नेपाल निर्वाचन परिणाम: राष्ट्रपतिले नयाँ सरकार गठन गर्न 'चाँडै' आह्वान गर्ने, के दलहरू तयार छन्

तस्बिर स्रोत, EC Nepal
निर्वाचन आयोगले प्रतिवेदन बुझाएलगत्तै नयाँ सरकार गठनका लागि आह्वान गर्ने तयारी राष्ट्रपतिको कार्यालयले गरिरहेको बताएको छ। तर नयाँ सरकारको नेतृत्वमा दाबी गरिरहेका राजनीतिक दलहरूमा भने शक्ति बाँडफाँटबारे कुरा टुङ्गिसकेको छैन।
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम बुधवार तयार पारेको प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जनाएका छन्। प्रतिवेदन बिहीवार नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने तयारी भइरहेको छ।
Nepal Parliament
सत्ताधारी गठबन्धनले आफ्नो पक्षमा बहुमत सुनिश्चित रहेको दाबी गर्दै आगामी सरकारको नेतृत्वमा दाबी गरे पनि प्रधानमन्त्रीको उम्मेदवार टुङ्गो लगाउन सकेको छैन।
गठबन्धनबाट सरकारको नेतृत्व नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमध्ये कुन दलले गर्ने भन्नेबारे यी दलका नेताहरूबीच औपचारिक छलफल समेत नभएको नेताहरूले बताएका छन्।
तेस्रो ठूलो दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी सरकारको नेतृत्वमा आफ्नो दाबी गरेका छन्।
माओवादीबाट प्रचण्ड निर्विवाद उम्मेदवार देखिएका छन्। तर गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस माओवादीलाई सरकारको नेतृत्व दिन तयार देखिएको छैन।
कांग्रेसभित्र प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र महामन्त्री गगन थापा लगायतले प्रधानमन्त्री बन्ने आकाङ्क्षा व्यक्त गरेका छन्।
प्रधानमन्त्री चयनको प्रक्रिया के हुन्छ?

तस्बिर स्रोत, Kamal Pariyar/BBC
नेपालको संविधानअनुसार अन्तिम निर्वाचन परिणाम प्राप्त भइसकेपछि राष्ट्रपतिले नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्छ।
राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले निर्वाचन परिणाम प्राप्त भएपछि नयाँ सरकार गठनका लागि आह्वान गर्न धेरै समय नलाग्ने बताए।
"अहिलेसम्म त निर्वाचन परिणाम प्रतिवेदन नै प्राप्त हुन बाँकी छ। तर आयोगले बुझाइसकेपछि नयाँ सरकार गठनको आह्वान हुन लामो समय नलाग्ला," अधिकारीले भने।
"सरकार गठनका लागि पनि धेरै दिन समय राख्नुपर्ने आवश्यकता देखिँदैन। उहाँले एक साताभन्दा कम नै समय दिनुहोला।"
निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत नआएका कारण राष्ट्रपति भण्डारीले बहुमत दलहरूको समर्थन सहित नयाँ प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गर्ने ठानिएको छ। सत्तारूढ गठबन्धनले पनि निर्वाचनबाट स्पष्ट बहुमत जुटाउन सकेन।
Election Result Table[HOR]
संविधानको धारा ७६ को उपधारा २ मा बहुमत दलको समर्थन जुटाउने सांसदलाई प्रधानमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ।
यो उपधाराको प्रक्रियाअनुसार बहुमत जुटाउने प्रधानमन्त्रीका दाबेदारले १३८ भन्दा धेरै सांसदहरू पुग्ने गरी दलहरूको समर्थन पेस गर्नुपर्छ।
दलहरूले संविधानको यही प्रक्रियाअन्तर्गत आगामी सरकार बन्न सक्ने दाबी गरेका छन्। यो प्रक्रियाबाट कसैले बहुमत देखाउन नसकेको अवस्थामा उपधाराका ३ अनुसार सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गरेर बहुमत पुर्याउन ३० दिनको समय दिने व्यवस्था छ।

तस्बिर स्रोत, Getty Images
के अब सरकार गठनको बाटो खुलेको हो?
गठबन्धनको प्रमुख साझेदार दल माओवादीका अध्यक्ष प्रचण्डले बुधवार कास्कीमा एक कार्यक्रममा बोल्दै नयाँ सरकार गठनको "गृहकार्य अबका केही दिन तीव्र हुने" बताएका छन्।
"अब सरकार बनाउने प्रक्रिया सुरु हुन्छ। आजभोलि अब केही दिन घनीभूत छलफल हुन्छन्," आफू फेरि प्रधानमन्त्री बनेर आउने वाचा गर्दै उनले भने।
नयाँ निर्वाचन सम्पन्न भएको २५ दिनपछि बुधवार निर्वाचन आयोगले परिणाम सार्वजनिक गरेको छ।
Nepal election result slider
निर्वाचन परिणाम सार्वजनिक भएको सात दिनभित्र राष्ट्रपतिलाई बुझाउनुपर्ने व्यवस्था छ र राष्ट्रपतिले अन्तिम परिणाम प्राप्त भएको ३० दिनभित्र संसद् बैठक आह्वान गर्नुपर्ने व्यवस्था छ।
राष्ट्रपतिले निर्वाचन परिणाम पाएर राजपत्रमा प्रकाशित भएसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ।
कस्तो छ महिला प्रतिनिधित्व?
प्रमुख निर्वाचन आयुक्त थपलियाका अनुसार यो निर्वाचनपछि प्रतिनिधिसभामा महिला सांसदहरूको अनुपात ३३.१० प्रतिशत पुगेको छ।
यसअघिको प्रतिनिधिसभामा महिलाको उपस्थिति ३३.५३ प्रतिशत थियो। निर्वाचनको अन्तिम परिणामअनुसार सातवटा दलले मात्रै राष्ट्रिय दलको मान्यता पाएका छन्।
Female participants from political parties
प्रदेश नं १ कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६-६ वटा दलहरूको प्रतिनिधित्व भएको छ।
त्यस्तै मधेश प्रदेश र लुम्बिनी प्रदेशमा १०-१० वटा र बागमती र गण्डकीमा ७-७ वटा दलहरूको प्रतिनिधित्व भएको छ।








