इरानका सर्वोच्च नेताका सामु अब के के विकल्प हुन सक्छ

सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई
    • Author, कास्र नाजी
    • Role, विशेष संवाददाता, बीबीसी पर्सिअन

गोप्य स्थानमा बसिरहेका इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई आफू निशानामा परेको थाहा छ। यस्तो अवस्थामा उनी अब घरको बरन्डामा बसेर सुस्ताउन सक्ने समय छिटै आउला जस्तो देखिँदैन।

इरानमा प्रदर्शनकारीहरूलाई सहयोग पुर्‍याउन अमेरिकाले अब के गर्न सक्ला भन्ने विचार गर्दा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कासिम सुलेमानी र अबु बकर अल बग्दादीको नाम लिएका थिए।

मध्यपूर्वमा इरानका महत्त्वपूर्ण सैन्य रणनीतिकार रहेका सुलेमानी सन् २०२० को ज्यानुअरी ३ मा राष्ट्रपतिको आदेशमा बगदादको अन्तर्राष्ट्रिय विमानस्थल बाहिर ड्रोन आक्रमणमा मारिएका थिए।

आईएसका नेता रहेका बग्दादीले भने सन् २०१९ को अक्टोबर २७ मा राष्ट्रपतिय अनुमतिमा अमेरिकी सेनाले उत्तरी सिरियास्थित उनी लुकीरहेको स्थानमा आक्रमण गर्दा आत्मघाती विस्फोट गरेर आफ्ना दुई सन्तान पनि मारिनेगरि आत्महत्या गरेका थिए।

तर आयतोल्लाह अली खामेनेईको नियति हेजबुल्लाहका नेता हसन नस्रल्लाहको जस्तो पनि हुनसक्छ।

उनी सन् २०२४ सेप्टेम्बर २७ मा बेइरुतमा एउटा गगनचुम्बी आवासीय भवनको मुनि ६० फिट गहिराइमा अवस्थित कक्षमा आफ्ना वरिष्ठ सहयोगीहरूसँग भेटघाट गरिरहँदा भएको इजरेली हवाई आक्रमणमा मारिएका थिए।

अमेरिकी आक्रमणमा मारिएका कासिम सुलेमानी

तस्बिर स्रोत, Anadolu Agency/Getty Images

तस्बिरको क्याप्शन, अमेरिकी आक्रमणमा कासिम सुलेमानी मारिएका थिए

हालै कराकासमा अमेरिकी सेनाले कमान्डो शैलीमा छापा मारेर राष्ट्रपति निकोलास मदुरोको अपहरण गरेको, भेनेजुएलाको घटना पनि आयतोल्लाहको मष्तिष्कमा नरहेको अनुमान गर्न सकिँदैन।

तर इरानी नेतालाई हटाउँदा इरानमा भइरहेको विरोध प्रदर्शनको भविष्यमा वा वास्तवमा सो इस्लामिक गणतन्त्रको भविष्यमा कस्तो प्रभाव पर्नेछ भन्ने स्पष्ट छैन। यदि साँच्चै नै उनलाई सत्ताबाट हटाइएको खण्डमा।

राष्ट्रपति ट्रम्पले अब आफ्ना विकल्पहरूमा विचार गरिरहेका छन्। त्यसो भए यसले सर्वोच्च नेता र उनको शासनसत्तालाई कहाँ पुर्‍याउला त?

इरानीहरूका लागि घृणाका पात्र

८६ वर्षीय आयतोल्लाह खामेनेई

तस्बिर स्रोत, AFP via Getty Images

८६ वर्षीय आयतोल्लाह खामेनेई धेरैजसो इरानीहरूका निम्ति घृणा गरिने व्यक्तिका रूपमा रहँदै आएका छन्।

वर्षौँदेखि देशभरि प्रदर्शनकारीहरूले उनको पतनको लागि आह्वान गरिरहेका थिए। उनको शासन संसारमा सबैभन्दा दमनकारी मध्येको एक रहँदै आएको छ।

इस्लामको नाममा गरिएको आफ्नो ३६ वर्षे शासनका क्रममा निरन्तर रूपमा अमेरिका र पश्चिमा विरोधी नीतिहरू अपनाउँदै आएका उनी आफ्नो अस्तित्व रक्षाका लागि रुस र चीनमाथि निर्भर रहँदै आएका छन्। उनले परमाणु नीति अपनाउँदा देशलाई रुसपछि दोस्रो सबैभन्दा ठूलो प्रतिबन्ध लागेको देश बनाएको छ र झन् गरिब बनाएको छ।

मध्यपूर्वमा शक्ति प्रदर्शन गर्ने उनको प्रयासका कारण यो क्षेत्रमा नै आगो लागेको छ। इजरेलको विनाशका लागि उनले गरेको आह्वानले इजरेलसँग युद्ध निम्त्याएको छ।

हालैका प्रदर्शनमा आयतोल्लाह खामेनेईले सुरक्षा बललाई प्रदर्शनकारीहरूमाथि हमला गर्न स्वीकृति दिएका थिए। इरानमा इन्टरनेट बन्द हुँदा रक्तपात कुन तहमा भएको छ भन्ने भेउ पाउन कठिन बनाएको छ। तर सुरक्षा फौजले हजारौँको ज्यान लिएको र सहर र बस्तीहरूमा मात्र नभई गाउँमा समेत त्यस्ता घटनाहरू भएका विवरणहरू आइरहँदा विरोध प्रदर्शन कुन स्तरमा भैरहेको छ भन्ने सङ्केत गर्छ।

'सर्जिकल स्ट्राइक' वा 'कमान्डो कार्वाही' को माध्यमबाट उनलाई हटाइएमा त्यसले निश्चित रूपमा इरानी शासनको सर्वोच्च संरचनामा परिवर्तन ल्याउनेछ र सम्भवतः नीतिहरूमा परिवर्तन ल्याउने बाटो पनि खुल्नेछ जसले देशलाई दिशा निर्देश पनि गर्न सक्नेछ।

उनलाई कसले र के ले विस्थापित गर्नेछ भन्ने स्पष्ट छैन। अराजकता र कानुनविहीनता हुनसक्छ। तर रिभोलुशनरी गार्डले त्यस्तो रिक्तता पुर्न र सैन्य शासन स्थापना गर्ने प्रयास गर्नसक्ने सम्भावना धेरै छ।

इरानमा हालै भएका प्रदर्शनका क्रममा सडकमा जम्मा भएका मानिसहरू र मोटरगाडीहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, हालैका प्रदर्शनमा २,६१५ जना मानिसहरू मारिएका अमेरिकास्थित इरानियन ह्यूमन राइट्स एक्टिभिस्ट न्यूज एजेन्सीले जनाएको छ

शासनमै रहेकाहरूले पनि आयतोल्लाह अली खामेनेईलाई हटाइएको कुरालाई स्वागत गर्न सक्ने येल युनिभर्सिटिका लेक्चरर र ह्वाट इरानियन वान्ट्स पुस्तकका लेखक अरश अजिजि बताउँछन्।

"सत्तारुढ सम्भ्रान्तहरूको एउटा महत्त्वपूर्ण हिस्सा केही परिवर्तन गर्न तयार छ। खामेनेईलाई हटाउन। इस्लामिक रिपब्लिकका केही मुख्य नीतिहरू र संस्थाहरू हटाउन।

"त्यसैले उनीहरूले अमेरिकी आक्रमणलाई त्यो प्रक्रियालाई गति दिने अवसरको रूपमा पनि स्वागत गर्न सक्छन्।"

'त्यहाँ शासक र शासित छन्'

इरानका अहिलेका ६४ वर्षीय सभामुख मुहम्मद-बागेर गालिबाफ अधिनायकवादी प्रवृत्ति भएका रिभोलुसनरी गार्डका सदस्य हुन्। उनी सैनिक पोशाक त्यागेर सादा पोशाक लगाउँछन्।

तर आयतोल्लाह खामेनेईले उनीमाथि कहिल्यै पूर्व विश्वास गरेनन्। शासनका भित्रियाहरूले उनलाई एउटा भेषमा अर्को मानिस भएको र सही क्षणको प्रतिक्षामा रहेको रूपमा शङ्का गर्छन्।

यो पनि सम्भव छ कि शासनमा तुलनात्मक रूपमा उदारवादी व्यक्तिहरू शीर्ष स्थानमा उक्लिन सक्छन्।

पूर्व राष्ट्रपति हसन रुहानीको नाम दिमागमा आउँछ। उनले शिर्ष नेतृत्व हटेको खण्डमा आफूलाई नरमपन्थी इस्लामवादी र सुधारवादीहरूका लागि एक गम्भीर उम्मेदवारको रूपमा प्रस्तुत गरिरहेका छन्।

सेन्ट एन्ड्रूज विश्वविद्यालयमा इरानी अध्ययन संस्थानका संस्थापक निर्देशक अली अन्सारीको बुझाइमा सुधारवादीहरू धेरै हदसम्म असान्दर्भिक छन्।

"मूलतः सुधारवादीहरू खासमा अस्तित्वमा छैनन्... उनीहरू जे जस्तो स्वरूपमा छन् त्यो देखावटी रूपमा मात्र छन्।

"त्यहाँ मूलतः शासकहरू र शासितहरू मात्र छन्।"

६५ वर्षीय रेजा पह्लवी

तस्बिर स्रोत, AFP via Getty Images

तस्बिरको क्याप्शन, ६५ वर्षीय रेजा पह्लवी आफ्नो जीवनको अधिकांश समय अमेरिकामा निर्वासनमा रहँदै आएका छन्

तर इरानी सहर र नगरका सडकहरूमा धेरै मानिसहरूले जुन नाम लिइरहेका छन् त्यो हो इरानका पूर्व राजाका छोरा रेजा पह्लवीको। उनी ६५ वर्षका छन् र आफ्नो अधिकांश जीवन उनले वाशिङ्टनमा निर्वासनमा बिताएका छन्।

हालैका वर्षमा उनको लोकप्रियता इरानमा बढेको छ जहाँ राजाको युग खासगरी सन् १९७० को दशकलाई धेरैले सम्झिन्छन्। यो त्यो युग थियो जब इरानीहरू सबैभन्दा सम्पन्न देशका मानिसहरू मध्ये एक थिए, जबसम्म उनीहरू राजनीतिका कुरा गर्दैनथे।

धेरैले के तर्क गर्छन् भने हालैका विरोध प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले घृणित शासनविरुद्ध उभिएका शक्तिको एक मात्र दाबेदारको रूपमा देखेका कारण इरानमा उनको आश्चर्यजनक लोकप्रियता देखा परेको हो।

अहिले त्यहाँ प्रदर्शनकारीहरूको चित्त बुझाउन सक्ने धेरै कम छन् किनभने यी विरोध प्रदर्शनहरू केही ठूलो कुराका बारेमा छन्," च्याटम हाउसस्थित मिडल इस्ट एन्ड नोर्थ अफ्रिका प्रोग्रामका निर्देशक डाक्टर सनम वकिलले भने।

"यो इरानी शासनलाई व्यक्ति र प्रणालीबाट पूर्ण रूपमा परिवर्तन गर्ने विषयमा हो जुन लगभग पाँच दशकदेखि कायम छ।"

आयतोल्लाह अली खामेनेई

तस्बिर स्रोत, WANA/Reuters

तस्बिरको क्याप्शन, सर्जिकल स्ट्राइक वा कमान्डो कार्वाही जुनबाट भए पनि उनलाई हटाइए त्यसले सत्ताको शीर्ष स्थानमा परिवर्तनका लागि दबाव दिनेछ

तर बङ्करमा धेरै समय बसिरहँदा आयतोल्लाह अली खामेनेईले विगतका हप्ताहरूमा के भए र उनी कसरी यो स्थानमा पुगे भन्ने पक्कै समीक्षा गरिरहेका होलान्।

शासन अहिलेसम्म उनीप्रति बफादार रहेको छ भन्ने तथ्यबाट उनी सन्तुष्ट हुन सक्छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका शब्दहरूले रिभोलुसनरी गार्ड र अन्य सुरक्षा बलहरूको आधार क्षेत्रमा सम्भावित अमेरिकी हमलाले उनीहरूलाई कमजोर पार्न र टुटाउन सक्छ र प्रदर्शनकारीहरूलाई सत्ता परिवर्तनका लागि अझ ठूलो सङख्यामा बाहिर निस्कन स्थान दिनसक्छ भन्ने छाप दिएको छ।

उनले प्रदर्शनकारीहरूलाई बोल्न र सरकारी भवनहरू कब्जा गर्न उक्साएका छन्।

आफ्ना सरकारका वरिष्ठ सदस्यहरूलाई पछाडि राखेर भाषण गर्दै ट्रम्प

तस्बिर स्रोत, AFP via Getty Images

तस्बिरको क्याप्शन, ट्रम्पले इरानमा प्रदर्शनकारीलाई सहयोग गर्न अमेरिकाले के गर्नसक्छ भन्ने विषयमा छलफल गरेका छन्

गोली हानेर मारिदिन सक्ने सुरक्षा सैन्यको डरलाग्दो आशयका माझ सडकबाट पछि हटेका हुनसक्ने प्रदर्शनकारीहरू राष्ट्रपति ट्रम्पको उक्साहटबाट प्रोत्साहित भएर फेरि बाहिर आउन सक्ने सम्भावना छ।

पक्कै पनि तिनीहरूमध्ये धेरैले उनीहरू शासनको अन्त्य गर्न सक्ने हुनका लागि आफूहरूलाई विदेशी हस्तक्षेपको आवश्यकता रहेको विश्वास गर्छन्।

फलामे मुट्ठी

विगत १६ वर्षमा इरानीहरू धेरै पटक आयतोल्लाह खामेनेईको विरोधमा उत्रिएका छन्।

पछिल्लो पटक सन् २०२२ मा एकजना युवती महसा अमीनीको मृत्युपछि विरोध भएको थियो जब उनी आफ्नो हिजाब राम्ररी नलगाएका कारण प्रहरीको हिरासतमा परेकी थिइन्।

त्यतिबेला मानिसहरूलाई सडकमा ल्याएको विषय महिलामाथि इस्लामवादीहरूले दिएका दबाबको विरोध रहेको थियो।

इरानी झण्डाको दायाँ बायाँ उभिरहेका सुरक्षा सैन्य

तस्बिर स्रोत, NurPhoto via Getty Images

तस्बिरको क्याप्शन, यसपटकको विरोध अर्थतन्त्र र रोजीरोटीलाई लिएर भएको हो

यस पटकको विरोध अर्थतन्त्र र खानेकुराको विषयमा भएको छ। अन्तर्राष्ट्रिय प्रतिबन्धहरू र व्यवस्थापन राम्रो नहुँदा पनि गरिबी द्रुत गतिमा फैलिरहेको छ।

यसैबीच इरानले पानी, बिजुली र ग्यासको अभावको सामना गरिरहेको छ।

आयतोल्लाह खामेनेईले अधिकारीहरूले समस्या समाधान गर्ने प्रयास गरिरहेको बताएका छन्। तर उनले समस्या शत्रुहरूले सिर्जना गरेको बताएका छन्।

अली अन्सारीले "शासनको समस्याहरू गहिरो रूपमा संरचनात्मक र ती वर्षौँ पुराना" रहेका बताउँछन्।

"त्यसैले उनीहरूकै अर्थशास्त्रीहरूले भनिरहेका छन् यदि उदाहरणका लागि जनतालाई आधारभूत सुविधा उपलब्ध गराउन असमर्थ रहेको जस्ता वर्तमानका समस्याहरू समाधान गर्न खोज्ने हो भने पनि त्यो ढिलो भैसकेको छ किनकी हामीहरूले २० वर्ष पहिले नै पूर्वाधारमा लगानी गरेका थिएनौँ," अन्सारीले भन्छन्।

आयतोल्लाह खामेनेईलाई यी मध्ये धेरै कुरा र खासगरी अर्थतन्त्रको कुनै समाधान आफूसँग नरहेको थाहा छ। तर हालैका रक्तपातका बावजुद यो आत्मविश्वास गुमाउने समय होइन भनेर उनले सोचेको हुनसक्छ। र उनलाई लागेको हुन सक्छ उनले फलामको जस्तो मुट्ठी बनाएर अघि बढिरहनु पर्छ।

अन्ततोगत्वा उनलाई लागेको हुनसक्छ कि उनलाई विशुद्ध इस्लामको विस्तार गर्न र ईश्वरलाई खुसी पार्नका निम्ति देशको शासनमा पुग्ने वरदान प्राप्त भएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।