नेपाल वायुसेवा निगमलाई सिड्नीका लागि 'स्लट', कहिले सुरु होला व्यावसायिक उडान

तस्बिर स्रोत, NAC
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अस्ट्रेलियामा उडान गर्न 'स्लट' अर्थात् उडानका लागि विमानस्थलले छुट्ट्याइदिएको समय प्राप्त गरेको छ।
अधिकारीहरूका अनुसार काठमाण्डूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अस्ट्रेलियाको सिड्नी सहरमा उडान गर्नका लागि दिन, तालिका र समय सहितको निवेदन पेस गरिएको थियो।
त्यसको आधारमा अस्ट्रेलियाको नागरिक उड्डयन निकायले स्लट स्वीकृत गरेको र त्यसपछि आवश्यक प्रक्रिया अघि बढेको निगमले जनाएको छ। अस्ट्रेलियामा उडान गर्नका लागि 'ल्यान्डिङ पर्मिट' (अवतरण अनुमति) लिनेसहित अन्य विभिन्न प्रक्रिया पूरा हुन भने अझै बाँकी छ।
"अन्य कुरा (विभिन्न प्रक्रिया) भने स्वीकृति हुने क्रममै छ," निगमका सहप्रवक्ता गणेशकुमार घिमिरेले भने।
ल्यान्डिङ पर्मिट जारी भएपछि तथा उडान समझदारी लगायतका अन्य प्रक्रिया पूरा भएपछि व्यावसायिक उडानका लागि तालिका सार्वजनिक गरिने निगमले बताएको छ।
कहिलेकहिले हुन्छ उडान?
उडान सुरु भएपछि नेपाली राष्ट्रिय ध्वजावाहक विमानहरू साताको दुई दिन सिड्नी जाने छन्।
निगमले काठमाण्डूबाट बुधवार र शनिवार सिड्नी उडान गर्नेगरी स्लट प्राप्त गरेको जानकारी घिमिरेले दिए।
अस्ट्रेलियासम्मको यात्रा तय गर्दा सिङ्गापुरमा 'टेक्निकल ल्यान्डिङ' गर्नेगरी प्रक्रिया अघि बढाइएको छ।
"अहिलेलाई इन्धन भर्न मात्रै [सिङ्गापुर] जाने प्रक्रिया अघि बढाइएको हो," उनले भने। सिङ्गापुर हुँदै सिड्नीसम्म जान आउन झन्डै २७ घण्टा लाग्ने अनुमान गरिएको छ।
अहिले निगमसँग एअरबस कम्पनीका दुईवटा वाइडबडी (ठूला आकारका) विमान र दुईवटा न्यारोबडी विमान छन्।
सिड्नीका न्यारोबडी विमानबाट मात्रै उडान गर्न नसकिने जानकारी घिमिरेले दिए।
वाइडबडी विमानको सीट क्षमता २७४ छ। त्यसको इकोनोमी क्लासमा २५६ जना र बिजनेस क्लासमा १८ यात्रु चढ्न सक्छन्।

विदेशमा कहाँकहाँ जान्छन् नेपाली विमान?
Airlines proposed and existing routes in Nepal
हेर्नका लागि प्लेबटन थिच्नुहोस्

कहिलेबाट सुरु होला व्यावसायिक उडान?
सबै प्रक्रिया सम्पन्न भएको अवस्थामा निगमले जुन २१ तारिखबाट व्यावसायिक उडान सुरु गर्ने योजना बनाएको छ।
यद्यपि केही प्रक्रिया पूरा गर्न बाँकी नै भएकाले उक्त मितिबाट उडान सुरु होला कि नहोला भन्ने स्पष्ट छैन।
अस्ट्रेलिया र सिङ्गापुरमा सबै प्रक्रिया सम्पन्न भएपछि निगमले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट पनि सहमति प्राप्त गर्नुपर्ने हुन्छ।
प्राधिकरणका उपमहानिर्देशक जगन्नाथ निरौलाले सबै प्रक्रिया पूरा भइसकेपछि निगमलाई अनुमति दिने जानकारी दिए।
''हामी (स्वीकृति) दिइहाल्छौँ। त्यसमा कुनै समस्या हुँदैन,'' उनले भने।
सिड्नीबाहेक अस्ट्रेलियाको विभिन्न गन्तव्यमा जाने योजना निगमको छ। तर त्यसका लागि थप विमान आवश्यक हुन्छ।
अस्ट्रेलियामा सीधा उडान किन?
केही वर्षदेखि उच्च शिक्षाका लागि नेपाली विद्यार्थीहरू अस्ट्रेलिया जाने क्रम बढेको छ।
नेपाली विद्यार्थी र तिनका परिवारका सदस्यहरू ठूलो सङ्ख्यामा जाने र आउने गरेकाले अस्ट्रेलियाका सहरमा सीधा उडान गर्ने सम्भावनाबारे निगमले चासो दिएको हो।
अहिले नेपाल वायुसेवा निगमका चारवटा विमानले काठमाण्डूबाट भारतका तीन सहर दिल्ली, बेङ्गलुरु, मुम्बईमा उडान गर्दै आएका छन्।
त्यसबाहेक निगमले ब्याङ्कक, क्वालालम्पुर, हङ्कङ, दोहा, नारिता, दुबई र रियादमा पनि व्यावसायिक उडान सञ्चालन गरिरहेको छ।








