुग्यो।"

बाङ्ग्लादेश 'एअर फोर्स'को एफ–७ जहाज सोमबार ढाकास्थित 'माइलस्टोन स्कूल तथा कलेज'को भवनमा ठोक्किएको थियो र उक्त दुर्घटना बाङ्ग्लादेशमा भएको दशककै ठूलो हवाई दुर्घटना थियो।

उक्त दुर्घटनामा कम्तीमा ३१ जना मारिए। त्यसमा धेरैजसो १२ वर्षमुनिका स्कुले बालबालिका परे जसमध्ये कोही गाडी कुरिरहेका, अतिरिक्त कक्षातर्फ लम्किरहेका अथवा हतारहतार नास्ता खाइरहेकाहरू थिए।

अह्नाफ त्यतिखेर विद्यालयको फराकिलो प्राङ्गणमा रहेको खेलमैदानस्थित एउटा छानाको मुन्तिर साथीसँग गफ्फिरहेका थिए। उनका अनुसार जहाज ठोक्किँदा उनी केवल ३० फीटको दूरीमा थिए।

उनी हातले टाउको समातेर जमिनमा ढले। आँखा खोल्दा वरिवरीको संसार नै अर्कै भइसकेको थियो।

"धुँवा, आगो र अँध्यारोबाहेक केही देखिन्थेन। केटाकेटीहरू चिच्याइरहेका थिए। सबथोक भद्रगोल भएको थियो," उनले बीबीसीसँग फोनमा भने।

अठार वर्षिय अह्नाफ

तस्बिर स्रोत, Ahnaf

तस्बिरको क्याप्शन, त्यहाँको चिच्याहट अझै पनि कानमा गुञ्जिने अह्नाफ बताउँछन्

प्रशिक्षण उडानमा रहेको उक्त विमानमा उड्नासाथ यान्त्रिक गडबडी देखा परेको उक्त एअर फोर्सले जनाएको छ। दुर्घटना हुनुअघि जहाजबाट हाम्फालेका पाइलटको पछि अस्पतालमा मृत्यु भएको थियो।

"मैले पाइलट निस्किएको देखेको थिएँ," अह्नाफले भने, "दुर्घटनापछि आकाशतिर हेर्दा मैले उनलाई सेतो रङ्गको पारासुटमा झरिराखेको देखेँ। उनी अर्को भवनको टिनको छानो भत्काउँदै उँधो झरे। मैले सुनेअनुसार उनी जमिनमा झर्दासम्म जीवितै थिए र पानी पनि मागेका थिए। एउटा हेलिकप्टर आयो र उनलाई लिएर गयो।"

धुवाँ र आगोका लप्का विद्यालयभरि फैलिँदै गर्दा बल्ल उनको सुद्दी आयो। जहाजको जलिराखेको एउटा टुक्रो उनको झोलामा ठोक्किन आइपुग्यो र ट्राउजर र हातमा समेत झोस्सियो। "त्यो एकदम तातो थियो। त्यसपछि हत्तपत्त झोला एकातिर मिल्काएर म मद्दतका निम्ति दौडिएँ।"

उनी खेलमैदान र दुईतले विद्यालय भवनलाई छुट्याउने कङ्क्रिटको बाटो भएर कुदे। गेटमा ठोक्किएर भुइँमा छ सात फीट धस्सिएको उक्त जहाज विस्फोट हुनुअघि उचालिएर पहिलो तल्लामा ठोक्किन पुगेको थियो। 'क्लाउड' र 'स्काई' नामका दुईवटा कक्षाकोठा दुर्घटनाको केन्द्रविन्दु बनेका थिए।

दुर्घटनास्थलमा छरिएका विद्यार्थीका सामग्री

तस्बिर स्रोत, Syed Mahamudur Rahman/NurPhoto/Getty Images

तस्बिरको क्याप्शन, दुर्घटनास्थलमा विद्यार्थीका सामग्री छरिएका अवस्थामा भेटिएका थिए

प्रवेशद्वारनजिकै अह्नाफले एक विद्यार्थीको क्षतविक्षत शव देखे।

"भवनमा ठोक्किनुअघि जहाजले उसलाई ठक्कर दिएजस्तो देखिन्थ्यो," उनले भने, "ती हामीभन्दा साना थिए।"

जहिल्लै विद्यार्थीहरूको चहलपहल रहने पाँचवटा भवन भएको उक्त हाता त्यतिखेर भने आगलागी, यत्रतत्र छरिएका धातुका टुक्राहरू र आर्तनादको दृश्यमा बदलिएको थियो।

धुवाँकैबीच अह्नाफले एकजना कनिष्ट विद्यार्थीलाई अर्का साथीले आगोबाट निकालेको देखे। उक्त विद्यार्थीको छाला जलेको थियो।

"उसले म एक्लैले सक्दिनँ, मद्दत गर्छौ भनेर सोध्यो। त्यसपछि मैले उसको साथीलाई काँधमा बोकेँ र मेडिकल कक्षमा पुर्‍याएँ।"

त्यस्तै अर्की एक महिला पनि आगोको चपेटामा परेकी थिइन्। केटाकेटीहरू भागिरहेका थिए। तिनको कपडा जलेको थियो र छालामा उच्च तापक्रमका कारण फोकैफोका निस्किएका थिए।

"दोस्रो तलामा फसेका विद्यार्थीहरू चिच्याइरहेका थिए," अह्नाफले भने, "हामी ग्रील भत्काएर आगो लागेको अर्को गेटसम्म पुग्यौँ। सेना र अग्नि नियन्त्रक दलका मानिसहरू आएर र त्यहाँ भएका केहीको उद्धार गरे।"

कैयौँ अन्यले जस्तै अह्नाफले आफ्नो उमेरभन्दा निकै ठूलो भूमिका निर्वाह गरे।

"हामीले भिडलाई नियन्त्रण गर्न र मानिसहरूलाई आगोबाट टाढा राख्न मद्दत गर्‍यौँ। एम्बुलेन्सहरूका निम्ति बाटो तयार राख्यौँ र अग्नि नियन्त्रकहरूलाई पाइप तान्न सघायौँ।"

एकफेर त उनले आफ्नो कमिज समेत फुकालेर दिए।

"एकजना विद्यार्थीको शरीरमा केही पनि थिएन। मैले आफ्नो कमिज फुकालेर उनलाई दिएँ र बिनाकमिज उद्धार कार्यमा खटिएँ।"

तर त्यत्रा विद्यार्थीको क्षति खपेर अघि बढ्न मुस्किलै पर्ने उनले बताए।

वाकिआ फिर्दोस निधि उक्त घटनामा ज्यान गुमाउनेमध्येकी हुन्
तस्बिरको क्याप्शन, एघार वर्षीया वाकिआ फिर्दोस निधि उक्त घटनामा ज्यान गुमाउनेमध्येकी हुन्

उक्त दुर्घटनामा ज्यान गुमाउनेमा एघार वर्षीया वाकिआ फिर्दोस निधि पनि थिइन्।

उनी सधैँ झैँ त्यो दिन पनि पैदलै विद्यालय गएकी थिइन्। जहाज ठोक्किएका बेला उनका बुवा प्रार्थना गर्दै थिए। त्यसबारे सुनेसँगै उनी मस्जिदबाट खालीखुट्टै विद्यालयतर्फ हानिए।

वाकिआको खोजीमा रातभर आधा दर्जनभन्दा धेरै अस्पताल चाहारेको उनका काका शइद बिलाल हुसेनले मलाई सुनाए।

"हामी नि:सहाय भएर सारा उत्तरा (ठाउँको नाम) चाहार्‍यौँ। कसैले हामीलाई एउटा अस्पतालमा छ वटा शव राखिएको सुनायो। मङ्गलवार बिहान आँखा र दाँतका आधारमा बुवाले उनको शरीरको पहिचान गरे तथापि हामीलाई अहिलेसम्म शव दिइएको छैन।"

कमर्चारीतन्त्रको भद्रगोलले वाकिआलाई गुमाउनुको पीडा उनको परिपारलाई थप बढाइदिको छ।

आँखामा लगाइएको लेन्स र दाँतका कारण छोरीको शवको पहिचान गरे पनि धेरै दाबेदारहरू भएका कारण डीएनए परीक्षण नगरी शव नदिने उक्त परिवारलाई बताइएको छ।

त्यसका निम्ति उनीहरूले सबैभन्दा पहिले प्रहरीमा निवेदन दिनु पर्‍यो। त्यसपछि पिताले सैन्य अस्पताल पुगेर रगतको नमूना दिए। अहिले उनीहरू आमाको नमूना सङ्कलन गरिने प्रतीक्षामा छन्। "हामीलाई थाहा छ, यो उनकै शव हो," हुसेनले भने, "तर उनीहरूले अझै पनि शव हस्तान्तरण गरेका छैनन्।"

तीन भाइबहिनामध्येकी कान्छी वाकिआ दियाबारीस्थित काकाको घरछेवैको पुरानो पुर्ख्यौली घरमा बस्थिन्। "हाम्रै आँखाअघि हुर्केकी हो। छतमा खेल्थी, हाम्रो घरछेउको नरिवलको बोटमुनि बस्थी र जहिल्यै आफ्नी सानी भतिजीलाई काखमा च्याप्थी। ऊ आँफै केटाकेटी थिई तर केटाकेटी मन पराउँथी," हुसेनले भने।

"मैले अघिल्लो दिनमात्रै उसलाई देखेको थिएँ," उनले भने, "स्कूलपछि कोचिङ नभएको भए ऊ आज जिउँदै हुन्थी।"

दुर्घटनापछि उत्पन्न भद्रगोल र हृदयविदारक स्थिति सँगसँगै मुस्किलले ज्यान जोगिएका र साहसले भरिएका घटनाहरू पनि छन्।

एक महिलाले बीबीसी बङ्गालीसँग खाजाको साटो पैसा दिएर पठाउँदा आफ्नो बच्चाको कसरी ज्यान जोगियो भन्ने वर्णन गरिन्। विश्रामको समयमा खाजा किन्न बाहिर निस्किएका कारण संयोगवश तिनका छोरा जोगिएका थिए। "मैले टिफिन नपठाएका कारण ऊ आज ज्यूँदै छ," ती महिलाले भनिन्।

अर्का अभिभावकको वियोग फेरि अकल्पनीय छ। उनीहरूले केहीबेरकै अन्तरालमा आफ्ना दुई सन्तान गुमाए। पहिले छोरी बितिन् र उनको सतगत गरेर अस्पताल फर्किन नपाउँदै उनीहरूका छोरा पनि नरहेको सुनाइयो।

दुर्घटना भएको ढाकास्थित माइलस्टोन विद्यालय

तस्बिर स्रोत, NurPhoto via Getty Images

तस्बिरको क्याप्शन, ढाका विमानस्थलनजिकैको उक्त क्याम्पस माथिबाट लडाकु तथा अन्य विमानहरू उडिरहन्छन्

त्यस्तै त्यहाँ महरीन चौधरी पनि थिइन्। तीनदेखि पाँच कक्षासम्मलाई पढाउने उनले कम्तीमा २० जना विद्यार्थीलाई आगोबाट बाहिर निस्किन मद्दत गरिन्।

घटनास्थलबाट बाहिर निस्किन अस्वीकार गर्दै उनी आफ्नो शरीर ८० प्रतिशतभन्दा धेरै नजलुञ्जेलसम्म बारम्बार आगोको लप्कोतिर गइराखिन्। स-साना केटाकेटीको ज्यान जोगाएकी उनी स्वयंलाई बचाउन असमर्थ भइन् र एउटा नायकका रूपमा बितिन्।

विद्यालयका कर्मचारीहरूका निम्ति त्यो एउटा दु:स्वप्नजस्तो थियो।

"म अब सामान्य रूपमा काम गर्न सक्दिनँ। त्यो भवनतिर हेर्दा हरेकचोटि मभित्र दु:खको लहर दगुर्छ। विसञ्चो भएजस्तो हुन्छ, दिक्दार लाग्छ। ज्यान गुमाउनेमध्ये तीन जनालाई म चिन्दथेँ र तीमध्ये एकजना मेरै सहकर्मीका बच्चा थिए," ४३ वर्षीय बङ्गाली शिक्षक शाफिकल इस्लाम तुलतुलले भने।

उक्त दुर्घटनापछि प्रश्नहरू उब्जिएका छन् र मानिसहरू क्षतिको आकारको लेखाजोखा गरिराखेका छन्।

सरकारले २९ जनाको मृत्यु भएको (सात जनाको सनाखत नभएको) र सयभन्दा धेरै घाइते भएको तथ्याङ्क दिएको छ। सेनाले मृतकको सङ्ख्या ३१ उल्लेख गरेको छ।

स्वास्थ्य मन्त्रालयले दुर्घटना र उद्धारको प्रयासका क्रममा ४१ विद्यार्थीसहित ६९ जना घाइते भएको जनाएको छ।

सामाजिक सञ्जालमा मानिसहरूले घटनालाई ढाकछोप गर्न खोजिएको टिप्पणी गरिराखेका छन् तर सुरक्षा निकायले त्यसको खण्डन गरेको छ। यसैबीच विद्यालयकी प्रधान अध्यापिका खादिजा अख्तरले परिवारजनहरूले अझै पनि पाँच जना हराइरहेको जनाएको बीबीसी बङ्गालीसँग बताएकी छन्।

प्रत्यक्षदर्शी र घटनामा बच्न सफल भएकाहरूअझै पनि चोटबाट मुक्त हुन सकेका छैनन्।

"म दुई दिनदेखि सुतेकै छैन," अह्नाफ भन्छन्, "हरेकपटक बाहिर हेर्दा लडाकु विमान मैतिर आइरहेझैँ लाग्छ। मानिसहरू चिच्याएको आवाज अझै कानमा गुञ्जिन्छ।"

उक्त क्याम्पस ढाका अन्तर्राष्ट्रिय विमानस्थल नजिकै छ र लडाकु तथा व्यावसायिक विमानहरू प्राय: क्याम्पसकै माथिबाट उड्छन्। "हामी हवाई मार्गको तल्तिर छौँ," अह्नाफले भने।

"टाउको माथिबाट जहाज उड्ने कुरामा हामी अभ्यस्त छौँ तर हामीले त्यो आकाशबाट खस्ला र हामीमाथि बज्रेला भन्ने कल्पनासम्म पनि गरेका थिएनौँ।"

उक्त त्रासदीपूर्ण घटनाले उनलाई अझै सताइरहन्छ। त्यस दिनको चिच्याहट, आगो र सहपाठी तथा शिक्षकहरूका जलेका मृत शरीरलाई उनले भुल्न सकेका छैनन्।

"आखाँ बन्द गर्दा अँध्यारो होइन, धुवाँ देख्छु।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।