गौतम बुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान बन्द, पोखरामा अनुमति लिन 'कोही आएन'

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

तस्बिर स्रोत, GBIA Nepal

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प भन्दै बनाइएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले अन्तर्राष्ट्रिय उडान बन्द भएको छ।

पछिल्लो समय अन्तर्राष्ट्रिय उडान गर्दै आएको एक मात्र कुवेतको जजीरा एअरवेजले उडान बन्द गरेपछि उक्त विमानस्थल अन्तर्राष्ट्रिय उडानविहीन बनेको हो।

“व्यावसायिक कारणले अहिले उडान रोकेको भन्दै उहाँहरूले हामीलाई पत्राचार गर्नुभएको छ,” विमानस्थलका प्रवक्ता दीपककुमार बज्राचार्यले बीबीसी न्यूज नेपालीसँग भने।

विमानस्थल अधिकारीका अनुसार गत ज्यानुअरी र फेब्रुअरीमा हुस्सुका कारण उडान नगरेको जजीरा एअरवेजले त्यसपछि केही उडान गरेर फेरि बन्द गरेको थियो।

“गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एप्रिल १९ तारिखमा उहाँहरूले अन्तिम उडान गर्नुभएको रेकर्ड छ,” बज्राचार्यले भने।

जजीरा एअरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको दिनबाट अर्थात्‌ गत जेठ २ गतेदेखि सातामा तीनवटा उडान गर्दै आएको थियो।

त्यसबाहेक हिमालय एअरलाइन्सले डेढ महिनाजति त्यहाँबाट सिङ्गापुरका लागि उडान गरेको थियो।

रेड लाइन
रेड लाइन

कारणबारे विभिन्न तर्क

जजीरा एअरवेजले उडान बन्द गर्नुको कारण व्यावसायिक पक्ष मात्र उल्लेख गरे पनि विभिन्न तर्कवितर्क सुनिएका छन्।

एकथरीले पर्याप्त यात्रु नपाएको भनिरहेका छन् भने अर्कोथरीले रातिको समयमा विमानस्थलले उडान अनुमति नदिएकोले बन्द गरेको बताइरहेका छन्।

प्रवक्ता बज्राचार्यले पर्याप्त यात्रु नपाएको स्वीकारे पनि रात्रिकालीन उडान अनुमति दिन नसकिने कुरा सत्य नभएको दाबी गरे।

“उहाँहरूले 'अर्ली मोर्निङ' भन्नुभएको थियो। तर उडानलाई निरन्तरता दिने भए त सायद गर्नुहुन्थ्यो होला,” उनले भने।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्ननाथ निरौला पनि रात्रिकालीन उडानका लागि अनुमति दिन नसकिने कुरा “साँचो” नभएको बताउँछन्।

“जजीरा एअरवेजले अहिले आफ्नै कारणले अन्तर्राष्ट्रिय उडान बन्द गरेको हो। हामी त जति बेलाका लागि पनि उडान अनुमति दिन तयार छौँ,” बीबीसीसँग उनले भने।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

तस्बिर स्रोत, RSS

'इन्स्ट्रुमन्ट ल्यान्डिङ सिस्टम' जडान भए पनि भारत सहमत नहुँदा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले अहिलेसम्म त्यसको प्रयोग गर्न सकेको छैन।

त्यसको प्रयोग गर्न पाएको भए कम भिजिबिलिटी अर्थात् दृश्यात्मकतामा विमान उडाउन र अवतरण गर्न सहज हुने अधिकारीहरू बताउँछन्।

निरौलाका अनुसार इन्स्ट्रुमन्ट ल्यान्डिङ सिस्टमको प्रयोगका लागि सहमति जनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को आगामी भारत भ्रमणका क्रममा कुरा हुन सक्छ।

“कर्मचारी तहमा कुरा हुँदा भारतीय पक्ष त्यसमा सहमत नै देखिएको छ। प्रधानमन्त्रीज्यूको भ्रमणका क्रममा यो विषय टुङ्गिने हामीले आशा गरेका छौँ,” निरौलाले भने।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मिति भने अहिलेसम्म टुङ्गो लागिसकेको छैन।

पोखरा विमानस्थल

तस्बिर स्रोत, PRIA Nepal

पोखरा विमानस्थलबाट कहिले?

एकातिर अन्तर्राष्ट्रिय उडान हुँदै आएको गौतम बुद्ध विमानस्थलबाट उडान स्थगित भएको छ भने अर्कोतर्फ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म अन्तर्राष्ट्रिय उडान नै सुरु हुन सकेको छैन।

उक्त विमानस्थलले पनि अहिले गौतम बुद्ध विमानस्थलले जस्तै आन्तरिक उडानहरू मात्रै गर्दै आएको छ।

अन्तर्राष्ट्रिय उडानका लागि कुनै विदेशी वायुसेवा प्रदायक कम्पनीले अनुमति नलिएको विमानस्थलका महाप्रबन्धक विक्रमराज गौतम बताउँछन्।

“हामी उडान गर्छौँ, त्यसका लागि यी-यी सुविधा चाहिन्छ भनेर अहिलेसम्म कतैबाट प्रस्ताव आइसकेको छैन,” बीबीसीसँग उनले भने।

“फलानो मितिबाट फलानोले अन्तर्राष्ट्रिय उडान सुरु गर्ने भन्नेबारे त्यस्तो केही छैन।”

redline
redline

नाफा छ कि घाटा?

अन्तर्राष्ट्रिय उडान नहुँदा नाफा गर्न नसकेको विमानस्थलका अधिकारीहरू अनौपचारिक कुराकानीका क्रममा बताउँछन्।

तीन महिनाअघि बीबीसीसँगै कुराकानी गर्ने क्रममा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका तात्कालिक महाप्रबन्धक गोविन्द दाहालले सञ्चालन खर्च नै उठाउन धौधौ भएको बताएका थिए।

आम्दानीको त्यति बेलाको अवस्थामा अहिले केही परिवर्तन नआए पनि बहालवाला अधिकारीहरूले त्यसबारे बोल्न चाहेनन्।

“डीजी साहबले हिसाबकिताब निकाल्न भन्नुभएको छ। अब केही दिनभित्र आउन सक्छ,” प्रवक्ता बज्राचार्यले भने।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था पनि उस्तै छ। विमानस्थल अधिकारीहरूका अनुसार अन्तर्राष्ट्रिय उडान हुँदो हो त नाफा हुन्थ्यो।

“दिनहुँ १,००० जना यात्रु मात्रै यहाँबाट उडान गर्ने भए सेवा शुल्कबाटै हामीलाई दैनिक १५ लाख रुपैयाँ आम्दानी हुन्थ्यो,” महाप्रबन्धक गौतमले भने।