नेपाल निर्वाचन: चुनावपछि प्रधानमन्त्रीको दाबी गर्ने देउवा, ओली, दाहाल र थापाबारे थाहा पाउनोस्

देउवा, प्रचण्ड, ओली र थापा

तस्बिर स्रोत, RSS

आम निर्वाचनअघि नै धेरैजसो राजनीतिक दलहरूले चुनावपछि सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीको उम्मेदवार तोक्ने प्रचलन छ।

सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस आफ्नो दलका तर्फबाट नयाँ प्रधानमन्त्रीको उम्मेदवारबारे मौन बस्दा महामन्त्री गगन थापाले भावी प्रधानमन्त्रीमा आफ्नो दाबी पेस गरेका छन्।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा निकट नेताहरूले चाहिँ उनैलाई आगामी प्रधानमन्त्रीको उम्मेदवार भन्ने गरेका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टी अध्यक्ष केपी ओलीलाई भावी प्रधानमन्त्रीको दाबेदारमा अघि सारेको छ।

सत्ताधारी गठबन्धनकै साझेदार नेकपा माओवादी केन्द्रले पनि आफ्नो दलबाट भावी प्रधानमन्त्रीमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रस्ताव गरेको छ।

सत्ताधारी गठबन्धनमा रहेका दलहरूको बहुमत आएको अवस्थामा कांग्रेस र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने सङ्केत पनि नेताहरूले गरेका छन्। तर गठबन्धनले यसबारे थप छलफल नगरेको उनीहरूको दबी छ।

देशका धेरै ठाउँमा लौरो चुनाव चिन्ह सहित उम्मेदवारहरू उठाएको लौरो अभियानले डडेलधुरामा प्रधानमन्त्री देउवासँग प्रतिस्पर्धा गरिरहेका स्वतन्त्र उम्मेदवार सागर ढकाललाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरेको छ।

प्रस्तुत विवरणमा प्रधानमन्त्रीका दाबेदारहरूको पृष्ठभूमि र राजनीतिमा उनीहरूको योगदान समेटिएको छ।

नेपालमा सरकारको नेतृत्त्व गर्ने प्रतिस्पर्धामा को को छन्?

प्रधानमन्त्रीका सम्भावित उम्मेदवारबारे जानिराखौँ

व्यक्तिगत विवरण जान्न उम्मेदवार छनोट गर्नुहोस्

शेरबहादुर देउवा

नेपाली कांग्रेस

  • उमेर ७७ वर्ष
  • विद्यार्थी राजनीति हुँदै मूलधारको नेता
  • विसं २०५२,२०५८,२०६१,२०७४ र २०७८ गरी पाँच पटक प्रधानमन्त्री
  • नेेपाली कांग्रेसको सभापतिमा दोस्रो पटक निर्वाचित
  • नेकपा माओवादी केन्द्र सहितका दलहरूसँग गठबन्धनका हालका प्रधानमन्त्री
  • नेेपाली कांग्रेसको सभापतिमा दोस्रो पटक निर्वाचित
  • नेपाली कांग्रेसमा रहेको कोइराला परिवारको दशकौँ लामो वर्चस्व चिर्न सफल सुदूर पश्चिमेली नेता
  • विसं २०४८ यता निरन्तर सांसद
  • सङ्घीय संरचनामा नेपााल रूपान्तरित भएपछि पहिलो निर्वाचन गराएको श्रेय
  • माओवादी सशस्त्र द्वन्द्व समाधानसम्बन्धी समितिको नेतृत्व विसं २०५७
  • राजनीतिक बन्दीको रूपमा करिब एक दशक जेल जीवन

केपी शर्मा ओली

नेेकपा एमाले

  • उमेर: ७० वर्ष
  • १७ वर्षको उमेरबाट राजनीतिमा
  • नेकपा एमालेका दोस्रो पटक अध्यक्ष निर्वाचित
  • विसं २०७२ र २०७४ मा गरी दुई पटक प्रधानमन्त्री
  • विसं २०७० यता निरन्तर सांसद त्यसअघि पनि सांसद र मन्त्री
  • राप्रपा र जनता समाजवादी पार्टी सहितका दलहरूसँग चुनावी तालमेल
  • राजनीतिक बन्दीका रूपमा १४ वर्ष जेल जीवन
  • आफूलाई अति राष्ट्रवादी नेताको रूपमा चिनाउन रुचाउने
  • विसं २०७८ मा बहुमत गुमाएपछि दुई पटक संसद विघटन गरेकोमा आलोचित, दुवै पटक सर्वोच्चद्वारा संसद् पुनर्स्थापना
  • प्रखर वक्ता र विरोधीहरूका कडा आलोचक

प्रचण्ड

नेकपा माओवादी केन्द्र

  • उमेर: ६६ वर्ष
  • माओवादी सशस्त्र द्वन्द्वको नेतृत्व र शान्ति वार्तापछि मूलधारको राजनीतिमा सामेल
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष, तीन दशकदेखि पार्टी नेतृत्वमा
  • राजनीतिमा आउनुअघि विद्यालय शिक्षक
  • विसं २०६५ र २०७३ मा गरी दुई पटक प्रधानमन्त्री
  • विसं २०६४ यता निरन्तर सांसद
  • पार्टीले पहिलो राष्ट्रपतिको रूपमा चित्रित गरेपनि राष्ट्रपतीय चुनावमा भाग लिएनन्
  • माओवादी द्वन्द्वको नेतृत्त्व जसमा १७,००० जनाको ज्यान गएको थियो
  • आफूलााई गणतन्त्रको सुत्रधार भएको दाबी गर्छन्
  • गतिशील नेताको रूपमा चिनिन्छन्

गगन थापा

नेपाली कांग्रेस

  • उमेर: ४६ वर्ष
  • विसं २०६२-६३को जनआन्दोलनदेखि चर्चित
  • नेपाली कांग्रेसका महामन्त्री
  • विसं २०७३ मा स्वास्थ्यमन्त्री
  • विसं २०६४ यता निरन्तर सांसद
  • अबको १० वर्षपछि राजनीतिबाट संन्यास लिने घोषणा
  • व्यवस्था परिवर्तनका लागि भएका आन्दोलनहरूमा पटक पटक पक्राउ
  • प्रखर वक्ता र विपक्षीहरूका कडा आलोचक
  • समसामयिक मुद्दामा गृहकार्य गरेर सार्वजनिक रूपमा प्रभावशाली कुरा राख्ने भनेर परिचित
  • पार्टीमा युवा र गतिशील नेताको रूपमा चिनिन्छन्

गठबन्धन सरकारको नेतृत्व गरिरहेको कांग्रेस र प्रमुख साझेदार माओवादीले चुनावपछिको सरकारमा नेतृत्व गर्ने आ-आफ्नो दाबी चुनावी घोषणापत्रमा गरेका छन्।

निर्वाचनपछि गठबन्धनभित्रको एउटा सानो बैठकले सरकारको नेतृत्वको विषय टुङ्गिने दाबी माओवादी अध्यक्ष प्रचण्डले हालै बीबीसीसँगको अन्तर्वार्तामा गरेका थिए।

एमालेले चाहिँ निर्वाचन पछि सरकारको नेतृत्व गर्ने अवसर आए ओलीलाई प्रधानमन्त्रीको एकमात्र दाबेदार बनाएको छ।