बलिवुड: पारलैङ्गिक आइकनको अभिनय गैरपारलैङ्गिक कलाकारबाट

    • Author, मेघा मोहन
    • Role, लैङ्गिकता र पहिचान मामिला रिपोर्टर

बलिवुडमा पारलैङ्गिक अभियानकर्मीबारेको एउटा अग्रणी भूमिका गैरपारलैङ्गिक अभिनेत्री सुस्मिता सेनलाई दिइएको छ।

पूर्व विश्व सुन्दरीलाई उक्त भूमिका दिने निर्णयप्रति भारतको पारलैङ्गिक समुदायको मत विभाजन भएको छ। 

कतिपयले त्यो भूमिका चलचित्रमा आफ्नो ठूलो प्रवेशको प्रतीक्षा गरिरहेका कोही पारलैङ्गिक अभिनेत्रीसामु नै पुग्नुपर्थ्यो भन्ने तर्क गरेका छन्। 

त्यसको चयन प्रक्रिया राम्रोसँग नै भएको थियो। 

नाभ्या सिंह उक्त अग्रणी महिलाको सबैभन्दा घनिष्ठ साथीको भूमिकाका लागि तयार थिइन्। 

उनले आफ्ना संवादहरू आत्मविश्वासका साथ व्यक्त गरेकी थिइन् जसमा कुनै दम्भ थिएन। 

सबैभन्दा महत्त्वपूर्ण कुरा उनले आफ्ना संवादहरू सम्झिएकी थिइन्। 

यद्यपि जब उनले त्यो सकिन्, कोठाभित्र अस्वाभाविक मौनता देखियो। 

अन्ततः एकजना कास्टिङ निर्देशकले मुख खोले। 

"तर के हौ तिमी?" उनले नाभ्यालाई सोधे, "महिला वा पुरुष?"

"म हठात् चिन्तित बने," नाभ्याले सुनाइन्।

"त्यो एकखाले रूखो प्रतिक्रिया थियो जसप्रति म बलिवुडमा अभिनेत्रीका रूपमा एक खालले अभ्यस्त छु। तर त्यो कहिल्यै सहज भएन।"

नाभ्या ग्रामीण विहारबाट भारतीय चलचित्र उद्योग अथवा बलिवुडको केन्द्र मुम्बईमा १८ वर्षको उमेरमा पुगेकी थिइन्। 

आफ्नी आमासँग गरेको पछिल्लो संवादमा नाभ्याले आफू जन्मँदाको लिङ्गसँग परिचित नगराउने बताइन्। 

"म केटा होइन," नाभ्याले घरको बरन्डामा मच्छड मार्दै दुवैले खुला आकाशतर्फ हेरिरहँदा भनिन्।

"मेरो मन महिलाको छ।"

यदि उनकी आमा आश्चर्यमा परेकी थिइन् भने पनि उनले त्यो देखाइनन्। 

जुनलाई हेर्दै उनले टाउको हल्लाइन्। 

"धर्तीमा फर्क," उनले नाभ्यालाई भनिन्। "तिमी छोरा हौ।"

त्यसपछि नाभ्याले गाउँमा बस्न नसक्ने थाहा पाइन्। उनी उक्त गाउँका नेता हजुरबुवाको सबैभन्दा जेठो नातीका रूपमा थिइन्। 

उनको परम्परावादी पञ्जाबी समाजले परम्परागत लैङ्गिक भूमिकालाई मात्र पहिचान गरेको छ। 

नाभ्याले अनलाइनमा साथी रहेकी एक पारलैङ्गिक साथी माहीलाई सम्पर्क गरिन्। 

माहीले त्यसको केही वर्षअघि विहार छाडेकी थिइन् र उनले नाभ्यालाई १,७०० किलोमिटर परको मुम्बई यात्रा गरेर आफूसँग बस्न आउन भनिन्।

नाभ्या उत्साहित भइन्। 

उनी भारतको सार्वजनिक च्यानल दूरदर्शन टिभीमा फिल्म र धारावाहिक शृङ्खलाहरू हेरेर हुर्किएकी थिइन्। 

उनको प्रिय कार्यक्रम नै 'मे बनुङ्गी मिस इन्डिया' थियो। जुन कार्यक्रम भारतको सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धा गर्ने महिलाको काल्पनिक जीवनबारे थियो। 

नाभ्याले एउटी सुन्दरी महिलाको रूपमा नृत्य गर्नु वा अभिनय गर्नु अथवा अग्रणी महिला बन्नु कस्तो होला भन्ने कल्पना गर्थिन्। 

मुम्बईमा हुँदा उनी त्यस संसारसँग निकट बनिरहेकी थिइन्। 

कम पैसाका बिच नाभ्याले त्यहाँ प्राय: ठेलामा बेचिने खानाका भरमा जीवन चलाइन्। कहिलेकाहीँ सिर्फ एउटा बडा पाउका भरमा उनले दिन काटिन्। 

यसबीच मोडल र सहयोगी कलाकारका रूपमा काम गरेकी माहीले नाभ्यालाई सहरमा विस्तार भइरहेको एलजीबिटी समुदायमा स्वागत गरिन्। 

माहीमार्फत् नाभ्याले एलजिबीटी समुदायका नर्तक-नर्तकी, मोडल, डिजाइनर र कलाकारहरूलाई भेटिन्। 

तीमध्ये केही चलचित्र र विज्ञापनमार्फत् घरघरमा चर्चित अनुहारहरू थिए। तर खासगरी पारलैङ्गिक समुदायसहितका अन्य भने सङ्घर्षरत कलाकारहरू थिए। 

उनले चिनेका केही भने दिनचर्या चलाउन चलचित्र, नृत्य र मोडलिङबिच यौनकर्म गरिरहेका थिए। 

"बलिवुडमा पारलैङ्गिक मानिसहरूले काम गर्ने कुरा भयानक खालको छ," उनले भनिन्। 

"तपाईँले फेसन सो वा फिल्मका अडिसन दिए पनि कमै त्यसको जवाफ पाउनुहुन्छ। समलिङ्गी फेसन डिजाइनर वा उत्पादकहरूले समेत हाम्रो लागि ढोका खोल्दैनन्। प्राय: एलजिबीटी समुदाय पारलैङ्गिकहरूप्रति सबैभन्दा धेरै पक्षपात गर्छन्।" 

केही कामहरू भने हात नपरेका होइनन्। नाभ्याले फेसन सोहरूमा क्याटवाक गरिन् भने ग्राजिआ म्यागेजिनका लागि मोडल बनिन्। 

उनी पारलैङ्गिक मानिसहरूको लागि भारतको सबैभन्दा ठूलो प्रतियोगिता मिस ट्रान्स क्विन इन्डियामा अन्तिम चरणमा पुगिन् र त्यसको ब्रान्ड एम्बेसडर समेत बनिन्। 

मुम्बई पुगेको सात वर्षपछि नाभ्याले अपराध सम्बन्धी एक नाटकीय शृङ्खला 'सावधान इन्डियामा' दोहोरिने एउटा भूमिका पाइन्। 

इन्स्टाग्राममा तत्कालै त्यसले उनलाई १ लाखभन्दा धेरै फलोअरहरू दियो। 

पहिलो शृङ्खला प्रसारित भएपछि उनलाई आमाबुवाले फोन गरे जो विहार छाडेयता उनीसँग बोलेका थिएनन्। 

उनीहरूले माफी माग्दै पारलैङ्गिक भनेको के हो भन्ने आफूहरूलाई थाहा नभए पनि टेलिभिजनमा आफ्नो सन्तान देख्दा खुसी लागेको बताए। 

नाभ्याले खुसीसाथ उनीहरूलाई आफ्नो जीवनमा स्वागत गरिन्। 

सबै कुरा राम्रोसँग चलिरहेको थियो। 

त्यसपछि सन् २०२२ को सुरुमा मुम्बईको एलजिबिटी समुदायमा बन्न लागेको एउटा टेलिभिजन शृङ्खलाबारे चर्चा चलिरहेको थियो। 

ताली नामको उक्त शृङ्खला मुम्बईकी एक पारलैङ्गिक अभियानकर्मी गौरी सावन्तको जीवनमा आधारित छ। 

सावन्तले एक यौन व्यवसायीकी छोरीलाई धर्म सन्तान बनाएकी थिइन् जसकी आमाको एड्स रोगका कारण मृत्यु भएको थियो। 

सन् २०१४ मा उनले भारतमै पहिलो पटक सर्वोच्च अदालतमा पारलैङ्गिकता सम्बन्धी मुद्दा दर्ता गर्दै उनीहरूलाई धर्म सन्तान लिने अधिकार दिनुपर्ने माग राखेकी थिइन्। 

उक्त कदमको व्यापक प्रशंसा गरिएको थियो। 

"हामीले पहिलो पटक तालीका बारेमा सुन्दा निकै उत्साहित भयौँ किनकि त्यसमा पारलैङ्गिक व्यक्तिको मुख्य र प्रेरणादायी भूमिका थियो," नाभ्याले भनिन्।

"हाम्रो समुदायका लागि यो ठूलो जित थियो। र त्यो भूमिका हामी सबैले बुझेको विषय थियो। यो हाम्रो समुदायकै कसैको बारेमा थियो।" 

तर अक्टोबर महिनामा त्यो भूमिका नाभ्याकी बलिवुड आदर्श र एक गैरपारलैङ्गिक महिला सुस्मिता सेनलाई दिने घोषणा गरियो। 

त्यो थाहा पाउँदा "निकै दुखित" हुनेमा उनी एक्ली थिइनन्। 

धेरैले सामाजिक सञ्जालमा त्यसको आलोचना गरे। 

जन्मँदाको बेला भएकै लैङ्गिक पहिचान भएको व्यक्तिलाई दिइएको उक्त भूमिकाबारे एउटा ट्विटमा लेखिएको थियो: "यो कुन वर्ष हो? सन् १९९५? पारलैङ्गिकलाई नै पारलैङ्गिकको भूमिका देउ।"

अर्को ट्विटमा एकजनाले "विलक्षण काम गरेका पारलैङ्गिक कलाकारहरूको लामो सूची" आफूले दिनसक्ने बताएका थिए। 

जसमा थप भनिएको थियो, "हामीले बलिवुडबाट अपेक्षा के नै गर्न सक्छौँ र?"

"पारलैङ्गिक मानिसहरूका लागि पर्याप्त विविधतापूर्ण, जटिल भूमिका नभएको भन्ने मुद्दा हो यो," पारलैङ्गिक अभिनेत्री कल्की सुब्रमन्नियमले बीबीसीसँग भनिन्। 

"हामीलाई सधैँ एकैखालले सोचिएको यौन व्यावसायी, विवाहमा आशीर्वाद दिन आउने पृष्ठभूमिका कलाकार, श्राप दिने झगडालु व्यक्तिजस्ता भूमिका मात्र दिइन्छ।"

"दक्षिण भारतीय चलचित्र उद्योगजस्ता केही भारतीय भागमा त्यसमा परिवर्तन भइरहेको छ। तर बलिवुडमा त्यस्तो भएको छैन।"

एकजना निकै परिचित पारलैङ्गिक अभिनेत्री अञ्जली अमिरले पेरन्बु नामको एक चर्चित तमिल भाषाको चलचित्रमा मुख्य भूमिका निर्वाह गरेकी थिइन्। 

उनी भारतीय सिनेमामा मुख्य भूमिका निर्वाह गर्ने पहिलो त्यस्तो व्यक्ति हुन्। 

समालोचकहरूले पुरानो एलजिबिटी सोचलाई तोड्न सकेको भन्दै उनको भूमिकाको प्रशंसा गरेका थिए।

तर अमिरले गौरी सावन्तको भूमिकामा सुस्मिता सेनलाई ल्याइएको विषयको पूर्ण समर्थन गर्छिन्। 

"सुस्मिता सेनजस्तो चर्चित व्यक्ति उक्त भूमिकामा देखिनु भनेको पारलैङ्गिक समुदायको लागि राम्रो कुरा हो," अञ्जलीले बीबीसीसँग भनिन्। 

"त्यसको मतलब हाम्रा कथाहरू मूलधारमा आइरहेका छन् भन्ने हो। जब हाम्रा कथा घरघरमा पुग्छन् र हामीलाई मानिस जसरी हेर्न थालिन्छ तब हाम्रा लागि धेरै भूमिकाहरू तयार हुन्छन्।"

गौरी सावन्तले समेत सुस्मिता सेनलाई सम्बोधन गर्दै एक सन्देश लेखेर उनले उक्त भूमिका चयन गर्नु आफ्नो समुदायका लागि "ठूलो सम्मान"को विषय भएको बताएकी थिइन्। 

सुस्मिताले आफूलाई "त्यो गरौँ" भन्ने लागेको प्रतिक्रिया दिएकी छन्। 

द हिन्दूस्तान टाइम्स पत्रिकामा गौरी सावन्तलाई उद्धृत गरिए अनुसार उक्त भूमिकाका लागि सुस्मिता उनकी पहिलो छनौट थिइन्। 

हालै नाभ्यालाई तालीमा एउटा सानो भूमिकाका लागि बोलाइयो। 

तर सेटमा एक दिनभर पर्खाइएपछि उनी आवश्यक नपर्ने भन्दै नाभ्यालाई घर जान भनियो। 

जसले आफूलाई निकै नमज्जा अनुभव गराएको उनी बताउँछिन्। 

"फिल्मका सेटमा निर्माणको समय तालिका प्राय: परिवर्तन भइरहनु र मानिसहरू आवश्यक नपर्नु सामान्यजस्तै हुन्छ," उनी भन्छिन्। 

"तर जब तपाईँ बलिवुडमा पारलैङ्गिक महिला हुनुहुन्छ भने त्यो तपाईँका लागि भइरहन्छ। तपाईँको समयको सम्मान गरिँदैन र तपाईँको अनुहार आवश्यक पर्दैन। तपाईँ मूलधारको दर्शकका लागि काम गर्ने पृष्ठभूमिका कलाकार हुनुहुन्छ।"

मोडलिङ र चलचित्रका लागि अडिसन दिइरहँदा नाभ्या रात्रिकालीन क्लबहरूमा नाचेर आफ्नो घरभाडाका लागि पैसा जुटाउँछिन्। 

उनको धोको जटिल, बलियो, सुन्दर र सोचेजस्तो भूमिका निर्वाह गर्नेछ। तर कम्तीमा बलिवुडमा त्यो अवसर पारलैङ्गिक अभिनेत्रीका लागि थोरै र धेरै टाढा रहेको उनलाई लाग्छ। 

त्यसैले तालीमा गौरी सावन्तको भूमिकासँग धेरै आशाहरू जोडिएको थियो।

उनी भन्छिन्, "अनुमान गर्नुस् त, यदि पारलैङ्गिक अभिनेत्रीले नै अभिनय गर्न पाएको भए त्यो कति शक्तिशाली सन्देश हुन्थ्यो। त्यसले उनको करिअर परिवर्तन गर्थ्यो। उनी मूलधारकी हुन्थिन्।"