तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
महारानी एलिजाबेथ द्वितीयाः ब्रिटेनमा राजपरिवारको शोकमा किन २१ तोपको सलामी दिइन्छ र झण्डा आधा झुकाइन्छ
ब्रिटिश राजपरिवार संलग्न धेरै कुरामध्ये राष्ट्रप्रमुखको निधनको दुःखद बेलालाई निर्देशित गर्ने विभिन्न परम्परा र परिपाटीहरू हुन्छन्।
सेप्टेम्बर ८ मा महारानी एलिजाबेथ द्वितीयाको निधनपछि शाही शोकको समय निर्धारण गरियो जुन उनको अन्तिम संस्कार सकिएपछिको सात दिनसम्म चल्छ।
ब्रिटेनमा सबैभन्दा लामो समय शासन गर्ने महारानीको निधनपछि अनुसरण गरिएको परम्परापछाडि केही इतिहास छ। तीमध्ये धेरैजसो अहिले संसारभरि चर्चित छन्।
झण्डा आधा झुकाउने
औपचारिक रूपमा शोक प्रकट गर्ने एउटा प्रारम्भिक तरिका भनेको सरकारी र राजपरिवारसँग सम्बद्ध भवनहरूमा झण्डा आधा झुकाउनु हो।
आधा झुकाउने भनिए पनि झण्डालाई टाँगिने बिन्दुभन्दा दुईतिहाइले तल झारिन्छ।
यो परम्परा सत्रौँ शताब्दीदेखि सुरु भएको विश्वास गरिन्छ। झण्डा तल झारेर त्यसमाथि साङ्केतिक रूपमा "मृत्युको अदृश्य झण्डा"का लागि ठाउँ खुल्ला पार्ने ठानिन्छ।
यो अभ्यास पानीजहाजमा क्याप्टेन वा वरिष्ठ अधिकृतको मृत्यु हुँदा उनीहरूलाई सम्मान प्रकट गर्न थालिएसँगै सुरु भएको थियो।
त्यहाँ पानीजहाजका बाँकी चालकदलले झण्डा झुकाएर दिवङ्गत व्यक्तिप्रति सम्मान प्रकट गर्ने गर्थे।
रोचक पक्ष के छ भने त्यो नियम रोयल स्ट्यान्डर्ड झण्डाको हकमा लागु हुँदैन।
शासन गर्ने राजा वा रानीको उपस्थितिलाई सङ्केत गर्नेगरी शाही झण्डा फहराइएको हुन्छ।
महारानी एलिजाबेथ द्वितीयाको मृत्युलगत्तै राजकुमार चार्ल्स स्वत: राजा चार्ल्स तृतीय बनेको हुनाले राजतन्त्रले निरन्तरता पाएको हुँदा त्यो कहिल्यै आधा झुकाइँदैन।
यूकेमा अन्य झण्डाहरू महारानीको महारानीको राजकीय अन्तिम संस्कार सकिएको भोलिपल्टको ८ बजे बिहानसम्म आधा झुकाइनेछ।
सेप्टेम्बर १० मा औपचारिक रूपमा राजा घोषणा हुने दिन भने त्यो अपवादको रूपमा रहन्छ।
त्यस दिन भने झण्डाहरू कैयौँ घण्टासम्म पूरा फहराएर पुनः आधा झुकाइनेछ।
तोपको सलामी
शाही शोकसँगै जोडिएको अर्को परम्परा भनेको तोपको सलामी हो।
ब्रिटिश सेनासम्बन्धी इतिहासकारहरूका अनुसार उक्त अभ्यास पन्ध्रौँ शताब्दीमा सुरु भएको हो।
त्यतिखेर विदेशी बन्दरगाहमा पुग्ने युद्धपोतहरूले समुद्रतर्फ तोप हानेर आफूहरू शान्तिपूर्ण नियतले आएको र आफ्ना हतियारहरू खाली रहेको सङ्केत गर्थे।
सन् १७३० मा रोएल नेभीले केही अवसरहरूमा तोपको सलामी प्रयोग गर्न थालिसकेको थियो। तर सन् १८०८ सम्ममा त्यो राजपरिवार र अन्य राष्ट्रप्रमुखका लागि अनिवार्य बनिसकेको थिएन।
कति तोपको सलामी दिने भन्ने कुरा कहाँबाट त्यो पड्काइएको छ र कुन अवसरमा पड्काउन लागिएको भन्नेमा निर्भर रहन्छ।
सन् १८२७ मा बोर्ड अफ ओर्ड्नन्स भनिने एउटा सैन्य समितिले ४१ तोपको शाही सलामीका उचित हुने जनाएको थियो। उसले लन्डनको रोयल पार्क्स वा टावर अफ लन्डनबाट प्रहार गरिने तोपको हकमा त्यसो भनेको थियो।
तर केही अवसरहरूमा र केही स्थानमा ६२ तोपको सलामी पनि दिइन्छ।
बन्दुकको सलामी महारानी एलिजाबेथ द्वितीयाको निधनको शोक मनाउन र राजा चार्ल्स तृतीयको राज्यारोहण दुवै अवसरमा दिइन्छ।
सेप्टेम्बर ९ मा महारानीको निधनपछि लन्डनको हाइड पार्कमा तोपको शाही सलामी दिइएको थियो।
उक्त अवसरमा ९६ वर्षीया दिवङ्गत महारानीप्रति सम्मान प्रकट गर्न उनको जीवनका प्रत्येक वर्षका लागि एक-एकवटा तोप प्रहार गरिएको थियो।
घण्टी
चर्च अफ इङ्ग्ल्यान्डका गिर्जाघर, च्यापल र कथीड्रलहरूले महारानीको निधन भएको भोलिपल्ट घण्टी बजाए।
राष्ट्रप्रमुखको निधन एउटा दुर्लभ समय हो जतिखेर घण्टीहरू विशेष किसिमले बजाइन्छ। त्यसका लागि घण्टीको रालोको दुवैपट्टि प्याड बेरिएको हुन्छ जसले गर्दा घण्टी बज्दा प्रतिध्वनि निस्किन्छ।
तर पछि तिनै घण्टीहरू नयाँ राजा आगमनको उपलक्ष्यमा रूपमै बजाइएको थियो।
इङ्ग्ल्यान्डमा यो अभ्यास कम्तीमा सातौँ शताब्दीतिरबाट सुरु भएको त्यस पुराना लिखतहरूमा उल्लेख भएकाले ठानिन्छ।
राजपरिवारहरूको एउटा मौलिक परम्परा भनेको विन्ड्सर कासलमा बज्ने 'सेबास्टोपल बेल' हो।
सन् १८५६ को क्राइमिया युद्धका बेला उक्त घण्टी रुसीहरूबाट कब्जा गर्दै सेबास्टोपलको चर्च अफ दि ट्वेल्भ अपोसल्सदेखि राजदरबारमा ल्याइएको थियो।
महारानीको मृत्युपछि उनको जीवनका प्रत्येक वर्षका लागि त्यो एक पटक बजेको थियो। यो परम्परा राजपरिवारका वरिष्ठ सदस्यका लागि मात्र लागु हुन्छ।
यसअघि सन् २००२ महारानीकी आमाको मृत्यु हुँदा उक्त घण्टी बजाइएका थियो।
बकिङ्गम दरबारमा सूचना
महत्त्वपूर्ण शाही घटनाहरू, जस्तै- बकिङ्गम प्यालेसमा हुने जन्म र मृत्यु, बारे जानकारी दिन कागजमा लिखित एउटा सङ्क्षिप्त विज्ञप्ति काठे फ्रेममा राखेर सर्वसाधारणलाई सूचित गरिन्छ।
जन्महरूका लागि रेलिङभन्दा भित्रपट्टि फ्रेमलाई अड्काएर राखिन्छ भने मृत्युका सूचना दिन त्यो रेलिङभन्दा बाहिर राखिन्छ।
सन् १९५२ मा भएको जोर्ज छैटौँको र सन् १९३६ मा जोर्ज पाँचौँको मृत्यु समेत त्यसरी नै घोषणा गरिएको थियो।
यो पनि हेर्नुहोस्