तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
एलिजाबेथ द्वितीयाः महारानी र उनको 'गजबको हास्यचेत'
यूकेमा ७० वर्ष शासन गरेकी महारानी एलिजाबेथ द्वितीयाले राजसंस्थालाई उथलपुथलका समयमा दह्रो नेतृत्व दिइन्। उनको सार्वजनिक जीवनका हरेका पाटा निकै योजनाबद्ध हुन्थे र जहिलेसुकै उनले गाम्भीर्य प्रदर्शन गर्नुपर्थ्यो। तर पछिल्ला वर्षहरूमा उनले गजबको हास्यचेत प्रकट गरिन्।
यो वर्षको सुरुमा बीबीसीलाई दिएको एक अन्तर्वार्तामा ड्यूक अफ ससेक्सले उनको हजुरआमाको सबभन्दा उत्तम गुण भनेर उनको हास्यचेतलाई औँल्याएका थिए।
इतिहासविद् तथा लेखक सर एन्थोनी सेल्डनका अनुसार आफैँलाई धेरै गम्भीरतापूर्वक नलिने उनको बानीले: "उनको शासनको सफलतामा उल्लेखनीय योगदान पुर्यायो।"
"कतिपय विषयलाई हलुका रूपमा लिनु भनेको पनि जीवन जिउने एक महत्त्वपूर्ण कला हो," शाही इतिहासविद् रोबर्ट लेसीले महारानीको निधनपूर्व बताएका थिए।
यहाँ उनको हास्यचेत दर्शाउने केही घटना तथा दृष्टान्त प्रस्तुत गरिएका छन्।
प्याडिङ्टन बेयरसँग जुबिली टि पार्टी
जुन महिनामा प्लाटिनम जुबिली समारोहका बेला महारानीले प्याडिङ्टन बेयरसँग चिया पिएको भिडिओ प्रसारण भयो। उनको शासनको ७० वर्ष पुगेको उपलक्ष्यमा बीबीसीले गरेको पार्टी एट द प्यालेस नामक कार्यक्रमको निम्ति उक्त भिडिओ बनाइएको थियो।
उक्त कार्यक्रमको सुरुमै प्याडिङ्टनले उसको मनपरेको खाना मार्मालेड स्यान्डवीच महारानीलाई दिन खोज्छ। "आकस्मिक पर्दाका निम्ति म सधैँ एउटा स्यान्डवीच राखिराख्छु," आफ्नो रातो टोपीभित्रबाट स्यान्डवीच झिक्दै उसले भन्छ।
"म पनि राख्छु," जबाफमा महारानीले पनि उनको कालो हातेझोलाबाट स्यान्डवीच निकाल्दै भन्छिन्।
इन्भिक्टस खेलकूदका कुरा
सन् २०१६ मा महारानी एउटा भाइरल बनेको भिडिओमा देखा परिन् - इन्भिक्टस खेलकूदको प्रबर्धन गर्न बनाइएको भिडिओमा उनको साथ राजकुमार ह्यारी पनि थिए।
उक्त भिडिओमा उनीहरूले पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामा र उनकी पत्नी मिसेल ओबामाको भिडिओ सन्देश हेरिरहेको देखिन्छ जसमा ओबामाले राजकुमार ह्यारीसमक्ष एउटा खेलसम्बन्धी चुनौती प्रस्तुत गर्छन्।
महारानीले चाहिँ पटक्कै अचम्म नमानिकन रमाइलो जबाफ दिइन्।
राम्रो नक्कल गर्ने कला
नेटफ्लिक्सको सीरिज द क्राउनका निम्ति इतिहाससम्बन्धी परामर्शदाता लेसीका अनुसार निजी जीवनमा महारानीले अरूको राम्रो नक्कल गर्ने गर्थिन्। अरूको जस्तो स्वर र बोल्नै शैलीको उनले नक्कल गर्न सक्थिन्।
विकेड विट अफ क्वीन एलिजाबेथ द्वितीया नामक पुस्तककी लेखक क्यारेन डल्बीका अनुसार उनले पूर्व रुसी नेता बोरिस येल्त्सीनको राम्रो नक्कल गर्थिन्।
साथै उनले अन्य राजनीतिज्ञ तथा टिभीका अभिनेताहरूको पनि नक्कल गर्थिन्।
लेसीले महारानीको हास्यचेतलाई "आफ्नो कमजोरीबारे समेत ख्यालठट्टा गर्ने" किसिमको बताए।
उनले एउटा घटनाको स्मरण गरे जतिखेर कुनै राजनीतिज्ञले महारानीसँग कुराकानी गर्दैगर्दा उनको मोबाइलको घण्टी बज्छ।
हत्तपत्त मोबाइल अफ गरेका उनलाई महारानीले भन्छिन्: "आशा गर्छु कोही महत्त्वपूर्ण व्यक्तिको फोन आएको होइन होला।"
तरबारले केक काट्दै
आफ्नो जीवनकालमा महारानीले धेरै केक काटिन्। एकपटक भने उनले तरबारले केक काटिन्। यो घटना कोर्नवालमा भएको एउटा परोपकारी कार्यक्रममा भएको थियो।
समारोहमा प्रदान गरिएको तरबारले नै केक काट्न आँट्दा महारानीलाई त्यहाँ उपस्थित एक स्वयंसेवकले चक्कु उपलब्ध भएको सुनाए।
"मलाई थाहा छ," उनले जबाफमा तरबार केकतर्फ उज्याउँदै भनिन्। "तर यो बढी अस्वाभाविक हुन्छ।"
हँसिमजाक
एकचोटी पानी परिरहेको बेला महारानीले संजोगवश बाल्मोरल छेउमा केही अमेरिकी पर्यटकहरूलाई भेटेको सन्दर्भसँग जोडिएको कथा डल्बीलाई असाध्यै रमाइलो लाग्छ।
वर्सादी ओढेकी महारानीलाई नचिनेर ती पर्यटकहरूले उनले महारानीलाई कहिल्यै भेटेकी छन् भनेर सोधेका थिए।
"छैन, तर उसले भेटेको छ," महारानीले छेउमै रहेका सुरक्षा अधिकारीतर्फ औँल्याउँदै जबाफ दिएकी थिइन्।
अर्को एउटा घटना छ। नर्फोकमा किनमेलमा गएको बेला उनलाई पसलकी एक सहायकले भनिन्: "तपाईँ त ठ्याक्कै महारानीजस्तै देखिनुहुन्छ।"
जबाफमा महारानीले यस्तो जबाफ दिएको बताइन्छ: "ओहो कति ढुक्कलाग्दो कुरा।"
यस्ता घटनाहरूका विवरण भिन्न भिन्न सुनिन्छन् - तर ती सबैमा महारानीको हाँसो ठट्टा गर्ने अनि ट्वाक्क जबाफ दिनसक्ने बानी झल्कन्छ।
फुटबलको टिकट
आफू वरपरका मानिसहरूलाई सहज बनाउन र कुराकानी थाल्न ख्यालठट्टाले उनलाई सघाउँथ्यो।
सर एन्थोनीका अनुसार उनीसँग "मनोरञ्जन गर्नसक्ने तथा जीवनको रमाइलो पक्ष देख्नसक्ने खूबी थियो।"
महारानीले कैयन् हास्यकलाकारहरूलाई भेटेकी थिइन्। जसमध्ये एकजना टमी कुपरले एकपटक रानीलाई फुटबल मनपर्छ भनेर सोधेको प्रसङ्ग डल्बीले सुनाइन्।
खासै रुचि नभएको रानीले बताएपछि उनले सोधे: "त्यसोभए तपाईँलाई आएको एफए कपको फाइनलको टिकट मलाई दिनुहुन्छ?"
ब्रिटिश टेलिभिजन कमेडी कुमार्स एट नम्बर फोर्टी टु महारानीको रूचि भएको सीरिज मानिन्छ।
साझा राहत
महारानी हरबखत अरूको नजरमा रहनुपर्थ्यो। उच्चस्तरका समारोहहरूमा उनी निरन्तर सबैको ध्यानको केन्द्रविन्दुमा हुन्थिन्।
त्यस्तो बेला तनावपूर्ण अवस्थालाई सहज पार्न हाँसोले निकै मद्दत गर्ने ब्रिटिश साइकोलोजिकल सोसाइटीकी अड्रे टाङले बताइन्।
"त्यो साझा राहतको एउटा अभिव्यक्ति हो," उनले भनिन्।
हाँस्दा मानिसको मन हलुको हुन्छ र शारीरिक रूपमा पनि मानिसहरूले राम्रो अनुभूति गर्छन्।
यसले मानिसहरूलाई "जोड्ने अनुभव" पनि गराउँछ। महारानी तथा राजकुमार फिलिपले पनि एकआपसमा निकै ख्यालठट्टा गर्थे।
तर कहिलेकाहीँ यो जटिल पनि बन्नसक्छ।
कुनै कार्यक्रममा अरूले नदेख्ने गरी हाँस्नु छुट्टै कुरा हो - तर हामी सबैले कुनै 'गलत' बेला रोक्नै नसक्ने गरी हाँसो आएको पनि अनुभव गरेका हौँला।
डल्बीले त्यस्तै घटना महारानीसँग भएको सुनाइन्। एउटा औपचारिक हस्ताक्षर समारोहमा क्यानडाका प्रधानमन्त्री जाँ क्रेटिनको पेनको टुप्पो भाँचिएपछि उनले सुनिने गरि गरेको टिप्पणीपश्चात् महारानीले हाँसो थाम्न निकै सङ्घर्ष गर्नुपर्यो।
"कतै केही गडबड भयो भने उनलाई रिसभन्दा पनि हाँस उठ्थ्यो," सर एन्थोनीले भने।
सन् २००३ मा विन्डसर काशलमा भएको एक सैन्य कार्यक्रममा मौरीको झुन्डले अस्तव्यस्तता निम्त्याएपछि महारानीलाई छुटेको हाँसोको फोहराको दृश्य फोटोग्राफर क्रिस यङ्ले खिचेका थिए।
"मलाई लाग्यो त्यो एउटा एकदमै मानवीय समय थियो," यङले भने।
"उनी एउटी सानी केटी जस्तै हाँसेकी थिइन्।"
सन् १९९१ को क्रिसमस सन्देशमा महारानीले "हामीले आफूलाई धेरै गम्भीरतापूर्व नलिऔँ," भनेकी थिइन्।
"हामी कसैसँग पनि बुद्धिको एकाधिकार छैन।"
शाही सम्वाददाता सन् कफ्लानको रिपोर्टिङसहित