तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारतीय कृषकहरुको विरोध स्थगित
खडेरीग्रस्त भारतीय कृषकहरुले उनीहरुको माग पुरा हुने आश्वासन पाएपछि करिब एक महिनादेखि गर्दै आएको विरोध प्रदर्शन स्थगित गरेका छन्।
राजधानी दिल्लीमा करिब एक महिनादेखि दक्षिणी राज्य तमिलनाडुका सयभन्दा बढी कृषकले मानिसहरुको ध्यान्न तान्ने विभिन्न क्रियाकलाप गर्दै विरोध प्रदर्शन गरिरहेका थिए।
कृषकलाई दिएको ऋण मिनाहा गर्नुपर्ने र उनीहरुका लागि राहत कोष स्थापना गर्नुपर्ने जस्ता माग राख्दै ती कृषकहरु विरोधमा उत्रिएका हुन्।
उनीहरुले मानिसको खप्पर हातमा लिएर समेत प्रदर्शन गरेका थिए।
प्रदर्शन
त्यस्तै कतिपय किसानले मुखमा जिउँदो मुसा पनि च्यापेका थिए।
कसैले आफ्नो कपाल आधा खौरने र हात काट्ने जस्ता विभिन्न गतिविधि गरेर पनि विरोध जनाएका थिए।
विगत ४० दिनदेखि भारतको राजधानी दिल्लीको जन्तरमन्तर वेधशालामा त्रिपाल गाडेर धर्ना बसेका ती कृषकलाई आइतबार तमिलनाडुका मुख्यमन्त्री इ पलानिस्वामीले उनीहरुको माग पूरा गर्ने आश्वासन दिएपछि कृषकहरुले विरोध प्रदर्शन स्थगित गरेका हुन्।
कृषक युनियनले उनीहरुको माग मे २५ सम्ममा सम्बोधन नभए फेरि आन्दोलन शुरु गर्ने बताएको छ।
खडेरीका कारण तमिलनाडुले केही दशकयताकै सबैभन्दा खराब कृषि संकट बेहोरिरहेको छ।
आत्महत्या
पानीको हाहाकारका कारण कृषि क्षेत्रमा औपचारिक ऋण लिन कृषकहरुको पहुँच कम हुँदै गएको छ।
सरकारी तथ्याङ्कका अनुसार अक्टोबरदेखि खडेरीग्रस्त जिल्लाका ५० भन्दा बढी कृषकले ऋणको बोझ धान्न नसकेर आत्महत्या गरेका छन्।
तर एक स्थानीय कृषक संघले २५० भन्दा बढी कृषकले आत्महत्या गरेको दावी गर्दै आएको छ।
कृषकहरुले पर्याप्त हुने गरी खडेरी राहत कोष स्थापना गर्नु पर्ने माग गर्दै आएका छन्।
साथै बृद्ध कृषकहरुलाई पेन्सन दिने, उनीहरुले तिर्नपर्ने ऋणको किस्ता मिनाहा गर्ने र बालीको राम्रो मूल्य पाउनुपर्ने माग राखेका थिए।