तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
महारानी एलिजाबेथ अन्तिम संस्कार: नेपालमा दिवङ्गत ब्रिटिश महारानीका लागि प्रार्थना
महारानी एलिजाबेथ द्वितीयाको अन्तिम संस्कार गरिने दिन सोमवार काठमाण्डूको बौद्धस्थित सेतो गुम्बामा उनको आत्माको चिर शान्तिको कामना गर्दै भिक्षुहरूले प्रार्थना गरेका छन्।
महारानीप्रति सम्मान प्रकट गर्ने क्रममा त्यहाँ बौद्धधर्मका मन्त्रोच्चारण गरिनुका साथै दीप प्रज्वलन गरिएको थियो।
त्यस क्रममा नेपालका लागि ब्रिटिश राजदूत निकोला पोलिट र गोर्खा समुदायको प्रतिनिधित्व गर्दै महारानीको अर्डर्लीका रूपमा काम गरेका भीमबहादुर गुरूङले बत्ती बालेका थिए।
त्यसअघि सोमवार बिहानै काठमाण्डूको गोदावरीमा महारानी एलिजाबेथ द्वितीयाले सन् १९८६ मा नेपाल भ्रमण क्रममा रोपेको एउटा वनस्पतिमा समेत पुगेर महारानीप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको थियो।
फूल चढाउँदै त्यहाँ एक हिन्दू पण्डितद्वारा मन्त्रोच्चारण गराइएको थियो।
त्यहाँ पाइपरद्वारा पाइप बजाउँदै दुई मिनेट मौनधारण पनि गरिएको सहभागी भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूले बताए।
सहभागी
ती समारोहमा नेपालका लागि ब्रिटेनकी राजदूत, गोर्खा सैनिकका प्रतिनिधि तथा भूतपूर्व गोर्खा सैनिक, महारानी राष्ट्राध्यक्ष भएका देशका प्रतिनिधिहरू, नेपाल सरकारका प्रतिनिधिहरू तथा नेपाल-ब्रिटेन समुदायका सदस्यहरू उपस्थित थिए।
सोमवार ब्रिटिश राजदूतावासले काठमाण्डूमा भूतपूर्व गोर्खा सैनिक तथा उनीहरूका परिवारजन सहितका लागि महारानीको अन्तिम संस्कार समारोहको प्रत्यक्ष प्रसारण देखाउने व्यवस्था मिलाएको छ।
गोर्खा सैनिकका रूपमा नेपालीहरूले दुई शताब्दीभन्दा बढी समयदेखि ब्रिटेनका लागि काम गरेका छन्।
महारानी आफ्ना पति राजकुमार फिलिपका साथ सन् १९६१ र सन् १९८६ मा गरी दुई पटक नेपाल भ्रमणमा आएकी थिइन्।
भीसी विजेताको घरमा शोकपुस्तिका
आइतवार नेपालका लागि ब्रिटिश राजदूत पोलिट शोकपुस्तिका लिएर झापाको दमकस्थित भिक्टोरिया क्रस विजेता ब्रिटिश गोर्खा रामबहादुर बेघा लिम्बुको घर पुगेकी थिइन्।
लिम्बु अहिले ८८ वर्षका भए।
लिम्बुले महारानीले आफूलाई व्यक्तिगत रूपमा चिन्ने गरेको स्मरण राजदूतसँग गरेका थिए।
प्रत्येक दुई वर्षमा दरबारले गर्ने गरेको भीसीहरूको जमघटमा 'रामबहादुर, के छ तिम्रो खबर ?' भनेर महारानी सोध्ने गरेको राजदूत पोलिटसँगै लिम्बुको घरमा पुगेका भूतपूर्व ब्रिटिश सैनिक प्रेम मुकारुङ राईले बताए।
उनले भने, "व्यक्तिगत रूपमा चिन्ने महारानीको निधनले आफूलाई अत्यन्त दुःख लागेको कुरा उहाँले शोकपुस्तिकामा लेख्नुभएको छ।"
कोभिड महामारीका कारण प्रत्येक दुई वर्षमा हुने भीसीहरूको भेला हुन सकेको छैन।
तर महारानीको स्वास्थ्यस्थिति गाह्रो भएका बेला पनि दरबारबाट 'तपाईँको स्वास्थ्य राम्रो छ भने महारानीलाई भेट्न आउनू' भनेर खबर आएको लिम्बुले स्मरण गरेको मुकारुङले बताए।
यो पनि हेर्नुहोस्