जब उडिरहेको यात्रुवाहक रुसी विमान अकस्मात् खेतमा ओर्लियो...

तस्बिर स्रोत, Reuters
रुसमा १७० मानिस बोकेर उडिरहेको एउटा यात्रुवाहक विमानले प्राविधिक समस्या उत्पन्न भएपछि खेतमा आपत्कालीन अवतरण गरेको छ।
साइबेरियाको नोभोसिभिर्स्क क्षेत्रको जङ्गलनजिकै मकै खेती गरिने ठाउँमा त्यसरी अवतरण गरेको उरल एअरलाइन्सको एअरबस ए३२० मा सवार यात्रु र चालकदलका सदस्य सकुशल रहेको बताइएको छ।
ओम्स्क पुग्ने क्रममा उक्त जेटको हाइड्रोलिक प्रणालीमा समस्या उत्पन्न भएपछि विमानचालकले खेतमा विमान ओराल्ने निर्णय गरेको उक्त निजी वायुसेवा कम्पनीले जनाएको छ।
उरलले रुसले बेहोरिरहेको प्रतिबन्धका कारण विमानमा नियमित मर्मतसम्भार हुन नसकेको भन्ने कुराको खण्डन गरेको छ।
तस्बिरहरूमा खेतमा रोकिएको विमानका आपत्कालीन ढोका खुलेको र र्याम्प तल झारिएको एवं मानिसहरू यताउता डुलिरहेको देखिन्छ।
सामाजिक सञ्जालमा प्रेषित एउटा भिडिओमा एउटा ठूलो उपकरण प्रयोग गरेर ककपिट, पखेटा र पछाडिको भाग काटेर छुट्ट्याएको देखिन्छ। विमानलाई खेतबाट बाहिर निकाल्न त्यस्तो प्रयास गरिएको हो।
रुसको उड्डयन निकाय रोसाभियात्सियाले मङ्गलवार बिहानै उक्त विमानले "आकस्मिक अवतरण" गरेको जनाएको छ ।
उसका अनुसार विमान अवतरण गर्ने ठाउँ कामेन्का गाउँनजिकै "आकाशबाटै छानिएको" जनाएको छ।
उसका अनुसार विमानमा सवार कुनै पनि यात्रुले औषधोपचारका लागि सहायता खोजेनन्।
रोसाभियात्सियाले आपत्कालीन अवतरणको घटनाको अनुसन्धान गरिरहेको बताएको छ।
उरलले अनुसन्धान पूरा नभएसम्म चालकदललाई निलम्बन गरिएको बताएको छ।
निर्णयमाथि प्रश्न
उरल एयरलाइन्सका प्रमुख सर्गेई स्कुराटोभले ब्ल्याकसी तटमा अवस्थित सोचीबाट ओम्स्कका लागि उडेको उक्त विमानको एउटा हाइड्रोलिक प्रणालीले काम नगरेको बताएका छन्।
विमानमा आगो लागेको कुरा अस्वीकार गर्दै उनले सामाजिक सञ्जालमा देखिएका तस्बिरमा एउटा पखेटामा देखिएका दागहरू "केवल फोहोर" भएको बताए।
विमानको हाइड्रोलिक प्रणालीले अनपेक्षित रूपमा काम गर्न नसक्दा विमान अनियन्त्रित हुनसक्छ।
यद्यपि रुसी उड्डयनविज्ञहरू विमानमा अतिरिक्त प्रणाली हुने तर्क गर्दै चालकदलको त्यसरी आकस्मिक अवतरण गर्ने निर्णयमाथि प्रश्न उठाएका छन्।

तस्बिर स्रोत, Reuters
"त्यहाँ तीनवटा हाइड्रोलिक प्रणाली, एउटा इलेक्ट्रिक प्रणाली छन्," विमानचालक आन्द्रेई लिट्भिनोभले ए३२० बारे Gazeta.ru वेबसाइटलाई बताए।
"कुनै विमानलाई खेतमा ओराल्नुपर्दैन।"
उक्त निर्णयले विमानभित्र र जमिनमा रहेका मानिसको ज्यान जोखिममा परेको उनको तर्क छ।
समाचारसंस्था इन्टर्फ्याक्समा प्रकाशित विवरणअनुसार आपत्कालीन अवतरण गरेको ए३२० विमान झन्डै २० वर्ष पुरानो हो।
उक्त विमानले अर्को वर्षको अन्त्यसम्म उडान गर्न पाउने योग्यताको प्रमाणपत्र पाएको थियो।
रुसविरुद्धका प्रतिबन्धको मार
युक्रेनमा मस्कोले गरेको आक्रमणपछि पश्चिमी प्रतिबन्धका कारण रुसी वायुसेवालाई जगेडा पार्टपुर्जा पाउन गाह्रो भएको बेलामा आपत्कालीन अवतरणको यो घटना भएको हो।
गत मार्च महिनामा एक रुसी सञ्चारमाध्यम भेदोमोस्तीले उरल एअरलाइन्सका एक अधिकारी इगोर पोडुब्नीलाई उद्धृत गर्दै उक्त वायुसेवा कम्पनीसँग तीन महिनाका लागि मात्र जगेडा सामान भएको र त्यसपछि सग्ला विमान भत्काउनुपर्ने अवस्था आउन सक्ने विवरण प्रकाशित गरेको थियो।
यद्यपि स्कुराटोभले आफ्ना सबै विमानमा असली पार्टपुर्जा जडान गरिएको बताए।
"हामी कहिल्यै अनुचित पाटपुर्जा प्रयोग हुन दिने छैनौँ," उनले भने।
"लडाइँका कारण कठिन अवस्था छ, तर हाम्रो विमानमा प्रयोग भएका सबै सामान प्रमाणित छन्।"
समाचारसंस्था रोएटर्सले गत महिना प्रकाशित गरेको एउटा विवरणका अनुसार उरल एअरलाइन्स र अन्य रुसी वायुसेवा कम्पनीहरू केही अवसरमा प्रतिबन्ध छल्न सफल भएका थिए। त्यसका लागि तिनले चीन र यूएईसहितका रुसविरुद्धका प्रतिबन्धहरूलाई समर्थन नगर्ने देशमा मध्यस्थकर्ताहरूको सहयोग लिएका थिए।
यसअघि समेत सन् २०१९ मा उरल उडान सुरु गर्ने क्रममा आँधी आएपछि एअरलाइन्सको एअरबस ए३२१ लाई मस्कोबाहिरको मैदानमा अवतरण गराइएको थियो।
उक्त घटनामा विमानमा रहेका २३० जनामध्ये ७० जना घाइते भएका थिए।
रुसी सञ्चारमाध्यमले त्यसलाई "रामेन्स्कमा चमत्कार" को सङ्ज्ञा दिएका थिए।
चालकदलका सदस्यलाई पछि राष्ट्रिय पुरस्कार दिइएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।











