एअर इन्डियाको विमान क्यान्टिनमा खसेपछिको त्रासदीपूर्ण क्षण

तस्बिर स्रोत, Getty Images
- Author, विकास पाण्डे, अन्तरिक्षा पठानिया र जोया मतीन
- Role, बीबीसी न्यूज, अहमदाबाद
अहमदाबादको बीजे मेडिकल कलेजको आवासीय होस्टलको वातावरण बिहीवार अपराह्नसम्म निकै शान्त थियो। विद्यार्थीहरू मध्यान्नको खानासँगै हाँसो, ठट्टा र पढाइबारे छलफल गरिरहेका थिए।
दिउँसो १:३९ बजेसम्म खाना खाने ठाउँमा ३५ जना मानिसहरू थिए। कोही खाना खाँदै थिए, कोही खाएर आराम गरिरहेका थिए र बाँकी खाना लिने लाइनमा थिए।
विद्यार्थीसँगै यहाँ चिकित्सक र केही उनीहरूका परिवारका सदस्य पनि थिए। त्यहीबेला अचानक सबै कुरा बदलियो।
क्यान्टिनको सामान्य होहल्ला नजिक आउँदै गरेको जेट इन्जिनको आवाजमा बिलायो, अनि हलमा विस्फोट भयो।
त्यहाँबाट १.५ किलोमिटर परको धावनमार्गबाट एक मिनट भन्दा कम समय अगाडी मात्रै विमान उडेको थियो।
लण्डनका लागि २४२ जना बोकेर उडेको एअर इन्डियाको ७८७ ड्रिमलाइनर विमान धावनमार्ग छोडेको केही सेकेन्डमै समस्यामा पर्यो र डाक्टरहरूको होस्टलको छानोमा बज्रियो।
विमान खसेलगत्तै आकाशमा आगोको लप्को देखियो र विमानमा सवार एकजना बाहेक सबैले ज्यान गुमाए।

बीबीसीले आफ्ना साथीहरूसँगै होस्टलमा रहेका विद्यार्थीहरू अनि केही प्रत्यक्षदर्शीहरूसँग कुरा गरेको छ।
उनीहरूका अनुसार जमिनमा रहेका मानिसहरूले केहीबेरसम्म पनि के भयो भन्ने थाहा पाउन सकिरहेका थिएनन्।
कलेजको मिर्गौला विभागमा काम गर्ने एक जना डाक्टरका अनुसार उनी र उनका सहकर्मीहरू विमान खसेको भन्दा ५०० मिटर मात्रै टाढा थिए। बाहिरपट्टि उनीहरूले कानै थुनिने आवाज सुने।
"हामीले सुरुमा चट्याङ परेको ठान्यौँ तर ४० डिग्री सेल्सिअसको तापक्रममा त्यो सम्भावना छ? फेरी सोच्यौँ," उनले भने।
त्यसपछि उनीहरू बाहिर दौडिए।
बाहिर केही मानिसहरू चिच्याइरहेका थिए: "यता हेर, यता आऊ, हाम्रो घरमा विमान झर्यो।"
त्यसपछिको केही मिनट सबै कुरा अत्यासमय भयो। मानिसहरू त्यहाँबाट भाग्न र के भएको थाहा पाउन दौडादौड गरे।

तस्बिर स्रोत, Hindustan Times via Getty Images
क्रिकेट खेल्न बाइकमा जाँदै गरेका प्रिन्स र कृष पटनी दाजुभाइ हुन् जसले होस्टलनजिकै पुग्दा ठूलो आवाज सुने।
"केही सेकेन्डमै हामीले विमानको पखेटा जस्तो केही देख्यौँ," १८ वर्षीय प्रिन्सले बीबीसीलाई सुनाए।
"हामी त्यसतर्फ दौडियौँ तर विस्फोटको रापका कारण होस्टलभित्र जान सकेनौँ। त्यहाँ धेरै भग्नावशेष थुप्रिएको थियो।"
ती दाजुभाइसँगै त्यहाँ जम्मा भएका केही स्थानीय स्वयंसेवकहरू भवनभित्र प्रवेश गर्न राप केही कम हुन्जेलसम्म पर्खिए।
प्रहरीसँग मिलेर उनीहरूले भवनको प्रवेशद्वारमा जम्मा भएको भग्नावशेष हटाउन सघाए।
जब उनीहरू क्यान्टिनमा पुगे त्यहाँ कसैलाई पनि देख्न र चिन्न सकिने अवस्था थिएन। कालो धुवाँको बाक्लो मुस्लोले पुरै कोठा ढाकिएको थियो। हावमा धातु डढेको गन्ध फैलिएको थियो।
स्वयंसेवकहरूसँगै आफूहरू पनि त्यहाँ रहेका ग्याँसका सिलिन्डरहरू हटाएर थप दुर्घटना कम गर्नतर्फ लागेको दाजु कृष सुनाउँछन्।
भग्नावशेष हटाउँदै जाने क्रममा स्वयंसेवकहरूसामु सुटकेसको थुप्रो देखा पर्यो। त्यो पनि हटाएपछि उनीहरूले जे देखे त्यो मन कुँडिने दृश्य थियो।
उनीहरूसामु कोही हातमा खानाको प्लेट लिएका, कोही चम्चा समातेका र कोही पानीको ग्लास लिएका मानिसहरू लडिरहेका थिए। जसमध्ये अधिकांश जीवितै भएपनि नराम्ररी चोट लागेको अवस्थामा थिए।

तस्बिर स्रोत, Dr Kevin Prajapati and Dr Bharat Ayar
केही क्षण अघिसम्म सामान्य अवस्थामा रहेका उनीहरू स्तब्ध र मौन थिए।
वरिपरि विमानका उछिट्टिएका धातुका टुक्राहरूबाट उनीहरू घेरिएका थिए।
"उनीहरूले चिच्याउने मौका पनि पाएनन्," नजिकैको अर्को भवनमा रहेका एक जना डाक्टरले सुनाए। दोस्रो वर्ष पढिरहेका होस्टलमा बस्ने उनी त्यहाँ ज्यान जोगाउन सफलमध्येका एक हुन्।
उनी आफू सधैँजसो बस्ने गरेको कुनापट्टिको ठूलो टेबलमा अरू नौ जनासँग बसिरहेका थिए। त्यही बेला विमान खस्यो।
"त्यहाँ ठूलो विस्फोटको आवाज आयो र मानिसहरू चिच्याएको सुनियो। हामीमाथि ठूलो ढुङ्गा बज्रिएजस्तो भयो तर त्यहाँबाट कतै निस्किने ठाउँ थिएन," उनले सुनाए।
"विमानबाट निस्किएको आगो र धुवाँ हाम्रो अनुहारको नजिकसम्म आइरहेको थियो र सास फेर्न कठिन भइरहेको थियो।"
उनको पनि छातीमा गम्भीर चोट लागेको छ र हाल उपचार गराइरहेका छन्। उनका साथीहरूलाई के भयो भन्ने उनलाई केही थाहा छैन।
धेरै जना प्रत्यक्षदर्शीका अनुसार उक्त भवनको छानो सबैभन्दा पहिले विमानको बडेमाको पखेटाले छेडेको थियो अनि त्यसमाथि विमानको मुख्य भाग पनि बज्रियो।
सबैभन्दा नराम्रो क्षति पखेटाले पुर्याएको थियो।

तस्बिर स्रोत, AFP via Getty Images
अत्यासबीच विद्यार्थीहरू भवनको दोस्रो र तेस्रो तल्ला माथिबाट हामफाल्न थाले। उनीहरूका अनुसार भवनको एउटै मात्र भर्याङ भग्नावशेषका कारण टालिएको थियो।
जमिनमा रहेका कतिजना मानिसहरूले ज्यान गुमाए भन्ने अझैसम्म प्रस्ट छैन।
बीजे मेडिकल कलेज तथा सिभिल अस्पतालकी डीन डा मीनाक्षी पारिखले आफ्ना चार जना विद्यार्थी र चार जना विद्यार्थीका आफन्तको ज्यान गएको बीबीसीलाई बताइन्।
तर ज्यान गुमाउने ठ्याक्कै कति जना छन् र को-को हुन् भन्ने विवरण आउन अझै केही दिन लाग्न सक्छ।
भग्नावशेषबाट निकालिएका शवहरूको पहिचानका लागि डीएनए परीक्षणको भर पर्नुपर्ने अवस्था छ। त्यसबेला ज्यान गुमाउने मानिसहरू क्यान्टिनमा रहेका मात्रै थिएनन्।
त्यहाँबाट केही किलोमिटर पर थिए रवि ठाकुर।
होस्टलको भान्सामा काम गर्ने उनी सहरका अरू होस्टलमा खाना पुर्याउन गएका थिए। उनकी श्रीमती र दुई वर्षकी छोरी सधैँ जस्तै होस्टलमै थिए।
खबर सुन्ने बित्तिकै उनी फर्किएर आइपुग्दा त्यहाँ अत्यासको वातावरण थियो। उनी ४५ मिनटपछि आइपुग्दा त्यो ठाउँ स्थानीय मानिसहरू, अग्नि नियन्त्रक, एम्बुलेन्सका कामदार र एअर इन्डियाका कर्मचारीहरूले भरिएको थियो।
त्यहाँ उनले आफ्नी श्रीमती र छोरीको खोजी गरे र भेट्टाउन सकेनन्।

तस्बिर स्रोत, Reuters
अस्पतालको मुख्य भवनमा रहेका अध्यापकहरू त्यहाँको अत्यास अझै पत्याउन सकिरहेका थिएनन्।
"म ती विद्यार्थीहरूलाई पढाउँथेँ र प्रत्येकलाई व्यक्तिगत रूपमा पनि जान्दथेँ। घाइते विद्यार्थीहरूको अझै अस्पतालमा उपचार भइरहेको छ। अहिले हाम्रो प्राथमिकतामा उनीहरू छन्," क्याम्पसका एक जना प्राध्यापकले बीबीसीसँग भने।
उता रवि ठाकुर अझै आफ्ना प्रियजनको खोजीमा छन्। तर उनको आशा मर्दै गइरहेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








