गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल: हवाईमार्ग 'सहज' नभए व्यावसायिक उडान गर्न 'कठिनाइ हुन सक्छ'

भैरहवामा अवतरण गरेको जजीरा एअरवेजको विमानलाई स्वागत गरिँदै

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, भैरहवामा अवतरण गरेको जजीरा एअरवेजको विमानलाई स्वागत गरिँदै

नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सोमवारबाट औपचारिक रूपमा सञ्चालनमा आए पनि हालसम्म भारतले सहज हवाईमार्ग तथा हवाईक्षेत्र उपलब्ध नगराएकाले "व्यावसायिक अन्तर्राष्ट्रिय उडान" प्रभावित हुन सक्ने विज्ञहरूले औँल्याएका छन्।

यो समस्या समाधान गर्न नेपालले "उपयुक्त कूटनीतिक पहल" गर्नुपर्ने आवश्यकता भएको उनीहरू बताउँछन्।

यद्यपि कतिपयले सोमवार लुम्बिनी भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई थप हवाईमार्ग दिने घोषणा गर्न सक्ने अपेक्षा पनि गरेका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयका एक अधिकारीले चाहिँ नेपालले उक्त विमानस्थलका लागि "आवश्यक हवाईमार्ग" प्राप्त गर्न कूटनीतिक पहल जारी राखेको बताएका छन्।

विमानस्थल सञ्चालन

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सोमवार कुवेतको जजीरा एअरवेज यात्रुसहित अवतरण भएसँगै उक्त विमानस्थल औपचारिक रूपमा सञ्चालनमा आएको हो।

कुवेत सिटीबाट उक्त जहाज सीधै भैरहवा आएको बताइएको छ।

नेपाली उड्डययन अधिकारीहरूका अनुसार उक्त जहाजलाई हाललाई भैरहवा-कुवेत सिटी उडानका लागि अनुमति दिइएको छ।

विमानस्थल उद्घाटन समारोहमा प्रधामन्त्री देउवा

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, विमानस्थल उद्घाटन समारोहमा प्रधामन्त्री देउवा

काठमाण्डूबाहिरको नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने उक्त कम्पनी पहिलो हो।

सोमवार भैरहवामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त विमानस्थल उद्घाटन गरेको सरकारी समाचारसंस्था राससले जनाएको छ।

'हवाईमार्ग नहुँदा घुमेर भैरहवा अवतरण'

पर्यटन मन्त्रालयका अधिकारीहरूका अनुसार हाल नेपालसँग भारतीय आकाश हुँदै भैरहवामाथि सीधै अवतरण गराउन पाउने हवाईमार्गको अनुमति छैन।

त्यसैले गर्दा उक्त जहाज पश्चिमतिरबाट आएको भए पनि सिमरामाथिको आकाशबाट प्रवेश गरेर भैरहवा पुगेको थियो।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नागरिक उड्डयन महाशाखा हेर्ने सहसचिव बुद्धिसागर लामिछानेका अनुसार उक्त जहाज "अहिलेकै हवाईमार्ग"बाट भैरहवा अवतरण गरेको हो।

विज्ञहरूका अनुसार पश्चिम एशियाका देशहरूबाट आउने जहाजहरू नेपालको पश्चिमी सीमातर्फबाट आइरहेका हुन्छन्।

काठमाण्ठू प्रवेश गर्नका लागि ती विमानलाई सिमरा उपयुक्त भए पनि भैरहवामा अवतरणका लागि भने त्यो "उल्टो बाटो" बन्न जान्छ।

गौतमबुद्ध विमानस्थल

तस्बिर स्रोत, GBA/Facebook

नेपाल नागरिक उड्डययन प्राधिकरणका पूर्वमहानिर्देशक राजकुमार क्षेत्री भन्छन्, "भैरहवाका लागि गोरखपुरबाट सीधै बायाँ लाग्दा हुनेमा हामीसँग हवाईमार्ग नभएकाले पूर्व लागेर फेरि पश्चिम जानुपर्ने अवस्था छ।"

"त्यसले गर्दा समय बढी लाग्छ, समय बढी लाग्नु भनेको इन्धन पनि बढी खपत हुनु हो।"

यसरी लामो समय लाग्ने र इन्धन पनि बढी खपत हुने स्थानमा धेरै व्यावसायिक उडान गर्ने कम्पनीहरू आकर्षित नहुन सक्ने उनको भनाइ छ।

नेपालका एकजना वरिष्ठ विमानचालक वाईके भट्टराईका भनाइमा पनि भैरहवामा अवतरणका लागि सिमराको हवाईमार्ग प्रयोग गर्नुपर्ने अवस्था "व्यावहारिक" छैन।

उनले त्यसले गर्दा "नाफा कमाउन चाहने" व्यावसायिक कम्पनीहरूले उक्त विमानस्थलमा उडान नगर्न सक्छन्।

उड्डयन अधिकारीको भनाइ

केही साताअघि बीबीसीसँग कुरा गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णले सिमराको साटो भैरहवामा सीधै अवतरण गर्न पाउने अवस्थामा "१२ देखि १५ मिनेट उडान समय" छोटिने बताएका थिए।

यद्यपि उक्त हवाईमार्ग "अत्यावश्यक नै चाहिँ नभएको" उनको भनाइ थियो।

उनका अनुसार सिमराबाट प्रवेश गरेर अवतरण गर्दा बढी समय लागे पनि नेपालबाट बाहिरिनका निम्ति गोरखपुरमाथि वा नेपालकै महेन्द्रनगरमाथिबाट पनि जान पाउने व्यवस्था छ।

"त्यसले गर्दा उडान भर्दा काठमाण्डूबाट पुग्नेभन्दा समय छोटो लाग्ने हुन्छ," उनले भनेका थिए।

हाल नेपाल आउने अन्तर्राष्ट्रिय जहाजहरू सिमरा क्षेत्रबाट मात्र नेपाल प्रवेश गर्न पाउँछन्।

चीनतर्फ चाहिँ तुम्लिङ्टारमाथिबाट विमानहरूलाई एउटा प्रवेशमार्ग उपलब्ध छ।

यद्यपि नेपालबाट बाहिरिन भने नेपालको पश्चिमतर्फबाट पनि पाउँछन्।

पोखरा विमानस्थल

तस्बिर स्रोत, PIAP

तस्बिरको क्याप्शन, पोखरामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय विमानस्थलको पनि अधिकंश निर्माण कार्य सकिएको बताइएको छ

हवाईक्षेत्रको समस्या

भैरहवा विमानस्थल सञ्चालनमा हवाईमार्गसँगै हवाईक्षेत्रसम्बन्धी अवरोध समेत उत्पन्न हुन सक्ने देखिएको विज्ञहरूले बताएका छन्।

उनीहरूका भनाइमा उक्त विमानस्थलमा विशेषगरी "मौसम बदली भएका बेलामा" अवतरण गर्दा भारतीय आकाश प्रयोग गर्नुपर्ने अवस्था रहन्छ।

"मौसम सफा नभएका बेला जहाजलाई दक्षिणतर्फ घुमाउनुपर्ने हुन्छ। त्यसो गर्दा भारतीय आकाश छुने अवस्था रहन्छ," क्षेत्री भन्छन्।

नेपालले त्यसका लागि पहल गरे पनि हालसम्म भारतले कुनै उत्तर नदिएको अधिकारीहरू बताउँछन्।

थप हवाईमार्ग र हवाईक्षेत्रका लागि पहल जारी रहेको तर त्यसबारे भारतले हालसम्म अन्तिम निर्णय गरिनसकेको अधिकारीहरू बताउँछन्।

पर्यटन मन्त्रालयका सहसचिव लामिछाने भन्छन्, "हामीले थप हवाईमार्गका लागि कूटनीतिक र प्राविधिक पहल जारी राखेका छौँ। चाँडै सकारात्मक जबाफ आउने अपेक्षामा छौँ।"

नेपालले भारतसँग महेन्द्रनगर, नेपालगन्ज र जनकपुरबाट थप हवाई प्रवेशमार्ग माग गरेको छ।

तर सन् २०१८ पछि त्यसबारे भारतसँग खासै छलफल नभएको अधिकारीहरू बताउँछन्।

यद्यपि केहीअघि नेपाली प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको भारत भ्रमणका क्रममा उक्त कुरा आफ्ना समकक्षीसँग उठाएको जनाइएको थियो।