यूकेः लिज ट्रस र ऋषि सुनकमध्ये को बन्ला नयाँ प्रधानमन्त्री?

ऋषि सुनक र लिज ट्रस

तस्बिर स्रोत, Getty Images

यूकेमा बोरिस जोनसनका उत्तराधिकारी को बन्छन् भन्ने घोषणा सोमवार हुने भएको छ।

कन्जर्भेटिभ पार्टीमा भएको निर्वाचनले नेता चयन गरेपछि लिज ट्रस र ऋषि सुनकमध्ये एक जना देशको नयाँ प्रधानमन्त्री बन्नेछन्।

पार्टीमा नेतृत्वका लागि भएको प्रतिस्पर्धाका विजयीको नाम ब्रिटिश समयानुसार दिउँसो १२:३० बजे सार्वजनिक हुने बताइएको छ। नवनिर्वाचित नेताले मङ्गलवारदेखि पदभार ग्रहण गर्नेछन्।

नयाँ प्रधानमन्त्रीले देशको कमजोर अर्थतन्त्रको चुनौती सामना गर्नुपर्नेछ। चालीस वर्षमा त्यहाँको मुद्रास्फीति सबैभन्दा उच्च छ।

महँगीको मारमा परेका सर्वसाधारण मानिसहरूलाई राहत दिन ह्वाइटहलमा विभिन्न उपायबारे विचार गरिएको जानकारी बीबीसी न्यूजले पाएको छ। तीमध्ये बिजुली तथा ग्यासको शुल्क बृद्धिदर रोक्कामा राख्ने विकल्प पनि छ।

मतसर्वेक्षकहरूले ट्रस निर्वाचित भई प्रधानमन्त्री बन्ने आकलन गरेका छन्।

उनले प्रधानमन्त्री बनेको एक साताभित्र उपभोक्ताको हित हुनेगरी सहयोग गर्ने वाचा गरेकी छन्।

उनले यो महिनामै आपत्कालीन बजेटमार्फत् ३० अर्ब पाउन्ड कर कटौती गर्ने योजना बनाएकी छन्। करको भारका कारण यूकेको अर्थतन्त्रको गति सुस्त भएको उनको तर्क छ।

उनका प्रतिस्पर्धी ऋषि सुनकले नेतृत्वको दौडमा आफू पराजित भएको सङ्केत दिइसकेका छन्। उनले अब आफ्नो काम नयाँ सरकारलाई सहयोग गर्नु भएको बताइसकेका छन्।

बोरिस जोनसन

तस्बिर स्रोत, PA Media

मानिसहरूलाई जीवनयापनका लागि सहयोग हुने आफ्नो योजनाबारे ट्रसले विस्तृत जानकारी दिइसकेकी छैनन्।

तर उनले बिजुलीको बिलमा लाग्ने 'ग्रीन लेभी' भनिएको अतिरिक्त शुल्क अस्थायी रूपमा हटाउने र न्याशनल इन्सुअरेन्स भनिने राष्ट्रिय स्वास्थ्य बीमाको प्रावधानमा भएको शुल्कवृद्धि उल्ट्याउने जनाएकी छन्।

उनले स्पष्ट योजनाका लागि थप समय चाहिने बताएकी छन्।

सुनकले अर्थमन्त्रीका रूपमा १५ अर्ब पाउन्ड भुक्तानी गर्ने घोषणा गरेका थिए।

त्यसमध्ये प्रत्येक परिवारले ४०० पाउन्ड पाउनेछ।

दुवै प्रतिस्पर्धीले ग्रीष्मयाममा मूल्य अनुमान गरिएभन्दा बढेकाले सर्वसाधारण नागरिकलाई थप सहयोग आवश्यक पर्ने बताएका छन्।

नेतृत्वका लागि भएको प्रतिस्पर्धामा दोस्रो चरणको नतिजा घोषणा गर्दै १९२२ समितिका अध्यक्ष ग्राहम ब्र्याडी

तस्बिर स्रोत, PA Media

तस्बिरको क्याप्शन, नेतृत्वका लागि भएको प्रतिस्पर्धामा दोस्रो चरणको नतिजा घोषणा गर्दै १९२२ समितिका अध्यक्ष ग्राहम ब्र्याडी

बोरिस जोनसनले पदत्याग गर्ने घोषणा गरेपछि नयाँ नेतृत्व छान्न सात साता लामो प्रक्रिया चलेको थियो।

विभिन्न विवादका बीच जुलाई महिनामा मन्त्रीहरूले विद्रोह गरेपछि जोनसन पदत्याग गर्न बाध्य भएका थिए।

जोनसन सन् २०१९ मा भएको निर्वाचनमा प्रचण्ड बहुमतसहित विजयी भएका थिए।

सुरुमा नयाँ नेतृत्वका लागि ११ जनाले प्रतिस्पर्धा थालेका थिए।

कन्जर्भेटिभ पार्टीका सांसदहरूले गरेको मतदानबाट प्रतिस्पर्धाको अन्तिम चरणमा दुई जना सीमित भए।

ती दुई जनामध्ये एकलाई नेता छान्न टोरी पार्टीका १,६०,००० जनाले मतदान गरेका थिए।

कन्जर्भेटिभ पार्टी

सुनकलाई अधिकांश सांसदहरूको समर्थन भए पनि पार्टीका सदस्यहरूले ट्रसलाई बढी रुचाएको मतसर्वेक्षणहरूले देखाएका छन्।

शक्ति हस्तान्तरण गर्नुअघि जोनसनले मङ्गलवार बिदाइ भाषण गर्ने अपेक्षा गरिएको छ।

यसपालि महारानीले बकिङ्गम दरबारमा नभई स्कटल्यान्डस्थित बाल्मोरल कासलबाट नयाँ प्रधानमन्त्री नियुक्त गर्नेछिन्।

महारानी एलिजाबेथलाई हिँडडुल गर्न समस्या भएकाले बकिङ्गम दरबारमा प्रधानमन्त्री नियुक्त गर्ने परम्परा भङ्ग हुन लागेको बताइएको छ।

लिज ट्रस

अर्थमन्त्री र स्वास्थ्यमन्त्रीले पद छाडेपछि विदेशमन्त्री लिज ट्रसले आफ्नो समर्थन जोनसनप्रति रहेको घोषणा गरेकी थिइन्।

उनी ब्रिटेनमा विदेश मन्त्रालयको नेतृत्व गर्ने दोस्री महिला नेत्री हुन्।

नाजनिन जागारी-र्‍याट्क्लिफलाई छ वर्षपछि इरानबाट मुक्त गराउने सफलता तथा रुस र रुसी धनाढ्यहरूमाथि आर्थिक प्रतिबन्ध लगाएको जस ट्रसलाई जान्छ।

लिज ट्रस

तस्बिर स्रोत, Reuters

उनी साउथवेस्ट नोर्फोकबाट सन् २०१० मा पहिलो पटक सांसद निर्वाचित भएकी थिइन्।

ट्रस अर्थतन्त्र र व्यापारका विषयमा उदार धारणाका लागि कन्जर्भेटिभ पार्टीमा चर्चित छिन्।

तर उनको शैलीलाई त्यति लोकप्रिय मानिँदैन।

सन् २०१५ को कन्जर्भेटिभ अधिवेशनमा चीज आयातबारे गरेको भाषणका कारण उनको निकै खिल्ली उडाइएको थियो।

यद्यपि त्यसले उनको प्रगतिलाई रोकेन। उनी विभिन्न भूमिकामा मन्त्री बनिरहिन्।

अहिलेको भूमिकामा आउनुअघि उनी ब्रेक्जिटपछिको व्यापार सम्झौताका लागि अन्तर्राष्ट्रिय व्यापारमन्त्री थिइन्।

ऋषि सुनक

कुनै बेला ऋषि सुनकलाई भावी कन्जर्भेटिभ नेताका रूपमा हेरिन्थ्यो।

तर केही महिनादेखि उनकी श्रीमतीसँग जोडिएको करसम्बन्धी विवादका कारण उनको प्रतिष्ठा कमजोर बन्दै गएको थियो।

ऋषि सुनक

तस्बिर स्रोत, Reuters

त्यसअघि लकडाउनका नियम उल्लङ्घन गरेकामा उनले जरिबाना तिरेको धेरै समय भएको थिएन।

उनी सन् २०१५ मा नोर्थ योर्कशरको निर्वाचन क्षेत्रबाट सांसद बनेका थिए।

वेस्टमिन्स्टरबाहिर थोरै व्यक्तिले मात्र उनलाई चिनेका थिए। तर उनी फेब्रुअरी २०२० मा अर्थमन्त्री नियुक्त भए।

उनले तत्कालै कोरोनाभाइरस महामारीका कारण उत्पन्न चुनौती सामना गर्नुपर्‍यो। लकडाउनका बेला अर्थतन्त्रलाई स्थिर राख्ने प्रयासमा उनले ठूलो रकम खर्च गर्नुपर्‍यो।

पार्टीभित्र कम कर तिर्ने र खर्च गर्ने व्यक्तिका रूपमा चिनिन खोज्ने सुनकका लागि निकै खर्च गर्नु सजिलो थिएन। तर त्यसले उनको लोकप्रियता निकै बढायो।

यसपालि सहकर्मी तथा साथी साजिद जाविदसँगै सुरुमै मन्त्री पदत्याग गर्ने उनको निर्णयपछि अरू मन्त्रीहरूलाई पनि त्यसै गर्न उत्प्रेरित गरेको हुनसक्छ। अन्ततः त्यसले जोनसनलाई पद छोड्न बाध्य पार्‍यो।

कन्जर्भेटिभ पार्टी