श्रीलङ्का सङ्कटः कार्यवाहक राष्ट्रपति बनेका रनिल विक्रमसिङ्घ को हुन्? के सेनाले काम गर्न सक्ला?

प्रदर्शनकारीहरू

तस्बिर स्रोत, Reuters

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिङ्घ अचानक देशको कार्यवाहक राष्ट्रपति नियुक्त भए। तर यो पदोन्नतिबाट प्राप्त उत्तरदायित्व कति समय उनीसँग रहन्छ भन्ने कुरा सबैको चासोको विषय बनेको छ।

श्रीलङ्काले भोगेको चरम आर्थिक सङ्कटका कारण आक्रोशित सर्वसाधारणहरू आन्दोलित भएपछि राष्ट्रपति गोटाबय राजपक्ष देशबाट भागेर मङ्गलवार राति माल्दिभ्स पुगेका थिए।

उनले पदत्याग गरिसकेका छैनन्। बरु आफ्ना समर्थक तथा प्रधानमन्त्री रनिल विक्रमसिङ्घलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरेको जानकारी सभामुखमार्फत् दिए।

राजपक्षले राजीनामा दिन बाँकी भएकाले कार्यवाहक राष्ट्रपतिसँग धेरै शक्ति छैन।

को हुन् रनिल विक्रमसिङ्घ?

विक्रमसिङ्घ विगत दुई दशकमा बारम्बार प्रधानमन्त्री बनेका वरिष्ठ नेता हुन्। तर उनी कहिल्यै पनि पूरै अवधि पदमा बस्न पाएका छैनन्।

गत मे महिनामा छैटौँ पटक प्रधानमन्त्री नियुक्त हुनुअघि उनी संसद्‌मा विपक्षमा थिए।

रनिल विक्रमसिङ्घ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, फाइल तस्बिर

महिन्द राजपक्षले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि राष्ट्रपतिले विक्रमसिङ्घलाई प्रधानमन्त्री नियुक्त गरेका थिए।

उनको नियुक्ति राष्ट्रपति गोटाबय राजपक्षले आफू सत्तामा टिक्ने अन्तिम प्रसासस्वरूप गरेको देखिएको छ। राजपक्ष अन्ततः देश छोड्न बाध्य भए।

विक्रमसिङ्घ वकिल पनि हुन्। उनी राजनीतिक र व्यावसायिक पृष्ठभूमि भएको धनी परिवारका सदस्य हुन्।

उनी सन् १९७७ मा पहिलो पटक संसद्‌मा निर्वाचित भएका थिए। सन् १९८९ मा रणसिङ्घ प्रेमदास राष्ट्रपति निर्वाचित भएपछि दलभित्रको राजनीतिमा उनको उन्नति भयो।

उनी पहिलो पटक सन् १९९३ देखि १९९४ सम्म प्रधानमन्त्री बनेका थिए।

सन् १९९४ मा सन्दिग्ध तमिल विद्रोहीहरूले गामिनी दिशानायकको हत्या गरेपछि विक्रमसिङ्घ यूनाइटेड न्याश्नल पार्टी (यूएनपी) को नेता बने।

इप्पावाला सहरमा आयोजित एउटा सभामा भाषण गर्दै गर्दा उनको हत्या गर्ने उद्देश्यले बम विस्फोट गरिएको थियो। तर उनी जोगिए।

राष्ट्रपति राजपक्ष र प्रधानमन्त्री रनिल विक्रमसिङ्घ

तस्बिर स्रोत, SRI LANKA PRESIDENT'S MEDIA DIVISION / HANDOUT via

तस्बिरको क्याप्शन, राष्ट्रपति राजपक्ष र प्रधानमन्त्री रनिल विक्रमसिङ्घ

रनिल विक्रमसिङ्घ कति लोकप्रिय छन्?

राजपक्ष परिवारसँगको निकटताका कारण अहिले उनी निकै अलोकप्रिय मानिन्छन्। तर पहिलाको अवस्था भिन्न थियो।

विक्रमसिङ्घले पार्टीका भ्रष्ट सदस्यहरूलाई हटाउने उद्देश्यले अनुशासन आयोग गठन गरेका थिए। त्यसबाट उनको पार्टीको छवि सुधार भएको थियो।

आफूलाई आकर्षक देखाउन उनले विभिन्न शैलीमा कपाल काट्ने गरेका थिए। उनले गाउँगाउँमा पुगेर आफ्नो दलप्रतिको जनसमर्थनलाई फराकिलो बनाउने प्रयास गरे।

सामान्य परिस्थितिमा राष्ट्रपति निर्वाचित हुनको लागि उनी सशक्त दाबेदार मानिन्थे, तर समयसँगै उनको लोकप्रियता कम हुँदै गयो।

सन् २०१९ को ईस्टर सन्डेमा घातक बम विस्फोट हुँदा उनी प्रधानमन्त्री थिए।

उक्त घटनामा कम्तीमा २५० जनाको ज्यान गएको थियो।

त्यो आक्रमण हुनुअघि गुप्तचर निकायले दिएका चेतावनीबारे आफूलाई थाहा नभएको र सूचना पाउने अधिकारीको सूचीमा आफूलाई समावेश नगरिएको उनले बीबीसीलाई बताएका थिए।

कुनै समय देशमा शासन गर्ने उनको दल गत संसदीय निर्वाचनमा एउटा स्थानमा मात्र सीमित भयो।

उनको पार्टीबाट उनी मात्र निर्वाचित भए। त्यसैले विपक्षीहरूले उनी कुनै कार्यकारी पदका लागि योग्य भएको दाबी गरेका हुन्।

धेरै मानिसले सन् २०१५ मा राजपक्ष परिवारले शक्ति गुमाउँदा विक्रमसिङ्घले सहयोग गरेको ठानेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, राष्ट्रपति भवन छिरेका प्रदर्शनकारीले यसरी पौडी खेले

कार्यवाहक राष्ट्रपति बनेपछि के गरे?

गत शनिवार हजारौँ प्रदर्शनकारीहरू राष्ट्रपति र प्रधानमन्त्रीका सरकारी निवासमा प्रवेश गरेपछि उनले पदबाट राजीनामा दिने घोषणा गरेका थिए।

कार्यवाहक राष्ट्रपति बनेपछि विक्रमसिङ्घले गरेको पहिलो काम देशमा सङ्कटकाल घोषणा हो। उनी आफूलाई नयाँ भूमिकामा स्थापित गर्ने प्रयासमा देखिएका छन्।

बुधवार टेलिभिजनमार्फत् सम्बोधन गर्दै उनले प्रदर्शनकारीहरूलाई "फासीवादी"को सङ्ज्ञा दिए।

शनिवार भएको प्रदर्शनको क्रममा विक्रमसिङ्घको निजी निवासमा आगो लगाइएको थियो। त्यतिबेला उनी र उनको परिवार घरमा थिएनन्।

उनी कार्यवाहक राष्ट्रपति नियुक्त भएपछि विरोधमा हजारौँ मानिसहरूले राजधानीस्थित उनको कार्यालयमा धावा बोले।

उनले सेना र प्रहरी प्रमुखहरूको नेतृत्वमा गठित एउटा नयाँ समितिलाई सुव्यवस्था पुनर्स्थापना गर्न "आवश्यक काम गर्न" निर्देशन दिएका छन्।

प्रदर्शनकारीहरू उनलाई राजपक्ष निकटस्थ मान्छन् र उनी पनि पदच्युत भएको हेर्न चाहन्छन्।

अहिले श्रीलङ्कालीहरू यति आन्दोलित छन् कि विक्रमसिङ्घले गर्न खोजेको कामका लागि कस्तो उपाय आवश्यक हुन्छ अनि त्यो काम गर्न उनी उपयुक्त पात्र हुन् कि हैनन् भन्ने स्पष्ट छैन।

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'राष्ट्रपतिको राजीनामा नआएसम्म हामी यो ठाउँ छोड्दैनौँ'

श्रीलङ्काको सङ्कट अब के होला?

श्रीलङ्काले अहिले अभूतपूर्व आर्थिक सङ्कट भोगिरहेको छ।

सर्वसाधारण मानिसहरूले महिनौँदेखि दैनिक बिजुली कटौती, इन्धन, खाना र औषधिजस्ता आधारभूत सामग्रीको अभाव भोग्दै आएका छन्।

देशको ढुकुटीमा विदेशी मुद्राको सञ्चिति घटेकाले अन्य देशबाट सामान आयात गर्न पनि समस्या उत्पन्न भएको छ।

जीवनयापन गर्न कष्ट भएको भन्दै मानिसहरू आक्रोशित भएका छन्। सरकारविरुद्ध आयोजित प्रदर्शनहरू हिंसक हुँदा कम्तीमा नौ जनाले ज्यान गुमाइसकेका छन्।

राष्ट्रपति विदेश पलायन भएपछि प्रधानमन्त्रीले पनि पद छोड्नुपर्ने मागसहित आन्दोलन अझ चर्किएको छ।

धेरैले सङ्कटको लागि राजपक्ष प्रशासनलाई दोषी मानेका छन्। गत मे महिनामा प्रधानमन्त्री बनेका विक्रमसिङ्घ पनि यसमा मुछिएका छन्।

कोलम्बोमा प्रदर्शनकारीहरूतौ

के सेनाले सङ्कट समाधान गर्न सक्ला?

बुधवार प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको कार्यालयमा आक्रमण गरेपछि रनिल विक्रमसिङ्घले सेनालाई शान्ति सुव्यवस्था फेरि कायम गर्नका लागि "जे आवश्यक छ त्यो गर्न" निर्देशन दिए।

एक साताभन्दा कम समयावधिमा दोस्रो पटक प्रदर्शनकारीहरूले उच्च सुरक्षा कायम गरिएको उक्त सरकारी भवनमा बलपूर्वक प्रवेश गरे।

राष्ट्रपति कार्यालय भवनमा जस्तै मानिसहरूले त्यहाँ पनि भव्य सोफामा बसेर तस्बिर खिचिरहेको देखिन्थ्यो। केही मानिसले कुर्सी वा टेबलमाथि चढेर श्रीलङ्काको झण्डा फहराएका थिए।

प्रदर्शनकारीहरू

विक्रमसिङ्घले प्रदर्शनकारीहरूलाई आफ्नो कार्यालय तथा अन्य सरकारी भवन छोड्न र अधिकारीहरूसँग समन्वय गर्न आग्रह गरे।

"हामी संविधान च्यात्न सक्दैनौँ। हामी फासीवादीहरूलाई आउन दिन सक्दैनौँ। हामीले प्रजातन्त्रप्रति रहेको यो फासीवादी खतरा टुङ्ग्याउनुपर्छ," उनले भने।

प्रधानमन्त्रीको भनाइमा सेना परिचालन गर्ने आशय देखिएको कोलम्बोस्थित मानवाधिकारवादी वकिल भवानी फोन्सेकाले बीबीसीको वर्ल्ड एट वनलाई भनिन्, "अरू केही छिमेकी राष्ट्रमा जस्तो श्रीलङ्काको राजनीति वा सरकारमा सेनाले सक्रिय भूमिका खेलेको इतिहास छैन।"

"हामीसँग निकै बलियो लोकतन्त्र छ र मुख्य भूमिकामा निर्वाचित प्रतिनिधिहरू छन्। तर अहिले हामी अभूतपूर्व परिस्थितिमा छौँ र यहाँ जे पनि हुन सक्छ," उनले थपिन्।

सर्वसाधारण मानिस के चाहन्छन्?

बुधवार राष्ट्रपति कार्यालयबाहिर रहेकी बीबीसी संवाददाता टेसा वङका अनुसार प्रदर्शनकारीहरूले उत्सव मनाइरहेको दृश्य सशस्त्र सैनिकहरूले उभिएर हेरेका थिए।

प्रदर्शनकारीहरूले कार्यालय खाली गर्ने प्रधानमन्त्रीको आग्रहलाई बेवास्ता गरेको उनले बताइन्।

"हामी राजपक्ष, रनिल विक्रमसिङ्घ र मन्त्रिपरिषद्का अन्य सदस्यहरू घर जाऊन् भन्ने चाहन्छौँ," प्रधानमन्त्री कार्यालयमा उपस्थित एक प्रदर्शनकारी निक्सन चन्द्रनाथनले बीबीसीसँग भने।

प्रधानमन्त्रीको कार्यालय परिसरभित्र छिर्न खोज्दै प्रदर्शनकारीहरू

तस्बिर स्रोत, Getty Images

"अहिले श्रीलङ्काको अवस्था सुधार्न हामीलाई सच्चा र इमानदार नेता चाहिन्छ।"

"हामी गौरवान्वित छौँ," भिड प्रधानमन्त्री कार्यालय परिसरमा छिरेपछि त्यहाँको अवस्था हेर्न पुगेका एक व्यवसायी सतीश बीले एएफपीसँग भने। "यो देशमा राम्रो शासनव्यवस्था नै छैन। यहाँ कहिल्यै राम्रो भएको छैन र युवाहरू त्यो रुचाउँदैनन्।"

राष्ट्रपति राजपक्ष माल्दिभ्स पुगेको खबर सार्वजनिक भएपछि विरोध झनै चर्किएको छ। शनिवार आफ्नो निजी निवासमा आक्रमण भएपछि राजपक्ष लुकेर बसेका थिए र राजीनामाको वाचा गरेका थिए।

पदस्थ हुँदा सबै कुराबाट उन्मुक्ति पाएका यी नेता पदमुक्त भएपछि नयाँ सरकारले समात्ने डरले विदेश भागेको ठानिएको छ।

यद्यपि उनले राजीनामाको आधिकारिक पत्र बुझाउन बाँकी छ।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

अब को बन्ला राष्ट्रपति?

देशलाई आर्थिक सङ्कटबाट उद्धार गर्न क्रियाशील सरकार चाहिन्छ।

यद्यपि राष्ट्रपतिले देश छोडेपछि शक्ति असन्तुलित हुने सम्भावना देखिएको छ।

अन्य दलका नेताहरूले नयाँ सरकार बनाउनेबारे छलफल गरेको भए पनि सहमति जुट्ने कुनै सङ्केत देखिएको छैन। उनीहरूको निर्णय सर्वसाधारण जनताले स्वीकार गर्छन् या गर्दैनन् भन्ने समेत स्पष्ट छैन।

नयाँ नेता चुन्ने प्रक्रियामा पनि कठिनाइ आउन सक्छ।

सजित प्रेमदास

तस्बिर स्रोत, Reuters

बुधवार जारी एक प्रेस विज्ञप्तिमा विक्रमसिङ्घको समूहले संसद्का सभामुखलाई "सरकार र विपक्षी दुवैलाई स्वीकार्य हुने" नयाँ प्रधानमन्त्री मनोनयन गर्न आग्रह गरेको जनाइएको छ।

यसअघि सोमवार प्रमुख विपक्षी नेता सजित प्रेमदासले आफू राष्ट्रपतिको उम्मेदवार बन्न चाहेको सोमवार बीबीसीसँग बताएका थिए।

तर उनलाई पनि पर्याप्त सार्वजनिक समर्थन छैन। समग्रमा राजनीतिकर्मीहरूले उनीलाई विश्वास गरेको देखिँदैन।

श्रीलङ्कालाई परिवर्तनको मोडमा उभ्याउने प्रदर्शनले पनि देशको नेतृत्व गर्ने उपयुक्त दाबेदार प्रस्तुत गर्न सकेको छैन।

भिडिओ क्याप्शन सुरु हुँदैछ, श्रीलङ्कामा किन पेट्रोल अभाव र आर्थिक सङ्कट आयो
लाइन

श्रीलङ्काबारे जान्नुपर्ने केही कुरा

  • टापु राष्ट्रः दक्षिण भारतनजिकै रहेको श्रीलङ्का सन् १९४८ मा ब्रिटिश शासनबाट स्वतन्त्र भएको थियो। त्यहाँको जनसङ्ख्या २.२ करोड छ। तीनवटा जातीय समुदाय - सिन्हाला, तमिल र मुस्लिम - ले देशको ९९ प्रतिशत हिस्सा ओगट्छन्
  • राष्ट्रपतिको शक्ति: श्रीलङ्काका राष्ट्रपति राज्य, सरकार र सेनाको शीर्ष व्यक्ति हुन्। तर उनले संसद्‌मा सत्तारूढ दलको नेतृत्व गर्ने प्रधानमन्त्रीसँग धेरै कार्यकारी जिम्मेवारी बाँडफाँट गर्नुपर्छ
  • शासनमा एउटै परिवारः राजपक्ष परिवारले श्रीलङ्कामा वर्षौँदेखि शासन गरिरहेका छन्। लामो समय चलेको रक्तपातपूर्ण गृहयुद्धमा तमिल पृथक्तावादीहरू सन् २००९ मा पराजित भएपछि महिन्द राजपक्ष बहुसङ्ख्यक सिन्हालीहरूबीच नायक भए। त्यतिबेला रक्षामन्त्री रहेका उनका भाइ गोटाबय राजपक्ष अहिले राष्ट्रपति छन्
  • आर्थिक सङ्कटले आक्रोशः अहिले श्रीलङ्काली जनताहरू आक्रोशित छन्। त्यहाँ उपभोग्य सामग्रीको सहज आपूर्ति हुन नसकेकाले महँगी चुलिएको छ अनि खानेकुरा, औषधि र इन्धनको अभाव भएको छ। लोडशेडिङ बढेपछि आक्रोशित मानिसहरूले राजपक्ष परिवार र उनीहरूले नेतृत्व गरेको सरकारलाई दोष लगाउँदै सडकमा प्रदर्शन गरिरहेका छन्
भिडिओ क्याप्शन सुरु हुँदैछ, श्रीलङ्कामा किन पेट्रोल अभाव र आर्थिक सङ्कट आयो