नेपाल निर्वाचन: प्रचारप्रसारको 'दोस्रो चरण' सुरु, दल र उम्मेदवारले अब के-कस्ता कार्यक्रम गर्न पाउँछन्

तस्बिर स्रोत, RSS
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने आमनिर्वाचनका लागि बिहीवारबाट उम्मेदवार र दलहरूले गर्ने प्रचारप्रसारको "दोस्रो चरण" सुरु भएको जनाएको छ।
दोस्रो चरणको प्रचारप्रसार सुरु भएसँगै अब दलहरूले यसअघि आचारसंहिताले बन्देज लगाएका कतिपय प्रचारप्रसारका "शैली" अपनाउन सक्ने आयोगका प्रवक्ताले बताएका छन्।
चुनावमा सहभागी दलका नेताहरूले पनि प्रचारप्रसारको दोस्रो चरण सुरु भएसँगै आफूहरूले "व्यापक र जनस्तरसम्म पुग्ने खालका" थप कार्यक्रमहरू गर्न सुरु गरेको जानकारी दिएका छन्।
आयोगले चाहिँ दोस्रो चरणको प्रचारप्रसारका बेलामा पनि निर्वाचन आचारसंहिताको उल्लङ्घन हुनसक्ने भन्दै त्यसको "कडा निगरानी" गरिने जनाएको छ।
दोस्रो चरणमा के गर्न पाइन्छ?
यसपटकको निर्वाचनमा आयोगले समय तोकेर निश्चित दिनमा मात्र कतिपय प्रचारप्रसारका काम गर्न पाउने जनाएको थियो।
सोही अनुसार आचारसंहिता बनेकाले दलहरूले बुधवारसम्म आमसभा र कोणसभा समेत गर्न पाएका थिएनन्।
बुधवार आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अब दल तथा उम्मेदवारहरूले "आमसभा र कोणसभा गर्न पाउने" बताए।

तस्बिर स्रोत, RSS
तर उनले आचारसंहिताले तोकेभन्दा बाहिर गएर कुनै पनि कार्यक्रम गर्न नपाइने र त्यस्तो गरेको पाइएमा उम्मेदवारी खारेजीसम्मको कारबाही हुनसक्ने बताए।
दलहरू तथा उम्मेदवारले अब मङ्सिर १ गतेसम्म त्यस्ता प्रचारप्रसार गर्न पाउँछन्।
त्यसपछि भने निर्वाचनको मौन अवधि सुरु हुन्छ।
थपलियाका अनुसार अब पत्रपत्रिका, अनलाइन वा सामाजिक सञ्जालमा विज्ञापन गर्न समेत पाइन्छ।
त्यस्तै प्रधानमन्त्री, मन्त्रीजस्ता पदाधिकारीले पनि चुनावी सभाहरूमा अनुमति लिएर जान पाउने तर त्यस क्रममा सरकारी स्रोत र सम्पत्तिको प्रयोग गर्न नपाउने थपलियाले जानकारी दिए।
आयोगले चुनावमा दल र उम्मेदवारले गरेको खर्चको विवरणको परीक्षण पनि गर्ने जनाएको छ।
"त्यसक्रममा सभाहरू गर्दा बनाइएको मञ्चको खर्चको विवरण समेत आयोगमा बुझाउनुपर्छ," प्रमुख निर्वाचन आयुक्त थपलिया भन्छन्।
खर्चको विवरण निर्वाचन सम्पन्न भएको मितिले १५ दिनभित्र आयोगमा बुझाउनु पर्नेछ।
दलहरूको तयारी के छ?
प्रचारप्रसारको दोस्रो चरण सुरु भएसँगै आफ्ना चुनावी गतिविधिलाई अझ व्यापक पार्न लागेको निर्वाचनमा सहभागी दलका नेताहरूले बताएका छन्।
त्यसक्रममा पार्टीका मुख्य नेताहरूको उपस्थितिमा सकेसम्म सबै प्रदेशहरूमा आमसभा गर्ने तयारीमा प्रमुख दलहरू रहेको नेताहरूले जानकारी दिएका छन्।
सत्ताधारी गठबन्धनले चाहिँ गठबन्धनमा सहभागी दलका मुख्य नेताहरूलाई उपस्थित गराएर त्यस्ता कार्यक्रम गर्ने तयारी गरेको नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का नेताहरूले बताए।
नेकपा (एमाले)ले सुदूरपश्चिम प्रदेशबाट सुरु गरेर देशका विभिन्न स्थानमा पार्टी अध्यक्षकै उपस्थितिमा सभाहरू गर्ने तयारी गरेको उक्त दलका नेताहरूले बताएका छन्।

तस्बिर स्रोत, Rss
नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले "बाहिरी प्रचार अभियान गर्न आयोगले तोकेको समय सुरु भएपछि" अब व्यापक रूपमा चुनावी अभियान अगाडी बढाइने बताउँछन्।
"अब पार्टी र गठबन्धनको नेतृत्वसँगको सरसल्लाहमा आवश्यकता अनुसार कार्यक्रम हुन्छन्। सबैतिर केन्द्रीय नेतृत्व पुग्न सम्भव हुँदैन, तर आवश्यक स्थानमा केन्द्रीय नेतृत्वको उपस्थिति हुन्छ।"
उनका अनुसार सत्ता गठबन्धनले कतिपय स्थानमा "संयुक्त सभा" पनि गर्नेछन्।
नेकपा माओवादी केन्द्रका एकजना नेता गणेश साहका अनुसार पनि गठबन्धन दलहरूले जिल्ला स्तरसम्म चुनावका लागि संयुक्त समन्वयात्मक संयन्त्रहरू बनाएका छन्।
"हामी संयुक्त रूपमा छलफल गरेर नै कार्यक्रमहरू तय गरिरहेका छौँ। केन्द्रका कुन नेतालाई ल्याउने भन्ने छलफल गरेर सभाहरू हुनेछन्," चुनावका लागि मधेश प्रदेशमा खटिएका उनले भने।
प्रतिपक्षी एमालेले भने अधिकांश स्थानमा एकल सभाहरू गर्ने उक्त दलका नेता प्रदीप ज्ञवालीले बताए।
"हामी दार्चुलाको खलङ्गामा चुनावी सभा गरेर प्रचारप्रसार सुरु गर्छौँ।"
एमालेका अनुसार उक्त दलका अध्यक्षले सम्बोधन गर्ने देशैभरि कुल २५ वटा ठूला सभा हुनेछन्।
कतिपय स्थानमा एमालेले समेत केही उम्मेदवार र दलहरूसँग चुनावी तालमेल गरेको छ।
त्यस्ता स्थानमा संयुक्त सभाहरू पनि हुनसक्ने ज्ञवालीले बताए।
त्यस्तै अन्य साना दलहरूले पनि आमसभा तथा अन्य खाले प्रचारप्रसारका गतिविधिलाई विस्तार गर्ने बताएका छन्।










