बुद्धकालीन इतिहाससँग जोडिएको प्राचीन पोखरीमा पुरातत्त्व विभावको निर्देशन विपरीत वडा भवन निर्माण

- Author, माधव नेपाल
- Role, बीबीसी न्यूज नेपाली, बुटवल
पुरातत्त्व विभागको निर्देशनको अवज्ञा गर्दै बौद्ध इतिहाससँग जोडिएको रुपन्देहीको एउटा प्राचीन पोखरी मासेर तिलोत्तमा नगरपालिकाले वडा कार्यालयको भवन बनाएको छ।
भवन निर्माण गत वर्ष पुसमा सुरु भएपछि पुरातत्व विभागले तत्काल रोक्न निर्देशन दिएपछि रोकिएको थियो।
तर लकडाउनको समयमा उक्त निर्देशनलाई उल्लङ्घन गर्दै नगरपालिकाले भवन निर्माण गरेको बताइएको छ।
पोखरी नजिकै भगवान बुद्धसँग सम्बन्धित कुमारवर्ती मन्दिर रहेकोले उक्त क्षेत्रलाई पुरातात्त्विक हिसाबले महत्त्वपूर्ण मान्ने गरिएको छ।
किन मासियो पोखरी?
साविकको मक्रहर गाउँ विकास समितिमा पर्ने उक्त पोखरीमै वडा कार्यालय निर्माण गर्नुपर्ने कारणबारे उठिरहेका प्रश्नको जवाफ नगरपालिका प्रमुख वासुदेव घिमिरेसँग छैन।
मेयर घिमिरे भन्छन्, “पैसा खर्च भइसक्यो, काम अगाडि बढिसक्यो।”
उनले वडा भवन बनाएर 'पोखरी मास्ने होइन, संरक्षण गर्ने काम भइरहेको' बताए।
उनले प्रश्न गरे, “पहिला भैँसी बस्ने पोखरीलाई हेर्न लायक बनाउन लागेका छौँ। यसको विरोध किन?"
"भवनका पिल्लरले अलि अप्ठेरो देखिएको छ, तर पानी त रोकेको छैन नी।”

पुरातात्त्विक महत्त्व
उक्त पोखरी कहिले र कसले निर्माण गरेको थियो भन्नेबारे अहिलेसम्म अध्ययन गरिएको छैन।
तर पोखरी नजिकै बुद्धसँग सम्बन्धित मानिएको कुमारवर्ती मन्दिर छ र उक्त पोखरी बुद्धकालीन समयसँग जोडिएको हुन सक्ने सम्पदाविद्हरू बताउँछन्।
पुरातत्त्वविद् वसन्त विडारीका अनुसार रुपन्देही जिल्लामा मात्र बुद्धसँग जोडिएका ९९ वटा स्थानको पहिचान भइसकेको छ र तीमध्ये उक्त पोखरी भएको क्षेत्र पनि एउटा हो।
उनी भन्छन, “पहिला-पहिला पानीका स्रोतको पहिचान नहुँदा त्यस्तै पोखरीबाट नै काम चलाइने गरिन्थ्यो।”
विडारीले संरक्षण गर्न सकिँदैन भन्दैमा यस्ता पोखरी मास्ने अधिकार पनि कसैलाई नभएको बताए।
उनी भन्छन्, “आज हामीसँग अनुसन्धान गर्ने स्रोत छैन र आजै अनुसन्धान गर्न सकेनौँ भन्नुको अर्थ ती सम्पदाको महत्त्व नै छैन भनेर कसरी भन्न सकिन्छ।”
निर्देशनको अवज्ञा
गएको माघमा पुरातत्त्व विभागले नगरपालिकालाई पत्र लेख्दै निर्माण अगाडि नबढाउन र पोखरीबारे सम्पूर्ण विवरणहरू पठाउन निर्देशन दिएको थियो।
तर नगरपालिकाले यसबारे कुनै विवरण नपठाएको विभागका प्रवक्ता रामबहादुर कुँवरले बताए।

कुँवर भन्छन्, “हामीले तत्काल रोक्न भनेकै हो तर काम अगाडि बढिरहेको छ भन्ने सुनिएको छ। यस्तो किन भयो भनेर बुझ्दैछौँ।”
पहिले करिब चार बिघा क्षेत्रफलमा रहेको बताइने उक्त पोखरी अतिक्रमण हुदै करिब एक बिघामा खुम्चिएको थियो।
वडा कार्यालय निर्माणपछि पोखरी झनै साँघुरो भएको छ।








