महारानी एलिजाबेथ द्वितीया: घोडा र रेसिङमा विशेष रुचि थियो

    • Author, फ्र्याक्ङ किओ
    • Role, बीबीसी स्पोर्ट

महारानीको छुट्टी मनाउने घरमा पुग्दा तपाईँको सबैभन्दा पहिले ध्यान जाने पहिलो कुरा प्रतिस्पर्धामा दौडिने उनको एउटा घोडा एस्टिमेटको समान आकारको प्रतिमा हो।

स्यान्ड्रिङ्गममा रहेको उक्त प्रतिमा घोडादौडप्रति उनको पुरानो रुचिको प्रमाण हो। उक्त खेलले राजकीय उत्तरदायित्वपछाडि उनको एउटा दुर्लभ पक्षलाई प्रतिबिम्बित गर्छ।

सन् २०१३ मा एस्टिमेटले रोयल एस्कर्टमा गोल्डकप जित्दा गद्दीनसीन राष्ट्रप्रमुखको स्वामित्वमा रहेको घोडाले २०७ वर्षमा पहिलो पटक उक्त खेल जितेको अवसर बन्यो। 

रोयल बक्समा आफ्ना घोडादौडसम्बन्धी व्यवस्थापक जोन वारेनसँगै उभिएर मन्त्रमुग्ध भएको बेलाको दृश्य क्यामरामा कैद भयो।

उनी भन्छन्, "त्यस्तो नतिजासहित टुङ्गिनु भनेको वास्तवमा एउटा अद्भुत यात्राको अन्त्य हुनु हो।"

एस्टिमेटको जित महारानीका बैजनी, सुनौलो र रातो रङ्गमा प्रतिस्पर्धामा सहभागी हुने घोडसवारहरूका १,८०० भन्दा धेरै जितमध्येको थियो। अनि सन् २०२१ मा ब्रिटिश च्याम्पिअन्स सीरिज हल अफ फेममा प्रतिष्ठापन गरेर घोडा मालिक र ब्रीडरका रूपमा महारानीको योगदानप्रति सम्मान व्यक्त गरियो।

दौडमा सहभागिताले महारानीलाई विश्वव्यापी र आन्तरिक मामिलाका निकै भद्र स्वभावको कामबाट केही फरकपनको आभास दिन्थ्यो। 

"उनी मलाई भन्ने गर्थिन्: ताजा रङ्गको गन्ध नआउने ठाउँमा आउँदा रमाइलो हुन्छ," प्रशिक्षक रिचर्ड हानन भन्छन्। 

रेसिङ पोस्ट पत्रिकाको एउटा प्रति उनलाई दैनिक पढ्नका लागि दिइने पत्रपत्रिकामध्ये हुन्थ्यो। 

बाल्यकालदेखि नै उनको जीवनमा घोडाहरू थिए।

महारानीले पेगी भनिने सेटल्यान्ड पोनी जातको घोडा चढ्न सिकिन्। त्यो घोडा उनका हजुरबुवा जोर्ज पाँचौँले उनको चौथो जन्मदिनमा उपहार दिएका थिए। 

तर दोस्रो विश्वयुद्धताका आफ्ना बुवासँग घोडाहरूको तालिम हेर्न विल्ट्शर पुग्दा उनमा रेसिङमा उनको रुचि बढ्यो।

"पछि तबेलामा उनीहरूलाई मैले धाप मार्न सकेकी थिएँ," घोडाको कोमलता त्यसअघि कहिल्यै अनुभव नगरेको भन्दै उनले स्मरण गरिन्। 

घोडादौडको जमघटमा महारानीको पहिलो सार्वजनिक उपस्थिति युरोपमा युद्ध अन्त्य भएको १५ दिनपछि सन् १९४५ को मे महिनामा भएको थियो। त्यतिखेर उनी एस्कटमा आफ्ना अभिभावकहरूसँग पुगेकी थिइन्। 

पछि रोयल एस्कटको बैठक उनका लागि सामाजिक कार्यक्रममध्ये एउटा प्रिय अवसर बन्न पुग्यो अनि उनले कुल २४ वटा जित मनाउन पाइन्।

प्रत्येक वर्षजसो महारानी विन्ड्सर कासलबाट दौड हुने ट्र्याकमा पुग्थिन्। त्यहाँ मानिसहरू महारानीले कुन रङ्गको टोपी लगाएर आउलिन् भनेर बाजी थाप्ने गर्थे। नीलो रङ्ग धेरैजसोको रोजाइमा पर्थ्यो।

आफ्ना बुवा राजा जोर्ज छैटौँबाट विरासतमा पाएर महारानी एलिजाबेथले सम्हालेको द रोयल स्टड दौडमा सहभागी हुने घोडाहरूको प्रजनन केन्द्रका रूपमा स्यान्डिग्राममा अवस्थित छ। 

त्यहाँ उनका लागि कैयौँ जित दिलाउने घोडाहरू जन्मिएका थिए।

उनका लागि पहिलो जित सन् १९४९ मा फ्रन्टवेल पार्कमा मोनाभीनले दिलाएको थियो। 

अनि सन् १९५४ र सन् १९५७ मा उनी दुई पटक च्यापिअन फ्ल्याट रेसिङ ओनर बनिन्।

"उनी आफ्ना घोडाहरूलाई एकचोटिमै चिन्ने गर्थिन्, उसको मानसिक र भौतिक विकास हेरेर दङ्ग पर्थिन् र तिनको रेखदेख गर्नेसँग लामो कुरा गर्थिन्," प्रसारक क्रेअर बाल्डिङ भन्छिन्। बाल्डिङका हजुरबुवा, बुवा र दाजुहरू सबैले महारानीका घोडाको रेखदेख गर्ने काम गरेका थिए। 

"उनको ध्यान कतिसम्म हुन्थ्यो भन्ने एउटा सानो उदाहरण उनले आफ्नो घोडाहरूलाई भेट्दा अत्तर नलगाउनु हुन्थ्यो किनकि त्यसले बछेडाबछेडीलाई उत्तेजित बनाउन सक्थ्यो," उनले भनिन्। 

"महारानीले घोडाका एक स्याहारकर्ता मोन्टी रोबर्ट्सका कुरा ध्यानपूर्वक सुन्थिन् र उनका धेरै तौरतरिकालाई व्यवहारमा लागु गर्थिन्। उदाहरणका लागि, नीलो प्लास्टिकको पातातिर लम्किन सिकाउने कुरा जसले गर्दा उनीहरू पानीतर्फ कुद्न डराउँदैनथे।"

"फलस्वरूप उनीहरू धेरै प्रतिक्रिया देखाउने र विभिन्न दौडस्थलमा पुग्दा राम्ररी व्यवहार गर्ने हुन्थे।"

उनी आफ्ना घोडालाई स्पष्ट सन्देश हुने नाम दिन्थिन्। जस्तैः ड्यूटी बाउन्ड, कन्स्टिट्यूसन र डिस्क्रिशन।

उनी आफैँ पनि घोडचढी थिइन्। 

एस्टिमेटसहित १०० भन्दा धेरै विजेता घोडालाई प्रशिक्षित गरेका सर माइकल स्टाउटले उनीसँग काम गर्दाको सुखद क्षणबारे बताएका छन्। 

"उनी सधैँ अगाडिको कुरा सोच्थिन् - यो जनावरलाई म कस्तो कामका लागि तयार पारौँ - के म यो जनावरलाई प्रजनन गराउन गइरहेकी छु - कोसँग प्रजनन गराउने, स्वभाव, गति, शक्ति। उनी यी सबै कुराले उत्साहित हुन्थिन्।"

आफ्ना घोडाहरूका कारण महारानीले पाँचमध्ये चारवटा ब्रिटिश क्लासिक रेसहरू जितेकी छन्।

अर्को थोरैले चुकेको जित सन् २०१२ मा थियो जतिखेर कार्ल्टन हाउस तेस्रो भयो। 

बाह्र महिनापछि एस्कटमा एस्टिमेटको विजयले डेढ लाख पाउन्डको पुरस्कार राशि प्राप्त गर्‍यो। 

त्यसपछिका वर्षमा महारानीले दशौँ लाख पाउन्ड कमाइन्। यद्यपि त्यसको धेरै हिस्सा तालिम र अन्य खर्चमा गएको थियो र त्यहाँको सहभागी हुँदाको रमाइलोको पछाडि जित सहायक बनेको थियो। 

महारानीका घोडादौडसम्बन्धी व्यवस्थापक वारेनले घोडाहरू उनको अन्य जिम्मेवारीबाहिर हेर्ने "भव्य ढोका" थियो र ब्रिटिश रेसिङमा उनले दिएको सहयोग उल्लेखनीय थियो।

"यदि महारानी राष्ट्रप्रमुख हुने कुलमा नजन्मिएकी भए उनी घोडाको व्यवसायमा हुन्थिन् भन्ने मलाई लाग्छ। यो उनको रगतमै थियो," उनले भने।