के अचेल बढेको बजार भाउमा सहजै सुन बेच्न सकिन्छ?

सुन पसलमा बिक्रीका लागि राखिएका गहना
    • Author, सञ्जय ढकाल
    • Role, बीबीसी न्यूज नेपाली

सुनको भाउ दिनैपिच्छे अविश्वसनीय ढङ्गले बढिरहँदा घरमा थुपारेको सुन बेच्न चाहनेहरूले सोही भाउ पाउन सकिरहने छन् कि छैनन् भन्ने प्रश्न अब टड्कारो बनेको सुनचाँदी व्यवसायीहरूले बताइरहेका छन्।

अन्तर्राष्ट्रिय बजारमा प्रति आउन्स पाँच हजार डलरको ठूलो मनोवैज्ञानिक तह समेत काटेपछि अब स्थानीय बजारमा सुनको किनबेचमा त्यसका प्रत्यक्ष असरहरू पर्ने व्यवसायीहरूले चेतावनी दिइरहेका छन्।

सामान्यतया सुन बेच्न जाँदा गहनाको किसिमअनुसारको ज्याला, जर्ती तथा कर कटाएर पसलेहरू लिने गर्छन्।

कति काटिन्छ ज्याला, जर्ती र अन्य शुल्क?

सुनको किनबेचमा यसको भाउले धेरै नै असर गरिरहेको व्यवसायीहरूको भनाइ छ।

कसैले आजको भाउमा आफूसँग भएको सुनका गहना बेच्न चाहन्छ भने पहिला उसले ज्याला, जर्ती तथा अन्य शुल्कहरू कटाउन पर्ने हुन्छ।

"ज्याला, जर्ती भनेको १० देखि २० प्रतिशतसम्म पर्न सक्छ। गहनाको डिजाइन र किसिममा भर पर्छ। सादा छ भने ५ प्रतिशतमात्र जर्ती पर्न सक्छ भने धेरै थरी पत्थरजडित छ भने २० प्रतिशतसम्म हुन सक्छ," नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष अर्जुन रसाइलीले बीबीसीलाई भने।

त्यसपछि बाँकी रहेको सुनलाई जोखिन्छ।

एउटा सुन पसलमा सजाइएका सुनचाँदीका गहना

"जर्ति कटाएपछि बाँकी हुने सुनको नेट वेट वा तौल जोख्दा जति हुन्छ त्यसको भाउ हिसाब गरिन्छ र त्यसमा पनि केही शुल्क कटाइन्छ," उनले भने।

यसै पनि सुन बेच्दाको मूल्य उक्त दिनको खरिद मूल्यभन्दा केही कम भइहाल्ने नेपाल रत्न तथा आभूषण सङ्घका महासचिव जयराम पाण्डेले बताए।

"खरिद र विक्रीमा ४ प्रतिशतको फरक हुन्छ। उदाहरणका लागि सोमवार सुनको मूल्य प्रति तोला ३ लाख ९ हजार थियो। तर त्यो दिन बेच्दा पाउने भाउ भनेको ४ प्रतिशत कम लगभग २ लाख ९६ हजार रुपैयाँ हुन्छ," उनले भने।

प्रचलन र अभ्यासमा यसरी हिसाब गरिने भए पनि व्यवहारमा सुन बेच्न खोज्नेले अहिले भनेको जस्तो भाउ पाउन नसकिरहेको एकजना पुराना व्यवसायी तेजरत्न शाक्यले बताएका छन्।

"के सुनिन्छ भने कतिपयले भाउभन्दा २० हजारसम्म कममा मात्रै त्यो पनि थोरै परिमाणमा मात्र खरिद गरिरहेका छन्," उनले भने।

प्रचलितभन्दा अन्य शुल्क वा कटौती अहिलेसम्म नगरिएको बताउने सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष रसाइली आगामी दिनमा यही रफ्तारमा सुनको भाउ बढिरह्यो भने चाहिँ अवस्था बदलिन सक्ने बताउँछन्।

"त्यसरी अतिरिक्त कटौती गर्न पाइँदैन। कसैले गरेको छ भने महासङ्घ वा जिल्ला सङ्घमा गुनासो गर्न सकिन्छ," रसाइलीले बताए।

"कसैले सुन बेच्छु भन्छ भने प्रचलित शुल्क कटाएर त्यही दिनको भाउ अनुसार बेच्न पाउनु अधिकारको कुरा हो। तर धेरै नै भाउ बढिरह्यो भने व्यवसायीहरूले त्यो किन्न नसक्ने अवस्था आउने हो कि भन्ने हामीलाई चिन्ता छ," उनले भने।

व्यवसायीका आफ्नै पीडा

बिक्रीका लागि राखिएका सुनका गहना

अहिलेको चिन्ताका माझ व्यवसायीहरूले ब्याङ्कहरूसँग छलफल गरिरहेको रसाइलीले बताए। "व्यवसायीहरूको सुन ब्याङ्कले किनिदिने हो भने आउँदा दिनमा समस्या नआउला। नत्र त यो टड्कारो समस्या हुन्छ।"

रत्न तथा आभूषण सङ्घका महासचिव जयराम पाण्डे पनि आउने दिनमा सहज किनबेच भइरहने बारे चिन्ता प्रकट गर्छन्।

"पक्कै पनि व्यवसायीहरू समस्यामा छन्," उनले भने।

सुनको भाउ यतिविघ्न अकासिँदा सुनको कारोबार गर्नेहरू दङ्ग परेका होलान् भन्ने आम धारणा छ।

"तर वास्तविकता त्यस्तो होइन। पूँजीको रूपमा हेर्दा मूल्य बढेको पक्कै हो। तर हामीले त किनबेच दुवै गर्नु पर्छ। आफ्नो पूँजी बेच्यौँ भने फेरि बढ्ता भाउमा किन्नु पर्छ," पाण्डेले बताए।

व्यवसायीहरूले सुनाएको अर्को समस्या चाहिँ बजार नै शिथिल हुनु हो।

"अहिले माघ, फागुनको बिहे सिजन भएर बजार अलिकति चलायमान भएको छ नत्र त धेरै घटिसक्यो," नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष अर्जुन रसाइलीले बीबीसीलाई भने।

बजार यसरी खस्कँदा यो व्यवसायमा लाग्नेहरू पलायन हुन थालेको पाण्डेले सुनाए।

"अचेल तपाईँले सामाजिक सञ्जालमा हेर्नुभयो भने कति सुन पसलहरू विक्रीमा भनेर आइरहेको देख्नु हुन्छ। कालीगडहरूले काम पाउनै छोडिसके। १५-२० जना कालिगड राखेर चलाइराखेको पसलहरूले ६-७ जना कालिगडबाट काम चलाइरहेको स्थिति छ," उनले भने।

सुन पसल

सुनचाँदी व्यवसायमा करिब २५ हजार व्यवसायीहरू सामेल भएको र त्यसमा दुई लाख कालिगड रहेको महासङ्घको भनाइ छ।

विगतका वर्षहरूमा बिहेको साइत धेरै हुने मंसिर, माघ, फागुन महिनाहरूमा दिनको ४० किलोग्रामसम्म सुनको माग हुने गरेकोमा अचेल त्यसको आधा पनि नहुने गरेको व्यवसायीहरूको भनाइ छ।

अहिले ब्याङ्कहरूमार्फत् दैनिक २५ किलोसम्म सुन आयात गर्न पाइन्छ तर बजारको खपत अवस्थाका कारण त्यति आयात पनि महासङ्घसँग नसोधिकन नगर्न आफूहरूले भन्न थालेको रसाइलीले बताए।

अन्तर्राष्ट्रिय जगतमा सुनको भाउ निरन्तर बढिरहनुमा अमेरिकी ट्यारिफ, ब्याजदरको बहस तथा भूराजनीतिक अनिश्चयजस्ता कारण औँल्याइएका छन्।

गत वर्ष ट्रम्प राष्ट्रपति भएयता यसको वृद्धिको रफ्तार निकै तेज भएको छ। उनले शपथ लिएको दिन २०८१ साल माघ ७ गते नेपालको स्थानीय बजारमा सुन तोलाको १ लाख ५७ हजार रुपैयाँ थियो। अहिले त्यो झन्डै दोबर भएर २०८२ साल माघ १२ गते ३ लाख ९ हजार कटिसकेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।