एअर इन्डियाको विमान उडेको ३० सेकेन्डमै दुर्घटनामा पर्नुका सम्भाव्य ४ कारण

एअर इन्डिया
    • Author, सौतिक बिस्वास, म्याट मर्फी र जोशुआ चीथम
    • Role, बीबीसी न्यूज र बीबीसी भेरिफाई

अधिकारीहरू बोइङ ७८७-८ ड्रीमलाइनर विमान भारतको अहमदाबादस्थित सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलको रनवेबाट १.५ किमिको दूरीमा 'टेकअफ' गर्नेबित्तिकै दुर्घटनाग्रस्त हुनुको कारण खोज्ने प्रयत्नमा छन्।

त्यसका लागि आगामी दिनमा भारतीय, ब्रिटिश र अमेरिकी विज्ञहरूले संयुक्त रूपमा अनुसन्धान गर्ने छन्।

सन् २०११ मा व्यावसायिक उडान क्षेत्रमा प्रवेश गरेयता ७८७-८ ड्रीमलाइनर यसरी दुर्घटनाग्रस्त भएको पहिलोपटक हो। बिहीवारको दुर्घटनामा २४१ जना विमानमा सवार यात्रु र विमान खसेको स्थानमा केही मानिसको मृत्यु भएको छ।

बीबीसीले हवाई उडान विज्ञहरू र भारतमा रहेका विमानचालकहरूसँग उडेको क्षणभरमै विमान सघन आबादी भएको क्षेत्रमा किन खसेको हुन सक्छ भनेर कुराकानी गरेको छ।

कुराकानी गरेका कैयौँले नाम उल्लेख नगर्ने सतर्मा बोलेका छन्। कुरा गरेका पाइलटहरू नियमित रूपमा ७८७-८ ड्रीमलाइनर भारतीय अन्तर्राष्ट्रिय विमानस्थलबाट उडाउँदै आएकाहरू हुन्।

'उचाइ लिन मुस्किल भयो'

दुर्घटनाग्रस्त ७८७८ ड्रीमलाइनर क्याप्टेन सुमित शबरवाल र उनका सहचालक क्लीभ कुन्दरले उडाएका थिए। दुवै जना असाध्यै अनुभवी थिए र संयुक्त रूपमा ९,००० घण्टा विमान उडान गरेको अनुभव उनीहरूसँग थियो। सबरवालसँग त २२ वर्षभन्दा बढी समयदेखि कमर्सिअल पाइलटका रूपमा काम गरेको अनुभव थियो।

विमानमा २४२ जना यात्रु थिए। यो जेट १३:३९ स्थानीय समयमा उडेको एअर इन्डियाले जनाएको छ।

भारतका गृहमन्त्री अमित शाहले बताएअनुसार विमानमा १०० टन तेल थियो अर्थात् अहमदाबाद छोड्दा ट्याङ्क पूर्ण रूपमा भरिएको थियो।

टेकअफ गर्ने बित्तिकै ककपिटले 'मेडे कल' दिएको भारतको हवाई नियामकले जनाएको छ। त्यसपछि विमानबाट कुनै प्रतिक्रिया प्राप्त भएन। 'मेडे कल' (जीवनरक्षाको याचना) का लागि केले प्रेरित गर्‍यो, त्यो स्पष्ट छैन तर विमान दुर्घटनामा बाँच्न सफल एक मात्र व्यक्तिले भारतीय सञ्चारमाध्यमलाई भनेअनुसार विमानले उचाइ लिन सङ्घर्ष गरिरहेका बेला उनले ठूलो आवाज सुनेका थिए।

एअर इन्डियाको क्षतिग्रस्त विमान

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, उडेको केही सेकेन्डमै विमानमा समस्या आएर जमिनमा झरेको थियो

बीबीसी भेरिफाईले प्रमाणित गरेको फुटेजले देखाएअनुसार विमान मानव बस्तीमाथि असाध्यै होचो उचाइमा उडेको थियो। जारी पछिल्लो तथ्याङ्कअनुसार विमान ६२५ फिटको उचाइमा पुगेको थियो। त्यसपछि त्यो झर्न थाल्यो, त्यसपछि रुखहरू र घरहरूमा छोपिएको देखियो र एक विशाल विस्फोट हुन पुगेको थियो।

"यदि दुवै इन्जिनले काम नगरेको भए पाइलटसँग प्रतिक्रिया दिनका लागि समय नै भएन होला," एक पाइलटले भने। बीबीसी भेरिफा"ले सीसीटीभी फुटेज हेरेअनुसार विमान ३० सेकेन्डका लागि हावामा थियो।

विमान सघन मानव बस्ती भएको स्थानमा बज्रिन पुगेको थियो। विमान खसेका ठाउँमा परेका सरकारी भवन र अस्पतालसहित हाउजिङ ब्लकहरू गम्भीर रूपमा क्षतिग्रस्त भएका छन्।

'अत्यन्त दुर्लभ' : दुवै इन्जिन 'फेल' भएको आशङ्का

विमानको अवशेष

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, दुर्घटनाग्रस्त विमानको अवशेष

विमानको उडानको सङ्क्षिप्त भिडिओ हेर्दा दुर्घटनाको कारण स्थापित गर्न असम्भवप्राय: छ।

आगामी दिनमा विमानको 'ब्ल्याक बक्स' र समग्र भग्नावशेषको जाँच गरेर विस्तृत अनुसन्धान हुने छ । तर भिडिओहरूमा देखिएअनुसार विमान जमिनबाट माथि उड्न नै सङ्घर्ष गरिरहेको थियो।

केही विज्ञहरूले अनुमान लगाएअनुसार एउटा कारण चाहिँ असाध्यै दुर्लभ कुरा- दुवै इन्जिन 'फेल' भएको हुन सक्छ। अहिले उठेको प्रश्न के हो भने विमानको ‍'र्‍याम एअर टर्बाइन' सक्रिय बनाइएको थियो कि थिएन? यो आपत्कालीन 'ब्याकअफ टर्बाइन' हो, जसले मुख्य इन्जिनहरूले काम गर्न छोडे भने ऊर्जा उत्पादन सुरु गरिहाल्छ।

'डबल इन्जिन फेलर' भएको सुनिएकै छैन भने पनि हुन्छ। यसको उल्लेखनीय उदाहरण 'मिरकल अन द हड्सन' भनिने एउटा घटना हो। सन् २००९ मा यूएस एअरवेजको एअरबस ३२०को उडेको केही समयमै चरासँग ठक्कर खाएका कारण दुवै इन्जिन खराब हुन पुगेका थिए तर विमानलाई नियन्त्रित रूपमा झार्दै सुरक्षित रूपमा अवतरण गराइएको थियो।

बोइङ ७८७ ड्रीमलाइनर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, बोइङको ७८७ ड्रीमलाइनर विमान सन् २०११ मा व्यावसायिक उडानमा ल्याइएको हो

एक वरिष्ठ पाइलटले बीबीसीलाई बताएअनुसार इन्धन प्रदूषित वा पाइपमा कुनै अवरोध आउँदा पनि डबल इन्जिन फेलर हुन्छ। विमानको इन्जिन एउटा सटिक इन्धन 'मिटरिङ'मा निर्भर हुन्छ, यदि त्यो प्रणाली अवरुद्ध भयो भने इन्धनको कमी भएर इन्जिन बन्द हुन सक्छ।

एक पूर्वपाइलट मार्को चानले बीबीसी भेरिफाईलाई बताएअनुसार प्राप्त फुटेजका आधारमा 'डबल इन्जिन फेल' भएको थियो भन्ने प्रमाण छैन।

उडान विज्ञ मोहन रङ्गनाथनले बीबीसीलाई बताएअनुसार डबल इन्जिन फेलर चाहिँ "असाध्यै असाध्यै दुर्लभ घटना" हो।

इन्जिन निर्माता कम्पनी जीई एरोस्पेसले अनुसन्धानका लागि एक समूह भारत पठाइरहेको छ र बोइङले पनि एअर इन्डियालाई आफ्नो पूर्ण सहयोग रहने बताएको छ।

चरासँग ठक्कर

दुर्घटनास्थल

तस्बिर स्रोत, Reuters

विज्ञहरूले औँल्याएको अर्को सम्भावना चाहिँ चरासँग ठक्कर खानु हो।

विमान चरासँग ठोकिन पुग्यो भने त्यो विमानका लागि असाध्यै घातक हुन सक्छ।

गम्भीर अवस्थामा दुवै इन्जिन शक्तिविहीन हुन पुग्छन्। गत वर्ष त्यस्तै घटना हुँदा दक्षिण कोरियाको जेजु एअर दुर्घटनामा १७९ मानिस मारिएका थिए।

अहमदाबाद विमानस्थलबारे जानकार पाइलट र विज्ञहरूले बीबीसीलाई बताएअनुसार उक्त विमानस्थल चराहरूको सन्दर्भमा "कुख्यात" छ।

उक्त विमानस्थलबाट विमान उडाएका र अवतरण गरेका तीन पाइलटहरू र रङ्गनाथनले बीबीसीसँग भने, "त्यहाँ चरा त सधैँ हुन्छन्"।

अहमदाबाद रहेको गुजरात राज्यमा गत पाँच वर्षमा विमानहरू चरासँग ठोक्किएका घटना ४६२ पटक भएका छन्। डिसेम्बर २०२३ मा संसद्‌मा हवाई उड्डयन मन्त्रालयले पेस गरेको तथ्याङ्कअनुसार तीमध्ये धेरै घटना अहमदाबाद विमानस्थलमा भएका थिए।

सन् २०२३ को 'टाइम्स अफ इन्डिया'को एक समाचारमा विमानस्थल अधिकारीलाई उल्लेख गर्दे सन् २०२२-२३ मा अहमदाबादमा ३८ वटा चरासँग ठोक्किने घटना भएको र त्यो १२ महिनाको अवधिमा ३५ प्रतिशतले बढेको देखिएको बताइएको थियो।

सन् २००९ को घटनामा सीगल चराहरूको एक समूह २,७०० फिटमा इन्जिनमा घुस्न पुगेका थिए। यो एअर इन्डियाको अहिलेको उडानभन्दा चार गुणा माथि उचाइ थियो। तर यस पटक भारतीय पाइलटसँग उचाइ पनि थिएन र प्रतिक्रिया दिने समय दुवै थिएन।

तर एक वरिष्ठ पाइलटले बताएअनुसार चराले दुवै इन्जिनलाई असर गरेको बेलामा बाहेक चरासँग ठोक्किँदैमा विरलै यत्रो दुर्घटना निम्तिन्छ।

जहाँ विमान ठोक्किन पुगेको थियो

तस्बिर स्रोत, Vikas Pandey/BBC

तस्बिरको क्याप्शन, विमान ठोक्किन पुगेको ठाउँ

के विमानका पखेटाहरूका कारण त्यस्तो भएको हो?

बीबीसी भेरिफाईसँग कुरा गरेका तीन विशेषज्ञको राय छ – उडान सुरु गर्ने समयमा विमानका पखेटाहरू पूर्ण रूपमा फैलिएका नभएको हुनाले दुर्घटना भएको हुन सक्छ। तर अन्य पाइलट र विश्लेषकहरूले त्यो तर्कमा प्रश्न उठाएका छन्।

पखेटाले 'टेकअफ'का बेला असाध्यै महत्त्वपूर्ण भूमिका खेल्छन्। त्यसकै कारण विमानलाई कम गतिमा माथि उड्न मद्दत मिल्छ।

यदि तिनीहरू उचित तवरमा विस्तारित भएनन् भने लामो यात्राका लागि भारी इन्धन र पूर्ण सीट क्षमताका यात्री भएको जेटलाई तातो अवस्थामा उचाइ लिन मुस्किल पर्न जान्छ।

अहमदाबादमा उक्त विमान 'टेकअफ'का समयमा तापक्रम ४० डिग्री सेल्सिअस थियो। एक पाइलटले बताए कि हावा पातलो भएका अवस्थामा पखेटा धेरै नै विस्तारित हुनुपर्छ र इन्जिनमा थ्रस्ट (तेल प्रवाह) पनि यथेष्ट हुनुपर्ने थियो। यस्तो परिस्थितिमा सानै मात्र भए पनि प्राविधिक त्रुटिले डरलाग्दो परिणाम दिन सक्छ।

बिहीवार अपराह्न देखिएको सीसीटीभी फूटेजमा अहमदाबादबाट उडान भरेको विमानले उचाइ लिनका लागि कठिन भएको र त्यसपछि बिस्तारैबिस्तारै तल झरेको देखिएको छ।

बीबीसीसँग कुरा गरेको एक पाइलटका अनुसार पछितिर फर्केका पखेटासहित 'टेकअफ कन्फिगरेशन वार्निङ सिस्टम'बाट चेतावनी आउँछ, जसबाट फ्लाइट क्रूलाई असुरक्षित कन्फिगरेशनको बारेमा थाहा हुन्थ्यो।

पूर्वपाइलट चानले बीबीसी भेरिफाईलाई बताएअनुसार अहिलेसम्म आएको फुटेज स्पष्ट नभएकाले पखेटा विस्तारित गरिएका थिए कि थिएनन् भन्ने बताउन सकिन्न। तर उनले भने "यस्तो त्रुटि त असाध्यै अस्वाभाविक हुन्छ।"

चानले भने, "पखेटाहरू टेकअफ अगाडि पाइलटहरू आफैले विस्तारित गर्ने हो र त्यहाँ उडाउनुअघि गरिने प्रक्रियाको सूची नै हुन्छ, जुन सबै पूरा गर्नु पर्छ। यदि पखेटा विस्तारित थिएनन् भने त्यसले सम्भावित मानवीय त्रुटितर्फ औँल्याउँछ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।