भारतको अहमदाबादमा यात्रुवाहक विमान दुर्घटनाग्रस्त, २०० भन्दा बढी 'शव प्राप्त'

भवनमा खसेको विमानको अवशेष

तस्बिर स्रोत, @CISFHQrs

तस्बिरको क्याप्शन, भारत सरकारको सेन्ट्रल इन्डस्ट्रिअल सेक्युरिटी फोर्सले विमान दुर्घटनापछिको उद्धारकार्यका तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक गरेको छ

भारतको अहमदाबाद सहरमा लन्डन ग्याटविक तर्फ जान लागेको एअर इन्डियाको एक बोइङ ७८७-८ ड्रिमलाइनर यात्रुवाहक विमान उडेको केही समयभित्रै दुर्घटनाग्रस्त भएको छ।

एअर इन्डियाले सो दुर्घटनाग्रस्त विमानमा चालकदलका सदस्यसहित २४२ जना यात्रु रहेको जनाएको छ। तीमध्ये १६९ जना भारतीय नागरिक, ५३ जना ब्रिटिश नागरिक, १ क्यानडेली नागरिक र ७ पोर्चुगलका नागरिक थिए।

अहमदाबाद सहरका प्रहरी प्रमुखले विमान दुर्घटनास्थलबाट हालसम्म २०० वटाभन्दा बढी शवहरू निकालिसकिएको जानकारी दिएका छन्। उनका अनुसार घाइते भएका ४० जनाभन्दा बढीलाई अस्पतालहरूमा लगिएको थियो।

'एकजना ब्रिटिश यात्रु जीवित रहेको जानकारी'

विमान दुर्घटनापछि उडेको धुवाँको मुस्लो

तस्बिर स्रोत, Getty Images

अहमदाबादका प्रहरी कमिश्नर जीएस मलिकले समाचार संस्था एएनआईलाई विमानको सिट नम्बर ११ए मा रहेका एकजना यात्रु जीवित रहेको बताएका छन्।

उनले ती यात्रुको अस्पतालमा उपचार भैरहेको बताएका छन्।

त्यसअघि उनले समाचार एजेन्सीहरूसँग कुरा गर्दै दुर्घटनाग्रस्त विमानमा 'कोही पनि जीवित बचेको हुन सक्ने सम्भावना नदेखिएको' बताएका थिए।

प्रहरी कमिश्नरका अनुसार उक्त विमान विमानस्थलनजिकै डाक्टरहरू बस्ने एक होस्टेल रहेको भवनमा ठोक्किएको थियो र त्यस क्रममा जमिनमा पनि मानिसहरू हताहत भएका छन्।

अहमदाबादको सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलका एकजना प्रवक्ताले दुर्घटनापछि विमानस्थल बन्द गरिएको र अर्को सूचना जारी नभएसम्मका लागि त्यहाँका सबै उडान गतिविधिहरू स्थगित गरिएको बताएका थिए। उक्त दुर्घटनाका बारे थप विवरणहरू आउने क्रम जारी नै रहेको छ।

यस विषयमा हामीलाई थाहा भएका विवरण प्रस्तुत छ।

दुर्घटना कुन स्थानमा भएको थियो?

भारतको अहमदाबादमा विमान दुर्घटना

एअर इन्डियाको यात्रुवाहक विमान एआई १७१ ले स्थानीय समय अनुसार दिउँसो १३ः३९ मा उडान भरेको थियो।

उक्त विमान लन्डनको ग्याटविक विमानस्थलमा १८ः२५ बीएसटीमा अवतरण हुनु पर्ने निर्धारित थियो।

तर पश्चिम भारतस्थित अहमदाबादको विमानस्थल छाड्ने वित्तिकै उक्त विमान नजिकैको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो।

उक्त विमान उडेको केही सेकेन्डभित्रै त्यसबाट अन्तिम संकेतहरू प्राप्त भएका उडानहरूको निगरानी गर्ने वेबसाइट फ्लाइट रेडारले जनाएको छ। त्यसबेला उक्त विमान ६२५ फिटको उचाइमा आकाशमा रहेको थियो।

भारतको नागरिक उड्डयन नियामक निकायले उक्त विमानले एअर ट्राफिक कन्ट्रोललाई मेडे आपतकालिन सन्देश पठाएको थियो। त्यसपछि उक्त विमानबाट कुनै प्रतिक्रिया प्राप्त भएन।

भारतको अहमदाबादमा विमान दुर्घटना

अहमदाबादका एकजना वरिष्ठ प्रहरी अधिकारीले एएनआइ समाचार एजेन्सीसँग कुरा गर्दै लन्डनतर्फको यात्रामा जान लागेको उक्त विमान डाक्टरहरूको होस्टेलमाथि खसेको बताएका थिए।

बीबीसी भेरिफाइका जोश चितमको विवरण अनुसार उक्त विमान दुर्घटना हुँदा त्यस मौसमी अवस्था सफा र स्थिर रहेको उडान सुरक्षा विज्ञ मार्को चानले बताएका छन्। सतहमा हावाको वेग हल्का गरेको र भिजिबिलिटि पनि ६ किलोमिटर रहेको मेटार भनिने उडान मौसम भविष्यवाणीकर्ताले जनाएको छ।

चान भन्छन्,"त्यहाँ उक्त घटना हुनेगरी कुनै उल्लेख बादल वा मौसमी गतिबिधिको अवस्था थिएन र चर्को हावा, आँधी बेहरी वा अन्य प्रतिकुल मौसमी अवस्था रहेको विवरण पनि प्राप्त भएको छैन।"

एअर इन्डिया के भन्छ?

भारतको अहमदाबादमा एअर इन्डियाको विमान दुर्घटना

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, विमानस्थलबाट उड्ने वित्तिकै उक्त विमान दुर्घटनाग्रस्त भएको हुन सक्ने फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइट रेडारले सामाजिक सञ्जालमा जनाएको छ

एअर इन्डियाले दुर्घटनाको कारण तथा अन्य जानकारीबारे आफूले सूचना सङ्कलन गरिरहेको र चाँडै त्यसबारे अद्यावधिक गरिने बताएको छ।

एअर इन्डियाका अध्यक्ष नटराजन चन्द्रशेखरनले एक्समा लेखेका छन्, "म गहिरो दु:खका साथ आज अहमदाबादबाट लन्डन ग्याटविकतर्फ जान लागेको एअर इन्डिया फ्लाइट १७१ दुर्घटनाग्रस्त भएको जानकारी दिँदैछु।"

उनले उक्त पीडादायी घटनाबाट प्रभावित सबै परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

दुर्घटनाबाट प्रभावितहरूलाई सहयोग गर्नमा आफ्नो ध्यान केन्द्रित भएको उनले बताए।

उद्धार प्रयास

भारतको अहमदाबादमा दुर्घटनाग्रस्त विमानमा कुनकुन देशका नागरिक थिए?

सामाजिक सञ्जालहरूमा राखिएका भिडिओहरूमा उक्त विमान आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको र त्यहाँबाट कालो धुवाँ उडिरहेको देख्न सकिन्छ।

अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले समाचार संस्था पीटीआईसँग बोल्दै भने, "विमानस्थलको नजिकै मेघाणीनगर इलाकामा एक विमान दुर्घटनाग्रस्त भएको छ।"

अग्निनियन्त्रक अधिकारी जयेश खडियाले भने, "विमान दुर्घटनाग्रस्त भएपछि त्यसमा आगो लाग्यो। आगो निभाउन दमकल विभागले गाडीहरू पठाएको छ।"

भारतका नागरिक उड्डयन मन्त्री किन्जरापु राम मोहन नायडुले उनी अहमदाबादमा भएको विमान दुर्घटनाबाट "स्तब्ध र अति दुःखित भएको" बताएका छन्।

मन्त्री नायडुले भने,"हामी उच्च सतर्कताको अवस्थामा छौँ। मैले व्यक्तिगत रूपमा नै अवस्थाको निगरानी गरिरहेको छु र सबै उड्डयन तथा आपत्कालीन प्रतिक्रिया निकायहरूलाई शीघ्र र संयोजित कारबाही अघि बढाउन निर्देशन दिएको छु।"

"उद्धार टोलीहरूलाई परिचालन गरिसकिएको छ र घटनास्थलमा उपचार सहयोग तथा उद्धारको व्यवस्था पठाइसकिएको छ। विमानमा रहेकाहरू र तिनका परिवारजनको निम्ति म प्रार्थना गर्दछु।"

'बोइङ ७८७ यसरी दुर्घटनाग्रस्त भएको पहिलोपल्ट हो': जोनाथन जोसेफ्स, व्यापार संवाददाता

भारतको अहमदाबादमा एअर इन्डियाको विमान दुर्घटना

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, यो दुर्घटना विमान उत्पादक कम्पनी बोइङका लागि ठूलो धक्का हुने ठानिएको छ

एअर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाको घटना बोइङ ७८७-८ यसरी दुर्घटनामा परेको पहिलो घटना हो।

उक्त मोडल १४ वर्षअघि सुरु गरिएको थियो र ड्रिम लाइनर भनिएको यो मोडेलको यात्रुवाहक विमानले १ अर्ब यात्रु बोकेर कीर्तिमान कायम गरेको भनि केही हप्ताअघि मात्रै यसको प्रशंसा गरिएको थियो। त्यस अवसरमा बोइङ कम्पनीले विश्वव्यापी रूपमा सञ्चालनमा रहेका ११७५ वटाभन्दा बढी ७८७ विमानहरूको जत्थाले ३ करोड उडान घण्टा हुने गरी पचास लाख उडानहरू गरेका पनि जनाएको थियो।

अब यो दुर्घटना उक्त कम्पनीका लागि ठूलो धक्का हो जसले विभिन्न समस्याहरूसँग जुझ्न सङ्घर्ष गरिरहेको छ जुन समस्यामा ७३७ विमानहरू दुर्घटनाग्रस्त भएका घटनाहरू पनि पर्दछन्।

पदभार सम्हालेको पहिलो वर्षगाँठ मनाउन लागेका उक्त कम्पनीका नयाँ प्रमुख कार्यकारी अधिकृत केली ओर्टबर्गका लागि यो अर्को कठिन परीक्षाको घडी बन्न पुगेको छ।

कम्पनीको भविष्यमाथि प्रश्न खडा गर्ने विभिन्न प्रकारका समस्याहरूबाट उक्त अमेरिकी विमान निर्मातालाई माथि उकास्न उनलाई नियुक्त गरिएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।