उडिरहेको विमानको ढोका खोल्ने यात्रु पक्राउ

केही यात्रु बेहोस भएपछि उनीहरूलाई अस्पताल लगिएको थियो

तस्बिर स्रोत, NEWS1

तस्बिरको क्याप्शन, केही यात्रु बेहोस भएपछि उनीहरूलाई अस्पताल लगिएको थियो
    • Author, डेरेक काई
    • Role, बीबीसी न्यूज

दक्षिण कोरियामा अवतरण गर्ने क्रममा रहेको एशियाना एअरलाइन्सको एउटा विमानको आपत्कालीन द्वार खोलेको आरोपमा एक यात्रु पक्राउ परेका छन्।

डेगू अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रवार सुरक्षित रूपमा अवतरण गरेको उक्त विमानमा यात्रा गरिरहेका १९४ जना यात्रुहरू सकुशल छन्। तर विमान अवतरण गर्दा त्यसको आपत्कालीन ढोका भने खुलै थियो।

विमानमा भएका केही यात्रु बेहोस भएका थिए भने कतिपयलाई सास फेर्न समस्या भएको थियो।

उनीहरूलाई अस्पताल लगिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

यन्हाप समाचारसंस्थाले जनाएअनुसार आकस्मिक ढोका खोल्ने ३० वर्षका ती व्यक्तिलाई जहाज अवतरण भएपछि पक्राउ गरिएको छ।

कहाँबाट उडेको थियो जहाज?

उडान नम्बर ओजेड-८१२४ रहेको एअरबसको ए-३२१-२०० जहाज स्थानीय समयानुसार शुक्रवार बिहान ११:४५ बजे जेजू टापुबाट उडेको थियो।

करिब एक घण्टापछि अवतरण गर्ने क्रममा एक पुरुष यात्रुले जमिनबाट २५० मिटर माथि हुँदा विमानको आपत्कालीन ढोका खोलिदिएका थिए।

आपत्कालीन ढोका खुलै रहेकै अवस्थामा जहाज अवतरण भएको थियो

तस्बिर स्रोत, NEWS 1

तस्बिरको क्याप्शन, आपत्कालीन ढोका खुलै रहेको अवस्थामा जहाज अवतरण भएको थियो

एक यात्रुले सामाजिक सञ्जालमा राखेको भिडिओमा विमानको बायाँतर्फको चेपबाट सीटमा बसेका यात्रुहरूको पङ्क्तिमा हावा चलिरहेको देखिन्छ।

विमान अवतरण गर्न लागेकाले विमानका कर्मचारीले उनलाई रोक्न नसकेको प्रत्यक्षदर्शीहरूले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन्।

उनीहरूका अनुसार ती व्यक्तिले ढोका खोलेर विमानबाट हाम फाल्ने प्रयास गरेका थिए।

साङ्केतिक तस्बिर
यो पनि हेर्नुहोस्
साङ्केतिक तस्बिर

प्रत्यक्षदर्शी के भन्छन्?

त्यसले गर्दा विमानभित्रका यात्रुमा त्रास फैलिएको प्रत्यक्षदर्शीले स्थानीय सञ्चारमाध्यमहरूलाई बताएका छन्।

"ढोका नजिकका मानिसहरू एक-एक गर्दै बेहोस हुन थालेपछि त्यहाँ कोलाहल मच्चिएको थियो र विमानका कर्मचारीले त्यहाँ कोही चिकित्सक भए सहयोग गर्न आह्वान गरेका थिए," एक ४४ वर्षीय यात्रीले यन्हापलाई भनेका छन्।

"मलाई विमान उडिरहेको छ र म यसैमा मर्छु जस्तो लाग्यो," उनले भने।

सप्ताहान्तको खेलकुद कार्यक्रममा जाने क्रममा उक्त जहाजमा कैयौँ विद्यालय उमेरका बालबालिकाहरू पनि यात्रा गरिरहेका थिए।

साङ्केतिक तस्बिर

एक विद्यार्थीकी आमाले यन्हापलाई भनिन्, "बच्चाहरू काँपिरहेका, रोइरहेका र डराइरहेका थिए।"

प्रहरीले ती सन्दिग्ध पुरुषले अहिलेसम्म आफूले किन त्यस्तो गरे भन्नेबारे केही बताएका छैनन्। पक्राउ परेका बेला उनले मादक पदार्थ सेवन गरेको पनि पाइएको छैन।

"उनीसँग सामान्य कुराकानी गर्न गाह्रो छ," एक अधिकारीले भने, "हामी अपराधको कारणबारे छानबिन गरी कारबाही गर्ने छौँ।"