एअर इन्डियाको विमान दुर्घटनाले बोइङ कम्पनीलाई दिएको 'धक्का'

बोइड ७८७

तस्बिर स्रोत, Getty Images

    • Author, निक मार्श
    • Role, यातायात संवाददाता, बीबीसी न्यूज

गत महिना बोइङले ७८७-८ ड्रीमलाइनरमा एक अर्ब यात्रु बोकेको खुसीयाली मनाएको थियो। त्यो १४ वर्षअघि मात्र सुरु गरिएको विमानको मोडेलका लागि महत्त्वपूर्ण उपलब्धि थियो।

उक्त अवसरमा बोइङ कम्पनीले विश्वव्यापी सञ्चालनमा रहेका १,१७५ वटाभन्दा बढी ७८७ विमानहरूको जत्थाले तीन करोड उडान घण्टा हुने गरी ५० लाख उडानहरू गरेका जनाएको थियो।

भारतको अहमदबादमा बिहीवार एअर इन्डिआको विमान दुर्घटना हुनु अघिसम्म उक्त मोडेलको विमान अन्तरमहादेशीय यात्राको एउटा मेरुदण्ड थियो भने त्यसको सुरक्षा रेकर्ड उदाहरणीय थियो।

इन्डोनेशिया र इथियोपियामा क्रमशः सन् २०१८ र २०१९ मा सयौँ व्यक्तिको ज्यान जाने गरी भएका घातक दुर्घटनामा परेपछि चर्चामा आएका बोइङ ७३७ म्याक्स मोडेलको विमानभन्दा यो फरक हो।

भारतमा बिहीवार भएको दुर्घटना उक्त कम्पनीका लागि ठूलो धक्का हो, जसले विभिन्न समस्यासँग जुझ्न सङ्घर्ष गरिरहेको छ। ती समस्यामा ७३७ विमानहरू दुर्घटनाग्रस्त भएका घटनाहरू पनि पर्छन्।

सफ्टवेअरमा देखिएको त्रुटिले ती दुर्घटनाहरू निम्तिएका पाइएको थियो र त्यसपछि उक्त मोडेलका विमानहरू १८ महिनासम्म विश्वभरि ग्राउन्डेड भएका थिए।

भारतमा बिहीवारको दुर्घटनाबाहेक ७८७-८ मोडेलको विमानमा कुनै त्रुटि देखिएको अहिलेसम्म पाइएको छैन।

दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स प्राप्त भएपछि दुर्घटनाबारे धेरै कुरा स्पष्ट हुने अपेक्षा गरिएको छ। ब्ल्याक बक्स भनेको विद्युतीय रेकर्डिङ उपकरण हो, जसले उडानका महत्त्वपूर्ण विवरणहरू स्टोर गर्छ।

कारणबारे विभिन्न अनुमान

भारतको अहमदाबादमा विमान दुर्घटना

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, उडेको केही सेकेन्डमै विमानमा समस्या आएर जमिनमा झरेको थियो

अहमदाबाद दुर्घटनापछि त्यसका कारणबारे विभिन्न अनुमानहरू गरिँदै छ। तर मैले कुरा गरेका एक पाइलटले हिजोआज विमान निर्माताहरूको गल्तीका कारण घातक घटना हुनु दुर्लभ भएको बताए।

उनका अनुसार बोइङ ७३७ म्याक्स विमान दुर्घटनाको उल्लेखनीय अपवादलाई छोड्ने हो भने अधिकांश दुर्घटना ककपिटमा मानवीय त्रुटिका कारण भएका छन्।

तपाईँले व्यापारिक उडान गर्न लाग्दा सम्झनुपर्ने महत्त्वपूर्ण कुरा के हो भने तपाईँ कि बोइङका विमान कि एअरबसका विमान चढ्नुहुन्छ। त्यस्ता विमानहरूको निर्माणमा ती दुई कम्पनीहरूको सर्वाधिकार रहेको छ।

तथापि बोइङको नाम फेरि अर्को दुःखद उड्डयन दुर्घटनामा जोडिन पुगेको छ।

उक्त कम्पनीले "यात्रु, चालक दलसहित प्रभावित सबैप्रति आफ्नो समवेदना रहेको" जनाउँदै दुर्घटनाबारे सूचनाहरू सङ्कलन गर्न एअर इन्डिआसँग मिलेर काम गरिरहेको जनाएको छ।

बोइङका प्रमुख कार्यकारी अधिकृत केली ओर्टबर्गले यात्रुहरूका र चालकदलका सदस्यहरूका प्रियजनमा गहिरो समवेदना व्यक्त गर्दै भारतको हवाई दुर्घटनासम्बन्धी अनुसन्धान निकाय नेतृत्वको अनुसन्धानमा सघाउने बताएका छन्।

बिहीवार न्यूयोर्कमा शेअर कारोबार बन्द हुने बेला बोइङको शेअर मूल्यमा करिब पाँच प्रतिशतले गिरावट आएको थियो।

सुरक्षासम्बन्धी गम्भीर प्रश्न

यो दुर्घटना सुरक्षा, गुणस्तरका साथै सात हप्ता लामो कर्मचारीहरूको हडतालका कारण गत वर्ष एक महिनाको अवधिमा करिब एक अर्ब डलर घाटा बेहोरेको कम्पनीका लागि अर्को समस्या हो।

सन् २०२४ मा अलास्का एअरलाइन्सको उडानको बीचमा विमानको एउटा ढोका भाँचिएपछि क्षतिपूर्ति स्वरूप बोइङले १६ करोड डलर तिर्नुपर्‍यो।

त्यसअघि ७३७ म्याक्स विमान लामो समय ग्राउन्डेड रहँदा भएको आर्थिक क्षतिका लागि कम्पनीले साउथवेस्ट एअरलाइन्सलाई ४२ करोड ८० लाख क्षतिपूर्ति तिर्ने सम्झौता गर्नुपरेको थियो।

गम्भीर आर्थिक मुद्दाका साथै बोइङले सुरक्षासम्बन्धी गम्भीर प्रश्नहरूको सामना गर्नुपरेको छ।

एप्रिलमा उक्त कम्पनीले "सुरक्षा र गुणस्तरमा केन्द्रित भइरहँदा" "सञ्चालन कार्यकुशलतामा सुधार" देखिएको बताएको थियो।

सन् २०१९ मा कम्पनीका एक भूतपूर्व कर्मचारीले दबावमा आएर कर्मचारीहरूले जानाजान कमसल पार्टपुर्जाहरू लगाउने गरेको बीबीसीलाई बताएका थिए।

बोइङ कम्पनीमा गुणस्तर नियन्त्रण व्यवस्थापकका रूपमा ३० वर्षभन्दा लामो समय काम गरेका जोन बार्नेटले गत मार्चमा आत्महत्या गरेका थिए। बोइङले उनका दाबीहरूको खण्डन गर्‍यो।

कानुनी लडाइँको शृङ्खला

भारतमा दुर्घटनामा परेको एअर इन्डियाको विमान

तस्बिर स्रोत, Reuters

गोप्य सूचनाहरू चुहाउने इन्जिनियर साम सालेहपोरले बोइङका विमानहरूको सुरक्षाबारे कुरा उठाउँदा आफूलाई दुर्व्यवहार गरिएको र धम्की दिइएको अमेरिकी राजनीतिज्ञहरूलाई बताएका थिए।

बोइङले प्रतिशोध "कडा रूपमा प्रतिबन्धित" रहेको जनाएको छ र कर्मचारीहरूबाट गरिने 'रिपोर्टिङ'मा ज्यानुअरीयता "पाँच सय प्रतिशतभन्दा बढी"ले वृद्धि भएको भन्दै त्यसले "प्रतिशोधबाट नडराईकन रिपोर्टिङ गर्ने एउटा बलियो संस्कृतितर्फ भएको प्रगतिलाई दर्शाएको" उल्लेख गरेको छ।

इन्डोनेशिया र इथियोपियामा भएका दुर्घटनासँग सम्बन्धित कानुनी लडाइँको एउटा शृङ्खलामा पनि बोइङ अल्झिएको छ।

गत महिना मात्र कम्पनीले अमेरिकी न्याय मन्त्रालयसँग एउटा सम्झौता गरेपछि फौजदारी मुद्दाबाट ऊ बल्लतल्ल जोगियो।

पीडित परिवारहरूलाई निराश तुल्याउँदै न्याय मन्त्रालयले बोइङले अमेरिकी सङ्घीय उड्डयन प्रशासनको अनुसन्धानमा अवरोध गर्ने षड्यन्त्र गरेको स्वीकार्ने अनि जरिवानास्वरूप १.१ अर्ब डलरभन्दा बढी तिर्ने बतायो।

आश्चर्यजनक रूपमा पछिल्ला केही वर्षहरूमा बोइङको शीर्ष कार्यकारी टोलीमा महत्त्वपूर्ण हेरफेरहरू भएका छन्।

उसका नयाँ प्रमुख केली ओर्टबर्ग सङ्कटग्रस्ट कम्पनीलाई उकास्ने प्रयाससहित आएका छन्।

उनले बोइङको सुरक्षा संस्कृतिमा सुधार ल्याउने वाचा गरेका छन् र हालै उनले विशाल विमान निर्माण कम्पनी छिटै नाफामा फर्कने आत्मविश्वास व्यक्त गरेका छन्।

तर बिहीवार अहमदाबादको भएको भयावह दुर्घटनासम्बन्धी समाचारको उनले सामना गर्नुपरेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।