बलिवुड: अमिताभ-रेखा बीचको प्रेम सम्बन्धको वास्तविकता के थियो?

    • Author, प्रदीप सरदाना
    • Role, वरिष्ठ पत्रकार एवं फिल्म समीक्षक

कस्तो संयोग कि रेखाको जन्मदिन १० अक्टोबर हो त अमिताभ बच्चनको ११ अक्टोबर। रेखा अमिताभभन्दा १२ वर्ष कान्छी छन्।

रेखा ६८ वर्षकी भइन् त अमिताभ ८० वर्षका भए। सन् १९८१ मा अन्तिम पटक दुईजनाले सिलसिला सिनेमाका लागि एक साथ काम गरेका थिए। तर ४१ वर्षपछि पनि अमिताभ रेखाको जोडी उत्तिकै प्रख्यात छ, जुन सन् १९७६ देखि १९८१ सम्म थियो।

अमिताभ-रेखाको जोडीको लोकप्रियतालाई आजको युवा पिँढीले पनि राम्रो ठान्छ।

ती युवा जन्मिनु अघि नै यो जोडीले सिनेमामा धूम मचाएका थिए। आज ४० वर्षका होइन कि २० वर्षका युवादेखि १४ वर्षका किशोरसम्मलाई अमिताभ रेखाको जोडीको महत्त्व थाहा छ।

यी दुईजनालाई फिल्मी पर्दाका असाध्यै सानदार जोडीका रूपमा हेरिन्छ।

दुवैले केही स्मरणीय र सफल फिल्ममा काम गरेका छन् र यो जोडीलाई वास्तविक जीवनमा पनि उनीहरूको प्रेमकथाबाट चिन्ने गरिन्छ।

एउटा त्यस्तो प्रेम कहानी जुन पूरै खुलेर बाहिर आएन तर अमिताभ-रेखाको यो एउटा यस्तो प्रेमगाथा हो जसलाई कहिल्यै भुल्न सकिने छेन।

यो प्रेम कथा ४०-४५ वर्ष अघि पनि चर्चामा थियो र अहिले पनि छ। त्यसबेला पनि यसको चर्चा अलि मधुरो स्वरमा हुने गर्थ्यो र अहिले पनि। लामो मौन यात्रापछि पनि त्यसको गुञ्जन कायम नै छ।

फिल्म संसारमा प्रेमकथाको केही कमी छैन। रङ्गीन पर्दामा प्रेम गर्दा गर्दै कति जोडी साँच्चैको प्रेममा परे।

तर तीमध्ये केही मात्र विवाह बन्धनमा बाँधिएर जीवनसाथी बने। केही त्यस्ता व्यक्ति पनि छन् जसले विवाह गरेर एक त हुन सकेनन् तर उनीहरूको प्रेमगाथा अमर हुन पुग्यो।

नरगिस र राज कपूरको प्रेम कहानी त्यस्तै थियो। त्यस्तै कडीमा पर्छ अमिताभ-रेखा को प्रेमकथा पनि जसलाई समय क्रमले लुकाउन सक्दैन।

अमिताभ र रेखा को पहिलो भेट

अमिताभ र रेखाको पहिलो भेट अमिताभको जया भादुडीसँग विवाह हुनुभन्दा पहिले सन् १९७२ मा नै भइसकेको थियो।

खासमा निर्माता जीएम रोशन र निर्देशक कुंदन कुमारले अमिताभ-रेखालाई लिएर एउटा फ़िल्म बनाउन सुरु गरेका थिए 'अपने-पराये'। तर केही दिनको सुटिङपछि त्यो फिल्म बन्द भयो।

पछि अमिताभ बच्चनको बदलामा संजय खान र रेखा राखेर उक्त फिल्म 'दुनियाँ का मेला' नाममा बन्यो र सन् १९७४ मा प्रदर्शन भएर फ्लप हुन पुग्यो।

रेखा र अमिताभ सन् १९७३ मा फिल्म 'नमक हराम' का कारण एक साथ आए।

तर यो फिल्ममा रेखा, अमिताभको नभै राजेश खन्नाकी नायिका बनेकी थिइन्। त्यसैले अमिताभ-रेखाबीच खास कुराकानी हुन पाएन।

त्यसबेलासम्म अमिताभ-रेखा एक अर्कासँग अनजान नै रहे।

'दो अनजाने'बाट रेखाले अमिताभलाई चिनिन्

अमिताभ बच्चन र रेखाको जिन्दगीमा ठूलो मोड़ तब आयो जब सन् १९७६ मा निर्माता टीटू र निर्देशक दुलाल गुहाले यी दुईलाई आफ्नो फिल्म 'दो अनजाने' मा खेलाए।

रमाइलो कुरा यो फिल्मका नायक नायिकाको नाम पनि अमित र रेखा नै थियो। यो फिल्ममा रेखा नै नायिका थिइन् तर उनको भूमिका नकारात्मक किसिमको थियो।

रेखा त्यसअघि आफ्नो फिल्ममा त्यति गम्भीर थिइनन्।

हाँसो ठट्टाको शैलीमा काम गर्थिन्। दुवैजना फिल्ममा काम गर्न सन् १९६९ मा मुम्बइ पुगेका थिए तर रेखाले त्यसअघि नै बाल कलाकारका रूपमा फिल्ममा काम गरिसकेकी थिइन्।

अनि, सन् १९७० मा आएको उनको पहिलो फिल्म 'सावन भादो'बाट रेखा हिट भइसकेकी थिइन्।

'सावन भादो' पछि 'दो अनजाने' 'एक बेचारा', 'रामपुर का लक्ष्मण', 'कहानी किस्मत की', 'अनोखी अदा', 'धर्मा', 'धर्मात्मा', 'धर्म कर्म', 'कहते हैं मुझको राजा', 'प्राण जाए पर वचन ना जाए' और 'सन्तान' जस्ता फिल्मबाट उनी लोकप्रिय भइसकेकी थिइन्।

'दो अनजाने' मा अमिताभसँग खेल्ने भनेपछि एक टिभी शोमा आफूलाई अमिताभसँग फिल्म खेल्न अलिकति डर लागेको प्रतिक्रिया उनले दिएकी थिइन्।

आफू केही मामिलामा अमितभन्दा वरिष्ठ भए पनि अमित दिवार फिल्ममा खुब सफल भएको सन्दर्भमा उनले त्यसो भनेकी थिइन्।

"त्यसबेलासम्म मलाई अमितबारे केही थाहा थिएन। किनभने हामीले एकसाथ बसेर कुराकानी गरेकै थिएनौँ। 'दो अनजाने' को सेटमा उनीसँग काम गर्न सुरु गर्दा म आत्तिएकी थिएँ। तर त्यस दौरान उनीबाट धेरै कुरा सिकेँ। फिल्मको सेटमा हुँदा के गर्ने भन्ने मेरो धारणा नै परिवर्तन भयो। त्यसपछि मेरा लागि सेट कहिल्यै पनि खेल मैदान रहेन।"

रेखा अमिताभसँग कसरी प्रभावित भइन्?

त्यसबारे उनले यसो भनेकी थिइन्, "म त्यसअघि कोही पनि आम व्यक्तिबाट कहिल्यै प्रभावित हुँदैनथेँ। तर अमिताभ यस्ता थिए जो मैले पहिले कहिल्यै त्यस्तो देखेकी थिइनँ। म सधैँ सोचिरहन्थेँ कसरी एकजना मानिसमा यति धेरै खुबीहरू हुन सक्छ।

मलाई यस्तो लाग्छ कि जब तपाईँलाई कोही राम्रो लाग्छ उसको हरेक कुरा राम्रो लाग्छ।

मैले जब उनलाई भेटेँ मलाई लाग्यो मैले यसअघि त्यस्तो कोही पनि भेटेकी थिइनँ।

हामी दुवैको राशि तुला हो तर कसरी एक मानिसमा यति धेरै राम्रा कुरा हुन सक्छन्।"

'दो अनजाने' को सुटिङमा अमिताभको काम गर्ने तरिका देखेर रेखा कसरी एकाएक बदलिइन्?

यसबारे रेखाले भनेकी थिइन्, "म त्यसबेला मेरो संवाद भुल्थेँ। त्यसबेला उहाँले मलाई भन्नुभयो 'सुन्नुस त कमसेकम आफ्नो संवाद त सम्झने गर्नुस्।' उहाँ असाध्यै ध्यान र सम्मानकासाथ निर्देशकको कुरा सुन्नुहुन्थ्यो। मैले त्यो पनि उहाँसँग सिकेँ।

मलाई लाग्यो यी व्यक्तिबाट मैले धेरै सिक्नु छ। प्रेरणा लिनुछ। त्यो अवधि नै मेरो जीवन बदल्ने विन्दु रह्यो। म भाग्यमानी थिएँ र बुद्धिमान पनि थिएँ भन्ने कुरा म स्वीकार गर्छु किनभने मैले उनलाई आफ्नो प्रेरणाका लगि चुनेँ। उनी एक यस्ता शिखर अभिनेता हुन् जसका अगाडि उभिनु सजिलो छैन।"

रेखाको कुराबाट स्पष्ट हुन्छ कि उनी अमिताभको अभिनय कौशल, अनुशासन, विनम्र व्यवहार र आफ्नो कामप्रति समर्पण भाव देखेर प्रभावित भइन्। यति प्रभावित कि अमिताभका प्रति उनको भावना प्रेममा बदलियो।

२२ वर्षकी रेखा र ३४ का अमिताभ

अमिताभसँग प्रभावित भएका बेला रेखा २२ वर्षकी थिइन् त अमिताभ ३४ वर्षका थिए। त्यो उमेरमा त्यस्तो परिस्थितिमा त्यस्तो भावनामा अरू मानिस भए पनि त्यसो हुन सम्भव थियो।

एकपटक एक नामी हिरो प्रदीप कुमारले भनेका थिए "आखिर हामी पनि मानिस हौँ। फिल्म सुटिङको दौरान यदि नायक-नायिका एक-अर्कालाई मन पराउँछन् र एक अर्कालाई इज्जत गर्छन् भने फिल्मी दृश्यमा उनीहरू भावुक भइहाल्छन् र त्यही नै प्रेममा बदलिन सक्छ।"

अमिताभ रेखाको यो प्रेम कहानीमा पनि त्यस्तै सङ्केत मिल्छ।

यसको सुरुवात रेखाबाट भयो तर अमिताभ पनि आफ्नो युवा अवस्थामा उनको मोहबाट बच्न सकेनन्।

संयोगवश मेरो अमिताभ बच्चनसँग दो अनजाने फिल्म प्रदर्शन भएपछि नै उनको घरमा भेट भएको थियो।

उनका बाबु डा. हरिवंश राय बच्चनले मलाई अमितको नयाँ फिल्म दो अनजाने राम्रो छ मौका मिले हेर्नुहोला भनेका थिए।

अमिताभ रेखाको फिल्म करिअर शिखरमा चढ्दै गर्दा अखबारहरूमा उनीहरूबीचको प्रेम सम्बन्धबारे खबर छापिने गरेका थिए।

त्यसबारे मैले हिम्मत गरेर हरिवंशजीसँग सोध्दा अखबारहरूले सत्य नभएका समाचार छाप्ने गरेको र त्यसबाट आफूहरू विचलित हुने गरेको बताएका थिए।

यसैबीच सिलसिला फिल्ममा जया, अमित र रेखासँग मुम्बइको एउटा होटेलमा भेट भयो।

जयाजीसँग कुरा गर्दा उनको हावभावमा उनी दुखी या विचलित भएको मलाइ लागेन।

सिलसिलाकै सुटिङका सन्दर्भमा रेखा र जया पनि सहज भावमा कुरा गरिरहेको देखेँ। र कसैले मलाई भन्यो जयाको बिहेभन्दा पहिले देखिनै रेखासँग चिनजान थियो।

अमिताभ रेखाको प्रेम सम्बन्धी खबरको सिलसिला फिल्म सिलसिला रिलिज भएपछि विस्तारै विस्तारै कम हुँदै गयो।

केही वर्षपछि रेखाले एक उद्योगपति मुकेश गुप्तासँग मार्च १९९० मा बिहे गरिन्। तर बिहेपछि मुकेशले आत्महत्या गरे। त्यसबाट रेखामाथि कैयौँ प्रकारका आरोप लागे।

मुकेशको मृत्युपछि पनि रेखा आफ्नो सिउँदोमा सिन्दुर लगाएर प्रकट भएपछि अमिताभ रेखाको प्रेम प्रसङ्गका समाचार फेरि बन्न थाले।

खासमा सिलसिलाका निर्देशक यस चोपडाले अमिताभ, रेखा र जयालाई मुख्य पात्र बनाउने इच्छा प्रकट गरेका थिए।

सो फिल्म प्रेमिका, पत्नी र युवकबीचको प्रेमकथामा आधारित थियो।

एक विशेष व्यक्तिले मलाई बताएअनुसार जया सिलसिलामा काम गर्न तयार हुँदा उनको एक सर्त थियो कि अमिताभले त्यसपछि कहिल्यै रेखासँग कुनै फिल्ममा काम गर्ने छैनन्।

त्यो कुरामा मलाई विश्वास लागेको थिएन। तर सिलसिला उनीहरूको अन्तिम फिल्म सावित भएको छ। सिलसिलापछि रेखाले करिब ८० फिल्म खेलेकी छन् र अमिताभले १५० फिल्म खेलेका छन्।

सिलसिलाबाट टुटेको सिलसिला

सिलसिलाले प्रेम कहानीको सिलसिला टुटाइदियो।

अमिताभले भने रेखासँग प्रेम सम्बन्ध रहेको कहिल्यै स्वीकार गरेनन्। जबकी रेखाले विभिन्न मन्चमा कहिले ठट्टा गर्दै त कहिले गम्भीर रूपमा आफ्नो सम्बन्ध जाहेर गर्दै आएकी छन्।

पछिल्लो करिब ४२ वर्षदेखि उनले सिउँदोमा सिन्दुर र गलामा मङ्गल सूत्र लगाउँदै आएकी छन्।

अमिताभले प्रेम सम्बन्ध अस्वीकार गरेको कुरा रेखासँग फिल्मफेयर पत्रिकाका लागि सोधिएको थियो।

रेखाले अमिताभले आफ्ना श्रीमती र बच्चाहरूलाई असर नपरोस् भनेर त्यसरी अस्वीकार गर्ने गरेको बताएकी थिइन्। तर उनले आफूले भने अमिताभलाई सारा संसारभन्दा बढी प्रेम गर्ने बताएकी थिइन्।

अमिताभले अब रेखासँग कुनै फिल्म नगर्ने भन्ने थाहा पाएपछि आफूलाई अमिताभले दिएका दुई औँठी फिर्ता दिएको रेखाले स्टारडस्ट पत्रिकालाई बताएकी थिइन्।

यति कुरा भनिसकेपछि पनि अमिताभ र रेखाबीच कुनै सम्बन्ध थिएन भन्छन् भने अमिताभ सार्वजनिक समारोहमा किन रेखाका अगाडि पर्दैनन्?

रेखाले फिल्म समारोहमा जया बच्चनसँग अनि अभिषेक र ऐश्वर्यासँग भेट्छिन तर अमिताभको नजिक पुग्दा पुग्दै अमिताभ यता उता लागिहाल्छन्।

सन् २०२१ को इन्डियन आइडल कार्यक्रममा आउँदा पनि रेखाले अमिताभलाई प्रेम कायमै रहेको जनाएकी थिइन्।

सन् १९८६ मा बीबीसी उर्दूलाई दिएको एक अन्तरवार्तामा रेखालाई एक गीत गाउन भनिएको थियो।

रेखाले मेहदी हसनको गजल गाएर आफ्नो दुख यसरी झल्काएकी थिइन् "मुझे तुम नज़र से गिरा तो रहे हो, मुझे तुम कभी भुला ना सकोगे। ना जाने मुझे क्यूँ यकीं हो चला है, मेरे प्यार को तुम मिटा ना सकोगे।"

तर अमिताभले साहिर लुधियानवीका शब्दहरू सापटी लिन उपयुक्त ठाने, "त्यो कुरा जसलाई गन्तव्यसम्म पुर्‍याउन सकिँदैन, त्यसलाई एउटा मिठो मोडमा पुर्‍याएर छोडिदिनुपर्छ।"