तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल निर्वाचन: चुनावपछि प्रधानमन्त्रीको दाबी गर्ने देउवा, ओली, दाहाल र थापाबारे थाहा पाउनोस्
आम निर्वाचनअघि नै धेरैजसो राजनीतिक दलहरूले चुनावपछि सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीको उम्मेदवार तोक्ने प्रचलन छ।
सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस आफ्नो दलका तर्फबाट नयाँ प्रधानमन्त्रीको उम्मेदवारबारे मौन बस्दा महामन्त्री गगन थापाले भावी प्रधानमन्त्रीमा आफ्नो दाबी पेस गरेका छन्।
कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा निकट नेताहरूले चाहिँ उनैलाई आगामी प्रधानमन्त्रीको उम्मेदवार भन्ने गरेका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टी अध्यक्ष केपी ओलीलाई भावी प्रधानमन्त्रीको दाबेदारमा अघि सारेको छ।
सत्ताधारी गठबन्धनकै साझेदार नेकपा माओवादी केन्द्रले पनि आफ्नो दलबाट भावी प्रधानमन्त्रीमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रस्ताव गरेको छ।
सत्ताधारी गठबन्धनमा रहेका दलहरूको बहुमत आएको अवस्थामा कांग्रेस र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने सङ्केत पनि नेताहरूले गरेका छन्। तर गठबन्धनले यसबारे थप छलफल नगरेको उनीहरूको दबी छ।
देशका धेरै ठाउँमा लौरो चुनाव चिन्ह सहित उम्मेदवारहरू उठाएको लौरो अभियानले डडेलधुरामा प्रधानमन्त्री देउवासँग प्रतिस्पर्धा गरिरहेका स्वतन्त्र उम्मेदवार सागर ढकाललाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरेको छ।
प्रस्तुत विवरणमा प्रधानमन्त्रीका दाबेदारहरूको पृष्ठभूमि र राजनीतिमा उनीहरूको योगदान समेटिएको छ।
गठबन्धन सरकारको नेतृत्व गरिरहेको कांग्रेस र प्रमुख साझेदार माओवादीले चुनावपछिको सरकारमा नेतृत्व गर्ने आ-आफ्नो दाबी चुनावी घोषणापत्रमा गरेका छन्।
निर्वाचनपछि गठबन्धनभित्रको एउटा सानो बैठकले सरकारको नेतृत्वको विषय टुङ्गिने दाबी माओवादी अध्यक्ष प्रचण्डले हालै बीबीसीसँगको अन्तर्वार्तामा गरेका थिए।
एमालेले चाहिँ निर्वाचन पछि सरकारको नेतृत्व गर्ने अवसर आए ओलीलाई प्रधानमन्त्रीको एकमात्र दाबेदार बनाएको छ।