नेपाल निर्वाचन: सत्ता गठबन्धनमा हुने कस्तो शक्ति बाँडफाँट 'प्राकृतिक'?

तस्बिर स्रोत, COMPOSITE/RSS
- Author, प्रदीप बस्याल
- Role, बीबीसी न्यूज नेपाली
चुनावी परिणामले लगभग अन्तिम आकार लिइसक्दा सत्ता गठबन्धनले मुख्य तीन सहितका महत्त्वपूर्ण पदमा शक्ति बाँडफाँटमा ध्यान केन्द्रित गरेका छन्।
यही गठबन्धन कायम रहने अवस्थामा यतिखेर प्रधानमन्त्री र राष्ट्रपतिको पद कसरी बाँडफाँट गर्ने भन्ने सबैभन्दा ठूलो सकसको रूपमा देखिएको राजनीतिक विश्लेषकहरूले टिप्पणी गरेका छन्।
प्रधानमन्त्रीमा शेरबहादुर देउवा र प्रचण्डबीचको आलोपालो हुने कुनै समझदारी भएको भए त्यससँगै मुख्य पद बाँडफाँटको समस्या देखा पर्ने उनीहरूको टिप्पणी छ।
चुनावपछि १९ मङ्सिरमा पहिलोपटक बसेको वर्तमान सत्ता गठबन्धनको बैठकले आफूहरूबीचको सहकार्यलाई 'निरन्तरता दिन जरुरी रहेको' निष्कर्ष निकालेको थियो।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पद बाँडफाँटका विषयमा नेताहरूबीच 'कुरा चलिरहेको' बताए पनि त्यस विषयमा 'औपचारिक रूपमा प्रवेश भइनसकेको'ले सार्वजनिक रूपमा थप नबोल्ने बताए।
अङ्कको भार
गठबन्धनभित्र नेपाली कांग्रेसपछिको दोस्रो ठूलो दलका रूपमा नेकपा (माओवादी केन्द्र) रहे पनि सङ्घीय संसदमा उनीहरूबीच झण्डै तेबर सिटको अन्तर हुने देखिन्छ।
एकजना राजनीतिक टिप्पणीकार हरि रोकाले भागबन्डा मिलाउँदा कांग्रेसलाई 'स्वाभाविक रूपमा दुई बराबर एक हुनसक्ने' बताए।
"त्यो भन्नाले अहिलेका तीन मुख्य पदमध्ये प्रधानमन्त्री र राष्ट्रपति कांग्रेसलाई दिनेगरी सन्तुलन मिलाउन समेत सक्छन्," उनी भन्छन्।
"एकीकृत समाजवादी राष्ट्रिय दल समेत बन्न नसकिरहेको अवस्था, संस्थागत बनिसकेको पार्टीभित्र अध्यक्षको विकल्प नदेखिएको अवस्था र राष्ट्रपतिको दाबेदार हुन खोजेका अर्का एक वरिष्ठ नेता निर्वाचनमा पराजित बनेको अवस्थामा वहाँहरूले यी मुख्य पदमा दाबी गर्नु प्राकृतिक देखिँदैन।"
उनी एकीकृत समाजवादीका लागि उपराष्ट्रपति वा उपसभामुखजस्ता पदमा व्यवस्थापन हुनसक्ने ठान्छन्।
FPTP HoR result
तर बीबीसीसँग कुरा गर्दा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले आफ्नो दलले तीन मुख्य पदमध्ये एकमा आफ्नो दाबी गर्ने बताएका थिए।
उनले भने, "जसमा एक रोज्नुपर्दा हाम्रो जोड राष्ट्रपतिमा हुनेछ।"
तर सत्ता गठबन्धनलाई आफूभित्रै सहज बहुमत नपुगेपछि थप केही दलको साथ आवश्यक पर्ने देखिएको छ।
माओवादीका एकजना नेता शक्ति बस्नेतले 'अङ्कले नभइ गठबन्धनको मर्मले हिसाब हुनुपर्ने' बीबीसीलाई बताएका छन्।
"विगत हेर्ने हो भने कर्णाली प्रदेशमा कांग्रेसको [प्रत्यक्षतर्फ] एकजना मात्र सांसद हुँदा हामीले मुख्यमन्त्री बनाएका थियौँ," बस्नेत भन्छन्।
तर माओवादी अध्यक्ष प्रचण्डले यसअघि बीबीसीसँगको अन्तर्वार्तामा चुनावपछि आफू र शेरबहादुर देउवाबीच आलोपालो सरकार बन्नसक्ने बताएका थिए।

तस्बिर स्रोत, COMPOSITE PHOTO / RSS
के प्रचण्डलाई पहिले प्रधानमन्त्री दिने सर्तमा राष्ट्रपतिमा समेत कांग्रेसलाई साथ दिन सकिन्छ?
"त्यस्तो अवस्थामा त्यो छलफलको विषय बन्न सक्छ," शक्ति बस्नेत भन्छन्।
"चुनावी समीक्षापछि कार्यविभाजनबारे हामीले प्याकेजमा सम्झौता गर्छौँ।"
तर यति नै बेला नेपाली कांग्रेसभित्र भावी प्रधानमन्त्रीमा देखिएका झण्डै आधा दर्जन आकाङ्क्षीहरूले नयाँ शक्ति बाँडफाँटको प्रक्रिया सहज नबनाउने ठानिएको छ।
'आलोपालो'ले अप्ठ्यारो
गठबन्धनमा ठूलो दलको हिसाबले कार्यकारी पद प्रधानमन्त्रीमा कांग्रेस, दोस्रो ठूलो दलका हिसाबले राष्ट्रपतिमा माओवादी र तेस्रो ठूलो दलका हिसाबले एकीकृत समाजवादी हुनुपर्ने भए पनि 'त्यो त्यति सहज नरहेको' विश्लेषकहरू बताउँछन्।
इकागज डट कमका प्रधान सम्पादक हरिबहादुर थापाका दृष्टिमा आलोपालो हुने भनिएको अवस्थामा हाल माओवादीलाई राष्ट्रपति पद छाडेमा पछि प्रधानमन्त्री र राष्ट्रपति उसैसँग हुँदा शक्तिसन्तुलन बिग्रन सक्ने चिन्ता कांग्रेस वृत्तमा देखिन्छ।
"आलङ्कारिक राष्ट्रपति भए पनि विगतमा उनीहरूले शक्तिकै प्रयोग गरेकाले त्यो विषय पेचिलो बनेको छ। एउटै दलको व्यक्ति दुवै पदमा हुँदा अध्यादेशहरू रातारात पारित हुनेदेखि संसद् विघटनका विषयमा सामान्य परामर्श पनि नभएको हामीले देखिआएकै हो," थापा भन्छन्।
"आलोपालोको विषय चुनावअघि माओवादी निर्णायक शक्ति बन्ने आकलनका भरमा भएको हुनसक्छ। तर अहिले ऊ मात्र निर्णायक हैसियतमा छैन। माओवादी, एमाले र अन्य दलहरू मिलेर समेत सरकार बनाउन सक्ने अवस्था छ। कांग्रेस र एमाले मिलेर समेत सरकार बन्न सक्ने अवस्था सिर्जना भएको छ।"
जसका कारण यतिखेर माओवादीको 'माग गर्ने हैसियत कमजोर रहेको' हरिबहादुर थापा टिप्पणी गर्छन्।
टिप्पणीकार हरि रोका भने एमालेसँग मिलेर कांग्रेसको गठबन्धन बन्ने कुरा 'निकै अप्राकृतिक' हुने ठान्छन्।
"बलियो प्रतिपक्ष आवश्यक पर्ने संसदीय राजनीतिमा पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउने कुरा प्राकृतिक मान्न सकिँदैन। र त्यस अवस्थामा गठबन्धनले अहिलेसम्म जे भनेर सरकार परिवर्तन गरेर समय अगावैको निर्वाचन टारे, त्यो सबै फिक्का साबित हुनेछ।"









