तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अमिताभ बच्चन: सयौँ भारतीय किसानको ऋण फर्स्योट
भारतीय चलचित्र उद्योग बलिउडमा महानायक भनेर चिनिएका अमिताभ बच्चनले सयौँ किसानहरूको ऋण तिरिदिएका छन्।
आफूले चार करोड भारतीय रुपैयाँभन्दा बढी रकम तिरेर १,३९८ किसानलाई ऋणमुक्त गराएको उनले जनाएका छन्।
मङ्गलवार आफ्नो ब्लगमा उनले त्यसबाट आफूलाई केही गरेको अनुभूति भएको लेखेपछि त्यसबारे थाहा भएको हो।
उनले सघाएका किसानहरू उत्तर प्रदेश राज्यका हुन्।
ऋणको बोझ
बच्चनको जन्म पनि सोही राज्यमा भएको हो।
भारतमा हजारौँ किसानहरू ऋण तिर्न नसक्ने अवस्थामा छन्।
सुख्खा, भूमिगत पानीको सतहमा क्षय, उत्पादनमा कमी र कृषिमा आधुनिकीकरणको अभावका कारण दशकौँदेखि भारतीय कृषि उद्योग प्रभावित भएको छ।
सन् १९९५ देखि कम्तीमा पनि तीन लाख किसानले आत्महत्या गरेका छन्।
बच्चनले यो वर्ष पहिला पनि महाराष्ट्र राज्यका ३५० किसानको ऋण तिरिदिएका थिए।
गत वर्ष ऋण मिनाहा हुनु पर्ने र कृषि उत्पादनको मूल्य राम्रो हुनुपर्ने मागसहित त्यहाँ हजारौँ किसानहरूले विशाल प्रदर्शनहरू गरेका थिए।
कागजपत्र
७६ वर्षीय बच्चन भारतका उत्कृष्ट र लोकप्रिय कलाकार हुन्।
उनले सरकारी स्वामित्वमा रहेको ब्याङ्क अफ इन्डियालाई ती किसानको तर्फबाट ऋण तिरिदिएका हुन्।
उनका अनुसार सो ब्याङ्कले किसानहरूको ऋण फर्स्योट गरेको प्रमाणपत्र जारी गरेको छ।
उनले लेखेका छन्, "म व्यक्तिगत रूपमै उनीहरूको ऋण तिरिएको जानकारी दिन चाहन्छु।"
सबै किसानलाई आफू बस्ने मुम्बई सहरमा ल्याउन असम्भव भएकाले तीमध्ये ७० जना लखनऊबाट रेलमा आउने उनले लेखेका छन्।
उनीहरू नोभेम्बर २६ सोमवार मुम्बई पुग्ने अपेक्षा गरिएको छ।
बच्चन आफैँले उनीहरूलाई कागजपत्र हस्तान्तरण गर्नेछन्।
पुरानो विवाद
बच्चन केही वर्ष पहिला एउटा जग्गा विवादमा परेका थिए।
सन् २००७ मा अदालतले ९० हजार स्क्वायर फुट क्षेत्रफल भएको एउटा जग्गा अनधिकृत रूपमा उनको स्वामित्वमा पुगेको निर्णय सुनाएको थियो।
बच्चनले जालसाजीको मुद्दा खेप्नु परेको थियो।
तर जग्गामाथि स्वामित्वको दाबी त्यागेपछि उनीविरुद्ध लगाइएका अभियोगहरू फिर्ता भएका थिए।
बच्चनले १ सय ९० भन्दा बढी चलचित्रमा अभिनय गरेका छन्।
उनी हलिउडका केही चलचित्रमा पनि देखा परेका छन्।
बच्चनले लोकप्रिय टीभी कार्यक्रम 'कौन बनेगा करोडपति' सञ्चालन गर्दै आएका छन्।