एअर इन्डिया विमान दुर्घटनामा ज्यान गुमाएकी महिलाको शवसँगै 'अरू व्यक्तिको अवशेष पनि'

तस्बिर स्रोत, Miten Patel
- Author, सीमा कोटेचा
- Role, वरिष्ठ यूके संवाददाता
- Author, माइया डेभिस
- Role, बीबीसी न्यूज
एअर इन्डियाको विमान दुर्घटनामा आफ्ना आमाबुवा गुमाएका एक व्यक्तिले भारतबाट यूके आइपुगेको आफ्नी आमाको शवपेटिकामा अरू मानिसको "पार्थिव अवशेष" पनि फेला परेको बीबीसीलाई बताएका छन्।
मितेन पटेलका अनुसार स्थानीय 'कोरनर'ले उनकी आमाको शवसँगै अरूको अवशेष पनि आएको पत्ता लगाएका थिए। त्यसपछि आफूलाई शवपेटिकामा अरू कति जनाको अवशेष छ भनेर चिन्ता लागेको उनले बताए।
यूकेबाट प्रकाशित हुने 'द डेली मेल'ले बुधवार मृतकका आफन्तलाई भारतबाट गलत शवहरू पठाइएको विवरण प्रकाशित गरेको थियो।
गत जुन महिनामा भारतको अहमदाबादबाट यूकेको ग्याट्विकका लागि उडेको विमान दुर्घटनामा २६० जनाको मृत्यु भएको थियो। उक्त दुर्घटनामा जमिनमा भएका केही मानिस र विमानमा सवार एक जनाबाहेक सबै जनाको मृत्यु भएको थियो। ज्यान गुमाउनेमध्ये ५३ जना ब्रिटिश नागरिक थिए।
भारतको विदेश मन्त्रालयले सबै शव र मृतकका पार्थिव अवशेष "निकै व्यावसायिक तरिकाले" र सम्मानपूर्वक चलाइएको दाबी गरेको छ। उसले अहिले उठेका प्रश्नबारे ब्रिटिश अधिकारीहरूसँग मिलेर काम गरिरहेको जनाएको छ।
"शवहरूको पहिचान गर्ने काम भारतीय निकायहरूको हो," यूके सरकारका एक प्रवक्ताले भने।
"हामी [मृत्युको कारण पत्ता लगाउने] कोरनिअल प्रक्रियालाई सघाउन इनर वेस्ट लन्डन सिनिअर कोरनरका तर्फबाट गुजरात सरकार र भारत सरकारसँग सम्पर्क गरिरहन्छौँ।"
जुन १२ मा अशोक पटेल र शोभना पटेल आफ्ना छोरा र नातिनातिना भेट्न यूकेस्थित घर फर्किन विमान चढेका थिए।
गल्ती हुनु अस्वाभाविक नभए पनि यो घटना आफ्ना लागि "पक्कै पनि निकै पीडादायक" भएको मितेन पटेलले बताए।
"मानिसहरू थाकेका थिए होला अनि त्यहाँ निकै ठूलो दबाव थियो होला। तर सही शव यूके पठाउन उच्च स्तरको जिम्मेवारी त हुनुपर्थ्यो।"
"मेरी आमाको शव भएको पेटिकामा अरूको पार्थिव अवशेष छैन भनेर मलाई कसरी थाहा हुन्छ?"
'द डेली मेल'ले मृतकका परिवारलाई गलत शव पठाइएका दुइटा घटनाबारे विवरण प्रकाशित गरेको छ।
तीमध्ये एउटा घटनामा एउटा परिवारले आफ्ना आफन्तको नभई अर्कै व्यक्तिको पूरै शव प्राप्त गरेको थियो भने अर्को घटनामा शवपेटिकामा विभिन्न व्यक्तिका अङ्गहरू रहेका बताइएको छ।

भारत सरकार के भन्छ
भारतको विदेश मन्त्रालयले आफूलाई यस विषयमा प्रकाशित विवरणबारे जानकारी भएको प्रतिक्रिया दिएको छ। उसले ती चासो र आफ्नो जानकारीमा आएका विषयमा यूकेसँग मिलेर काम गरिरहेको जनाएको छ।
"दुःखद दुर्घटनापछि सम्बन्धित निकायहरूले स्थापित विधि र प्राविधिक उपायअनुरूप मृतकहरूको सनाखत गरेका थिए," भारतको विदेश मन्त्रालयले एउटा विज्ञप्तिमा भनेको छ।
"सबै पार्थिव अवशेष व्यावसायिक तरिकाले र मृतकप्रति सम्मान व्यक्त गर्दै चलाइएको थियो।"
"यस विषयमा व्यक्त चासो सम्बोधन गर्न हामी ब्रिटिश अधिकारीहरूसँग मिलेर काम गरिरहेका छौँ।"
दुर्घटनामा आफन्त गुमाएका धेरै परिवारका एक वकिलका अनुसार उनीहरूले ब्रिटिश प्रधानमन्त्री सर किअर स्टार्मरले "यी गम्भीर विषयहरू" भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यो साता यूकेको भ्रमणमा आउँदा उठाऊन् भन्ने चाहेका छन्।
"यी परिवारले तत्काल उत्तर र आफ्ना प्रियजनका शवको अवस्थाबारे जानकारी पाउनुपर्छ।"
यूकेको विदेश मन्त्रालयले मृतकका परिवार र आफन्तलाई आफूले सहयोग प्रदान गरिरहेको जनाएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








