एअर इन्डिया विमान दुर्घटना कसरी भयो? कारणबारे अनेकौँ शङ्का र उपशङ्का तर केही महत्त्वपूर्ण कुरा अझै अस्पष्ट

अहमदाबादमा दुर्घटनामा परेको एअर इन्डियाको विमानको भग्नावशेष

तस्बिर स्रोत, AFP/Getty Images

तस्बिरको क्याप्शन, भारतको अहमदाबादमा भएको विमान दुर्घटनामा विमानबाहिर जमिनमै रहेका केही मानिसहरूको पनि मृत्यु भएको थियो
    • Author, टेओ लेगट
    • Role, अन्तर्राष्ट्रिय व्यापार संवाददाता

भारतमा जुन महिनामा भएको एअर इन्डियाको विमान दुर्घटनाबारे प्रकाशित प्रारम्भिक प्रतिवेदनले उक्त घटनाका कारणबारे केही उत्तर दिएको छ। यद्यपि त्यसले अनेकौँ शङ्का र उपशङ्का पनि जन्माएको छ।

पश्चिम भारतीय सहर अहमदाबादबाट लन्डन जान लागेको 'बोइङ ७८७ ड्रीमलाइनर' उडेको एक मिनेटभन्दा कम समयमा एउटा भवनमा ठोक्किँदा त्यसमा सवार २४१ जनाको ज्यान गएको थियो। त्यस घटनामा जमिनमा १९ जनाको मृत्यु भएको थियो। एक यात्रुको भने बाँच्न सफल भएका थिए।

भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरो 'एएआईबी'को एक प्रतिवेदनमा उल्लिखित पहिलो आधिकारिक विवरणले विमानचालकहरूको भूमिकामाथि प्रश्न उठाएको छ। यद्यपि अनुसन्धानकर्ताहरूले प्रतिवेदनमा समाविष्ट गर्ने कुरा निकै सतर्कतापूर्वक छानेको दाबी उड्डयन उद्योगमा भएका विज्ञहरूको छ।

प्रतिवेदन के भन्छ?

अन्तर्राष्ट्रिय मापदण्डअनुसार हवाई दुर्घटना अनुसन्धानको नेतृत्व गर्दा राज्यले ३० दिनभित्र प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्नुपर्ने हुन्छ। त्यस क्रममा एएआईबीले शनिवार १५ पृष्ठको उक्त प्रतिवेदन सार्वजनिक गरेको थियो।

एएआईबीले अनुसन्धानको नेतृत्व गरेको भए पनि त्यसमा अमेरिकी चासो पनि समावेश गरिएको छ। किनभने दुर्घटना भएको विमानको निर्माता बोइङ र इन्जिन निर्माता जीई एरोस्पेस दुवै अमेरिकी कम्पनी हुन्।

प्रतिवेदनले दुर्घटनाको कारणबारे कुनै निष्कर्ष निकालेको छैन। तर पनि त्यसबारे व्यापक विवाद उत्पन्न भएको छ।

दुर्घटना भएको उडानसम्बन्धी विवरणमा एएआईबीले इन्धनका दुइटा 'कट-अफ स्विच' उडेको केही सेकेन्डपछि 'रन' बाट 'कट-अफ'को अवस्थामा पुगेको उल्लेख थियो। त्यसले गर्दा ती इन्जिनमा इन्धन पुगेन र तिनले 'थ्रस्ट' गुमाए।

फ्लाइट रेकर्डरबाट प्राप्त विवरणले इन्जिनहरू पछि पुन: चल्न थालेको देखाए पनि दुर्घटना रोक्नका लागि निकै ढिलो भइसकेको थियो।

अहमदाबादमा एउटा आवासीय भवनम जोतिएको दुर्घटनाग्रस्त एअर इन्डियाको विमान

तस्बिर स्रोत, Reuters

ती स्विचहरू सामान्यतः उडानअघि इन्जिनहरू खोल्न र पछि बन्द गर्न मात्र प्रयोग गरिन्छ। त्यसको 'लकिङ' प्रणालीले तिनको आकस्मिक प्रयोग रोक्ने अपेक्षा गिरन्छ।

सो प्रतिवेदनमा एक पाइलटले अर्कोलाई "किन कटअफ गरेको" भनेर सोध्छन् भने उनका सहकर्मीले "आफूले त्यसो नगरेको जबाफ दिएको" जनाइएको छ।

यद्यपि त्यसमा ककिट भोइस रेकर्डर (सीभीआर)बाट लिइएको हुन सक्ने संवादलाई जस्ताको त्यस्तै उल्लेख गरिएको छैन। यसमा न त कुन पाइलटले के कुरा गरेको भन्ने खुलाइएको छ।

यस क्रममा प्रारम्भिक प्रतिवेदनहरू के भयो भन्ने कुराको पूर्ण अवस्था प्रस्तुत गर्ने वा ठोस निष्कर्ष निकाल्ने उद्देश्यले नबनाइने कुरा बुझ्न आवश्यक छ।

ती लामो अनुसन्धानका विषय हुन सक्ने गरी प्रारम्भिक चरणहरूमा प्राप्त जानकारीको तथ्यगत सारांश मात्र हुन्।

अनुसन्धान निकायसामु आफ्नो प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्नैपर्ने कुनै बाध्यात्मक अवस्थासमेत हुँदैन।

अनुत्तरित प्रश्नहरू

अहिलेसम्म सार्वजनिक भएका विवरणका भरमा सञ्चारमाध्यममा कैयौँ टिप्पणीकारले दुर्घटना एक पाइलटले जानाजान र नियतवश गरेको कामको परिणाम भएको भन्ने दाबीमा बल दिइरहेका छ।

ती दृष्टिकोणप्रति भारतीय व्यावसायिक पाइलटहरूको सङ्गठनले आक्रोशित प्रतिक्रिया जनाएको छ।

उक्त सङ्गठनले "अपूर्ण वा प्रारम्भिक जानकारीको आधारमा यस्तो गम्भीर आरोप लगाउनु गैरजिम्मेवारी मात्र नभईकन यसमा संलग्न व्यक्ति र परिवारहरूप्रति गहिरो असंवेदनशीलता" हुने जनाइएको छ।

सङ्गठनले थप भनेको छ, "प्रमाणित प्रमाणको अभावमा पाइलटले आत्महत्या गरेको ठान्नु नैतिक रिपोर्टिङको घोर उल्लङ्घन हो।"

आफ्ना कर्मचारीहरूलाई लेखिएको एक मेमोमा एअर इन्डियाका प्रमुख कार्यकारीले समेत यस्तै टिप्पणी गरेका छन्। क्याम्प्बेल विल्सनले "हतारोको निष्कर्ष" ननिकाल्न चेतावनी दिएका थिए।

उक्त प्रतिवेदन सार्वजनिक भएपछि बीबीसीले पाइलटहरू, दुर्घटनाका अनुसन्धानकर्ता र इन्जिनियरहरूसहित उक्त क्षेत्रका कैयौँ व्यक्तिहरूसँग कुरा गरेको छ। खासमा के भएको थियो भन्नेबारे सैद्धान्तिक रूपमा व्यापक मतभिन्नता भए तापनि महत्त्वपूर्ण जानकारी अहिलेसम्म देखा नपरिरहेको धेरैको मत पाइन्छ।

"उनीहरूले अहिले हामीलाई थाहा दिन चाहेका कुराहरू भनेका छन् र हामीलाई भन्न नचाहेका कुराहरू लुकाएका छन्," एक पाइलटले नाम उल्लेख नगर्ने सर्तमा भने। "यो पूर्ण रिपोर्ट होइन।"

बोइङ विमानको इन्जिन र इन्धन नियन्त्रण गर्ने पार्टपुर्जा

प्रमुख आलोचनाहरूमध्ये एउटा ककपिट भोइस रेकर्डरको 'ट्रान्सक्रिप्ट'को अभाव हो।

त्यसले इन्धन कट-अफ स्विचहरूका बारेमा पाइलटहरूबीच भएको भनिएको कुराकानीलाई सन्दर्भअनुसार बुझाउँछ।

बिअर्न फेहर्म उड्डयन परामर्शदाता लेहम कम्पनीका एक विश्लेषक हुन्। उनले यस विषय "पूर्ण रूपमा अस्वीकार्य" रहेको बताए।

"उनीहरूसँग यी सबै प्राविधिक विवरणहरू छन्। त्यसपछि तपाईँसँग संवादको सन्दर्भ छ। तर यसले तपाईँलाई को बोलिरहेको छ भनेर समेत बताउँदैन," उनले भने।

फेहर्मलाई ककपिटमा स्विचहरू 'रन'देखि 'कट-अफ'सम्म 'फ्लिप्ड' भइरहँदा र १० सेकेन्डपछि पहिलो इन्जिनलाई 'रिलाइट' गर्ने स्थितिमा फर्काउँदासम्म के भयो भन्ने कुराको कुनै सन्दर्भ नराखिनुले चिन्तित बनाएको छ।

"त्यहाँ कसैले केही कुरा लुकाउन खोजिरहेको छ," उनले भने।

प्रतिवेदनमा 'चुनेर राखिएका कुरा'

यसैबीच एक इन्जिनियरिङ स्रोतले सो प्रतिवेदन "निकै चयनपूर्वक" आएको र त्यसमा स्विचहरू 'फ्लिप' हुनुभन्दा तत्काल अघि इन्जिनहरूले के गरिरहेका थिए भन्ने बारेमा कुनै विस्तृत जानकारी नभएको जनाएको छ।

उक्त दस्ताबेजले "इन्जिनहरूमा इन्धन आपूर्ति बन्द भएपछि" टेक-अफ हुँदाको अवस्थाबाट इन्जिनको गति घट्न थालेको जनाएको छ।

उनीहरू उक्त कुरा महत्त्वपूर्ण भएको बताउँछन्। स्विचहरूलाई फ्लिपिङ गर्दै कट-अफ गर्नु भनेको पहिले नै शक्ति गुमाउँदै गरेको इन्जिनलाई पुनः सुरु गर्न पाइलटले प्रतीक्षा गर्नुपर्ने कुरा थियो।

उड्डयन परामर्शदाता तथा यूकेका पूर्व हवाइ दुर्घटनासम्बन्धी अनुसन्धानकर्ता टिम अट्किन्सन भन्छन्, "केही मुख्य तथ्यहरू प्रदान गर्ने तर धेरै प्रश्नहरू छाड्ने प्रतिवेदन पढ्नु निराश गराउने अवस्था हो।"

यस प्रतिवेदनको विवाद निम्त्याउने अर्को तत्त्व भनेको स्पेशल एअरवर्थिनस इन्फर्मेशन बुलेटिन भनिने सन् २०१८ मा अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) द्वारा प्रकाशित सुरक्षा बुलेटिनको सन्दर्भ हो।

त्यसमा ७८७ सहित समान स्विचहरू जडान गरिएका विभिन्न बोइङ मोडेल चलाइरहेकाहरूलाई साधारण निरीक्षण गर्न सुझाइएको थियो।

अस्पष्ट प्रतिवेदन किन?

उक्त अनुसन्धान प्रतिवेदनमा एअर इन्डियाले त्यससम्बन्धी निरीक्षणहरू नगरेको जनाइएको छ। त्यसले गर्दा गलत स्विचहरू दुर्घटनावश 'फ्लिप्ट' भएका कारण उक्त घटना भएको हुन सक्ने अनुमानलाई बल दिएको छ।

तर बीबीसीले प्राप्त गरेको एक आन्तरिक नोटमा एफएएले उक्त समस्याले सुरक्षामा असर नगरेको आफ्नो विश्वास दोहोर्‍याएको छ।

इन्जिनियरिङ स्रोतहरूले औँल्याएअनुसार उक्त प्रतिवेदनले दुर्घटनाग्रस्त विमानको थ्रोटल नियन्त्रण मोड्यूल दुई पटक फेरिएको जनाएको छ। त्यो दुर्घटना हुनुभन्दा दुई वर्षअघि अर्को घटना भएको थियो। त्यस बेला कट-अफ स्विचहरू पनि बदल्नुपर्ने थियो।

लेहम कम्पनीका बिअर्न फेहर्म उक्त प्रतिवेदनमा उल्लेख गरिएको एफएएको सुझावको सन्दर्भ यस दुर्घटनाका हकमा "पूर्ण रूपमा अप्रासङ्गिक" रहेको बताउँछन्।

तर पनि भारतको नागरिक उड्डयन महानिर्देशनालयले एफएएको मूल बुलेटिनमा समावेश गरिएका सबै विमानका सञ्चालकहरूलाई जुलाई २१ सम्ममा निरीक्षण गर्न आग्रह गरेको छ।

भूतपूर्व अनुसन्धानकर्ता टिम अट्किन्सन उक्त प्रतिवेदनमा जानीजानी अस्पष्टता कायम गरिएको हुन सक्ने ठान्छन्। उनका अनुसार उक्त दुर्घटनाबारे बताउने गरी धेरै स्पष्ट हुनबाट जोगिन त्यसो गरिएको हुन सक्छ।

"सबैभन्दा खराब रिपोर्टहरू ती हुन् जुन 'भाव र सन्दर्भ पढेर बुन्ने गरी' लेखिएका हुन्छन् र यदि हामीसँग यहाँ त्यही छ भने त्यसले अनुसन्धानकर्तालाई कुनै श्रेय दिँदैन," उनले भने।

यसैबीच फ्लाइट-१७१ मा के भयो भन्ने बारे ठोस उत्तर खोज्नेहरूले प्रतीक्षा गर्नुपर्ने हुन सक्छ।

अन्तर्राष्ट्रिय मापदण्डहरूले दुर्घटना भएको एक वर्षभित्र अन्तिम प्रतिवेदन प्रकाशित गर्नुपर्ने भन्ने गरेको छ। तर त्यसभन्दा धेरै समय लाग्न सक्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।