श्रीलङ्का सङ्कटः खेती गर्न कर्मचारीलाई सातामा थप एक दिन बिदा

श्रीलङ्का

तस्बिर स्रोत, Getty Images

    • Author, पिटर होस्किन्स
    • Role, व्यापार रिपोर्टर

श्रीलङ्कामा खाद्यान्न अभाव हुने डरका माझ सरकारले कर्मचारीहरूलाई खेती गर्न प्रोत्साहन गर्ने उद्देश्यले सातामा थप एक दिन छुट्टी दिने भएको छ।

त्यहाँ सरकारी सेवामा झन्डै १० लाख कर्मचारी छन्।

दुई करोड २० लाख जनसङ्ख्या भएको उक्त टापु राष्ट्रले विगत ७० वर्षयताको सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेका बेला त्यस्तो कदम चाल्न लागिएको छ।

विदेशी मुद्राको चरम अभावका कारण श्रीलङ्काले खानेकुरा, इन्धन र औषधिजस्ता अत्यावश्यक वस्तुहरू आयात गर्न सङ्घर्ष गर्नुपरिरहेको छ।

सोमवार अबेरतिर सरकारले आगामी तीन महिनासम्म सरकारी सेवामा रहेका कर्मचारीहरूलाई प्रत्येक साता शुक्रवार पनि सार्वजनिक छुट्टी दिने प्रस्तावमा सहमति जनाएको थियो।

इन्धन सङ्कटका कारण काममा जानआउन कठिनता बेहोरिरहेका कर्मचारीहरूलाई आफू र परिवारजनलाई खानको निम्ति फलफूल र तरकारीहरू उत्पादन गर्न समेत सहयोग गर्ने उद्देश्यले थप छुट्टी दिने निर्णय गरिएको सरकारले जनाएको छ।

खाद्य अभावको समाधान

"सरकारी कमर्चारीहरूलाई सातामा थप एकदिन छुट्टी दिन र भविष्यमा हुन सक्ने खाद्य अभावको अवस्थाको समाधान खोज्ने आफ्ना करेसाबारी वा अन्यत्र कृषि गतिविधिमा लाग्नका निम्ति आवश्यक सुविधा प्रदान गर्नु उचित देखिएको छ," सरकारले उस्को आधिकारिक समाचार पोर्टलमा जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ।

श्रीलङ्काको धान खेत

तस्बिर स्रोत, Reuters

सोमवार नै संयुक्त राज्य अमेरिकाले आफू श्रीलङ्कालाई सहयोग गर्न तयार गरेको बताएको थियो।

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिङ्घसँगको टेलिफोन वार्तापछि अमेरकी विदेशमन्त्री एन्थोनी ब्लिङ्कनले संयुक्त राज्य अमेरिका " श्रीलङ्कासँग मिलेर काम गर्न तयार रहेको" बताएका थिए।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

यसै महिना केहीअघि प्रधानमन्त्री विक्रमसिङ्घले श्रीलङ्कालाई अत्यावश्क वस्तुको आयातका लागि कम्तीमा पनि पाँच अर्ब डलरको आवश्यकता रहेको बताएका थिए।

श्रीलङ्काको मुद्रा रुपैयाँको मूल्य खस्किनु, विश्वव्यापी रूपमा नै उपभोग्य वस्तुको मूल्य बढ्नु र (अहिले हटाइएको) रासायनिक मलको प्रयोगमा लगाइएको प्रतिबन्धका कारण त्यहाँ गत एप्रिल महिनामा खानेकुराको मूल्य ५७% भन्दा बढीले वृद्धि भएको थियो।

गत महिनाको अन्त्यमा देशका कृषिमन्त्री महिन्द अमरवीराले किसानहरूलाई थप धान उत्पादन गर्न आग्रह गरेका थिए।

"खाद्यान्नको अवस्था एकदमै खराब बन्दै गएको अब स्पष्ट नै छ," उनको भनाइ थियो।

"हामी सबै किसानहरूलाई आआफ्नो खेतमा गएर अबको पाँचदेखि १० दिनसम्म धान रोपाइँ गर्न अनुरोध गर्छौँ।"

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, श्रीलङ्कामा किन पेट्रोल अभाव र आर्थिक सङ्कट आयो