सुस्मिता सेन: ललित मोदीले तस्बिर सार्वजनिक गरेपछि यी बलीवुड अभिनेत्रीबारे सुरु भएको उपहासको अर्थ के हो

    • Author, गीता पाण्डे
    • Role, बीबीसी न्यूज, दिल्ली

भारतमा निकै मन पराइएकी सुन्दरी अहिले सामाजिक सञ्जालमा चर्चाको केन्द्रबिन्दुमा छिन्।

सुस्मिता सेन 'मिस यूनिभर्स' उपाधि जित्ने प्रथम भारतीय हुन्। उनले सन् १९९४ मा उक्त उपाधि हात पारेकी थिइन्। पछि उनी बलीवुडमा सफल अभिनेत्री बनिन्।

छयालीस वर्षीया सेनले झन्डै तीन दर्जन चलचित्रमा अभिनय गरेकी छन्।

पछिल्लो पटक चर्चामा रहेको वेब सिरीज 'आर्या'मा उनी मुख्य भूमिकामा देखा परेकी थिइन्।

वाक्पटु र बौद्धिक व्यक्तिका रूपमा चिनिले सेनले कैयौँ प्रतिष्ठित चलचित्र अवार्डहरू पाएकी छन्। उनी "शक्तिशाली महिला"का रूपमा चिनिन्छिन्।

तर गत बिहीवार बेलुकादेखि उनले गरेका योगदानहरू सबैले बिर्से जस्तो देखिन्छ।

ललित मोदीसँगको सम्बन्ध

त्यस दिन विश्वकै सबैभन्दा धनी क्रिकेट प्रतियोगिता इन्डियन प्रीमीअर लीग (आईपीएल) का संस्थापक ललित मोदीले सामाजिक सञ्जालमा सेनसँग आफू प्रेम सम्बन्धमा रहेको खुलासा गरेका थिए।

तत्पश्चात् सामाजिक सञ्जालमा सेनलाई लक्ष्य गरेर भद्दा र स्त्रीद्वेषी ठट्यौलीको बाढी नै आएको छ।

ललित मोदी पनि सार्वजनिक व्यक्तित्व हुन्।

उनी व्यापक रूपमा सफल भएको आईपीएलको रूपरेखा तयार पार्ने एक मुख्य व्यक्ति हुन्।

एक दशकअघि भारतको क्रिकेट बोर्ड बीसीसीआईले आर्थिक अनियमितताको आरोप लगाउँदै उनलाई निलम्बन गरेपछि उनी त्यस बेला समाचारमा छाएका थिए। उनले आफूमाथि लागेका सबै किसिमका आरोप सधैँ अस्वीकार गर्दै आएका छन्।

मोदी एक दशकदेखि लन्डनमा बसोबास गर्दै आएका छन्।

उनले सेनसँग हालै माल्दिभ्स र इटलीको सार्दिनिया टापुमा बिदा मनाएका रमाइला तस्बिरहरू सामाजिक सञ्जालमा राखेका थिए।

उनले सेनलाई "बेटर हाफ" अर्थात् "अर्धाङ्गिनी" भन्दै तस्बिर साझा गरेपछि मोदी र सेनबीच विवाह भएको हल्ला चल्यो।

त्यसपछि उनले त्यसलाई सच्च्याउँदै "माई बेटर लुकिङ पार्ट्नर" अर्थात् "मेरी राम्री सहयात्री" भनेर सच्च्याए।

मोदीकी पत्नीको सन् २०१८ मा क्यान्सरका कारण मृत्यु भएको थियो। उनीहरूको वैवाहिक जीवन झन्डै तीन दशक चलेको थियो।

उनका भनाइमा सेनसँगको उनको सम्बन्ध भनेको "एउटा नयाँ आरम्भ, अन्तत: एउटा नयाँ जीवन" हो। त्यसबाट आफू एकदमै "प्रसन्न र रोमाञ्चित" भएको मोदी बताउँछन्।

भाइरल पोस्ट

एकाएक उनको पोस्ट भाइरल बन्यो। त्यसलाई समाचार बेवसाइटहरूले छापे र उनीहरुलाई बधाई सन्देशको ओइरो लाग्यो।

उक्त सम्बन्धका कारण सामाजिक सञ्जालमा उनीहरूप्रति व्यापक खिसीटिउरी भएको छ।

'ट्रोल' गर्नेले ती दुई जनाबीच उमेरको अन्तर र मोदीको रूपबारे टिप्पणी गरेका छन्। उनीहरूले मोदीले "भगौडा" को सङ्ज्ञा दिएका छन् अनि सेनलाई ट्विटरमा सही रूपमा ट्याग नगरेको भन्दै आलोचना गरेका छन्।

तर सेनमाथि निकै निकृष्ट टिप्पणीहरू गरिएको छ। उनको नाम सामाजिक सञ्जालमा ट्रेन्डिङमा परेको छ।

धेरैले उनलाई "लोभी" र "गोल्ड डिगर" अर्थात् "धुताहा" भनेर टिप्पणी गरेका छन्।

उनीहरूले सेनलाई ललित मोदीसँग धेरै सम्पत्ति भएकाले त्यसको लोभमा उनीसँग सम्बन्ध बनाएको आरोप लगाएका छन्।

त्यस्तो आलोचना गर्नेमा बाङ्ग्लादेशी लेखिका तथा अधिकारकर्मी तसलिमा नसरिन पनि छिन्।

उनले "एकदमै आकर्षण नभएका व्यक्तिसँग" सेनले समय बिताएकोमा आफू आश्चर्यमा परेको लेखेकी छन्।

उनले प्रश्न गरेकी छन्, "के ती व्यक्ति धेरै धनी भएकाले हो? त्यसो भए उनी पैसामा बिकेकी हुन्?"

लेखक तथा समाचार वेबसाइट आर्टिकल फोर्टीनकी लैङ्गिक मामिलासम्बन्धी सम्पादक नमिता भण्डारे त्यस्ता खालका आलोचना "निकै समस्याकारी" रहेको बताउँछिन्।

उनी भन्छिन्, "वयस्कहरूबीच राजीखुसी कस्तो सम्बन्ध बन्छ भन्ने अरूको चासोको विषय होइन र यसरी ट्रोल गर्नु वा कसैप्रति औँला उठाउने कुरा भनेका समस्याकारी हुन्।"

"यो भनेको महिलाका लागि एकदमै खराब कुरा हो किनकि यसले महिलामाथि अपमानको भारी बोकाउँदै औँला तेर्स्‍याउन कति सहज छ भन्ने देखाउँछ।"

अपरम्परागत जीवनशैली

सेन चर्चित हस्ती भएको र उनको सबै कदमबारे चासो हुने भएकाले उक्त सम्बन्धले चर्चा पाउनु अनपेक्षित भने थिएन।

उनले चुनेको "अपरम्परागत" जीवनका कारण पनि उनी प्राय: चर्चामा रहने गर्थिन्।

मिस यूनिभर्स बनेको केही वर्षपछि उनी २४ वर्षकी मात्र हुँदा सेनले एक एकल आमाकी छोरीलाई धर्मपुत्रीका रूपमा स्वीकारेकी थिइन्। त्यसको केही वर्षपछि उनले अर्की त्यस्तै बालिकालाई पनि धर्मपुत्री बनाइन्।

उनी नियमित रूपमा आफ्ना धर्मछोरीहरूसँग खिचेका तस्बिर साझा गर्छिन्।

उनले कहिल्यै पनि आफ्नो सम्बन्ध लुकाइनन्।

उनले आफ्ना कतिपय सहकर्मी अभिनेतासँग प्रेम सम्बन्ध राखिन् र पछिल्लो पटक उनी मोडल रोहमन शलसँग त्यस्तो सम्बन्धमा थिइन्।

उनीहरूबीचको सम्बन्ध गत वर्ष मात्र टुङ्गिएको थियो।

भण्डारेका भनाइमा उनको प्रेम सम्बन्धबारेका हल्ला र गसिपहरू "पेजथ्री र गसिप ट्याब्लोइड"मा मात्र सीमित थिए।

त्यसैले मोदीले आफ्नो सम्बन्ध सार्वजनिक गर्दा भारतमा यत्रो धेरै चर्चा पाउला भन्ने नसोचेका हुनसक्छन्।

"बिहीवार उनले ट्विटरमार्फत् तरङ्ग पैदा गरिदिए। तर उनी लन्डनमा साधारण जीवन व्यतीत गरिरहेका छन्। त्यसैले गर्दा सबैको ध्यान सेनतिर गएको छ। सबै जना उनकै बारेमा चर्चा गरिरहेका छन्।"

यद्यपि सेनले सामाजिक सञ्जालमा धेरै समर्थन पनि पाएकी छन्।

कैयौँले उनले विगतमा एकदमै कम पैसा भएका पुरुषसँग सम्बन्ध राखेको तर कसैले पनि ती पुरुषलाई "धन धुत्न" उनीसँग सम्बन्ध राखेको भनेर प्रश्न नगरेको भनेका छन्।

तर सेन र मोदीको सम्बन्धबारे अनावश्यक छानबिन र टिप्पणी गर्नेहरूले सेनको मनसायमाथि प्रश्न गर्ने खालका मीमहरू र चुट्किलाहरू बनाएर पनि सामाजिक सञ्जालमा साझा गरेका छन्।

त्यस्ता कुराहरू ह्वाट्सएपमार्फत् पनि फैलिएका छन्।

सुस्मिता सेन के भन्छिन्?

सेनले आइतवार राति इन्स्टाग्राममा एउटा पोस्ट लेख्दै त्यसबारे प्रतिक्रिया दिएकी छन्।

उनले लेखेकी छन्, "हामी वरपरको संसार कति दयालाग्दो र दु:खी बन्दै गइरहेको छ, यो हृदयविदारक छ।"

"मैले कहिल्यै नभेटेका र नचिनेका साथीहरू… सबैले आफ्ना मेरो जीवनको गहिरो ज्ञान र चरित्रबारे महान् विचारहरू साझा गरिरहेका छन्… त्यसलाई कमाउने धन्दा बनाउँदै मलाई 'गोल्ड डिगर' भन्दै… आहा! यी प्रतिभाशालीहरू!!!"

उनले पैसाका लागि मोदीसँग सम्बन्ध बनाएको भन्नेहरूलाई त्यसमा जबाफ दिएकी छन्।

सेनले लेखेकी छन्, "म सुनभन्दा पनि बहुमूल्य कुरा खोज्छु… र म सधैँ (चर्चित रूपमा) हीरा नै खोज्छु र हो, अहिले पनि म आफैँ त्यो किन्छु।"

उनको उक्त प्रतिक्रियालाई भारतमा धेरैले समर्थन पनि गरेका छन्।

"ह्वाट्सएपका ठट्टा र टिप्पणीहरू घीनलाग्दा छन्। महिलाको उपहास गर्नुपर्छ भन्ने परम्परागत दुर्भावनाअनुसार नै ती भइरहेका छन्," भण्डारे भन्छिन्।

"तर सेनले धेरै परिपक्वता र विनयका साथ प्रतिक्रिया दिएकी छन्। उनले समर्थन गर्नेहरूलाई प्रेम पठाइन् र समर्थन नगर्नेहरूलाई पनि शुभकामना दिइन्।"