विमानमा हुने 'टर्ब्युलन्स' के हो, कसरी उत्पन्न हुन्छ

तस्बिर स्रोत, Getty Images
लन्डनबाट सिङ्गापुरका लागि उडेको एउटा विमानमा 'टर्ब्युलन्स' उत्पन्न भएपछि एक यात्रुको मृत्यु भएको छ भने केही व्यक्ति घाइते भएका छन्।
टर्ब्युलन्स उत्पन्न भएपछि सिङ्गापुर एअरलाइन्सको उक्त विमान आकाशमा अकस्मात् निकै तल पुगेको थियो। त्यस क्रममा विमानभित्र यात्रु र सामानहरू उछिट्टिएका थिए।
उक्त विमानले थाईल्यान्डको ब्याङ्ककमा आकस्मिक अवतरण गरेको थियो।
टर्ब्युलन्स के हो र कसरी उत्पन्न हुन्छ?
हवाई यात्रा गर्दै आएका मानिसहरूले विमान 'टर्ब्युलन्स 'मा फस्दा अकस्मात् हुत्तिएको र हल्लिएको अनुभव गरेका हुन्छन्। टर्ब्युलन्सले उडिरहेको विमानलाई हल्लाइदिन र अकस्मात् उचाइ फेरिदिन सक्छ।
अधिकांश टर्ब्युलन्स बादलमा उत्पन्न हुन्छ। बीबीसी वेदरका साइमन किङका अनुसार बादलभित्र वायुले तल वा माथि धकेलिरहेको हुन्छ।
प्रायः वायुको त्यस्तो प्रवाह सामान्य खालको हुन्छ। यद्यपि मेघगर्जन गराउन सक्ने ठूला बादलहरूमा वायुको चर्को प्रवाह हुँदा मध्यम वा कडा टर्ब्युलन्स उत्पन्न हुन सक्छ।
बादलबिनै पनि टर्ब्युलन्स उत्पन्न हुन सक्छ। त्यस प्रकारको टर्ब्युलन्सलाई 'क्लिअर एअर टर्ब्युलन्स' भनिन्छ। देख्न र पत्ता लगाउन नसकिने हुँदा यस प्रकारको टर्ब्युलन्स निकै समस्याकारक हुन्छ।
क्लिअर एअर टर्ब्युलन्स 'जेट स्ट्रीम' अर्थात् तीव्र गतिमा बहेको वायुको आसपास उत्पन्न हुने उड्ड्यनविद् तथा विमानचालक गाइ ग्रेटन बताउँछन्। उनका अनुसार ४०,००० देखि ६०,००० फीटको उचाइमा वायु त्यस्तो अवस्थामा रहन्छ।
"जेट स्ट्रीमको वायु र वरपर भएको वायुको गतिमा १०० माइल प्रतिघण्टाको भिन्नता हुन सक्छ," उनी भन्छन्।
सुस्त गतिमा बहेको वायु र तीव्र गतिमा बहेको वायुका बीच जेट स्ट्रीमआसपास घर्षण हुँदा टर्ब्युलन्स उत्पन्न हुन्छ।
त्यस्तो अवस्था सधैँ रहन्छ र त्यसलाई छल्न सकिँदैन।
"यदि तपाईँ युरोपबाट उत्तर अमेरिकातिर विमानमा जाँदै हुनुहुन्छ भने त्यस्तो अवस्थालाई पूरै छल्न निकै कठिन हुन्छ," ग्रेटन भन्छन्।

तस्बिर स्रोत, Getty Images
टर्ब्युलन्स कति खतरनाक हुन्छ?
ग्रेटनका अनुसार विमानको निर्माण टर्ब्युलन्स थेग्न सक्ने गरी गरिएको हुन्छ। टर्ब्युलन्सका कारण विमान ध्वस्त हुने सम्भावना नभएको उनी बताउँछन्।
विमानचालकहरू टर्ब्युलन्स छल्न खोज्छन्। टर्ब्युलन्समा पर्न लाग्दा विमानभित्र 'सीटबेल्ट' बाँध्ने सङ्केत दिन्छन्।
विज्ञहरूका अनुसार टर्ब्युलन्सले कहिलेकाहीँ विमानको संरचनामा क्षति पुर्याइदिन सक्छ।
कडा टर्ब्युलन्स यात्रुहरूका लागि खतरनाक हुन सक्छ। सीटमा बस्दा पेटी नबाँधेका मानिसहरू विमानभित्रै उछिट्टिन सक्छन्।
उड्डयन सुरक्षाका जानकारहरूका अनुसार टर्ब्युलन्सकै कारण मानिसहरू हताहत हुने घटना चाहिँ हतपत हुँदैन।
उड्डयनविद् जोन स्ट्रिक्ल्यान्ड दशौँ लाख उडान हुँदा कडा टर्ब्युलन्सका कारण मानिसहरू खासै घाइते नभएको बताउँछन्।
संयुक्त राज्य अमेरिकाको न्याश्नल ट्रान्स्पोर्टेशन सेफ्टी बोर्डको तथ्याङ्कले सन् २००९ देखि २०२२ का बीच टर्ब्युलन्सका कारण १६३ जना "गम्भीर घाइते" भएको देखाउँछ। अर्थात् त्यस्तो सङ्ख्या औसतमा प्रतिवर्ष १२ छ।
टर्ब्युलन्सबाट जोगिन विमानचालकहरू के गर्छन्?
विमान उडाउनुअघि विमानचालकहरूले मौसमसहित उडानसँग सम्बन्धित विभिन्न जानकारी र पूर्वानुमान प्राप्त गर्छन्।
कुन हवाईमार्गबाट जाने भनेर योजना बनाउन उनीहरू त्यस्तो सूचनाको अध्ययन गर्छन्।
अर्थात् उनीहरू मेघगर्जन र हावाहुरी हुने बाटो छल्न सक्छन्। तर 'क्लिअर एअर टर्ब्युलन्स' छल्न त्यति सजिलो छैन।
ग्रेटनका अनुसार सोही मार्गमा भएका अरू विमानले पनि टर्ब्युलन्स भए नभएको जानकारी दिन्छन्।
त्यसरी जानकारी पाउँदा विमानचालकहरूले त्यस्तो स्थान छल्छन् वा टर्ब्युलन्सबाट पर्न सक्ने प्रभाव घटाउन आफ्नो विमानको गति घटाउँछन्।
चालकदलका सदस्यहरूलाई पनि टर्ब्युलन्स उत्पन्न हुँदा के गर्ने भनेर तालिम दिइएको हुन्छ।
यात्रुहरूले आफ्नो सुरक्षाका लागि के गर्नुपर्छ?
यात्रुहरूले पेटी बाँधेर सीटमा बसिराख्नुपर्छ र गह्रुँगा सामान बाहिर निकाल्नु हुँदैन।
टर्ब्युलन्स कहिले र कहाँ उत्पन्न हुन्छ भन्ने अनिश्चित हुन्छ।
त्यसैले हुँदा विमानचालकहरूले यात्रुहरूलाई सीटमा पेटी बाँधेर बस्न सुझाव दिन्छन्।

तस्बिर स्रोत, Getty Images
के टर्ब्युलन्सको सङ्ख्या बढेको हो?
केही अनुसन्धानकर्ताहरू जलवायु परिवर्तनका कारण टर्ब्युलन्स हुने सम्भावना बढेको ठान्छन्।
गत वर्ष यूकेस्थित रेडिङ यूनिभर्सिटीका वैज्ञानिकहरूले सन् १९७९ देखि २०२० का बीच नोर्थ एट्ल्यान्टिक हवाईमार्गमा कडा टर्ब्युलन्सको सङ्ख्या ५५ प्रतिशतले बढेको पत्ता लगाए।
बढी कार्बन उत्सर्जन हुँदा वायु तातेकाले आकाशमा निकै माथि वायुको वेगमा परिवर्तन हुँदा त्यस्तो वृद्धि भएको निष्कर्ष उनीहरूले निकालेका थिए।
अहिले टर्ब्युलन्स बढी देखा परेको र त्यसको अर्को कारण हवाईयात्रा गर्ने क्रम बढ्नु पनि हुन सक्ने ग्रेटन ठान्छन्।
अहिले आकाशमार्ग व्यस्त हुँदा विमानचालकले चाहेर पनि टर्ब्युलन्स छल्न नसक्ने अवस्था आउन सक्छ। किनभने विमानचालकले आफ्नो विमान र अर्को विमानबीच सुरक्षाका लागि निश्चित दूरी कायम राख्नुपर्ने हुन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








