नरेन्द्र मोदीः 'आज नेपालमा बुद्धको जन्मस्थल लुम्बिनी आउने सौभाग्य पाएँ'

तस्बिर स्रोत, RSS
आफ्नो छोटो नेपाल भ्रमणको क्रममा सोमवार लुम्बिनीमा एक समारोहलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भगवान् बुद्धको 'पवित्र जन्मस्थल' आउन पाएकोमा आफू सौभाग्यशाली भएको बताएका छन्।
विगतमा बेलाबेला बुद्धको जन्मस्थललाई लिएर खासगर भारतीय पक्षबाट आउने गरेका विभिन्न टीकाटिप्पणीका माझ प्रधानमन्त्री मोदीको भनाइलाई नेपालमा धेरैले निकै महत्त्वका साथ लिने देखिन्छ।
बुद्धको जन्मस्थललाई लिएर केही तप्कामा रहेका भ्रम यसले निवारण गर्ने नेपालस्थित जानकारहरूको विश्वास छ।
आफ्नो २० मिनेट लामो सम्बोधनका क्रममा मोदीले केही वाक्य नेपालीमा पनि बोलेका थिए।
के भने मोदीले?
सम्बोधनको सुरुमै मोदीले वैशाख पूर्णिमाको दिन विगतमा पनि भगवान् बुद्धसँग सम्बन्धित विभिन्न दिव्यस्थलहरूमा जाने मौका मिलेको भन्दै यसपालि बुद्धको 'पवित्र जन्मस्थली' आउन पाएको बताए।
"त्यो ठाउँ जहाँ स्वयं भगवान् बुद्धले जन्म लिए त्यहाँको ऊर्जा र त्यहाँको चेतना एउटा बेग्लै अनुभूति हो," उनले भने।

तस्बिर स्रोत, RSS
उनले वैशाख पूर्णिमाकै दिन भगवान् बुद्धले भारतस्थित बोधगयामा बुद्धत्व प्राप्त गरेको र कुसीनगरमा महापरिनिर्वाण प्राप्त गरेको स्मरण गर्दै दुवै देश मिलेर यी क्षेत्रलाई समृद्ध बनाउनुपर्ने बताए।
"भारतको बोधगया, कुसीनगर र सारनाथसहित नेपालको लुम्बिनीजस्ता पवित्रस्थल हाम्रा साझा विरासत र मूल्यका प्रतीक हुन्। हामीले यिनलाई मिलेर विकास र समृद्ध पार्नु छ," उनले भने।
समोवार नै प्रधानमन्त्रीद्वयन नरेन्द्र मोदी र शेरबहादुर देउवाले त्यसअघि लुम्बिनीमै इन्डिया इन्टरन्याश्नल सेन्टर फर बुद्धिस्ट कल्चर एन्ड हेरिटेजको शिलान्यास गरेका थिए।
'आध्यात्मिक आशीर्वाद'
प्रधानमन्त्री मोदीको भारतको प्रधानमन्त्रीको हैसियतमा यो पाँचौँ भ्रमण हो।
यसअघिका भ्रमणहरूमा उनी पशुपतिनाथ, मुक्तिनाथ र जनकपुरधाम पुगिसकेका छन्।
त्यसलाई स्मरण गर्दै उनले सोमवार प्रत्येक चोटि नेपाल आउँदा आध्यात्मिक आशीर्वाद पनि मिल्ने गरेको बताए।
"जबजब नेपाल आउँछु तबतब नेपाल आफ्नो आध्यात्मिक आशीर्वादले मलाई कृतार्थ गरिदिन्छ।"

तस्बिर स्रोत, RSS
"नेपाल आउँदा मलाई कुनै राजनीतिक भ्रमणभन्दा अलग एउटा छुट्टै आध्यात्मिक अनुभूति हुन्छ।"
उनीभन्दा अगाडि उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्रीको भ्रमणले सांस्कृतिक पर्यटन अभिवृद्धि हुने बताए।
"भारतका प्रधानमन्त्रीको यस भ्रमणले भगवान बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वभरि थप परिचित पार्न योगदान पुर्याउने विश्वास छ," देउवाले भने।
यसपालि २५६६ औँ बुद्ध जयन्तीको अवसरमा आयोजित समारोह सम्बोधन गर्नुअगाडि दुवै देशका प्रधानमन्त्रीबीच लुम्बिनीमै द्विपक्षीय भेटवार्ता भएको थियो।








