रणवीर कपुर र आलिया भट्ट: एउटा विवाहले कसरी भारतीय चलचित्र क्षेत्रको सोच परिवर्तन भएको देखाउँछ

भारतीय अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुरबीच बिहीवार हुने विवाहबारे व्यापक चर्चा भइरहेको छ।

यी दुवै कलाकारको नाम ट्विटरलगायत अन्य सामाजिक सञ्जालमा ट्रेन्डिङमा छ। दर्शक तथा शुभचिन्तकहरूले उनीहरूलाई शुभकामना दिइरहेका छन्।

हुन त विवाह कुनै व्यक्तिको निजी जीवनसँग जोडिएको विषय हो तर यो विवाहको केही फरक महत्त्व छ। किनकि एक समय थियो जब हिन्दी चलचित्रका अभिनेत्रीहरूले विवाह र करिअरमध्ये एउटा मात्र रोज्न पाउँथे।

पछिल्ला केही वर्षमा करिना कपुर, अनुष्का शर्मा, दीपिका पादुकोण, प्रियङ्का चोपडा, कट्रिना केफ र अहिले आलिया भट्टको विवाहले यसलाई केही सामान्यीकरण गरिदिएको छ।

तर ८० को दशकदेखि नयाँ शताब्दीको पहिलो दशकसम्म केही यस्ता घटनाक्रम भए जसमा अभिनेत्रीहरूको विवाह र मातृत्वका कारण करिअरमा आएको उतारचढाव प्रस्ट देखाउँछ।

नब्बेको दशकमा करिअरको शिखरमा रहेका माधुरी दीक्षित र जुही चावला त्यसको उदाहरण हुन्।

विवाहपछि सफल भए अभिनेत्रीहरू

एकपछि अर्को चर्चित चलचित्र सफल हुँदै गर्दा जुही चावलाकी आमाको निधन भयो। अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेकी उनको भेट जय मेहतासँग भयो। उनले मेहतासँग गोप्य रूपमा विवाह गरिन्।

वर्षौँपछि मात्र उनले आफ्नो विवाहको बारेमा खुलेर कुरा गरिन्।

एक अन्तर्वार्तामा उनले भनेकी थिइन्, "त्यति बेला मैले चलचित्र उद्योगमा अलग पहिचान बनाएकी थिएँ र मेरो काम राम्रो भइरहेको थियो। त्यति बेलै जय मेरो जिन्दगीमा आए। मलाई मेरो करिअर डुब्ने डर थियो। म काम गरिरहन चाहन्थेँ र लाग्यो विवाह लुकाउनु नै उचित उपाय हुनेछ।"

किन एक अभिनेत्रीले आफ्नो पहिचान जोगाउन विवाहलाई गोप्य राख्न पर्‍यो?

समकालीन अभिनेता आमिर खान र शाहरुख खानलगायत कसैले पनि आफ्नो वैवाहिक जीवनबारे लुकाउनु परेन।

वरिष्ठ पत्रकार भारती दुवेले असीको दशकदेखि सन् २०१० सम्म विवाहपछि अभिनेत्रीको करिअर सकिने विश्वास स्थापित भएको बताइन्।

जबकि असीको दशकभन्दा पहिले विशेषगरि ५०, ६० र ७० को दशकका हिन्दी चलचित्रका अभिनेत्रीहरू ज्यादा स्वतन्त्र देखिन्थे।

उदाहरणका लागि ५० को दशकमा नागिन र हम लोगजस्ता चलचित्रबाट अभिनय यात्रा सुरु गरेर नूतन सन् १९५२ मा मिस इन्डिया बनिन्।

सन् १९५९ मा नूतनले रजनीश बहलसँग विवाह गरिन्।

उनको करिअरलाई नियाल्ने हो भने उनका छलिया, बन्दिनी, सरस्वती चन्द्र, मिलन, सौदागर, मे तुलसी तेरे आँगन कीजस्ता उत्कृष्ट चलचित्रहरू विवाहपछि सार्वजनिक भए। यी चलचित्रहरूका लागि थुप्रै पुरस्कार जितेकी उनले लामो समय चलचित्र उद्योगमा सक्रिय रहिन्।

नूतनकी साथी समेत रहेकी कलाकार मीना कुमारीले पनि पचासको दशकमा कमाल अमरोहीसँग विवाह गरिन्।

विवाह पछिको करिब १५ वर्ष उनले उत्कृष्ट भूमिकाहरू निर्वाह गरिन्। विवाहपछि चलचित्र क्षेत्रमा सक्रिय रहेकै कारण उनको वैवाहिक जीवनमा फाटो आएको हल्ला समेत थियो।

सत्तरीको दशकसम्म त शर्मिला ट्यागोरजस्ता अभिनेत्रीको समय आयो। सन् १९६९ मा सार्वजनिक चलचित्र आराधना अधिक चर्चामा आयो। त्यसको तीन महिनापछि उनले मन्सूर अली पटौदीसँग विवाह गरिन्।

शर्मिलाले पनि अमर प्रेम, मौसम, सफर, दाग, आविष्कार र चुपके चुपकेजस्ता सफल चलचित्रहरू विवाह पछि नै गरेकी हुन्। चलचित्र सफरको छायाङ्कन ताका त उनी गर्भवती थिइन्।

करिअरको विकल्प बन्यो विवाह

तर ८० को दशकदेखि नयाँ शताब्दीको पहिलो दशकसम्म केही यस्ता घटनाक्रम भए जसमा अभिनेत्रीहरूको विवाह र मातृत्वका कारण करिअरमा आएको उतारचढाव आएको देखिन्छ।

यो त्यस समय थियो जब चलचित्र "एङ्ग्री योङ मेन" बनेका अभिनेता केन्द्रित हुन्थ्यो या अभिनेत्रीको भूमिका रोमान्समै सीमित रहन थालेको थियो।

नीतु कपुरले ऋषि कपुरसँग विवाह गरेपछि चलचित्रमा काम गर्न छाडिन्।

करिश्मा र करिना कपुरलाई पनि कपुर खानदानका छोरीहरूले विवाहपछि चलचित्र क्षेत्र छोड्नु पर्ने बताइएको थियो।

पत्रकार दुवे भन्छिन्, "एक समय यस्तो आयो जब अभिनेत्रीहरूका लागि विवाह गरेर करिअर बनाउनु असम्भव थियो। त्यति बेला उनीहरूले विवाह गरेपछि वर्षौँसम्म वैवाहिक सम्बन्धलाई गोप्य राख्थे।"

दुवेका अनुसार निर्माताहरूले विवाह गरेका अभिनेत्रीलाई चलचित्रमा भूमिका दिँदैनथे। केही अभिनेत्री विवाहपछि चलचित्र क्षेत्रमा फर्किए पनि उनीहरूले सकारात्मक प्रतिक्रिया पाएनन्।

तर पछिल्लो समयका अभिनेत्रीहरूले त्यस परम्परागत मान्यतालाई भत्काउँदै छन्।

विवाहपछि पनि कट्रिना केफ र दीपिका पादुकोण यसै क्षेत्रमा सक्रिय छन्।

प्रियङ्का चोपडाले त यस्तो समयमा विवाह गरिन् जब उनको करिअर भारतमा मात्र सीमित नभई अङ्ग्रेजी फिल्ममा पनि बिस्तार भइरहेको थियो।

सन् २०१२ मा विवाह गरेकी करिना कपुर अहिलेसम्म काम गरिरहेकी छन्।

अहिले उनका भाइ रणवीर कपुरसँग वैवाहिक सम्बन्ध गाँस्न लागेकी अभिनेत्री आलिया भट्ट पनि सफल अभिनेत्रीको रूपमा सक्रिय छिन्।

रणवीर र आलियाको विवाह

रणवीर र आलियाको विवाहको चर्चा चार वर्षदेखि निरन्तर चलिरहेको छ।

बुधवार नीतु कपुरले आफ्नो छोरा र भट्टको विवाह हुने खबर पुष्टि गरेकी हुन्। सोही दिन मेहेन्दी लगाउने परम्परासँगै वैवाहिक समारोह सुरु भयो।

मुम्बईमा हुन लागेको विवाहमा दुवै परिवारका निकट मानिसहरू सहभागी हुँदै छन्।

रणवीर र भट्टको पहिलो सहकार्य रहेको चलचित्र ब्रह्मास्त्र यसै वर्षको अन्त्यमा सार्वजनिक हुँदै छ।

उनीहरूलाई अमिताभ बच्चन र करण जोहरलगायतले सामाजिक सञ्जालमार्फत शुभकामना दिएका छन्।